दशौँ राष्ट्रिय खेलकुदमा एनआरएनएका खेलाडीको उत्कृष्ट प्रदर्शन, पौडीमा ६ स्वर्णसहित ९ पदक

दशौँ राष्ट्रिय खेलकुदमा एनआरएनएका खेलाडीको उत्कृष्ट प्रदर्शन, पौडीमा ६ स्वर्णसहित ९ पदक
www.europenepalikhabar.com २०८३ मंसीर ९ गते, बुधबार, 25-11-2026

लिली बोहरा र मिखा काया थापाको उत्कृष्ट प्रदर्शन, राष्ट्रिय कीर्तिमानसमेत कायम

लिस्बन, पोर्चुगल । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ मा गैरआवासीय नेपाली संघ (एनआरएनए) का खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै नेपालको खेलकुद क्षेत्रमा आफ्नो प्रतिभा र क्षमता प्रदर्शन गरेका छन्। प्रतियोगितामा विश्वका १९ देशबाट सहभागी ३९ जना खेलाडीले एनआरएनएको प्रतिनिधित्व गर्दै ११ विधाका विभिन्न इभेन्टमा प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतियोगिताअन्तर्गत जारी २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपमा एनआरएनएका खेलाडीहरूले अहिलेसम्म ६ स्वर्ण, १ रजत र २ कांस्य गरी कुल ९ पदक जित्न सफल भएका छन्। बुधबारसम्मको नतिजाअनुसार स्वर्ण पदकका आधारमा एनआरएनए पदक तालिकाको दोस्रो स्थानमा रहेको छ।

पौडी प्रतियोगितामा एनआरएनएका युवा महिला खेलाडी लिली बोहरा र मिखा काया थापाले विशेष प्रभाव जमाएका छन्।

१५ वर्षीया लिली बोहराले महिला ८०० मिटर फ्रिस्टाइलमा ९ मिनेट ३४.०६ सेकेन्डको समय निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन्। उनले महिला २०० मिटर फ्रिस्टाइलमा पनि २ मिनेट १४.०३ सेकेन्डको समयसहित स्वर्ण पदक हासिल गरेकी छन्। त्यस्तै, महिला ४०० मिटर व्यक्तिगत मेड्लेमा ५ मिनेट १७.०१ सेकेन्डको समय निकाल्दै स्वर्ण जित्ने क्रममा सन् २०१६ मा कायम राष्ट्रिय कीर्तिमानसमेत तोडेकी थिइन्। उनले महिला १०० मिटर फ्रिस्टाइलमा कांस्य पदक पनि जितेकी छन्।

त्यसैगरी, १६ वर्षीया मिखा काया थापाले महिला ५० मिटर बटरफ्लाईमा ३०.७८ सेकेन्डको समयसहित स्वर्ण पदक जितेकी छन्। उनले महिला १०० मिटर फ्रिस्टाइल र २०० मिटर ब्याकस्ट्रोकमा पनि स्वर्ण पदक हासिल गरिसकेकी छन्। त्यस्तै, महिला १०० मिटर ब्याकस्ट्रोकमा रजत तथा २०० मिटर फ्रिस्टाइलमा २ मिनेट १९.६८ सेकेन्डको समयसहित कांस्य पदक जितेकी छन्।

एनआरएनएका खेलाडीहरूको यो सफलताले विदेशमा जन्मेहुर्केका नेपाली मूलका दोस्रो पुस्ताका युवाहरूमा रहेको खेल प्रतिभा र सम्भावनालाई राष्ट्रिय स्तरमा उजागर गरेको छ। विश्वका विभिन्न देशमा रहेर पनि नेपाली खेलकुदसँग जोडिन चाहने युवाहरूको सहभागिताले नेपालको खेलकुद क्षेत्रलाई अन्तर्राष्ट्रिय नेपाली समुदायसँग जोड्ने महत्वपूर्ण आधार तयार गरेको छ।

गैरआवासीय नेपाली संघले विदेशमा रहेका नेपाली प्रतिभालाई नेपालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा जोड्ने अभियानलाई निरन्तरता दिँदै आएको जनाएको छ। संघले प्रतियोगितामा सहभागी खेलाडीहरूको मनोबल उच्च बनाउन विश्वभर रहेका नेपाली समुदायलाई उनीहरूको हौसला बढाउनसमेत आग्रह गरेको छ।

एनआरएनएका खेलाडीहरूले पौडीमा देखाएको यो उत्कृष्ट प्रदर्शनले आगामी दिनमा नेपाली खेलकुदमा विदेशमा रहेका दोस्रो पुस्ताका युवाहरूको योगदान अझ बढ्ने अपेक्षा गरिएको छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित