तनावपूर्ण खेलमा मौरिससमाथि नेपालको जित

तनावपूर्ण खेलमा मौरिससमाथि नेपालको जित
युरोपनेपाली खबर २०७८ माघ १८ गते मंगलबार, 1-02-2022


 तनानपूर्ण बनेको खेलमा नेपालले मौरिससमाथि दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा पनि मौरिससलाई पराजित गरेको छ । मिडफिल्डर सुजल श्रेष्ठको गोलमा १० खेलाडीमा समेटिएको नेपालले ९ खेलाडीमा समेटिएको मौरिससलाई १–० ले पराजित गरेको हो ।

यो जितसँगै नेपालले मौरिसससँगको दुई खेल क्लिनस्वीप गरेको छ । शनिबार भएको पहिलो खेलमा नेपालले १–० कै जित निकालेको थियो । उक्त खेलमा विमल घर्तीमगरले गोल गरेका थिए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलको छैटौ मिनेटमा दर्शन गुरुङले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार पोस्टमाथिबाट धेरै आकासियो । सातौ मिनेटमा मौरिससका लिन्स्ले ब्रासीको प्रहारले पोस्टको दिशा लिन सकेन ।

१०औं मिनेटमा सुजल श्रेष्ठले गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाए । नविन गुरुङको कर्नरलाई गोलरक्षक लोइक मिचेलले पञ्च गरेर बाहिर फालेको बललाई आशिष लामाले गरेको प्रहारमा पुजन उपरकोटीको ब्याकहिल पासलाई सुजल श्रेष्ठले क्लोज रेन्जबाट फाइनल टच दिएका थिए । उनको यो तेस्रो अन्तर्राष्ट्रिय गोल हो ।

१२औं मिनेटमा गोलरक्षक तथा कप्तान किरण चेम्जोङले पेनाल्टी बचाउँदै नेपालको बराबरी टारे । पेनाल्टी बक्समा दिनेश राजवंशीले कप्तान एन्डी सोफीलाई फउल गर्न पुगेपछि रेफ्री नविन्द्र महर्जनले मौरिससलाई पेनाल्टी प्रदान गरेको थियो । तर कप्तान एन्डी सोफीले पेनाल्टीलाई नेपाली गोलरक्षक किरणले बचाउँदा रिवाउन्डमा एरिक विष्टले क्लियर गरिदिए ।

३६औं मिनेटमा तेज तामाङको झन्डै ३० यार्ड टाढाको सशक्त प्रहार पहिलो बार च्याप्दै थोरै बाहिरिदा नेपाल अग्रता दोब्बर पार्नबाट चुक्यो । ४०औं मिनेटमा गोलरक्षक किरण पोजिसनमा नरहेको अवस्थामा एड्रियन बोट्लरको प्रहार पोस्टमाथिबाट थोरै बाहिरिदा मौरिसस बराबरीबाट चुक्यो ।

५१औं मिनेटमा भासिस्ट कुलकुट्टाको पेनाल्टी बक्सबाहिरको भली प्रहार गोलरक्ष किरणले मुस्किलले नियन्त्रणमा लिए । ६२औं मिनेटमा सुजल श्रेष्ठको फ्रिकिकमा मनिष डाँगीको टच पोस्ट नजिकैबाट थोरै बाहिरियो । ६८औं मिनेटमा एन्डी सोफीको सशक्त प्रहारलाई गोलरक्षक किरणले मुस्किलले बचाए ।

तनावपूर्ण बनेको खेलको ८०औं मिनेटमा दुवै टोली १० खेलाडीमा समेटिन पुग्यो । नेपालका पुजन उपरकोटी र मौरिससएड्रियन बोट्लरर दोहोरो पहेलो कार्डसहित रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । नेपालका सहायक प्रशिक्षक बिकास मल्ललाई रेफ्री नविन्द्र महर्जनले रातो कार्ड देखाएका थिए ।

८४औं मिनेटमा मौरिसस ९ खेलाडीमा समेटियो । गौतम श्रेष्ठमाथि खराव ट्याकल गरेपछि रेफ्री इमानुयल फुलचुन्ड दोहोरो पहेलो कार्डसहित रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । लाइटका कारण खेल झन्डै ८ मिनेट खेल रोकिन पुगेको थियो । लाइटका कारण खेल झन्डै ८ मिनेट खेल रोकिन पुगेको थियो । अन्जन विष्टको प्रहारलाई गोलरक्षक लोइक मिचेलले बचाउँदा नेपाल अग्रता दोब्बर पार्नबाट चुक्यो । त्यसपछि थप गोल निस्कन नसक्दा पहिलो हाफमा सुजलले गरेको गोल नै नेपालको जितमा निर्णायक बन्यो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित