लिस्बन,पोर्चुगल — गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको आयोजनामा आगामी सेप्टेम्बर महिनामा युरोपस्तरीय ‘युरोप टि–१० क्रिकेट प्रतियोगिता २०२६’ आयोजना हुने भएको छ ।
युरोपमा रहेका क्रिकेटप्रेमीहरुलाई एउटै खेलकुद मञ्चमा जोड्ने उद्देश्यसहित हुन लागेको यो प्रतियोगिता युरोपमै पहिलो पटक आयोजना हुन लागेको नेपाली समुदायको युरोपस्तरीय टि–१० क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको इभेन्ट कोअर्डिनेसन गरिरहेका एनआरएनए पोर्चुगलका वरिष्ठ उपाध्यक्ष सुरज बिष्टले जानकारी दिए ।
प्रतियोगिता आगामी सेप्टेम्बर १४ देखि १६ तारिखसम्म पोर्चुगलमा सञ्चालन हुनेछ । यस प्रतियोगितामा युरोपका विभिन्न देशबाट सहभागी हुने नेपाली क्रिकेट टोलीहरूबीच प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ । प्रतियोगिताले युरोपमा नेपाली क्रिकेटको विकास, खेलाडीहरूबीच अनुभव आदानप्रदान तथा नेपाली समुदायबीच आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
प्रतियोगितामा विजेता टोलीले ५ हजार ५ सय ५५ युरो सहित ट्रफी तथा उपविजेताले २ हजार ५ सय ५५ युरो सहित ट्रफी प्रदान गरिने भएको हो ।
आयोजकका अनुसार यो प्रतियोगिता युरोपमा हालसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशिसहित सञ्चालन हुनेछ । त्यससँगै प्रतियोगिताका सम्पूर्ण खेलहरू अन्तर्राष्ट्रिय क्रिकेट प्रसारण संस्था युरोपेली क्रिकेट नेटवर्क (ECN) मार्फत प्रत्यक्ष प्रसारण गरिने भएकाले युरोप मात्र होइन, विश्वभर रहेका नेपाली क्रिकेटप्रेमीहरूले समेत प्रत्यक्ष रूपमा खेलहरूको अवलोकन गर्न सक्नेछन्। यसले प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरमा समेत विशेष पहिचान दिलाउने विश्वास लिइएको छ ।
एनआरएनए पोर्चुगलले प्रतियोगितासम्बन्धी टोली सहभागिता, खेल तालिका, प्रतियोगिता स्थल, प्रायोजक तथा अन्य व्यवस्थापनका विषयमा विस्तृत जानकारी आगामी जुलाई ३१ तारिख आयोजना हुने पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने जनाएको छ ।
उक्त पत्रकार सम्मेलन लिस्बनस्थित ‘लभ लिस्बन रेस्टुरेन्ट’ मा आयोजना हुने कार्यक्रम रहेको छ । पत्रकार सम्मेलनमा प्रतियोगिताका सम्पूर्ण पक्षबारे जानकारी दिइनुका साथै सहभागी टोली, खेल सञ्चालनको तयारी तथा आगामी कार्यक्रमको रूपरेखाबारे पनि जानकारी गराइने आयोजकले जनाएको छ ।
युरोपमा नेपाली समुदायको संख्या निरन्तर बढ्दै गइरहेका बेला खेलकुदमार्फत नेपालीहरूलाई एकताबद्ध बनाउने उद्देश्यले आयोजना हुन लागेको यो प्रतियोगिताले युरोपमा नेपाली क्रिकेटको नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ ।
FOUNDER/CHIEF EDITOR :