युरोपनेपाली खबर । आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको लागि संखुवासभामा पनि पार्टीहरुले प्रचार अभियान तीब्र बनाउँदै लगेका छन् ।
जिल्लाको प्रमुख राजनैतिक शक्ति नेकपा एमाले आफ्नो चुनावी प्रचार अभियानमा अग्रभागमा देखिएको छ । प्रतिनिधिसभाका लागि सूर्य ध्वजावाहक उम्मेदवार राजेन्द्र गौतमले जिल्लाको दक्षिणी भाग धर्मदेवी नगरपालिकाबाट प्रचार अभियान सुरु गरेर मादी नगरपालिकाका आइपुगेको जानकारी प्राप्त छ । उनका साथमा पार्टी प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपाने,सदस्य मुरारी खतिवडा, जिल्ला कमिटी अध्यक्ष जीतबहदुर घिमिरे, प्रदेशसभा "ख" का उम्मेदवार विदुर लिङ्थेप लगायत जिल्लाका अगुवा सहितको टोली रहेको छ ।


उता प्रदेशसभा "क" का उम्मेदवार भविश्वर गुरुङको चुनावी अभियानको नेतृत्व गर्दै पार्टी प्रदेश कमिटी सदस्य राजेन्द्र थापा, क्षेत्रीय कमिटी अध्यक्ष देवेन्द्र घिमिरे, समानुपातिक उम्मेदवार सुन्दरी घिमिरे खतिवडा लगायत मैदानमा खटेका छन् ।
उम्मेदवार गुरुङको टोलीले खाँदबारी नगरपालिका वडा नं. ११ र १० मा कार्यकर्ता भेटघाट र मतदाता बीच घरदैलो गरिरहेको समाचार प्राप्त भएको छ ।

गठबन्धनमा विवाद र असन्तुष्टि
यसैबीच जिल्लामा नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनमा भने उम्मेदवार चयनलाई लिएर व्यापक असन्तुष्टि र मतभेद बढेको जनाइएको छ । मतभेद र असन्तुष्टि कै कारण अहिलेसम्म गठबन्धनका उम्मेदवारहरुले चुनावी प्रचार अभियान संचालन गर्न सकेका छैनन् । प्रदेशसभाका दुवै सीट माओवादी केन्द्र र एकीकृत समाजवादीले लिएपछि काँग्रेसका कार्यकर्ता र समर्थकमा निराशा र आक्रोश छाएको खाँदबारीबाट प्राप्त समाचारमा जनाइएको छ ।