भियतनाम युद्ध जितिँदैन भन्ने अमेरिकी सरकारका उच्च पदाधिकारीलाई धेरै पहिले नै थाहा थियो, तर पनि राजनीतिक फाइदाका लागि उनीहरूले आफ्ना सिपाहीलाई सहिद बन्न भियतनाम पठाइरहे ।
पेन्टागन पेपर्स प्रकरणले अमेरिकी सत्ताको चरित्रमात्रै उजागर गरेन, २० वर्ष लामो भियतनाम युद्धको अन्त्य पनि गरिदियो । न्यायालयलाई समेत प्रभावमा पारेर सत्ताको पृष्ठपोषण गराउन सफल निक्सनलाई एक पत्रकारको अदम्य साहसले बहिर्गमनको बाटो देखाइदिएको थियो । यो सत्यको विजय र झुठको पराजयमात्रै थिएन, प्रेसको शक्तिको एउटा अनुपम उदाहरण पनि थियो । राजनीतिले बिराएको बाटो सच्याउने सामथ्र्य प्रेसले देखाएको थियो । जसबाट नेपाली प्रेस र राज्यले आज पनि सिक्न सक्छन् ।
सन् १९६७ मा अमेरिकामा लिन्डन बी. जोनसन राष्ट्रपति थिए । उनकै प्रशासनमा रक्षा मन्त्रालयको जिम्मेवारी हेर्थे, डिफेन्स सेक्रेटरी रोबर्ट म्याक्नामारा । म्याक्नामारा जोनसनअघिका राष्ट्रपति जोन एफ केनेडीको प्रशासनमा पनि रक्षामन्त्रीकै जिम्मेवारीमा थिए । म्याक्नामारा अत्यन्त महत्वपूर्ण समयमा अमेरिकाको रक्षामन्त्री रहेका थिए । उनको कार्यकालमा भियतनाम युद्ध गृहयुद्धबाट अन्तर्राष्ट्रिय शक्तिराष्ट्रको प्रोक्सी (छद्म) युद्धमा बदलिएको थियो । यसमा रक्षामन्त्री म्याक्नामाराको पनि महत्वपूर्ण हात थियो । तर, लिन्डन जोनसनको राष्ट्रपति समयावधि एक वर्ष बाँकी छँदै म्याक्नामाराले आफ्नो पदबाट राजीनामा दिए । राजीनामा दिनुपछाडि उनी र जोनसनबीच बढ्दै गएको मतभिन्नता महत्वपूर्ण कारण थियो ।
म्याक्नामाराले राजीनामा दिनु केही अघि भियतनाम युद्धबारे एक अनुसन्धान सुरु गराएका थिए । यही नै ऐतिहासिक घटनाको मुख्य कारण बन्यो । उनले सन् १९६७ जुन १७ मा प्रख्यात अनुसन्धान फर्म र्यान्ड कर्पोरेसनलाई अमेरिका–भियतनाम सम्बन्धको सम्पूर्ण पाटो समेटेर एक रिपोर्ट तयार पार्ने क्षेत्राधिकार दिएका थिए । यस अध्ययन परियोजनाका लागि र्यान्डले खटाएका ३६ भन्दा बढी अनुसन्धानकर्तामध्ये एक थिए, अर्थशास्त्री ड्यानियल एल्सवर्ग । हार्वर्ड विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातक टप गरेका एल्सवर्गले विगतमा पनि अमेरिकी रक्षा मन्त्रालय र र्यान्ड कर्पोरेसनका लागि काम गरेका थिए ।
यही कारणले उनलाई यो गोप्य (क्लासिफाइड) परियोजनामा सहजै सहभागी गराइयो । परियोजनामा अध्ययनका क्रममा उनले भियतनाम युद्धबारे अमेरिकी सरकारले आफ्ना नागरिक र विश्वलाई नै ठूलो झुट बोलिरहेको थाहा पाए । उक्त झुटले धेरै मानिसको ज्यान गएको र अझै धेरै ज्यान जोखिममा रहेको लागेपछि एल्सवर्गले रिपोर्ट मिडियामा ल्याए । पेन्टागन पेपर्स नाम गरेको त्यो रिपोर्ट मिडियामा बाहिरिएपछि अमेरिकी सरकार मिडिया र एल्सवर्गविरुद्ध अदालतमा गयो । यस घटनामा लामो अदालती कारबाही भयो । तर, यो घटनाबारे आउनुअघि पेन्टागन पेपर्स जुन विषयबारे लेखिएको थियो, त्यसबारे चर्चा गर्नु उपयुक्त हुन्छ ।
भियतनाम युद्धको इतिहास : आजको दिनमा भियतनाम, लाओस र कम्बोडिया रहेको सम्पूर्ण भूभागमाथि दोस्रो विश्वयुद्धअघि फ्रान्सको औपनिवेशिक शासन थियो । ‘फ्रेन्च इन्डोचाइना’ भनिने यो क्षेत्रलाई दोस्रो विश्वयुद्धमा जापानले कब्जा गर्यो । यो क्षेत्रलाई वैदेशिक शासनबाट पूर्ण मुक्त गराउन सानातिना संगठित प्रयास चलिरहेको थियो । यीमध्ये कम्युनिस्ट नेता होची मिन्हको नेतृत्वमा भियत मिन्ह नामक एक बलियो प्रतिरोधी गठबन्धनले आकार लिएको थियो । उपनिवेशविरोधी, समाजवादी विचारधारा बोकेका शक्तिहरूको यो गठबन्धनले दोस्रो विश्वयुद्धको अन्त्यसम्म उत्तरी भियतनामलाई आफ्नो बलियो पकड बनाइसकेको थियो ।
दोस्रो विश्वयुद्धमा सम्पूर्ण फ्रेन्च इन्डोचाइना क्षेत्रलाई भने जापानले कब्जा गर्यो । तर, जापानको नियन्त्रण छोटो रह्यो । विश्वयुद्धको अन्त्यमा जापान पराजित राष्ट्र भएकाले उसको पकडमा रहेका भूभाग गुमेको थियो । इन्डोचाइना क्षेत्रमा सन् १९४५ पछि फ्रेन्च साम्राज्य पुन फर्कियो । तर, यसपटक उसले बलियो आन्तरिक प्रतिरोधको सामना गर्नुपर्यो । नौ वर्ष चलेको कठोर संघर्षमा अमेरिकाले फ्रान्सलाई गोप्य रूपमा ठूलो आर्थिक सहयोग गरेको थियो । र्यान्ड कर्पोरेसनको अनुसन्धानका अनुसार एक समय अमेरिकाले फ्रान्सको उपनिवेश कायम राख्ने युद्धको ८० प्रतिशतसम्म आर्थिक भार अमेरिकाले उठाएको थियो । सहयोगको बाबजुद फ्रेन्च फौज भियत मिन्ह सेनासँग हारिरहेको थियो । लगातारको हारपछि फ्रान्स भियतनामबाट बाहिरिने निर्णयमा पुग्यो ।
कोरिया र भियतनाम युद्ध विषयमा सन् १९५४ मा स्विट्जरल्यान्डको जेनेभामा एउटा अन्तर्राष्ट्रिय सम्मेलन डाकिएको थियो । सम्मेलनमा फ्रान्सले फ्रेन्च इन्डोचाइना क्षेत्रबाट आफ्नो सेना फिर्ता गर्ने निर्णय सुनायो । उसले आफ्नो कब्जामा रहेको भूभागलाई उत्तरी भियतनाम, दक्षिणी भियतनाम, लाओस र कम्बोडियामा बाँडेर स्वतन्त्रता दिने प्रस्ताव राख्यो । सबै पक्ष सहमत भए ।
भियतनाम वार
उत्तरी भियतनाम र दक्षिणी भियतनाम अलग हुने वा एक हुने विषयमा दुई वर्षभित्र हुने निर्वाचनले टुंगो लगाउने सहमति भएको थियो । तर, चुनाव हुँदा उत्तरी भियतनामले चाहेजस्तो एकताको पक्षमा ठूलो मत आउने देखिएपछि अमेरिका जसरी पनि चुनाव टार्ने पक्षमा देखियो । शितयुद्धको चरम अवस्थामा अमेरिकी सरकारमा कुनै एउटा देशमा कम्युनिस्ट शासन स्थापना भए छेउछाउका सबै देशमा त्यो फैलिन्छ भन्ने विश्वास थियो । यसलाई तिनले डोमिनो प्रभाव भन्थे । अमेरिकी राष्ट्रपति आइजनहावरले सन् १९५४ अप्रिलमा दिएको एक मन्तव्यमा भियतनामको नाम लिएर ‘डोमिनो’ प्रभावलाई रोक्नुपर्नेबारे बोलेका थिए ।
फ्रान्स बाहिरिएको केही समयपछि नै अमेरिका दक्षिणी भियतनामी पक्षलाई सुझाब दिने भन्दै भियतनामी द्वन्द्वमा प्रत्यक्ष सहभागी भयो । अमेरिकी सरकारले दक्षिण भियतनामका नेताका रूपमा उदाइरहेका नो–डिन्ह जियमलाई सघाउन थाल्यो । होची मिन्हको प्रतिष्ठाको कारण दक्षिण भियतनाममा समेत भियत मिन्हको समूह बन्न थालेका थिए । एकाताका लागि हुने भनिएको निर्वाचन टर्दै गएको र द्वन्द्व नजिकिँदै गएको वातावरणमा उत्तर भियतनामले दक्षिणका समर्थकलाई सघाउन छिमेकी लाओस र कम्बोडियाका जंगलमार्ग हुँदै एक गोप्य मार्ग प्रयोग गर्न थालेको थियो । होची मिन्ह ट्रायल नामक यस मार्ग पछि युद्ध चर्किंदा उत्तर भियतनामीका लागि निकै उपयोगी बन्यो ।
उत्तर भियतनाम दक्षिणमाथि हावी भइरहँदा अमेरिकी सरकारले भियतनाममा आफ्नो सेना बढाइरहेको थियो । आफूलाई दक्षिण भियतनामका राष्ट्रपति घोषित गरेका दक्षिण भियतनामी नेता डिन्ह क्रिस्चियन क्याथोलिक धर्मावलम्बी थिए । बौद्धमार्गीको बाहुल्य रहेको देशमा उनी आफ्नो धर्मनिकटका मानिसलाई मात्र उच्च पदमा राखिरहेका थिए । यसले दक्षिणी भियतनामीहरूमा असन्तुष्टि बढिरहेको थियो । बौद्ध साधुहरू नै सरकारको विरोधमा आत्मदाह गर्न थालेका थिए । डिन्हको अलोकप्रियताले कम्युनिस्टविरुद्धको लडाइँ कमजोर हुने ठानेर अमेरिका आफैँले डिन्हविरुद्ध सन् १९६३ नोभेम्बरमा सैनिक कु गरायो । कुका क्रममा डिन्ह मारिए र सैनिक जनरल दक्षिण भियतनामको राष्ट्रपति बने ।
सन् १९६४ मा राष्ट्रपति जोनसनले टोन्किन खाडीमा रोकिराखेको आफ्नो युद्धपोतमा उत्तरी भियतनामीहरूले आक्रमण गरेको भन्दै कंग्रेसबाट विशेष युद्ध अधिकार लिए । यो अधिकारअन्तर्गत भियतनाम युद्धमा उनी कंग्रेससँग नसोधी जस्तो कदम चाल्न पनि स्वतन्त्र भए (पछिका अध्ययनले टोन्किन खाडीको आक्रमण नै नभएको देखिएको थियो) । जोनसनले प्राप्त नयाँ अधिकारमार्फत भियतनाममा अमेरिकी सेना बढाउन थाले । सेना बढाएको समेत आमसर्वसाधारणलाई एक वर्षपछि मात्रै जानकारी दिइएको थियो । अमेरिकी स्थल सेनाको संख्या प्रत्येक वर्ष बढाउँदै लाँदा सन् १९६७ मा साढे पाँच लाख पुगेको थियो ।
अमेरिकाको सहयोग पाएको दक्षिण भियतनामभित्र भने उत्तर भियतनामप्रति विशाल जनसमर्थन देखिन्थ्यो । दक्षिण भियतनामभित्रै उत्तर भियतनाम पक्षधर गुरिल्ला दिन दुईगुणा, रात चौगुणाको हिसाबमा बढिरहेका थिए । भियतनाम युद्ध भीषण हुँदै गएपछि कम्युनिस्ट राज्य सोभियत संघ र चीनले उत्तर भियतनामलाई सैन्य सहयोग दिन थाले । त्यसपछि अमेरिकाले हवाई बमबारीमा जोड दिन थाल्यो । भनिन्छ, भियतनाम युद्ध अवधिमा अमेरिका एक्लैले दोस्रो विश्वयुद्धभर सम्पूर्ण देशले खसालेभन्दा बढी बम इन्डोचाइना क्षेत्रमा खसाल्यो ।
सन् १९६९ मा निर्वाचित भएका राष्ट्रपति निक्सनले चुनावी अभियानमा आफूले जिते भियतनाम युद्धबाट सेना फिर्ता गर्ने वाचा गरेका थिए । तर चुनाव जितेपछि उनी आफ्नो वाचाबाट पछाडि फर्किए । यही वर्ष पछि ‘पेन्टागन पेपर्स’ नामले चिनिएको रिपोर्ट तयार भएको थियो । रिपोर्ट बनाउन संलग्न एल्सवर्ग युद्धका कैयौँ पक्षलाई लुकाएको र बाहिर ल्याएका कुरा पनि गलत भएकोबाट प्रभावित भएका थिए । भियतनाम युद्ध जितिँदैन भन्ने अमेरिकी सरकारका उच्च पदाधिकारीलाई धेरै पहिले नै थाहा थियो । तर, पनि राजनीतिक फाइदाका लागि उनीहरूले आप्mना सिपाहीलाई सहिद बन्न भियतनाम पठाइरहे ।
सन् १९६० को दशकमा भियतनाम युद्धमा अमेरिकी संलग्नताको विरोधमा अमेरिकाभित्र र विश्वका धेरै ठाउँमा विरोध प्रदर्शन भए । सबैभन्दा प्रभावशाली प्रदर्शन अमेरिकाभित्रै भएका थिए । अमेरिकाको प्रत्यक्ष चासो नभएको स्थानमा ठूलो सैनिक पठाएको विषयमा धेरै अमेरिकी असन्तुष्ट थिए । क्याम्पसहरू विरोधका केन्द्र बनेका थिए । विश्वयुद्धबाहेक विदेशमा भएका युद्धमध्ये भियतनाममा सबैभन्दा ठूलो संख्यामा अमेरिकी सैनिकको ज्यान गएको थियो (यो युद्धमा ५८ हजार अमेरिकी सैनिकले ज्यान गुमाएका थिए । भियतनामी पक्षमा त हताहतीको संख्या ३० लाखसम्म भएको अनुमान गरिन्छ ।) जसकारण, भियतनाम लड्न पठाइएका सैनिकका परिवारसमेत ¥यालीमा देखिन थाले । भियतनामबाट फर्किएका सैनिकहरूसमेत संगठित रूपमै युद्धको विरोधमा उत्रिए । कैयौँ सेलेब्रिटीहरू पनि अघि आएर भियतनाम युद्ध अन्त्य गरिनुपर्ने मागमा समर्थन जनाउन थाले । यसमा चर्चित बक्सर मोहम्मद अलीदेखि बिटल्सका लिड गायक जोन लेननसम्म थिए ।
एल्सवर्ग स्वयं यस्ता ¥यालीमा जान थालेका थिए । त्यो वर्ष एल्सवर्गले भियतनाम पेपर्समा सरकारले कतिसम्म झुट बोलिरहेको छ भन्ने कुरा सबैले जान्नुपर्ने ठाने । यस कार्यमा उनलाई ¥यान्ड कर्पोरेसनका अर्का सहकर्मी एन्थोनी रुसोले सघाए । सन् १९६९ का अन्तिम महिनातिर दुईजनाले गोप्य तरिकाले सबै रिपोर्ट फोटोकपी गरे । सुरुमा एल्सवर्गले भियतनाम युद्धको विरोध गरिरहेका सिनेटरलाई रिपोर्टबारे बोलिदिन आग्रह गरेका थिए । तर, सिनेटर रिपोर्टको गोपनीय चरित्रका कारण बोल्न हच्किए । तिनले यसले राष्ट्रिय स्वार्थमा असर गर्ने तर्क गरे । तर, भने यो रिपोर्टमा लेखिएका कुरा बाहिर नल्याए राष्ट्रिय स्वार्थमा असर पर्ने लागिरहेको थियो । त्यसैले उनी रोकिने पक्षमा थिएनन् । त्यसपछि उनी मिडियाको सहयोग लिने निर्णयमा पुगे । उनको यो निर्णयले अमेरिकामा सरकार र मिडियाबीच मुद्दामामिलाको शृंखला मात्र चलेन, यसले प्रेस स्वतन्त्रताबारे पनि बहस सुरु भयो । साथै, कस्ता क्लासिफाइड सामग्री प्रकाशन गर्न मिल्ने, राष्ट्रिय हित र सरकारको स्वार्थ एउटै हो जस्ता विषयमा पनि बहस भए ।
सन् १९७१ मार्च २१ मा एल्सवर्ग र न्युयोर्क टाइम्सका रिपोर्टर निल सिहानबीच भेट भयो । सोही भेटमा एल्सवर्गले आफूसँग भएको भियतनामसम्बन्धी रिपोर्ट सिहानलाई दिए । रिपोर्ट पढ्न र यसबारे समाचार बनाउन सिहान र न्युयोर्क टाइम्सका सम्पादक गेराल्ड गोल्डले एक होटेलमा कोठा नै लिएका थिए । जुन १३, १९७१ मा न्युयोर्क टाइम्सले ‘पेन्टागन पेपर्स’ नाम दिएर एल्सवर्गले दिएको रिपोर्टको आधारमा पहिलो स्टोरी प्रकाशित ग¥यो । भियतनाम युद्धबारे दोस्रो विश्वयुद्धपछिका सरकारका कमजोरी र झुट समेटिएको यो स्टोरी प्रकाशित भएसँगै तत्कालीन निक्सन सरकार समाचार रोक्ने प्रयासमा लाग्यो ।
सन् १९६९ मा राष्ट्रपतिमा शपथ खाएका निक्सनबारे समाचारले खासै केही समेटेको थिएन । तर, निक्सन प्रशासनले ‘पेन्टागन पेपर्स’ स्टोरीले अमेरिकाको सुरक्षा स्वार्थलाई आघात पु¥याउने भन्दै पत्रिकाविरुद्ध अदालतमा मुद्दा हाल्यो । न्युयोर्क टाइम्सले तीन दिन समाचार छाप्यो । जुन १६ मा न्युयोर्क टाइम्सले पेन्टागन पेपर्सको चौथो भाग छाप्नुको साटो ‘अमेरिकी सरकारको आग्रहमा न्यायाधीशले पेन्टागन पेपर्सका शृंखला रोक्न आदेश दिए’ शीर्षकको समाचार छाप्यो । तर, एल्सवर्ग चुप बसेनन् । उनले सोही दिन वासिङ्टन पोस्टका सहसम्पादक बेन ब्याग्डिकियनलाई सम्पर्क गरेर रिपोर्टको फोटोकपी लिन बोलाए । ¥यान्ड कर्पोरेसनमा मिडिया अध्ययन गर्न जाँदा ब्याग्डिकियन र एल्सवर्गको पुरानो परिचय थियो । जुन २१ मा वासिङ्टन पोस्टका कार्यकारी सम्पादक बेन ब्राड्लीको घरमा रिपोर्टर तथा सम्पादकहरू पेन्टागन पेपर्सको रिपोर्ट पढ्ने र भोलिका लागि समाचार लेख्ने काममा जुटे ।
पत्रिकाको कानुनी सल्लाहकारले न्युयोर्क टाइम्सको स्टोरीको स्रोत र ब्याग्डिकियनको स्रोत एउटै हुन सक्ने भएकाले समाचार छाप्न नहुने अडान लिए । वासिङ्टन पोस्ट धितो बजारमा जान लागेकाले यस्तो संवेदनशील समाचारले पत्रिकाको सेयरमा असर पर्ने पत्रिकाको बोर्डका सदस्यको निर्णय थियो । तर, सम्पादक ब्राड्ली भने समाचार छाप्ने पक्षमा थिए । ब्राड्लीको घरमा विवाद बढ्दै गएपछि अन्तिम निर्णयका लागि प्रकाशक क्याथरिन ग्राहमसँग टेलिफोनमार्फत अनुमति माग्ने प्रयास भयो । मूलधारको मिडियामा त्यस समय एक्ली महिला प्रकाशक भएकीले कमजोर ठानिदै आएकी ग्रामले दृढताका साथ समाचार छाप्ने निर्णय लिइन् । वासिङ्टन पोस्टभित्र पेन्टागन पेपर्स छाप्नुअघि भएको विवादलाई सन् २०१७ मा सार्वजनिक भएको ‘द पोस्ट’ फिल्मले रोचक ढंगले प्रस्तुत गरेको छ । फिल्ममा अभिनेत्री मेरिल स्ट्रिपले ग्राहमको त्यस समयको मनोदशालाई प्रभावकारी रूपमा प्रस्तुत गरेकी छन् ।
जुन १८, १९७१ मा वासिङ्टन पोस्टले पेन्टागन पेपर्सको स्टोरी छाप्यो । सरकारले अदालतसँग पोस्टलाई पनि यस विषयमा थप समाचार छाप्नबाट रोक्न आदेश माग्यो । भोलिपल्टै अदालतले राष्ट्रिय सुरक्षाको विषय जोडिएको भन्दै वासिङ्टन पोस्टलाई पनि यस विषयमा थप समाचार नछाप्न आदेश दियो । यसपछि अमेरिकाका अन्य पत्रिकामा छापिँदै जाने र अदालतले तिनलाई यस विषयमा थप समचार नलेख्न आदेश दिने क्रम बढ्दै गयो । पेन्टागन पेपर्ससम्बन्धी जति पनि पत्रिकामा समाचार आए, सबैका स्रोत उनै एल्सवर्ग नै थिए ।
पेन्टागन पेपर्स प्रकाशन गर्ने विषयमा पत्रिका र अमेरिकी सरकारबीचको लडाइँ सर्वोच्च अदालतमा पुग्यो । जुन २६, १९७१ मा अमेरिकाको सर्वोच्च अदालतले संविधानको प्रेस स्वतन्त्रताको क्लज उल्लेख गर्दै सरकारले तिनलाई प्रकाशन गर्न रोक्न नसक्ने निर्णय सुनायो । सर्वोच्च अदालतको यस निर्णयलाई अमेरिकामा प्रेस स्वतन्त्रताको पक्षमा ठूलो निर्णय मानिन्छ । प्रेसलाई न्यायालयले सुरक्षा दिएपछि निक्सन सरकारले आफ्नो ध्यान एल्सवर्गमाथि लगायो । एल्सवर्ग र उनका सहकर्मी रुसोविरुद्ध राज्यविरुद्ध जासुसी गरेको मुद्दा हालियो ।
सरकारले एल्सवर्ग र रुसोमाथि लगाएको आरोप सही प्रमाणित भएको भए उनीहरूलाई एक सय १५ वर्षको जेल सजाय हुने थियो । यही समय एल्सवर्गका खराब पाटो उजागर गरेर उनलाई नराम्रो देखाउन निक्सन प्रशासनले उनका टेलिफोन संवाद सुन्न थालेको खबर सार्वजनिक भयो । यो तथ्य बाहिर आएपछि जनमानस एल्सवर्गको पक्षमा उल्टिन थाल्यो । लियोनार्ड बोडिन र हार्वर्ड ल स्कुलका प्राध्यापक चाल्स नेसनजस्ता प्रभावकारी वकिलको वकालतले एल्सवर्ग र रुसोविरुद्धका सम्पूर्ण आरोप खारेज भए ।
भियतनाम पेपर्स छापिएपछि अमेरिकीहरूमाझ सरकारप्रति ठूलो अविश्वास पैदा भयो, जसले युद्धविरोधी प्रदर्शन झन् चर्काइदियो । दुई वर्षपछि सन् १९७३ जनवरी २७ मा निक्सन सरकारले भियतनामबाट अमेरिकी सेना फर्काउने पक्षमा पेरिस शान्ति सम्झौतामा हस्ताक्षर ग¥यो । यस समयसम्म दक्षिण भियतनाम र उत्तर भियतनाम कुनै पक्षले निर्णायक जित हासिल गरिसकेका थिएनन् । तर, उत्तर भियतनाम हावी हुँदै गएको थियो । भियतनाम युद्धलाई अमेरिकाले आधिकारिक रूपमा हारेको युद्धका रूपमा लिइन्छ । अमेरिकाले भियतनामबाट सेना फिर्ता गरेको दुई वर्षपछि सन् १९७५ जुलाईमा उत्तर भियतनामले दक्षिणमाथि कब्जा ग¥यो र भियतनाम युद्धको अन्त्य हुन पुग्यो ।
पेन्टागन पेपर्स प्रकरणले उजागर गरेको सत्ताको चरित्र, विसरब्लोअरको नैतिक शक्ति, राजनीतिक उत्तरदायित्व सिर्जना गर्न प्रेसले खेलेको भूमिका र प्रेस स्वतन्त्रतामा न्यायालयको भूमिकाका विषय आज पनि उत्तिकै सान्दर्भिक छन् ।
श्रवण उप्रेती, नयाँ पत्रिका
(एजेन्सीको सहयोगमा)
FOUNDER/CHIEF EDITOR :