ट्वीटरमा चरो उडेर किन कुकुर बस्यो ? यस्तो छ वास्तविकता

ट्वीटरमा चरो उडेर किन कुकुर बस्यो ? यस्तो छ वास्तविकता
www.europenepalikhabar.com २०७९ चैत २२ गते बुधबार, 5-04-2023


ट्वीटरमा सोमबारदेखि एकाएक 'ब्लु बर्ड' (निलो चरा) को ठाउँमा कुकुरको लोगो देखियो । बिना कुनै जानकारी वा सूचना आफ्नो फिडमा एक्कासी कुकुरको फोटो देख्दा प्रयोगकर्ता चकित भए । 

धेरैले आफ्नो फिडमा ट्वीटरको आधिकारिक लोगो परिवर्तन भएको देखेर विभिन्न जिज्ञासा राखेका छन् । केहीले यो केवल एक ठट्टा भएको अड्कल गरे । केहीले साँच्चै लोगो परिवर्तन भएको अनुमान गरे ।

त्यसको केही समयपछि ट्वीटरका मालिक एलन मस्कले एक ट्वीट गर्दै लोगो परिवर्तन गरेको स्पष्ट पारे । उनले सांकेतिक रूपमा निलो चराको चिन्ह पुरानो भएको भन्दै कुकुरको फोटो राखेर मिम (मजाकका लागि बनाइएको पोस्ट) ट्वीट गरे । 

ट्वीटरमा निलो चराको ठाउँमा कुकुरको फोटो राख्नुले उक्त प्लटफर्मको लोगो नै कुकुर भएको धेरैको तर्क छ । यद्यपि उक्त लोगो केही दिनका लागि परिवर्तन गरिएको हो वा सधैंका लागि परिवर्तन गरियो भन्नेबारे औपचारिक जानकारी आइसकेको छैन । 

अहिले ट्वीटरमा भएको नयाँ लोगोलाई लिएर ह्याशट्याग डज (#DOGE) ट्रेन्डिङमा छ । ट्वीटर ह्याक भएको आशंका गरिए पनि मस्कले ट्वीट गरेपछि भने उनले नै उक्त प्लेटफर्मको लोगो परिवर्तन गरेको ठहर भयो । 

आखिर मस्कले ट्वीटरमा राखेको ‘कुकुर’ के हो त ?

ट्वीटरमा लोगो परिवर्तन भएसँगै 'डजक्वाइन' (Dogecoin) को चर्चा र मूल्य दुवै उचालिएको छ । डजक्वाइन एक क्रिप्टोकरेन्सी हो, जसमा उक्त कुकुरको तस्वीर राखिएको छ ।  

डजक्वाइनलाई सफ्टवेयर इन्जिनियर बिली मार्कस र ज्याक्सन पाल्मरले सन् २०१३ मा तयार पारेका थिए । खासमा यो क्वाइनको सुरुवात बिटक्वाइन (अर्को क्रिप्टोकरेन्सी) को मजाक उडाउन गरिएको थियो । 

त्यसबेला बिटक्वाइन नयाँ भएकाले पनि मानिसहरू विभिन्न तरिकाले मजाक उडाउने गर्थे । त्यही समयमा 'डज मिम' भाइरल भएको थियो । यसमा भएको कुकुरको अनुहारको भाव यति रहस्यमय देखिन्छ कि, हरेक पटक त्यसले केही भन्न खोजिरहेको अनुभव हुन्छ ।

त्यसैले मानिसहरू यो कुकुरको फोटोमा टेक्स्ट (टेक्स्टमा पनि टुटेफुटेको अङ्ग्रेजी शब्द) राखेर केही कुराको मजाक उडाउँथे । 

बिटक्वाइनको मजाक उडाउन यही कुकुर भएको मिम अन्त्यमा एक क्रिप्टोकरेन्सीका रूपमा विकास गरियो । उनीहरूले आफ्नो करेन्सीको लोगोमा यही कुकुरको फोटो राखे । त्यसपछि 'डजक्वाइन' क्रिप्टोकरेन्सी चर्चित बन्दै गयो ।

सन् २०१३ ताका मानिसहरू इन्टरनेटमा 'शिवा इनु' प्रजातिको उक्त कुकुरको फोटो राखी त्यसमा 'कोमिक सन्स' टेक्स्टमा टुटेफुटेको अङ्ग्रेजी शब्द राखी कुनै पनि कुराको मजाक उडाउँथे ।

सुरुवातमा डजक्वाइनलाई त्यति गम्भीर रूपमा लिइएको थिएन । तर, उक्त क्वाइनलाई लिएर सामाजिक सञ्जाल ट्वीटर र रेडिटमा बढी मिम बनाउने गरिन्थ्यो ।

यसरी चर्चा बढ्दै गएपछि उक्त क्रिप्टोकरेन्सीको मूल्य पनि बढ्न थाल्यो । सन् २०२१ को सुरुवातमा एलन मस्कले यस क्वाइनप्रति चासो देखाएपछि डजक्वाइन झनै चर्चित बन्यो र यसको मूल्य उकासियो ।

विभिन्न रिपोर्टका अनुसार त्यस समयमा डजक्वाइनको मूल्य आठ करोड ५० लाख डलर पुगेको थियो । अहिले पनि यो क्वाइनको मूल्य बजार अवस्था, सेलिब्रेटीको धारणा र सामाजिक सञ्जालमा पाएको चर्चामा निर्धारण हुन्छ ।

बिटक्वाइनको तुलनामा डजक्वाइनको कारोबारको प्रक्रिया छिटो छ ।

के हो डज मिम, किन चर्चित बन्यो त ?

डज एउटा त्यस्तो इन्टरनेट मिम हो, जुन सन् २०१३ तिर धेरै नै चर्चित बनेको थियो । जापानका 'अत्सुको साताे' नाम भएका व्यक्तिले सन् २०१० मा आफ्नो 'शिवा इनु' प्रजातिको कुकुरको फोटो खिचेका थिए ।

उनले उक्त कुकुरको फोटो इन्टरनेटमा डज (Doge) शीर्षक राखेर पोस्ट गरे । त्यसपछि मानिसहरूले उक्त फोटोलाई मिमका रूपमा प्रयोग गर्न थाले ।

डज मिम टम्ब्लर र रेडिट जस्ता प्लेटफर्ममा निकै भाइरल भयो । मानिसहरूले आफ्नो ब्लगपोस्ट तथा वेबसाइटमा राख्न थाले । हरेक कुरामा उक्त फोटोलाई मिम बनाउँदै प्रयोग गर्ने प्रचलन बढ्यो ।

कुकुरको अनुहारमा देखिएको भावले नै धेरै ध्यान खिच्याे । अहिले १७ वर्ष पुगेको याे कुकुरको अवस्था कस्तो छ भन्ने कुराको कुनै सूचना भने बाहिर आएको छैन ।

मस्क र डजक्वाइनको सम्बन्ध

'एलन मस्क' शेयर बजारमा निकै चर्चित नाम हो । उनकै कारण कैयौं कम्पनीको शेयर मूल्यमा उथलपुथल हुने गर्छ ।

मस्कले क्रिप्टोकरेन्सीबारे आफ्ना धारणा राख्ने क्रममा डजक्वाइन नजिक भए । सन् २०२१ मा उनले उक्त क्रिप्टोकरेन्सीको प्रशंसा गरिदिँदा करेन्सीको मूल्य आकाशिएको थियो ।

उनी कहिले डजक्वाइनको प्रशंसा गरिरहेका हुन्छन्, कहिले चर्को आलोचना गर्छन् । उनले प्रशंसा गरेको समयमा डजक्वाइनको मूल्य बढ्छ र  आलोचना गर्दा डजक्वाइनको मूल्य घट्छ ।

त्यसैले मस्क र डजक्वाइनको सम्बन्ध ठ्याक्कै यस्तो छ भन्न सकिने अवस्था छैन । यसो त मस्कले धेरै पटक डजक्वाइन तथा बिटक्वाइन जस्ता क्रिप्टोकरेन्सीका बारेमा मिम तथा जोक पोस्ट गरिरहेका हुन्छन् । उनकै मिमका कारण पनि क्रिप्टोकरेन्सीको बजारमा ठूलो प्रभाव पर्छ ।

मस्कले कैयौं पटक डजक्वाइन प्रयोगकर्तामैत्री र भविष्यमा यसका अधिक सम्भावना भएको भन्दै तारिफ गरिरहन्छन् । यसो त डजक्वाइनलाई लिएर मस्क बारम्बार विवादमा तानिरहन्छन् । यही विवादलाई शान्त पार्न उनले ट्वीटरको लोगो परिवर्तन गरेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

यद्यपि ट्वीटरको लोगो सधैंका लागि परिवर्तन भएको हो वा अस्थायी रूपमा डजक्वाइनको प्रचार गर्न राखिएको हो भन्नेबारे कुनै स्पष्ट जानकारी छैन । एलन मस्कले भने एकजना व्यक्तिसँगको पुरानो च्याटको स्क्रिनशट शेयर गर्दै आफूले वाचा पूरा गरेको उल्लेख गरेका छन् ।

'चेयरम्यान' ट्वीटर ह्यान्डल रहेका व्यक्तिले उनको एक ट्वीटको रिप्लाइमा 'जस्ट बाइ ट्वीटर एन्ड चेन्ज द बर्ड लोगो टु अ डज' अर्थात् ट्वीटर खरिद गरेर ट्वीटरको लोगो डजसँग परिवर्तन गर्नको लागि आग्रह गरेका छन् ।

उनले क्षणिक रूपमा वाचा पूरा गर्न वा डजक्वाइन प्रतिको विवाद समाधान गर्न यस्तो गरेको हुनसक्ने आशंका गरिएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित