संखुवासभा मत सर्वेक्षण : प्रदेशसभा ख मा तीब्र प्रतिस्पर्धाबीच एमालेका विदुर अघि, गठबन्धन पछ्याउँदै

संखुवासभा मत सर्वेक्षण : प्रदेशसभा ख मा तीब्र प्रतिस्पर्धाबीच एमालेका विदुर अघि, गठबन्धन पछ्याउँदै
www.europenepalikhabar.com २०७९ कार्तिक ३० गते बुधबार, 16-11-2022


युरोपनेपाली खबर ।

By-राजकुमार थापा ::: ।

आगामी मंसीर ४ गते हुने गइरहेको संखुवासभाको संघीय संसद प्रतिनिधिसभाको एक सीट र प्रदेश सभाका दुई सीटका लागि हुने निर्वाचनको मिति नजिकिएसंगै जिल्लामा नेकपा एमाले र गठबन्धनका उम्मेदवारबीच उच्च र तीब्र प्रतिस्पर्धा हुने देखिएको छ । चुनावी लहर र मतदाताको आकर्षण भने अघिल्लो चुनावमा जस्तो उत्साहजनक नपाइएको हाम्रो सर्वे रिपोर्टले देखाएको छ । 

जिल्लाको दोश्रो ठूलो व्यापारिक केन्द्र  चैनपुर नगरपालिका र अन्य  ३ नगरपालिका सहित ४ पालिका रहेको संखुवासभा प्रदेशसभा "ख" क्षेत्रमा कसैको पक्षमा ठूलो र स्पष्ट चुनावी लहर नदेखिएता पनि एमालेका विदुर लिङ्थेप र गठबन्धनकी सरिता खड्का थापा बीच कडा टक्कर हुने सर्वेक्षणले देखाएको छ । यसपटक गठबन्धनका विरुद्ध एमाले एक्लै यस क्षेत्रको चुनावी मैदानमा उत्रिएको छ । २०७४ को निर्वाचनमा पनि एमालेका तुलसीप्रसाद न्यौपानेले फराकिलो मतले काँग्रेसका उम्मेदवारलाई हराएका थिए ।

कुनै बेला एकै पार्टीका सहकर्मी रहेका एमालेका विदुर लिङ्थेप र नेकपा एसकी  सरिता खड्का थापाको चुनावी भिडन्तले यहाँ माहोल रोचक बनेको छ । गत बैशाखको स्थानीय निर्वाचनमा वडा अध्यक्षको मतको तथ्यांकले संखुवासभा प्रदेश सभा "ख" मा एमालेले राम्रै मतान्तरले अघि रहेको देखिन्छ ।

प्रदेश नम्बर १ को रणनीतिक महत्त्वको पहाडी/हिमाली जिल्ला संखुवासभाको प्रदेशसभा "ख" को लागि सदस्य पदका उम्मेदवारबारे युरोपनेपाली खबर र हाम्रो टीमले गरेको चुनावी मत सर्वेक्षणले विभिन्न अनौठा र रोचक तथ्यहरुलाई उजागर गरेको छ । 

संखुवासभा जिल्ला भरिमा जम्मा मतदाता संख्या १,१७,५५४ जना रहेका छन्, जसमा महिला मतदाता संख्या ५६,६९० र पुरुष मतदाता संख्या ६०,८६४ रहेको छ । भने प्रदेशसभा ख तिरको क्षेत्रमा ६०८६४ मतदाता रहेका छन् । निर्वाचनको लागि संखुवासभा  जिल्ला भरि मतदान स्थलको संख्या १०८ र मतदान केन्द्रको संख्या १६२ रहेको छ ।

संखुवासभा प्रदेशसभा "ख" का लागि विभिन्न दलका ७ र स्वतन्त्र २ गरी जम्मा ९ जना उम्मेदवारहरु रहेका छन् ।


यो क्षेत्रका पालिकाहरुमा को बलियो ?

१. चैनपुर नगरपालिका

जिल्ला कै दोश्रो ठूलो व्यापारिक केन्द्र र पूर्व कै पुरानो शहर चैनपुरमा भने चुनावी रौनक अलि बढी देखियो । एमाले प्रतिनिधिसभा उम्मेदवार राजेन्द्र गौतमको गृह नगरपालिका भएर पनि हुन सक्छ, चुनाव अलि तातेको पाइयो । बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार चैनपुर नगरपालिकाको प्रमुख, उपप्रमुख लगायत अधिकांस वडामा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका थिए ।

पाँच दलीय गठबन्धन हुँदा पनि प्रतिद्धन्दी नेपाली काँग्रेस लगायतका दलहरुले  एमालेसंग फराकिलो मतान्तरमा यस पालिकामा हार व्यहोर्नु परेको थियो । पढेलेखेको, अनुभवी र क्षमतावान उम्मेदवारको रूपमा एमालेका विदुर लिङ्थेपको चर्चा चैनपुरमा सुनियो । तर गठबन्धनकी सरिता खड्काप्रति पनि सहानुभूति र सद्भाव राख्ने उत्तिकै भेटिए । यस नगरमा एमालेका लिङ्थेपले गठबन्धनका खड्कालाई फराकिलै मतान्तरले उच्छिन्ने सर्वेक्षणका तथ्यहरुले देखाएको छ। 

२. मादी नगरपालिका 

मादी नगरपालिका एमालेको सबैभन्दा मजबुत गढ देखिएको छ ।  यसै नगरका निवर्तमान मेयर विदुर लिङ्थेप एमाले प्रदेशसभामा उम्मेदवार भएकोले यहाँ उनको चर्चा निक्कै बढी सुनियो । 

मादी नगरपालिकाका निवर्तमान प्रमुख लिङ्थेप काम गरेर लोकप्रिय मेयरको रूपमा आफ्नो नगर र जिल्लामा नै सुपरिचित छन् । गत स्थानीय तह निर्वाचनमा मादी नगरपालिकामा एमालेले प्रमुख, उपप्रमुख सहित अधिकांस वडामा विजय हासिल गरेको थियो । 

गठबन्धनका खड्कालाई एमालेका लिङ्थेपले यस पालिकामा निक्कै फराकिलो मतले उच्छिन्ने सम्भावना रिपोर्टले देखाएको छ ।

३. धर्मदेवी नगरपालिका 

धर्मदेवी नगरपालिकामा गठबन्धनकी सरिता खड्का एमालेका विदुर लिङ्थेप बीच झिनो मतान्तर देखियो । यो काँग्रेस गठबन्धनका प्रतिनिधि सभाका उम्मेदवार दीपक खड्काको गृहनगर हो, यहाँ गठबन्धनका उम्मेदवार प्रति केही बढी सद्भाव पाइएको छ । यस पालिकामा गत स्थानीय तह निर्वाचनमा प्रमुख एमालेले जितेको थियो भने उपप्रमुख सहित बहुमत वडा काँग्रेसले जितेको थियो ।  

४. पाँचखपन नगरपालिका 

पाँचखपन नगरपालिका गठबन्धनकी सरिता खड्का एमाले उम्मेदवार लिङ्थेपको हाराहारी बराबरीको अवस्था देखिएको छ । सरिता खड्काको यो गृहनगर पनि हो ।  गत स्थानीय निर्वाचनमा यहाँ गठबन्धनले प्रमुख जितेको छ । पाँचखपनमा  विशेष गरी केही महिला समुहहरुले सरिताप्रति सद्भाव राखेको देखियो । 

जिल्लाभरका पालिकामा ७६ वडाहरुमा रहेका छन् । गत स्थानीय निर्वाचनमा एमालेले सबै वडामा आफ्ना उम्मेदवार खडा गरेको थियो भने गठबन्धनमा ६० वटा वडा मात्र भागवण्डा भएको थियो । जसमा काँग्रेसलाई ४६ वडा, माओवादी ६ वडा र एकिकृत समाजवादीलाई ५ र ३ वटा वडा जनता समाजवादी पार्टीको भाग लगाएका थिए ।


निष्कर्ष : समग्रमा निर्वाचन हुन ४ दिनमात्र  बाँकी हुँदा मत सर्वेक्षणले संखुवासभाको प्रदेशसभा "ख" सीटमा तीब्र प्रतिस्पर्धा हुने देखिएको छ । सर्वेक्षणको बेलाको स्थिति  कायम रहेमा एमालेका विदुर लिङ्थेपले गठबन्धनकी सरिता खड्का थापासंग ७ देखि ९ सय मतको अन्तरले अग्रता लिनेछन् । चुनाव सुरु हुने अन्तिम ७२ घण्टामा कुनै नाटकीय परिवर्तन वा खेल भएन भने एमालेका लिङ्थेपले प्रदेशसभाको सदस्यको रूपमा आफ्नो सीट सुरक्षित गर्ने देखिन्छ ।


नोट : चुनावी सर्वेक्षणको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार १-३ प्रतिशत डाटाहरुको इरर वा घटबढलाई उचित नै मानिन्छ अर्थात अनुचित हुँदैन ।

(चुनावी विश्लेषक राजकुमार थापा खाँदबारी नगरपालिका वडा नम्बर १०, चन्दनपुरका स्थायी बासिन्दा हुन्

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित