बारा-२ मा जसपा अध्यक्ष उपेन्द्र यादव विजयी

बारा-२ मा जसपा अध्यक्ष उपेन्द्र यादव विजयी
www.europenepalikhabar.com २०८० बैशाख १२ गते मंगलबार, 25-04-2023


 प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा-२ बाट जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपेन्द्र यादव विजयी भएका छन् । यादवले निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले पराजित गरेका हुन् । 

विजयी उम्मेदवार यादवले २८ हजार ४ सय १५ मत पाउँदा कुशवाहाले २३ हजार ३ सय ३४ मत पाए । त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत प्राप्त गरेका छन् ।

पूर्वडीआईजीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल भने प्रतिस्पर्धामा पछि रहे । उनले २ हजार ८ सय २९ मत मात्र प्राप्त गरेका छन् । उनीपछि रहेका आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले २ हजार ७ सय ३८ मत प्राप्त गरेका छन् । बारा-२ मा कुल ६९ हजार १ सय ७ मत खसेको थियो ।

बारा-२ मा मुख्य प्रतिस्पर्धामा रहेका ५ उम्मेदवारमध्ये ४ जना यसअघि मंसिर ४ मा पराजित उम्मेदवार हुन् । उपेन्द्र यादव सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका थिए ।

शिवचन्द्र प्रसाद कुशवाहा र अरुणकुमार ज्ञवाली बारा-२ बाट पराजित उम्मेदवार हुन् भने रमेश खरेल भने काठमाडौं-१ मा पराजित भएका थिए । कुशवाहा मंसिर ४ मा माओवादी केन्द्र र ज्ञवाली स्वतन्त्र उम्मेदवार बनेका थिए । खरेल भने नेपाल सुशासन पार्टीबाट उठेका थिए । उनी अहिले पनि उक्त पार्टीका अध्यक्ष हुन् ।

यसअघि बारा-२ का प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि यस क्षेत्रमा उपनिर्वाचन भएका थिए । मंसिर ४ को निर्वाचनमा यादवले कुशवाहालाई ३ सय ५४ मतले हराएका थिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित