विश्वकप छनौटका लागि प्लेअफ फाइनलमा पोर्चुगल र म्यासेडोनिया भिड्दै

विश्वकप छनौटका लागि  प्लेअफ फाइनलमा पोर्चुगल र म्यासेडोनिया भिड्दै
www.europenepalikhabar.com २०७८ चैत १५ गते मंगलबार, 29-03-2022


एजेन्सी – फिफा विश्वकप २०२२ कतार अन्तर्गत युरोपेली छनोटको प्लेअफ फाइनलमा पोर्चुगल र नर्थ म्यासेडोनिया भिड्दैछन् । नेपाली समयअनुसार मध्यरातको १२:४५ बजे सुरु हुने खेलको विजेता विश्वकपका लागि छनोट हुनेछ ।

दुवै टोलीले प्लेअफ अन्तर्गत सेमिफाइनलमा जित हासिल गरेका हुन् । पोर्चुगलले टर्कीमाथि ३-१ को जित दर्ता गर्दै फाइनलमा स्थान पक्का गरेको हो । त्यस्तै म्यासेडोनियाले युरोपेली च्याम्पियन इटालीलाई स्तब्ध पार्दै फाइनल भिडन्तमा स्थान बनाएको हो । इटाली इन्ज्युरी समयमा गोल खाएपछि १-० को हार बेहोर्दै विश्वकप पुग्नबाट बन्चित भएको थियो ।

सन् १९९८ यता लगातार विश्वकप खेल्दै आएको पोर्चुगल यसपटक पनि सहभागिता निरन्तरता दिन चाहन्छ । पोर्चुगलका ३७ वर्षीय कप्तान क्रिस्टियानो रोनाल्डो पनि सम्भवत: करिअरको अन्तिम विश्वकप खेल्ने लक्ष्यसहित आज मैदान उत्रनेछन् । आज छनोट नभएको अवस्थामा रोनाल्डो अर्को विश्वकप आउँदा ४१ वर्ष पुग्नेछन् ।

रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता हुन् । उनले १ सय १५ गोल गरिसकेका छन् । रोनाल्डोले आफ्नो करिअरमा ४ पटक विश्वकप खेल्दै ७ गोल गरेका छन् । सन् २०१६ मा युरो कप उपाधि दिलाएका रोनाल्डो विश्वकप जित्दै उच्च विन्दुमा अन्तर्राष्ट्रिय करिअरबाट विश्राम लिन चाहन्छन् ।

यता म्यासेडोनिया आफ्नो इतिहासमा पहिलो पटक विश्वकप खेल्न चाहन्छ । युरो २०२० मा सहभागिता जनाउँदै पहिलो पटक ठूलो प्रतियोगिता खेलेको म्यासेडोनियाले जर्मनीलाई २-१ ले पराजित गरेको थियो । टोलीले पछिल्ला ८ मध्य १ खेलमा मात्र हार बेहोरेको छ ।


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित