लिस्बन, पोर्चुगल — धरान फुटबल क्लब पोर्चुगलको आयोजनामा दोस्रो बुढासुब्बा कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । युरोपली मुलुक पोर्चुगलमा अहिलेसम्म सबैभन्दा धेरै धनराशी भएको दोस्रो बुढासुब्बा कप खुला सेभेन ए साईड फुटबल प्रतियोगितामा प्रथम हुनेले ५ हजार युरो सहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो हुनेले २ हजार ५ सय युरो सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिता १३ जुलाई २०२५ मा लिस्बनको भिक्टोरिया क्लब डे लिस्बोआमा हुने भएको छ ।
प्रतियोगितामा पोर्चुगलस्थित नेपाली समुदायका विभिन्न फुटबल क्लबहरू र युरोपको विभिन्न देशमा रहेका नेपाली समुदायका फुटबल क्लबहरूले समेत सहभागिता जनाउने भएका छन् । उक्त प्रतियोगिताले नेपाली संस्कृति र खेलकुदलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको आयोजकका तर्फबाट अरुण राईले युरोपाटीलाई बताएका छन् । यस खेलकुद प्रतियोगिताबाट भाईचारा र सद्भाव समेत बढाउने विश्वास रहेको राईले बताएका हुन् ।
रोजगारी तथा अध्ययनको सिलसिलामा युरोपेली मुलुक पोर्चुगल पुगेका नेपालीहरूको लागि स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मूल नाराका साथ उक्त खेलकुद प्रतियोगिता आयोजना गरेको आयोजक धरान फुटबल क्लब पोर्चुगलले बताएका छन् ।
उक्त फुटबल प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक फुटबल क्लबहरूले धरान फुटबल क्लबसँग सम्पर्क गर्न अनुरोध समेत गरिएको छ । आयोजक धरान फुटबल क्लब पोर्चुगलले उक्त दिन उपस्थिति हुने दर्शकहरूलाई हौसलाको स्वरूप एउटा टिकट काट्दा एक हजार युरो जित्न सकिने मौका समेत दिएको छ । ‘ त्यसको लागि तपाईँले दश युरो तिरेर एउटा टिकट काट्नुपर्ने हुन्छ’ । उक्त टिकेट काटेपछि, १३ जुलाई २०२५ फुटबल प्रतियोगिताको दिन नतिजा सार्वजनिक गरिन्छ ।
FOUNDER/CHIEF EDITOR :