अमेरिकाको कन्सास सिटी रंगशालामा बुधबार बिहान खेलिएको खेलको ८०औं मिनेटमा एउटा यस्तो क्षण आयो, जब रंगशालामा उपस्थित झन्डै ७० हजार दर्शक आफ्नो सिटबाट जुरूक्कै उठे।
उनीहरू उठ्नुको कारण थियो — अर्जेन्टाइन स्टार लिओनल मेसीप्रति सम्मान प्रकट गर्न।
विश्वकप २०२६ को पहिलो खेलमा अल्जेरियाविरूद्ध आफ्ना दुवै खुट्टाको जादू देखाउँदै मेसीले ह्याट्रिक गरेका थिए। मेसीको यो ह्याट्रिक विश्व फुटबलले वर्षौंसम्म सम्झिरहनेछ। किनभने, यो ह्याट्रिकसँगै मेसीले विश्वकपमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी गरेका छन्।
ह्याट्रिक पूरा गरेपछि मेसीको स्थानमा युवा खेलाडी निको पाज मैदान प्रवेश गरेका थिए। मेसी मैदानबाट बाहिरिँदै गर्दा रंगशालामा उपस्थित हजारौंले सम्मान प्रकट गर्दा मेसी भावुक देखिन्थे।
सन् २०२२ सम्म मेसीका लागि विश्वकप फुटबल एउटा सपनाजस्तै थियो। २०२२ को कतार विश्वकप जितेपछि मेसी सर्वाधिक महान खेलाडीको अंग्रपंक्तिमा रहे। उमेरले ३८ वर्ष काटिसकेका मेसीको प्रभाव र खेल कौशल अझै पनि घटेको छैन।
कतारमा उनले विपक्षी खेलाडीलाई फनफनी घुमाएर सटिक र आकर्षक पास निकाल्थे। टिमलाई चाहिएका बेला गोल गर्थे। गत संस्करणमा फ्रान्सविरूद्ध फाइनलमा पनि उस्तै प्रभाव छाडेका मेसीले यसपटकको विश्वकपमा भने कस्तो खेल्लान् भनेर धेरैलाई चासो थियो।
त्यसो त मेसी विश्वकपअघि आफू आबद्ध मायमीबाट खेल्दा घाइते भएका थिए। उनी थाकेका कारण बीचैमा खेल त्यागेका थिए। यसले उनको फिटनेसलाई लिएर पनि करोडौं फ्यानलाई चिन्ता थियो।
तर त्यो चिन्तालाई मेसीले बुधबार आफ्नो जादूमयी खेलले मेटाएका छन्। र, फेरि एकपटक आफ्नो ट्रेडमार्क शैलीको खेल र गोल गरेका छन्।
मेसीले अल्जेरियाविरूद्ध सुरूआतदेखि नै केही उत्कृष्ट मुभ देखाएर प्रभावशाली खेल देखाउने संकेत गरेका थिए।
खेल सुरू भएको चार मिनेटमै उनले अल्जेरियाका गोलरक्षक लुका जिदानलाई छक्याउँदै बललाई जाली चुमाएका थिए। तर 'अफसाइड' का कारण त्यसलाई गोलको मान्यता दिइएन।
यद्यपि रंगशालामा उपस्थित हजारौं फ्यानले मेसीको 'अफसाइड' गोलमा पनि यसरी खुसियाली मनाए, मानौं अर्जेन्टिनाले खेल नै जित्यो।
तर भिडिओ असिस्टेन्ट रेफ्री (भार) ले त्यो गोल रद्द गरिदियो।
खेल क्रममा मेसीले गरेको फलको विषयमा पनि चर्चा नभएको होइन। उनको जुत्ताको तलतिरको भागले अल्जेरियाका खेलाडी ऐस्सा मान्डीको कुर्कुच्चामा लागेको थियो। तर रेफ्रीले कुनै कारबाही कार्ड प्रयोग गरेनन्।
खेलको १८औं मिनेटमा मेसीको त्यो शैली देखियो, जसको प्रतीक्षा सबै फ्यानलाई थियो।
गोलपोस्टभन्दा २५ यार्ड टाढाबाट मेसी आफ्नो बायाँ खुट्टा मिलाउँदै एउटा उत्कृष्ट 'कर्लिङ' प्रहार गरे। फ्रान्सका लिजेन्ड जिनेदिन जिदानका छोरा लुका जिदानले बल रोक्न दुवै हातले प्रयास गरे। तर मेसीको प्रहार यति सुन्दर र शक्तिशाली थियो, जिदानले रोक्ने कुनै मौका पाएनन्। बलले सिधै गोलपोस्टको माथिल्लो कुनाको जाली चुम्यो।
त्यसपछि त के चाहियो!
कन्सास सिटी जुरूक्कै उठ्यो। खुसियालीले रंगशाला पूरै गुञ्जायमान भयो। मेसीका लागि यो विश्वकपमा १४औं गोल थियो।
मेसीले सन् २००६ मा आफ्नो पहिलो विश्वकप खेलेका थिए। त्यसपछि लगातार ६ संस्करणको विश्वकप खेलेर कीर्तिमान बनाएका मेसी विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी पनि हुन्। उनले अल्जेरियाविरूद्ध विश्वकपको २७औं खेल खेलेका छन्।
विश्वकपअघि उनको फिटनेसको विषयमा जति चिन्ता व्यक्त गरिएको थियो, त्यसको जबाफ उनले तीव्र गतिमा खेल्दै विपक्षीमाथि दबाब सिर्जना गरेर दिए।
आफ्नै उमेरलाई समेत चुनौती दिइरहेका मेसी अल्जेरियाविरूद्ध सबभन्दा खतरनाक खेलाडी देखिन्थे। टोलीका लागि अवसर मात्र सिर्जना गर्ने होइन, विपक्षीको गल्तीको फाइदा उठाउनेमा मेसी अग्रपंक्तिमा थिए।
उनले ६०औं मिनेटमा अग्रता दोब्बर पारे। यसपटक उनले विपक्षी गोलकिपरको गल्तीको फाइदा उठाउँदै शान्त र धैर्यपूर्वक बललाई गोलपोस्टको दिशा दिएका थिए।
एलेक्सिस म्याक एलिस्टरको प्रहार जिदानले बचाउने प्रयास गर्दा फर्किएको बललाई मेसीले दायाँ खुट्टाले जाली चुमाउँदै दोस्रो गोल गरे।
यो गोलले उनको नाममा अर्को कीर्तिमान थपियो। उनी विश्वकपमा एकै खेलमा दुई गोल गर्ने सबभन्दा पाका खेलाडी बने।
१६ मिनेटपछि अर्थात् ७६औं मिनेटमा मेसीले ह्याट्रिक पूरा गरे। वैकल्पिक खेलाडी निको गोन्जालेजको पासमा मेसीले उत्कृष्ट फिनिसिङ गरेका थिए।
यो ह्याट्रिकसँगै विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने जर्मनीका दिग्गज खेलाडी मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान बराबरी गरेपछि मेसी निकै खुसी देखिन्थे। गोलपछि दुवै हात फैलाउँदै आकाशतिर हेरेर आफ्नै शैलीमा खुसियाली बनाए।
अनि, रंगशालामा उपस्थित दर्शकलाई धन्यवाद दिएको संकेत गरे।
अब यो संस्करणमा थप एक गोल गरे उनी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बन्नेछन्।
विश्वकपका सुरूआती संस्करणमा सोचेजस्तो प्रदर्शन गर्न नसकेका मेसीले पछिल्ला दुई संस्करणमा मात्र १० गोल गरिसकेका छन्। ३५ वर्षपछि विश्वकपमा १० गोल गरेका मेसीले अल्जेरियाविरूद्ध ह्याट्रिक गर्दै ६ संस्करणको विश्वकप खेल्ने पहिलो खेलाडी बनेका छन्।
सन् २००६ बाट विश्वकप यात्रा सुरू गरेका उनी इतिहासमा ६ वटा फरक विश्वकप संस्करण (२००६, २०१०, २०१४, २०१८, २०२२, २०२६) खेल्ने विश्वकै पहिलो खेलाडी बनेका छन्।
३८ वर्ष ३५७ दिनको उमेरमा ह्याट्रिक गर्दै मेसीले समकालीन प्रतिस्पर्धी क्रिस्टियानो रोनाल्डोको रेकर्ड तोडेका छन्। रोनाल्डोले ३३ वर्ष १३० दिनको उमेरमा ह्याट्रिक गरेका थिए।
विश्वकपमा १६ गोल पुर्याएसँगै मेसीले ब्राजिलका लिजेन्ड रोनाल्डो (१५ गोल) लाई पछि पार्दै दक्षिण अमेरिकाबाट विश्वकपमा सबभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्।
मेसीले विश्वकपमा डिबक्स बाहिरबाट ६ गोल गरिसकेका छन्। यसअघि ब्राजिलका रिभेलिनोको नाममा रहेको ५ गोलको रेकर्ड उनले तोडेका हुन्।
उनले विश्वकपमा आफ्नो २७औं खेल खेलेर जर्मनीका लोथर म्याथ्युजको कीर्तिमानलाई झन् बलियो बनाए। साथै, उनले विश्वकपमा रेकर्ड २० पटक कप्तानी पनि गरिसकेका छन्।
मेसीले आफ्नो पहिलो विश्वकप गोल (२००६) र पछिल्लो गोल (२०२६) बीचको समय ठ्याक्कै २० वर्ष पुर्याएका छन्। यो कुनै पनि खेलाडीका लागि विश्वकपमा सबभन्दा लामो सक्रिय समयको रेकर्ड हो।
मेसी विश्वकप इतिहासकै त्यस्ता दुर्लभ खेलाडी हुन्, जसले आफ्नो किशोरावस्था, २० को दशक र ३० को दशकमा पनि गोल गरेका छन्। ब्राजिलका पेले समेत यो रेकर्ड बनाउन ४ महिनाले चुकेका थिए।
खेलपछि अर्जेन्टिनाका प्रशिक्षक लिओनल स्कालोनीले मेसीको प्रशंसामा कुनै शब्द नभएको बताएका छन्। उनले भने, 'मसँग मेसीको वर्णन गर्न शब्द छैन। उनले २० वर्षदेखि हामीलाई यस्तै जादु देखाइरहेका छन्। उनी हरेकका लागि प्रेरणा हुन्।'
अल्जेरियका प्रशिक्षक ऐसा मान्डीले पनि मेसीको प्रशंसा गर्दै उनलाई रोक्न निकै गाह्रो भएको बताए।
'मेसी सायद इतिहासकै उत्कृष्ट खेलाडी हुन्। उनलाई रोक्न निकै गाह्रो छ, उनले पाएको हरेक मौकालाई गोलमा बदलिदिए,' उनले भने।
खेलपछि मेसीले आफू मैदानमा रमाइरहेको र अहिलेको अनुभव आफ्ना लागि बोनस भएको बताएका छन्।
'अहिले म जे अनुभव गरिरहेको छु, त्यो मेरा लागि बोनस हो,' उनले भने, 'मैले बच्चामा जति सोचेको थिएँ, त्योभन्दा धेरै पाएको छु। अहिले म केवल मैदानमा रमाइरहेको छु।'
विश्वकपमा मेसीको गोल:
• २००६ – १ गोल
• २०१० – ० गोल
• २०१४ – ४ गोल
• २०१८ – १ गोल
• २०२२ – ७ गोल
• २०२६ – ३ गोल (अहिलेसम्म)
• कुल खेल – २७, कुल गोल – १६
FOUNDER/CHIEF EDITOR :