७० बर्षे उमेर हद हटे आफुले बनाएको घर हो,एमाले फर्किन तयार छु -वामदेव, श्रीमतीलाई पठाएर सदस्यता नवीकरण गराउँछु

७० बर्षे उमेर हद हटे आफुले बनाएको घर हो,एमाले फर्किन तयार छु -वामदेव,  श्रीमतीलाई पठाएर सदस्यता नवीकरण गराउँछु
www.europenepalikhabar.com २०८० जेठ २४ गते बुधबार, 7-06-2023


‘मलाई नै रोक्न ७० वर्षे उमेर हद ल्याइएको थियो’

राष्ट्रिय सभाका सांसद एवं एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम नेकपा (एमाले) मा प्रवेश गर्न तयार भएका छन् ।

पार्टीको कार्यकारी पदका लागि ७० वर्षे उमेरहद निलम्बन गर्ने एमालेले निर्णय गरेलगत्तै उनले बुधवार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ आफूसँग रहेका साथीहरुसहित एमालेमै फर्कन आफू तयार रहेको प्रतिक्रिया दिएका हुन् ।

तर त्यसका लागि अध्यक्ष केपी ओलीले आफूलाई प्रस्ताव गर्नुपर्ने गौतमको शर्त छ । विगतमा आफूलाई रोक्नकै लागि सो प्रस्ताव ल्याइएको गौतमको बुझाई छ ।

उनले एमाले ओलीसँग भएकाले ओलीले नै आफूलाई पार्टीमा आउन भन्नुपर्ने तर्क गरे । एमाले आफूले निर्माण गरेको पार्टी रहेको भन्दै गौतमले एमालेप्रति माया लाग्ने बताए । उनले आफ्नो पार्टी सदस्यता पनि एमालेमै रहेको बताए । उनले केही दिन भित्र पार्टी सदस्यता नविकरण गर्ने समेत बताए । गौतमले आफू एमालेमा अध्यक्ष वा महासचिव बन्नका लागि जान नलागेको पनि बताए ।

‘यदि उहाँहरुले मलाई खबर गर्नुभयो । तपाईलाई अहिले पनि निलम्वन भएको छ । आगामी महाधिवेशनसम्म निलम्वन भइरहन्छ । तपाई आउनुपर्यो भन्नुभयो भने म र मसित रहेका जेजति साथीहरु छन् । त्यो लिएर त्यहाँ एकीकृत हुन हामी जान्छौैं । यही अवस्थामा जान्छौं । अरु केही पर्दैन अब’, उनले भने, ‘उहाँहरुले मलाई नै रोक्नका निम्ति त्यो उमेर हद ल्याउनुभएको हो । मैले त्यसबेला के भनेको थिए भने ७० वर्ष यहाँ भएका सबै पुग्नुहुन्छ एक दिन । एउटा ७० वर्ष पुग्नुअघि अध्यक्ष भइहाल्यो भने अरु बाँकी रहेका ७/८ जना ७० वर्ष पुगिहाल्छ ।’

उनले आफूले ७० वर्षे उमेर हद सबैलाई आइहाल्ने आफूले पहिले भनेको बताए ।

‘मसहित उपस्थित भएको बैठकबाट यो प्रस्ताव उहाँहरुले पारित गर्नुभएको थियो अब ४/५ वर्षमा ७० वर्ष पुग्ने नेताहरु १०/१२ जना छन् । त्यो हट्यो भने त्यसभित्र भएका धेरै अध्यक्ष पनि हुन पाउँछन । महासचिव पनि बन्न पाउँछन । हटेन भने एउटा बन्छ । १०/१२ जना नेताहरु जो अनुभवी छन् । उनीहरु हट्छन् । यसरी अन्तिममा गएर अनुभवी नेताहरु त्यहाँ समाप्त हुन्छन् । र, अनुभव नभएको व्यक्तिहरु माथि आउँछन् । साँच्चीकै राम्रो पनि गर्न सक्लान्’, वामदेले भने, ‘तर पुरानाले मात्रै त्यो अनुभव साट्न सक्छन् । राम्ररी दिन सक्छन् । तर अरुहरुले त्यो गर्न सक्दैनन् । त्यस्तो पार्टी संस्कार र संस्कृतिबिहीन हुनसक्छ । समृद्ध बन्न सक्दैन । यही निलम्वनकै अवस्थामा म जानसक्छु । तर मेरो चाहीँ प्रश्ताव के हो भने त्यो हट्नैपर्छ भन्ने हो । किनकी त्यो मानवता बिरोधी छ । नेपालको संविधानको बिरुद्धमा छ । र, यो उमेर हद भनेको शारीरिक अवस्था हो । शारिरीक अवस्थाको आधारमा पार्टीमा बस्न पाउने, नपाउने भनेको विभेद हो । विभेद भनेको अपराधजन्य कानून विरोधी गैरकानूनी काम हो ।’

गौतमले आफूलाई एमाले अध्यक्ष ओलीले आउनुस् भन्नुपर्ने बताए ।

‘उहाँ (ओली)ले आउनुस् भन्नुपर्छ । किनभने पार्टी उहाँसँग छ । म भन्थेँ । मसँग पार्टी छैन अहिले । नेकपा एमाले मसित छैन । त्यसो भएर पार्टी जोसित छ । उहाँहरुले भन्ने हो । मैले अरु धेरैसँग सोधेँ-उहाँहरु कसैले पनि बोल्नुभएन । निलम्बन भइसकेपछि पनि मैले सोध्न खोजेँ । उहाँहरुले भन्नुभएन । मेरो सदस्यता त्यहीँ छ’, उनले भने, ‘मैले निर्माण गरेको पार्टी हो । मैले त्यसलाई माया गर्छु । र, मेरो पार्टी सदस्यता किन छ भने मैले बनाए यो बीचमा । तर त्यो पार्टी कम्युनिष्ट पार्टी पूर्ण रुपमा भइसकेको थिएन । हो त्यस्तो अवस्थामा पार्टी त्यही रहिरहोस् भनेर राखिराखेको छु मैले । उहाँहरुले हटाई दिनुभएको पनि छैन । र, पोहोर सालको नविकरण भएको छ । अहिले श्रीमतिलाई पठाएर पार्टी सदस्यता नविकरण गराउँछु । वामदेव गौतम एमालेमा अध्यक्ष हुन जाने होइन । महासचिव हुन जाने होइन । पार्टीमा योगदान दिन जाने हो ।’

यसैबीच, पार्टी अध्यक्ष ओलीले पनि गौतमको पार्टी सदस्यता एमालेमै रहेको बताए । बुधबार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीले ७० वर्षे उम्मेर हद हटाउने हो भने वामदेव गौतमले एमाले आउने कुरा गरे नि भनि प्रश्न गरेका थिए । ओलीले अब थप केही कुरा छ र ? भन्ने प्रतिक्रिया दिए । उनले यसबीचमा पनि गौतमले पार्टी एकता अभियान चलाएको र नयाँ पार्टी नबनाएको बताए ।

‘उहाँले सदस्यता ती छ भन्नु भयो होइन । अनि, कुरा बाँकि छ केही छ थप कुरा ? उहाँले बीचमा पार्टी होइन एउटा फोरम बनाउनु भयो । एकता अभियान चलाउनु भयो’, ओलीले भने, ‘त्यो अभियान मात्रै हो । पार्टी खोलेको होइन । एमालेमा जान्छु भन्नुभएको छ । त्यो ठिक छ । ठिक छ । उहाँको पार्टी सदस्यता एमालेमै छ ।’

ओलीले एमालेमा जान्छु भन्ने गौतमको भनाई ठिक भएको पनि बताए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित