हामीमाझ पैसा नहुँदो हो त के होला ? प्रश्न सोच्न जति सहज छ, त्यसको उत्तर उति नै जटिल । राज्यद्वारा कानुनी मान्यता प्राप्त वस्तु, जसलाई आम नागरिकले विनिमयको (साटफेर) माध्यमका रूपमा प्रयोग गर्छन्, त्यो हो पैसा ।
संसारमा पैसाको आविष्कार हुनुपूर्व पनि विनिमय प्रथा भने चलेकै थियो । त्यतिबेला मानिसले आफूसँग भएको वस्तु दिएर अरूबाट आफूलाई चाहिएको वस्तु साटेर लिन्थे । तर जब वस्तुहरूको मूल्यांकन प्रणालीमा समानता नहुने, एकअर्कासँग भएका वस्तु दुवै पक्षलाई आवश्यक नपर्ने, वस्तुलाई स–साना इकाईमा विभाजन गर्न नसकिनेलगायतका समस्या हुन थाल्यो, जसका कारण सबैलाई स्वीकार्य हुने विनिमयको माध्यमका रूपमा मुद्रा (पैसा) को विकास भयो । हालको समयमा हामी पैसासँग यसरी जोडिएका छौं कि यसको अभावमा जीवनयापन सोचबाहिरको कुरा भएको छ ।
सर्वप्रथम पैसा (सिक्का) को थालनी इसापूर्व पाँचौं वा छैटौं शताब्दीबाट ग्रीसबाट भएको मानिन्छ । इसापूर्व ५४६ मा लिदियाका राजा कोरेससले टकसारी (निर्माण) गरेका सिक्का विश्वमा आधुनिक सिक्काका थालनी मानिन्छ । पछि मानव सभ्यताको विकाससँगै पशुधन, बाघको छाला, बाँदरको पुच्छर, समुद्रमा पाइने मुगालगायत विभिन्न वस्तुलाई पैसाका रूपमा प्रयोग गरियो । त्यसपछि अर्को चरणमा सुन, चाँदी, तामा, पित्तल, फलामलगायत धातुका मुद्रा बनाउन थालियो, जसलाई धातु मुद्रा (मेटालिक मनी) का रूपमा चिनिन्छ ।
धातुका मुद्रा ओसारपसारमा समस्या भएपछि कागजी मुद्रा प्रचलनमा आयो । हाल प्रयोगमा रहेको कागजी मुद्राको काम गर्ने गरी बैंक तथा वित्तीय संस्थाले विभिन्न कागजात जस्तै– चेक, निक्षेप प्रमाणपत्र, ग्यारेन्टी पेपरलगायत वस्तु पनि प्रयोगमा ल्याएका छन् । तिनलाई ‘बैंक मनी’ अथवा ‘क्रेडिट क्रिएसन’ भनिन्छ । पछिल्ला वर्षहरूमा भने कतिपय देशमा डिजिटल मुद्रासमेत प्रयोगमा छन् । नेपाल राष्ट्र बैंकले पनि ‘एनआरबी डिजिटल करेन्सी’ का लागि अध्ययन थालिसकेको छ ।
