• दिलनिशानी मगर
आफ्नै नाकमाथि रहेको खागको मूल्य कति पर्छ भनेर गैडालाई थाहा हुँदैन, आफ्नै नाभीमा गासिएको कस्तुरीको बासना कस्तो हुन्छ भनेर मृगलाई थाहा हुँदैन, आफू त्यति धेरै मूल्यवान छु भन्ने कुरा यार्सागुम्बाले पनि थाहा हुँदैन। हजारौं जनताको आशु, पसिना र रगतले स्थापित पूर्वमाओवादी नेताहरूलाई पनि ठीक यस्तै भएको छ। आफ्नो जनमत, आफ्नो ईतिहास, आफ्नो बलिदानीको मूल्य कति छ भनेर थाहा नहुने। कुनै दिन यिनीहरू मध्ये धेरैको टाउकोको मूल्य करोडौँ पर्थ्यो। तर आज यिनीहरूको टाउको मात्रै हैन सम्पूर्ण शरिर कौडीको भाउमा पनि बिक्न छाडेको छ।
हिजो यिनीहरूलाई आफ्नो प्राणको माया थिएन, कुनै भौतिक सुख-सुविधाको लोभ पनि थिएन। तर आज एकथान पदको लागि सिमीको गेडा जस्तो चारैतिर छरिएका छन्। हरेक पटकको फूटपछि यिनीहरूको भद्दा तर्क हुन्छ, “फलना मान्छे फलना जस्तो कहिल्यै बन्न सक्दैन।” हो, विप्लव प्रचण्ड जस्तो बन्न सक्दैनन्। जनार्दन पनि प्रचण्ड जस्तो बन्न सक्दैनन्। तर प्रमुख विषय त्यो होइन। प्रमुख विषय—प्रचण्ड पनि सी जिनपिङ जस्तो बन्न सकेनन्। प्रचण्ड पनि फिडेल कास्त्रो जस्तो बन्न सकेनन्। प्रश्न त्यहीँनेर हो। नेपाली जनताले देख्न चाहेको प्रचण्ड आजको जस्तो कमजोर थिएन।
हिजो एउटै थालमा खानेहरू आज एकअर्काको अनुहार देख्न सक्दैनन्। हिजो एउटै सिरक ओढेर सुत्नेहरू आज एउटै कोठाभित्र बस्न सक्दैनन्। माहुरीले अरुलाई टोकेपछी शरीर भाँचिएर मर्छ। पूर्व माओवादीहरुले एकअर्का लाई टोकाटोक गरेर आफ्नो अवसानको खाडल आफै खन्दैछन्। कुनै जमनामा सूचना र संचारको सुविधा थिएन। लाउरे छुट्टिमा घर आउँदा उसको लागि दुलही खोज्न गाउँ-गाउँ चहारिन्थ्यो। ठिक त्यसरी नै आज प्रचण्डले नेता खोज्नको लागि गल्ली-गल्ली चहारिरहेका छन्। कवाडी व्यवसायीजस्तो, जो भेटिन्छ उसैलाई उठाएका छन्। देश चलाउछु भन्नेहरूले आज जम्माजम्मी गुट चलाई रहेका छन् । यिनीहरूले समाजवाद ल्याउँछु भन्छन्, तर दाङ जिल्लाको लोकेन्द्र बिष्टलाई पनि ल्याउन सक्दैनन्।
(मिल्नुहोस् कि सक्किनुहोस्)
FOUNDER/CHIEF EDITOR :