फेसबुक, टिकटक र ट्वीटर चलाउन पाइदैन यी देशहरुमा

फेसबुक, टिकटक र ट्वीटर चलाउन पाइदैन यी देशहरुमा
युरोपनेपाली खबर २०७८ माघ ५ गते बुधबार, 19-01-2022


सामाजिक सञ्जालका माध्यमहरू; फेसबुक, ट्वीटर र टिकटक हाम्रो जीवनको अंग नै बनिसकेका छन् । यी प्लेटफर्म बिना हाम्रो दैनिकी असम्भव जस्तै बनेको छ ।

हाम्रो व्यक्तिगत जीवनदेखि लिएर व्यवसायिक जीवनसम्म यी प्लेटफर्मले निकै नै महत्त्व राख्छ । तर विश्वमा यस्ता देश पनि छन्, जहाँ यीमध्ये सबै वा कुनै प्लेटफर्म प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । 

नाइजेरिया 

सात महिनाको लामो अन्तरालपछि नाइजेरियामा गत हप्तादेखि सोसल मिडिया साइटहरू चलाउने अनुमति दिइएको थियो । २०२१ को जुन महिनामा नाइजेरियाको राष्ट्रपति मुहम्मदु बुहारीको ट्वीट ट्वीटरले डिलिट गरेपछि नाइजेरियन सरकारले टेलिकम कम्पनीहरूलाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउन निर्देशन दिएको थियो ।

देशमा विशेषगरी पत्रकार र अभियानकर्ताले प्रयोग गर्ने सम्पूर्ण सामाजिक सञ्जालका प्लेटफर्ममा प्रतिबन्ध लगाइएको थियो । यद्यपि धेरै आलोचनापछि नाइजेरियन सरकारले यो प्रतिबन्ध जनवरी १३ बाट फुकुवा गरेको छ ।

बुझ्नुपर्ने कुरा चाहिँ के थियो भने सरकारले प्रतिबन्ध लगाउनुभन्दा केही महिनाअगाडि मात्र आफ्नो प्रयोगकर्ताको संख्याको आधारमा ट्वीटरले आफ्नो अफ्रिकन अफिस घानामा खोल्ने निर्णय गरेको थियो । नाइजेरियन प्रयोगकर्ताले अहिले पनि भीपीएन प्रयोग गरेर ट्वीटर प्रयोग गरिरहेका छन् । 

चीन 

चिनियाँ सरकारले सन् २००९ देखि नै फेसबुक र ट्वीटरमा प्रतिबन्ध लगाएको थियो । सिनजियाङ प्रदेशमा भएको आन्दोलनका अभियानकर्तालाई कारबाही गर्ने क्रममा चिनियाँ सरकारले फेसबुक र ट्वीटरमा प्रयोगमा नै प्रतिबन्ध लगाएको थियो ।

यतिमात्र होइन, चिनियाँ सरकारले मेटाको ह्वाट्सएप र इन्स्टाग्राममा पनि प्रतिबन्ध लगाएको छ ।

टेन्सेन्टले बनाएको ‘विच्याट’ नै चीनमा व्यापक रुपमा प्रयोग भइरहेको छ । प्रयोगकर्ताले डेटा शेयर गर्ने सर्तमा सन् २०११ देखि सरकारले नै सहुलियत दिएर यो एपको प्रयोग बढाएको छ ।

त्यस्तै चीनले नै बनाएको ‘टिकटक’ एप चीनमा नै चल्दैन । डेभलपर बाइटडान्सले चिनियाँ बजारको लागि टिकटकजस्तै छुट्टै ‘डाउयिन’ एप बनाएको छ । 

भारत 

सन् २०१६ मा जब टिकटक सार्वजनिक भयो, यसको सबैभन्दा ठूलो बजार नै भारत थियो । सन् २०२० मा गरिएको एक अध्ययन अनुसार टिकटकको कूल डाउनलोड संख्यामध्ये ३० प्रतिशत डाउनलोड भारतमा भएको थियो ।

भारतकै लागि भनेर एपमा विभिन्न स्थानीय भाषा पनि उपलब्ध गराइएको थियो ।

यद्यपि २०२० को जुन महिनादेखि भारतीय सरकारले देशको सार्वभौमिकतामा खलल पुर्‍याएको भन्दै टिकटकसहित अन्य ५८ वटा मोबाइल एपमा प्रतिबन्ध लगायो । यद्यपि चीन र भारतबीचको द्धन्द्धका कारण यी एप बन्द भएको जनाइएकाे छ । 

इरान 

इरानमा पनि सन् २००९ देखि विवादित चुनाव र जनप्रदर्शनका बीच सरकारको विरोधलाई सीमित पार्न फेसबुक र ट्वीटरमा प्रतिबन्ध लगाइएको छ । केही प्रयोगकर्ता अहिले पनि भीपीएन प्रयोग गरेर फेसबुक र ट्वीटर प्रयोग गर्छन् ।

यद्यपि इरानमा भीपीएनलाई अवैधानिक मान्यता दिइएको छ । यी सबैका बीच पनि इरान सरकारले सन् २०२० देखि आफ्नो नेसनल इरानियन इन्टरनेट खोल्नको लागि चीनको सहकार्यमा काम गरिरहेको छ ।

यसले इरानले पनि चीनको जस्तै आफ्नो छुट्टै इन्टरनेट नियन्त्रण गर्नको लागि काम गरेको अनुमान गरिएको छ । 

उत्तर कोरिया 

औपचारिक रुपमा हेर्ने हो भने उत्तर कोरियामा फेसबुक र ट्वीटर सन् २०१६ देखि प्रतिबन्धित छ । देशको डेटा बाहिरिन नदिने अभियानको रुपमा यी प्लेटफर्ममा प्रतिबन्ध लगाइएको थियो ।

तर यो भन्दा अगाडि पनि उत्तर कोरियाको प्रयोगकर्ताहरूले स्वतन्त्र रुपमा सामाजिक सञ्जाल भने प्रयोग गर्न पाउँदैन थिए । वर्ल्डवाइड वेब पनि सरकारको नियन्त्रणमा प्रयोग हुन्थे । 

तुर्कमेनिस्तान

पूर्व-सोभियतमध्ये एसियाली राज्य तुर्कमेनिस्तानले पश्चिमी सामाजिक सञ्जालका प्लेटफर्महरू साथै लोकप्रिय रूसी नेटवर्कहरूमा प्रतिबन्ध लगाएको छ । राज्यले फेसबुक र ट्वीटरमा प्रतिबन्ध मात्र लगाएको छैन, यो देशमा एउटा नियम पनि छ ।

यो नियम अनुसार घरको इन्टरनेट जडानको लागि साइन अप गर्दा भीपीएनहरू प्रयोग नगर्ने भनेर कुरानको कसम खान आग्रह गरिन्छ । त्यसैगरी विद्यार्थीलाई प्रतिबन्धित साइट प्रयोग नगर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर गर्न लगाइन्छ । 

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित