युरोपनेपाली खबर ।
राजकुमार थापा, लिस्बन । सोसियल डेमोक्र्याटिक पार्टी (PSD) का अध्यक्ष एवं प्रजातान्त्रिक गठबन्धन (AD) का नेता लुइस मोन्टेनेग्रोलाई गणतन्त्र पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डि सौसाले बिहीबार बिहान प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । उनलाई नयाँ सरकार गठनको जिम्मेवारी दिइएको छ ।
संसदीय सिट भएका सबै दलहरूको कुरा सुनिसकेपछि राष्ट्रपतिले एडीका नेताहरुसंग राष्ट्रपतिको सरकारी अफिस बेलेम प्यालेसमा भएको दोस्रो भेटपछि मार्सेलो रेबेलो डि सौसाले डा. लुइस मोन्टेनेग्रोलाई प्रधानमन्त्री नियुक्त गरिएको औपचारिक घोषणा गरेका थिए ।
राज्य प्रमुखको घोषणापछि मोन्टेनेग्रोको नियुक्तिलाई स्वीकार गर्दै निवर्तमान सत्तारुढ दल समाजवादी पार्टीका महासचिव पेड्रो नुनो सान्तोसले आफु अब विपक्षी नेता भएको बताएका थिए ।
निवर्तमान प्रधानमन्त्री, एन्टोनियो कोस्टाले लुइस मोन्टेनेग्रोको नियुक्तिमा बधाई दिंदै भने "सरकारले स्वाभाविक रूपमा अब जिम्मेवारीहरु बाँडफाँड गर्नेछ र संवैधानिक सरकारको स्थापनामा आफ्नो सुनिश्चित सहयोग रहनेछ ।"
निर्वाचन परिणाम
प्रजातान्त्रिक गठबन्धन (एडी) ले मार्च १० को संसदीय चुनावमा २८.८४% मतका साथ ८० सांसदहरू विजयी भएका थिए, पहिलो ठूलो र लोकप्रिय मत पाउने दल बनेको थियो ।
बुधवार युरोपेली र गैरयुरोपियन सर्कलहरूको मतगणना प्रक्रिया समाप्त भएपछि सोसलिस्ट पार्टी(PS)ले २८% मतका साथ ७८ सीटमा विजयी भएर दोस्रो सबैभन्दा धेरै भोट भएको पार्टी बनेको छ ।
पीएसडी नौ वर्षपछि सत्तामा
सोसियल डेमोक्रेटिक पार्टी (PSD) का १९ औं अध्यक्षले सरकारको नेतृत्व ग्रहण गरेका छन् । सन् २०१५ मा पार्टीले सत्ता छोडेको नौ वर्षपछि यसभन्दा पहिला कुनै कार्यकारी अनुभव नभएका लुइस मोन्टेनेग्रो प्रधानमन्त्री निर्वाचित भएका हुन् ।
उनको पहिलो कार्य आज बिहीबार दिउँसो सुरु हुने युरोपेली परिषद्को बैठकमा प्रधानमन्त्रीको रूपमा एन्टोनियो कोस्टाको अन्तिम सहभागिता सकिएसंगै सुरु भएको छ । सोसियल डेमोक्र्याटिक पार्टी (PSD) का अनुसार "निर्वाचित प्रधानमन्त्रीको रूपमा उनको पहिलो कार्य इयु को सदस्यताको सम्बन्धमा "पूर्ण प्रतिबद्धताको स्पष्ट संकेत व्यक्त गर्ने हुनेछ ।"
पोर्चुगलको संसदीय चुनावको आयो पूर्ण नतिजा, कुनै दलले ल्याउन सकेनन् बहुमत
पोर्चुगलमा गत मार्च १० तारिख आइतबार सम्पन्न संसदीय चुनावको पूर्ण नतिजा २१ मार्च बिहान घोषणा भएको छ । पोर्चुगल बाहिर विदेशमा रहेका मतदाताका लागि छुट्याइएको ४ सीटको नतिजा आएसंगै संसदको २३० सै सीटको अन्तिम परिणाम प्रकाशित भएको हो ।
प्रकाशित अन्तिम नतिजाले वर्तमान सत्तारूढ सोसलिस्ट पार्टी (PS) ले आफ्नो पुरानो बहुमत सीट र लोकप्रिय मत समेत गुमाएको छ । यसभन्दा अघि १२० सीट जितेर उसले पूर्ण बहुमतको सरकार संचालन गरिरहेको थियो । यो चुनावबाट उक्त पार्टीले ७८ सीटमा मात्र विजय हासिल गर्न सक्यो ।
कुनै दलको बहुमत नआएको २३० सदस्यीय संसदमा प्रमुख विपक्षी सोसियल डेमोक्रेटिक पार्टी(PSD) सहितको गठबन्धन डेमोक्रेटिक एलायन्स (AD) ले ८० सीटमा विजय हासिल गर्दै सबैभन्दा ठूलो दल बन्नुका साथै लोकप्रिय मत समेत प्राप्त गरेको छ । यसैगरी ५ बर्ष अघिमात्र स्थापना भएको अति दक्षिणपन्थी पार्टी सेगा (Chega)ले ५० सीटमा विजय हासिल गरी त्रिशंकु संसदमा चमत्कारिक निर्णायक तेश्रो शक्तिको रूपमा उदाएको छ । युरोप बाहिर सत्तारूढ सोसलिस्ट पार्टीको विगत चुनावमा रहेको एकलौटी प्रभावलाई पनि यसले भत्काएर देश बाहिरका मतदाताले छान्ने ४ सीटमा २ सीट जितेर चुनावी विश्लेषकहरुलाई समेत अचम्मित तुल्याएको छ ।
यस निर्वाचनमा अघिल्लो सन् २०२२ मा भएको चुनावमा भन्दा बढी मतदान भएको थियो । सम्पन्न निर्वाचनमा ५९.८४ प्रतिशत मत खसेको थियो भने अघिल्लो सन् २०२२ को चुनावमा ५१.५ प्रतिशत मात्र मतदान भएको थियो ।
विपक्षी डेमोक्रेटिक एलायन्स(AD) ले १० मार्चमा सम्पन्न संसदीय चुनावमा बहुमतकासाथ पहिलो स्थानमा पुग्ने ठानिएको थियो तर मतगणनाको अन्तिम परिणामले उसलाई पूर्ण बहुमत मिल्न नस्कदा यसको ठूलो लाभ अति दक्षिणपन्थी सेगा लगायतका पार्टीहरूले उठाएका छन् ।
लोकप्रियतावादी अति दक्षिणपन्थी चेगा पार्टीले १८.०७ प्रतिशत भोटका साथ तेस्रो शक्ति भएको छ, यसले सन् २०२२ को चुनावमाभन्दा साढे दुई गुणा शक्ति वृद्धि गरेको छ, त्यो बेला उसले ७.२ प्रतिशत मत ल्याएको थियो । कडा अध्यागमन नीतिको पक्षधर यो पार्टी आप्रवासीप्रति अनुदार रहेको पाइन्छ ।
विपक्षी डेमोक्रेटिक एलायन्स(एडी) ले २८.०२(२८.९) प्रतिशत मत प्राप्त गरेको छ भने सत्तारुढ सोसलिस्ट पार्टी (PS) ले २८.०० प्रतिशत मत प्राप्त गरेको छ ।
"भर्खरै सम्पन्न मतदानले स्पष्ट रूपमा पोर्चुगिजहरू विपक्षी गठबन्धन एडी र अति दक्षिणपन्थी पार्टी सेगा बीचको गठबन्धन सरकार चाहन्छन् र हामीहरू वर्तमान सत्तारुढ पार्टी पिएससंग मिलेर सरकार बनाउन चाहन्नौ" चेगाका दक्षिणपन्थी नेता भेन्टुराले निर्वाचन पूर्ण परिणाम आएपछि भने ।
अघिल्लो निर्वाचनबाट पूर्ण बहुमतका साथ सरकार संचालन गरिरहेको सत्तारुढ समाजवादी पार्टीका प्रधानमन्त्री एन्टोनियो कोस्टालाई चार महिना अघि भ्रष्टाचारको मुद्दामा अनुसन्धान सुरु भएपछि राजीनामा दिएकाले १० मार्च आइतबार संसदको निर्धारित समयभन्दा २ बर्ष अघि नै नयाँ निर्वाचन भएको हो ।
पोर्चुगलको संसदमा पार्टीहरुले प्राप्त गरेको सीट संख्या :
AD (PSD)-80
PS - 78
CHEGA - 50
IL - 8
BE - 5
PCP-PEV - 4
L - 4
PAN - 1
यसरी अब २३० सै सीटको नतिजा प्रकाशित भएको छ ।
FOUNDER/CHIEF EDITOR :