नेपालमा लिच्छवि राजा मानदेवको शासनकालमा धातुका सिक्काको सुरुवात भएको मानिन्छ । लिच्छविकालमा मानांक, गुणांक, अंशुवर्मा, वैश्रवण, पशुपति, जिष्णुगुप्त, वृष आदि मुद्राहरू प्रचलनमा आएका इतिहास छ । त्यसपछि मल्लकाल हुँदै शाहकालसम्म आइपुग्दा नोट र सिक्काको विकास हुँदै आएको छ । १९८९ सालमा टक्सार स्थापना गरी आधुनिक सिक्का र २००१ असोज १ मा इस्तिहार जारी गरी नेपालमा कागजी मुद्रा प्रचलनमा आएका हुन् । त्यस्ता कागजी मुद्रा एक सय, दस र पाँच मोरुका थिए । तिनमा पहिलो खजाञ्ची पण्डित जनकराज पाण्डेले हस्ताक्षर गरेका थिए । त्यसपछि दुई खजाञ्ची पण्डित भरतराज पाण्डे र पण्डित नरेन्द्रराज पाण्डेले हस्ताक्षर गरी नोट निष्कासन भएका थिए । २०१३ वैशाख १५ गते केन्द्रीय बैंकका रूपमा नेपाल राष्ट्र बैंक स्थापना भएको हो । विसं २०१६ फागुन ७ देखि हिमालयशमशेर जबराको हस्ताक्षरमा केन्द्रीय बैंकमार्फत कागजी नोट निष्कासन सुरु भएको हो ।
नेपालमा हालसम्म ११ दरका नोट निष्कासन भइसकेका छन् । विगतमा एक, दुई, पाँच, दस, बीस, पच्चिस, पचास, एक सय, दुई सय पचास, पाँच सय र एक हजार रुपैयाँ दरका नोट निष्कासन भइसकेका छन् । तीमध्ये एक, दुई, पच्चिस र दुई सय पचास रुपैयाँ दरका नोट हाल छपाइ गरिँदैन । एक र दुई रुपैयाँका भने सिक्का मात्र छपाइ गरिन्छ । हाल नेपाली कागजी मुद्रामा (पैसा) ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ एक हजार तुरुन्त पाइनेछ’ भन्ने लेखिएको हुन्छ, जसमा गभर्नरले हस्ताक्षर गरेका हुन्छन् । राज्यले प्रमाणित गरिदिने भएकै कारण त्यो मुद्रा संसारभर सर्वमान्य भएको हो । यद्यपि विश्वमा सबैभन्दा पहिले चीनले कागजी मुद्रा (नोट) प्रचलनमा ल्याएको इतिहास छ ।
हाल प्रायः सबै राष्ट्रमा केन्द्रीय बैंकले मुद्रा छपाइको काम गर्दै आएका छन् । सामान्यतया कागजी मुद्रा र सिक्का निष्कासन गर्दा केन्द्रीय बैंकले निष्कासित मुद्रा बराबर बहुमूल्य धातु (सुन, चाँदी, सेयर, ऋणपत्र आदि) धितो राख्ने गर्छन् । विगतमा यस्तो प्रचलन अनिवार्यजस्तै थियो । सन् १९२४ पछि सुरक्षा कोष (रिजर्भ फन्ड) का आधारमा कागजी मुद्रा निष्कासन गरिन्छ । यद्यपि धितोबिना कागजी मुद्रा निष्कासन गर्न नसकिने भने होइन । मुलुकको अवस्थाअनुसार धितो नराखेरै पनि नोट छपाइ गर्न सकिन्छ । धितो नराखी छपाई गरिने मुद्रा भविष्यमा सुन चाँदीलगायत बहुमूल्य धातुमा परिवर्तन गर्न मिल्ने परिवर्तनीय र अपरिवर्तनीय गरी दुई किसिमका हुन्छन् । तर, नेपाललगायत धेरै राष्ट्रले हालसम्म धितोबिना नोट छपाइ गरेका छैनन् ।
कसरी छापिन्छ ?
नेपालमा मुद्रा छपाइबारे राष्ट्र बैंकले नोट छपाइ तथा सिक्का टकमारी निर्देशिका जारी गरेको छ । त्यसकै आधारमा नोट तथा सिक्का छपाइ हुँदै आएको छ । नोट तथा सिक्का छपाइ कहाँ गर्ने भन्नेबारे निश्चित तोकिएको नभए पनि अन्तर्राष्ट्रिय रूपमा बोलकबोल आह्वान गरेर मुद्रण कम्पनी छनोट गर्नुपर्छ । नेपालमा अन्तर्राष्ट्रियस्तरका मुद्रण कम्पनी नभएकाले राष्ट्र बैंकले विदेशमा मुद्रा छपाइ गर्दै आएको छ ।
यसरी विदेशमा नोट छपाइ गर्दा ५ रुपैयाँका लागि प्रतिनोट १.६८ रुपैयाँ र एक हजारका लागि ३.३७ रुपैयाँ लागत लाग्दै आएको छ । राष्ट्र बैंक टक्सार विभागले करिब २० वर्षअघिसम्म नेपालमै सिक्का टकमारी गर्ने गर्थ्यो । त्यसयता राष्ट्र बैंकले सिक्का पनि विदेशमै बनाउँदै आएको छ । यद्यपि गत माघमा टक्सार विभागले परीक्षणका रूपमा नेपालमै एक र दुई रुपैयाँका सिक्का छाप्न सुरु गरेको छ । नेपालमा दुई दशक अघिसम्म राष्ट्र बैंकले सुन्धारास्थित टक्सार विभागबाट सबै प्रकारका सिक्का (चलनचल्तीका र सुन तथा चाँदीका स्मारिका) बनाउँदै आएको थियो । पछि राष्ट्र बैंकले चलनचल्तीका सिक्का बनाउन छोड्यो । त्यसपछि चाँदीका स्मारिका सिक्का र सुनका असर्फी मात्र बनाउन थाल्यो । अहिले पुराना मेसिनलाई मर्मत सम्भार गरेर चलनचल्तीका सिक्का छाप्न मिल्ने गरी बनाएर तयारी अवस्थामा पुर्याइएको र परीक्षणका रूपमा केही थान सिक्का छपाइ गरिएको टक्सार विभागले जनाएको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत फागुनसम्म ५ खर्ब १९ अर्ब ३३ करोड रुपैयाँ बराबरका मुद्रा चलनमा छन् । उक्त पैसा विभिन्न माध्यममार्फत राष्ट्र बैंकमा फर्किन्छ । यसरी राष्ट्र बैंकबाट बाहिरिएको तर बैंकमा नफर्किएको पैसालाई चलनचल्तीमा रहेको मानिन्छ । पैसा छाप्ने र आपूर्ति गर्ने एक मात्र आधिकारिक निकाय राष्ट्र बैंक भएकाले मुलुकको आवश्यकता र औचित्यका आधारमा पैसा छपाइ गरी बजारमा पठाउने काम उसैले गर्छ ।
चलनचल्तीमा रहेका मुद्रा प्रायः घटबढ भइरहन्छन् । बजारमा पैसाको माग धेरै भएको समयमा धेरै र कम भएको समयमा कम मुद्रा चलनचल्तीमा रहन्छ । बजारको मागअनुसार निर्देशन मापदण्डभित्र रहेर राष्ट्र बैंकले विभिन्न माध्यममार्फत बजारमा पैसा पठाउँछ । राष्ट्र बैंकबाट बाहिरिएपछि त्यो चलनचल्तीमा गएको भनेर गणना हुन्छ । यसरी चलनचल्तीमा रहेको मुद्रा निश्चित समयपछि बैंक तथा वित्तीय संस्थाहरूमार्फत राष्ट्र बैंकमा फर्किन्छ । जति पैसा राष्ट्र बैंकमा आइपुग्छ, त्यति मुद्रा चलनचल्तीबाट घटाइन्छ ।
राष्ट्र बैंकबाट बाहिरिएका नोटमध्ये केही नोट विभिन्न कारण नष्ट भएको हुन सक्छ । तर, राष्ट्र बैंकको गणनामा ती नोट पनि चलनचल्तीमा रहेको मानिन्छ । यस कारण राष्ट्र बैंकले चलनचल्तीमा रहेको जनाएको सबै पैसा नागरिकको हातमा नहुन पनि सक्छ । यस्तो पैसा कति छ भन्ने तथ्यांक भने कसैसँग पनि छैन ।
FOUNDER/CHIEF EDITOR :