पोर्चुगलमा ड्रिप सिटी ब्याइजलाई प्रथम चिचीपापा क्रिसमस कपको उपाधि

पोर्चुगलमा ड्रिप सिटी ब्याइजलाई प्रथम चिचीपापा क्रिसमस कपको उपाधि
www.europenepalikhabar.com २०८० पुष १३ गते शुक्रबार, 29-12-2023


लिस्बन । ड्रिप सिटी ब्याइज फुटबल क्लबले पोर्चुगलमा भएको प्रथम क्रिसमस कप फुटबल २०२३ प्रतियोगिताको उपाधि जितेको छ ।

पोर्चुगलमा सञ्चालनमा रहेको नेपाली फुटबल क्लबहरूबीच भएको फुटबल प्रतियोगिता प्रथम चिची पापा क्रिसमस कप २०२३ को फाइनलमा ड्रिप सिटी ब्याइजले दमौली फुटबल क्लबलाई ४-१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो । जितसंगै ड्रिप सिटी ब्याइजले दुई हजार युरो नगदसहित ट्रफि हात पारे । त्यस्तै उपविजेता दमौली फुटबल क्लबले एक हजार यूरो पुरस्कार प्राप्त गरेका छन् ।

त्यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडी सौगात गुरुङ घोषित भए भने सर्वाधिक गोलकर्ता बनेका वीरेन्द्र रानाभाट, उत्कृष्ट गोलरक्षक बीरे तामांग र फेयर प्ले टिमबाट यूनाइटेड ब्रदर्स सम्मानित हुँदै ट्रफी प्राप्त गरे । विजेताहरुलाई प्रतियोगिताका प्रमुख अतिथि गैर आवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका अध्यक्ष उमेश खड्का, विशेष अतिथि आसीसी सदस्य (एनआरएनए) राजकुमार थापा, तथा अन्य अतिथिहरु जनजाति महासंघ पोर्चुगलका उपाध्यक्ष बौद्ध प्रसाद गुरुङ र एनसीसी पोर्चुगलका सदस्य हेम गुरुंगले मेडल तथा पुरस्कार वितरण गरेका थिए ।

उक्त प्रतियोगिता लिस्बनस्थित चिची पापा रेष्टूरेन्टको मुख्य प्रायोजन र ग्रिल एन्ड चिल रेष्टूरेन्टको सह-प्रायोजन तथा मनमैजू फुटबल क्लब पोर्चुगल र मेची-महाकाली क्लब पोर्चुगलको संयुक्त आयोजनामा पोर्चुगलको राजधानी लिस्बनस्थित भिक्टोरिया क्लब डे लिस्बनको खेलमैदानमा क्रिसमसको अवसर पारेर आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा १२ वटा नेपाली फुटबल क्लबलाई चार समूहमा विभाजन गरी खेलाइएको थियो ।

पोर्चुगलमा फुटबल निकै लोकप्रिय खेलको रुपमा रहेको फुटबलको माध्यमबाट त्यहां रहेका नेपालीहरुबीच पनि आत्मीयता र सद्भाव बढाउन उक्त प्रतियोगिता आयोजना गरिएको सह-आयोजक मनमैजू फुटबल क्लब पोर्चुगलका अध्यक्ष कमल खड्काले बताए । उहांले क्लबले निकट भविष्यमा नै लिस्बनमा फुटबल एकेडेमी पनि सञ्चालनमा ल्याउने योजना रहेको जानकारी दिए।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित