शेखर-गगन समूहको यस्तो एउटा निर्णय जसले काँग्रेस भित्र उथलपुथल पार्न सक्छ

शेखर-गगन समूहको यस्तो एउटा निर्णय जसले काँग्रेस भित्र उथलपुथल पार्न सक्छ
www.europenepalikhabar.com २०७९ पुष ५ गते मंगलबार, 20-12-2022


आज मंगलबारको एउटा निर्णय, जसले कांग्रेसभित्रको शेखर–गगन समूहको नाम नै बदल्दिन सक्छ । पहिले त्यसको पृष्ठभूमि हेरौं ।

आफ्नो समूहभित्र त प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा चुनौतीविहीन नै थिए । त्यसमाथि उनलाई राष्ट्रपतिका आकांक्षी रामचन्द्र पौडेलको पनि साथ छँदै थियो । पारिवारिक त्याग, तपस्याका कुरा गर्ने शशांक कोइराला, प्रकाशमान सिंह अनि विमलेन्द्र निधि पनि उनीसँगै थिए । सत्ता गठबन्धनबाट ‘नछोड भाइ, नछोड’ भन्ने साझेदार दलहरु पनि उनैसँग थिए ।

एकातिर आफ्नो समूहमा चुनौतीविहीन देउवा, अर्कोतिर कम्तीमा दुई समूहमा बाँडिएका प्रतिस्पर्धी गगन थापा र शेखर कोइराला पक्षीय कांग्रेस सांसद । केही दिनअघि बोल्दै देउवा निकट उपसभापति पूर्णबहादुर खड्काले भनेका थिए, ‘शेरबहादुरजी निर्विकल्प हुनुहुन्छ । उहाँलाई चुनौती दिनेहरुबीच चरम विभाजन छ ।’

खड्काको यो कथन अब काम नलाग्ने भएको छ । नेता शेखर कोइरालाले ‘रुपान्तरणका लागि युवा पुस्ताको भरोसा’ गर्ने निर्णयसँगै कांग्रेसभित्र एकाएक नयाँ राजनीतिक परिदृश्य देखिएको छ । महामन्त्री गगन थापाले सहमतिको कष्टसाध्य यात्रा पार गरेर प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई भोलि संसदीय दल चुनावमा आफ्नो समूहबाट एकल चुनौती दिनेछन् ।

आज सहमति जुटेसँगै अब इतर देउवा समूहसँग ३९ सांसद संख्या पुग्यो । ८९ सदस्यीय कांग्रेस संसदीय दलमा नेता बन्न कम्तीमा ४५ सिट ल्याउनुपर्छ । अंकगणितमा अझै केही पछि देखिए पनि गगन थापा कांग्रेस समर्थकमात्रै नभई आम नागरिकको आशा आफूतिर आकृष्ट गर्न सफल भइसकेका छन् ।

आज सिंहदरबार सामुन्नेको होटल बसेरामा बसेको इतर देउवा पक्षीय बैठकमा गगन साझा उम्मेदवार बन्दैगर्दा अर्का आशा गरिएका नेता प्रदीप पौडेल पनि साथ दिन आइपुगेका थिए । झापामा चुनाव जिते लगत्तै संसदीय दलको नेतामा थापालाई प्रस्ताव गर्ने घोषणा गरेका महामन्त्री विश्वप्रकाश शर्मा साथमा छँदै छन् ।

यो समूहमा पौडेलको प्रवेश हुनु निकै अर्थपूर्ण छ । यो सँगै इतर देउवा समूहको आयतन अझै बृहत बन्न गएको छ ।

पौडेल तिनै नेता हुन्, जो गगनका विगत सहकर्मी तथा प्रतिस्पर्धी पनि हुन् । गगनले अघिल्लो महाधिवेशनअघि छाडेको कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्री लड्न पुगेका थिए पौडेल । देउवालाई साथ दिएको खण्डमा आगामी मन्त्रिपरिषदमा महत्वपूर्ण जिम्मेवारी पाउने लोभ उनलाई देखाइसकिएको पनि थियो । पौडेलले त्यसलाई वास्ता नगरेर तात्कालिक जोखिम उठाए । आन्तरिक प्रतिस्पर्धा र समवयी साथीहरुको स्नेह, ईष्र्याहरुभन्दा माथि उठ्दै उनले दीर्घकालीन राजनीतिको कोणबाट महत्वपुर्ण निर्णय लिएको देखिन्छ । यसरी यो सहमतिको अन्तर्यमा आलोपालो, लेनदेन जेसुकै भएको भए पनि कांग्रेसको शीर्ष जिम्मेवारी ग्रहणतर्फ गगन थापाको पाइला एउटा नयाँ यथार्थ बन्न गएको छ ।

यसले केही नयाँ प्रभावहरु छाड्ने छ ।

पहिलो – यो सहमति सँगै कांग्रेसमा केही समयदेखि रहेका कृष्णप्रसाद सिटौला, रामचन्द्र पौडेललगायत समूहहरुमै ध्रुवीकरण सुरु भयो भन्ने प्रष्ट भएको छ । कृष्णप्रसाद सिटौलासँग परामर्श गरेरै प्रदीप पौडेलले आजको निर्णय लिएका हुन् । उनलाई कुर्ने हुँदा बसेराको बैठक ४५ मिनेटसम्म लम्बिएको थियो । विगतमा देउवालाई टक्कर दिएका पौडेलले पदीय आकांक्षासहित महाधिवेशन र संसदीय दल चुनावमा दुवैपपल्ट देउवालाई साथ दिइसकेका छन् । उनीसँग असन्तुष्ट रहेका निकटस्थ सांसदहरु सम्भवतः आफ्नो निर्णय आफैं लिन खुला हुन सक्छन् ।

दोस्रो– शशांक, प्रकाशमान, विमलेन्द्र निधिनिकट रहेका नेताहरुलाई पनि उपसमूहकै निर्णय मानिराख्नुपर्ने दबाब हुने छैन । जस्तो कि प्रकाशमान समूहबाट महामन्त्री जितेका विश्वप्रकाश आफैं विगतको राजनीतिमा आफूभन्दा जुनियर मानिएका गगनलाई समर्थन दिने ठाउँमा पुगिसके । यसअघि शर्माले पार्टी हाँक्ने, गगनले संसद तथा सरकार भनी समझदारी भएको भनिए पनि आजको सहमतिले पार्टीभित्र शेखरकै निरन्तरता हुन सक्ने संकेत गरेको छ । सम्भवतः शर्माबारे नयाँ कोणबाट छलफल हुन पनि सक्छ ।

तेस्रो– अब शेरबहादुर देउवा स्वयंलाई ज्योतिषीले भनेझैं अंक गनेर सातपल्ट प्रधानमन्त्री बन्ने, तर ठोस योजना र नतिजा नदिने झन्झटबाट मुक्ति दिन वातावरण बनाउने छ । आफ्नै स्वास्थ्यले पनि देउवालाई धपेडी गर्न दिइरहेको छैन । एमालेविरुद्ध गठबन्धन नै बनाएर चुनावमा गए पनि कांग्रेसले उनको नेतृत्वमा उत्साह जगाउन सकेन ।

त्यसैले कांग्रेसका लागि यो संसदीय दल चुनावको स्पष्ट सन्देश छ । भोलि बुधबारको चुनावले जेसुकै नतिजा देला । तर यथार्थमा उनीहरुका लागि पनि यो संसदीय चुनाव ऐतिहासिक परीक्षा बन्न सक्छ– आम जनतामा बढ्दै गएको आक्रोशलाई आशामा बदल्ने कि अरु नयाँ–नयाँ संकटहरुलाई निम्ता दिने ?


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित