शताब्दीअघि १५०० को मृत्यु हुनेगरी डुबेको टाइटानिकले अहिले थप ५ जनाको ज्यान लियो, कारण ?

शताब्दीअघि १५०० को मृत्यु हुनेगरी डुबेको टाइटानिकले अहिले थप ५ जनाको ज्यान लियो, कारण ?
www.europenepalikhabar.com २०८० असार ९ गते शनिबार, 24-06-2023


पोर्चुगल । आफ्नो समयको सबैभन्दा ठूलो र भव्य पानी जहाजमध्ये टाइटानिक एक थियो । तर १५ अगस्ट १९१२ मा साउथ ह्याम्पटन, इङ्गल्यान्डबाट न्यूयोर्क जाँदै गर्दा उक्त पानी जहाज हिउँको विशाल चट्टानमा ठोक्किएर दुर्घटनामा पर्‍यो । जसलाई आजसम्म रहस्यमयी घटनाका रूपमा हेरिन्छ । 

ठीक १११ वर्षपछि आइतबार (१८ जुन) देखि दुर्घटनाग्रस्त टाइटानिकको भग्नावशेष हेर्न गएका पाँच व्यक्ति बेपत्ता भएसँगै टाइटानिक पुनः चर्चामा आएको छ । उनीहरू टाइटान नामक पनडुब्बीमा सवार भई यात्रामा निस्किएका थिए । कतिपयले यस घटनालाई ‘दोस्रो टाइटानिक’ पनि भनिरहेका छन् । यो यात्रामा धनाढ्यहरू सामेल थिए । त्यसैले पनि यसलाई महत्त्वको साथमा हेरिएको हो ।

बेपत्ता भएको पाँचौं दिनमा उद्धार तथा कोजी कार्यमा खटिएका अधिकारीले पनडुब्बीको भग्नावशेष फेला पारेको बताएका छन् । आइतबाट पनडुब्बी बिस्फोट हुँदा त्यसमा सवार सबै यात्रुको निधन भइसकेको उद्धारकर्ताको दाबी छ । यद्यपि आधिकारिक रूपमा उनीहरूको निधन भएको पुष्टि भने अझै भइसकेको छैन । 

यो जहाजको कथा २० औं शताब्दीको प्रारम्भदेखि सुरु हुन्छ । त्यसबेला बेलायतमा जहाज बनाउने कम्पनीहरूबीच एक प्रकारको चर्को प्रतिस्पर्धा थियो । यसको अग्रपङ्तिमा‍ ‘ह्वाइट स्टार लाइन’ नामक कम्पनी थियो । सो कम्पनीका मालिक जेपी मोर्गन थिए । मोर्गनले सन् १९०६/०७ तिर द्रुत गतिमा चल्ने जहाज बनाएर अरू कम्पनीलाई पछाडि पारेका थिए । विस्तारै उनको कम्पनीले जहाजको आकार र सुविधामा पनि ध्यान दिन थाल्यो ।

त्यसपछि मोर्गनले टाइटानिक सहित अन्य दुई जहाज बनाउन ‘हार्ल्यान्ड र वोल्फ’ कम्पनीलाई जिम्मा दिए । ती सबै जहाज बेलायतमा दर्ता भएका थिए । तीमध्ये सन् १९११ मा ‘ओलम्पिक’ नामको पहिलो जहाज समुद्रमा पठाइयो । तर त्यो सफल भएन । त्यही वर्ष मोर्गनको ‘ओलम्पिक’ एक सैनिक जहाजसँग ठोक्कियो । छानविनका क्रममा उक्त दुर्घटनाको कारण ‘ओलम्पिक’ नै देखियो ।

कम्पनीले सन् १९३५ मा त्यसलाई कवाडीमा बेच्यो । सिरिजको अर्को जहाज ‘ब्रिटानिक’ हो । त्यसलाई सन् १९१४ मा सार्वजनिक गरिएको थियो । यो विश्वयुद्धका क्रममा समुद्रमा डुब्यो । कम्पनीका तीन जहाजहरू मध्ये सबैभन्दा बढी चर्चा टाइटानिकले कमायो । 

धेरै मामिलामा अन्य जहाजभन्दा टाइटानिक भिन्न थियो । यसको कुल लम्बाइ ८८२.७५ फिट थियो । त्यसबेलासम्म यो भन्दा लामो जहाज बनेकै थिएन । यो जहाज निर्माण गर्न ७५ हजार डलर (हालको मूल्य अनुसार चार करोड अमेरिकी डलर) खर्च भएको थियो । ३२०० बढी मानिस बोक्नसक्ने क्षमताको सात तले यो जहाज मार्च १९१२ मा बनेको थियो । यसले आफ्नो पहिलो यात्रा १० अप्रिल १९१२ कादिन साउथ ह्याप्टनबाट न्यु योर्कसम्मका लागि तय गर्‍यो । त्यसमा २२०० बढी मानिस सवार थिए । टाइटानिकमा यात्रुका लागि तीन प्रकारका सिट थिए ।

‘फस्ट क्लास’मा धनाढ्य, व्यापारी र सेलिब्रेटी बसे । ‘सेकेन्ड’ र ‘थर्ड क्लास’मा बसेका धेरै जना अमेरिकामा नयाँ जीवन सुरु गर्न निस्किएका थिए । साउथ ह्याम्पटनबाट न्युयोर्कसम्म जाने टिकटको मूल्य सात पाउन्ड (अहिलेको मूल्य अनुसार एक लाख डलर रुपैयाँ) तोकिएको थियो । 

त्यसबेला टाइटानिक बारे खुबै चर्चा भयो । समुद्रकी महारानी, कहिल्यै डुब्न नसक्ने जहाज आदि भनेर अखबार तथा पत्रपत्रिकामा खुबै विज्ञापन गरियो । त्यसमा रहेका स्विमिङ पुल, लाइब्रेरी, जीमखाना आदिको सुविधाको चर्चा पनि उत्तिकै थियो । त्यस बेला अन्य कुनै पनि जहाजमा त्यस किसिमको सुविधा थिएन । यिनै कुराहरूले टाइटानिकको चर्चा चुलिएको थियो । तर यात्राको दुई दिन पछि १४ अप्रिलको राति ११:४० मिनेटको समयमा जहाज बरफको पहाडमा ठोक्कियो ।

जहाजले तत्काल उद्धारको मद्दत माग्यो । तर तीन घण्टा अघिदेखि ग्राउण्डसँग सम्पर्क टुटेको थियो । १० मिनेटमै जहाजमा पानी भरिन थाल्यो । जहाज  विस्तारै समुद्रमा डुब्न सुरु भयो । उद्धारका लागि अन्य जहाज घटनास्थलमा पुग्दा १५०० बढी मानिसहरूको मृत्यु भइसकेको थियो । जहाज दुई टुक्रा भई समुद्रमा डुबिसकेको थियो । जहाजको त्यही अवशेष फेला पार्न वर्षौं लाग्यो । दुर्घटनापछि अवशेषको खोजीमा अनेकौं प्रयास भए । तर १९८५ सम्म कुनै सफलता हात लाग्न सकेको  थिएन । 

यूएस नेभीका अधिकारी डा. रोबर्ट ब्यालार्ड टाइटानिकको खोजीमा जुटेका थिए । उनी समुद्रभित्र जहाजको कोठामा बसेर किताब पढिरहेका थिए । उनलाई कन्ट्रोल रुमबाट बोलावट भयो । त्यहाँ भएको टिभी स्क्रिनमा उनले हेरे । त्यहाँ टाइटानिकको भग्नावशेष देखिइरहेको थियो । यससँगै ७३ वर्ष अघि हराएको टाइटानिक भेटियो । उक्त क्षण अविश्वसनीय थियो । 

यसरी भेटिएको थियो टाइटानिक पहिलो पटक टाइटानिकको भग्नावशेष फेला पार्ने डा . ब्यालार्ड

डा. रोबर्ट ब्यालार्ड सन् १९४२ मा अमेरिकाको क्यान्ससमा जन्मिएका थिए । २३ वर्षको उमेरमा उनी अमेरिकी आर्मीमा भर्ती भए । सन् १९६७ मा उनले समुद्री तट रक्षकमा सरुवाको माग गरे । अनुमति प्राप्त भएपछि उनी जल सेनाको हिस्सा भए । सन् १९७० मा उनले नियमित जागिर छाडे । तर ‘रिजर्भ फोर्स’ को रुपमा सीमित रहे । उनको सामुद्रिक अध्ययनमा रुचि थियो । उनी सन् १९७७ मा पहिलो पटक टाइटानिकको खोजीमा निस्किए । तर केही हात लागेन । उनले सन् १९८० मा ‘अन्डरवाटर रोबोट’ (पानी भित्र जाने रोबोट) बनाउने प्रस्ताव राखे ।

त्यो योजना अमेरिकी नौसेनालाई राम्रो लाग्यो । तर कसैले मसिनमा लगानी गर्ने आँट गरेनन् । तर एउटा सम्झौता तयार भयो । सन् १९६० को दशकमा हराएको आफ्नो पनडुब्बी पनि पत्ता लगाउनु पर्ने सर्तमा अमेरिकी नौसेनाले उक्त योजनामा लगानी गर्‍यो । त्यसबेला अमेरिका र रुसबिच शीतयुद्ध पनि चलिरहेको थियो । त्यसैले यो कामलाई सार्वजनिक गर्ने अवस्था थिएन ।

त्यही कारण बाहिर सामुद्रिक अध्ययन गर्ने भनिएको थियो । तर उनी सक्रिय ड्युटीमा थिए । अन्ततः १ सेप्टेम्बर १९८५ मा उनी र उनको समूहलाई टाइटानिकको खोजीमा भाग्यले साथ दियो । 

भग्नावशेषमा मान्छेको आकर्षण 

जब टाइटानिकको भग्नावशेष फेला पर्‍यो, सारा जगतलाई त्यो हेर्नु थियो । भग्नावशेष मानिसहरूका लागि एक रहस्य थियो । उनीहरू त्यसलाई हेर्न रमाइलो मान्थे । यही कारण केही कम्पनीहरूले दुर्घटनाग्रस्त अवशेष देखाउने व्यवसाय नै थाले । तिनै मध्ये ओसियन गेट पनि एक हो । कम्पनीको वेबसाइटका अनुसार यसले आफ्नो पहिलो यात्रा सन् २०२१ बाट सुरु गरेको थियो ।

पछि यसमा आधारित विभिन्न चलचित्र, वृत्तचित्र,  किताब आदि सिर्जना गरिए । यसै घटनामा आधारित भएर निर्देशक जेम्स क्यामरुनले बनाएको ‘टाइटानिक’ त झन् विश्व विख्यात नै भयो । यिनै कारणले पनि मानिसहरू त्यो ठाउँसम्म जान निकै उत्सुक हुन थाले ।

यस्तो थियो टाइटन समुद्रमा हराएको टाइटन नामक पनडुब्बी

झट्ट हेर्दा त्यो क्याप्सुल जस्तो देखिन्थ्यो । यसको आकार सानो किसिमको कार जत्रो थियो । लम्बाई ६.७ मिटर मात्र रहेको यो पनडुब्बीमा पाँच जना मान्छे बस्न मिल्थ्यो । ‘कार्बन फाइबर’ र 'टाइटेनियम एन्ड प्लेट'बाट बनेको थियो । टाइटनमा पारदर्शी चुकुल लगाइएको थियो । तर भित्रबाट खोल्न मिल्दैन थ्यो । समुन्द्री सतहमा निस्केपछि मात्र खोल्नु पर्थ्यो । यसमा बस्नका लागि कुनै कुर्सी थिएनन् । मानिसहरू भुइँमा बस्थे । यसमा एक निजी शौचालय पनि थियो । यसबाट गरिने टाइटानिक सम्मको यात्राको अवधि आठ दिन लामो हुन्थ्यो ।

एक एक पटकको डुबुल्कीमा ९६ घण्टासम्म यो पनडुब्बी पानी मुनि रहन्थ्यो । १७ वर्ष उमेर पुगेकाले यसमा टिकट काट्न पाउँथे । एउटा टिकटको मूल्य दुई लाख ५० हजार अमेरिकी डलर तोकिएको थियो । यसलाई समुद्री सतहमा रहेको जहाजले डुबाउने र निकाल्ने गर्नु पर्थ्यो । पनडुब्बीले जहाजसँग सञ्चार गरिरहनु पर्थ्यो ।

गार्डियनका अनुसार टाइटन अनुसन्धान र सर्भेमा प्रयोग हुने पनडुब्बी हो । त्यस्तो मिसनका क्रममा यसमा पाइलट बाहेक चार जना रहन सक्छन् । ती चार जनामा सामान्यतया आर्कियोजलिस्ट, समुद्र जीव वैज्ञानिक रहने गर्छन् । तर ओसियनले भने यस पटक व्यावसायिक यात्रा गराएको थियो । यो ‘सबमर्सेबल’ हो । जुन सामान्य पनडुब्बीभन्दा फरक हुन्छ ।

सामान्य किसिमका पनडुब्बी स्वतन्त्र रुपमा आउन/जान सक्छन् । तर टाइटन जस्तो पनडुब्बीमा सीमित शक्ति हुन्छ । यसलाई समुद्र मुनि जान र माथि निकाल्न अर्को जहाजको सहायता चाहिन्छ । सामान्यतया पनडुब्बीमा एक पाइलट, एक विशेषज्ञ र टिकट खरिद गर्ने तीन जना हुन्छन् । तर यात्रुलाई सम्भावित दुर्घटनाबारे पहिल्यै जानकारी दिइन्थ्यो । यात्रा थाल्नु अगाडि हुने ‘सम्झौता पत्र’मा यस बारे उल्लेख हुन्थ्यो ।

यात्रुले सवारी हुनुभन्दा अगाडि त्यसमा हस्ताक्षर गर्थे । त्यस्तै सञ्चालनका लागि यसमा एउटा मात्र बटन थियो । त्यो 'अन' गरेपछि गेम कन्ट्रोलरले पनडुब्बीलाई चलाउन सकिन्थ्यो । उक्त कन्ट्रोलर लजिटेकले बनाएको थियो । जुन सोनी प्ले स्टेसन गेममा प्रयोग हुने कन्ट्रोलर जस्तो देखिन्थ्यो । गेम खेल्दा जसरी 'क्यारेक्टर'लाई चलाउन जोयस्टिकमा तलमाथि गरिन्थ्यो, पनडुब्बी चलाउन पनि त्यसै गरिन्थ्यो । बायाँ जान बायाँ बटन, दायाँ जान दायाँ बटन थिच्नु पर्थ्यो । 

कसरी भयो दुर्घटना ? 

दुर्घटनामा परेको टाइटनका यात्रु; क्रमश: माथि बायाँ पल-अन्री नार्गेओ, स्टक्टन रश, हमिश हार्डिङ, सुलेमान र दाउद शाहजादा

दुर्घटनामा परेको टाइटनका यात्रु; क्रमश: माथि बायाँ पल-अन्री नार्गेओ, स्टक्टन रश, हमिश हार्डिङ, सुलेमान र दाउद शाहजादा

न्यु फाउन्डल्यान्ड क्यानडाबाट गत शुक्रबार (१६ जुन) टाइटानिकको भग्गावशेष रहेको ठाउँ हेर्न पाँच व्यक्ति यात्रामा निस्किएका थिए । जसमा पाकिस्तानी अर्बपति दाउद शाहजादा, उनका छोरा सुलेमान, ब्रिटिश अर्बपति हमिश हार्डिङ, फ्रान्सेली जनसेनामा काम गरेका पल-अन्री नार्गेओ र ओसियन गेटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्टक्टन रश थिए ।

हमिश हार्डिङ एक चर्चित खोजकर्ता हुन् । उनी एकपटक अन्तरिक्ष पुगिसकेका छन् । त्यस्तै उनको नाममा तीन विश्व कीर्तिमान छन् । उनीहरूले आइतबार (१८ जुन) टाइटनमार्फत समुद्रमा डुबुल्की मारे । टाइटनलाई कोलार फ्रिन्स नामक दोस्रो जहाजको सहयोग मिलिरहेको थियो । तर आइतबार समुन्द्रमा डुबेको पौने दुई घण्टा पछि नै कन्ट्रोल रुमसँग त्यसको सम्पर्क टुट्यो । लगत्तै अमेरिकी खोजकर्ताले खोजी कार्य सुरु गरे ।

अमेरिकी टेलिभिजन नेटवर्क सीबीएसका डेभिड पोग यो पन्डुब्बीबाटै टाइटानिकको भग्नावशेष हेर्न गएका थिए । उनका अनुसार यसमा समुद्र भित्रबाट सतहमा आउने सिस्टममा कमजोरी थियो । टाइटाइनिकको उक्त भग्नावशेष एट्लान्टिक महासागरको करिब साढे १२ हजार (३८०० मिटर अर्थात करिब चार किलोमिटर) मुनि रहेको छ ।  

अहिले सबैभन्दा समस्या पनडुब्बीको लोकेसन ट्रयाक गर्नु रहेको छ । यसले सतहमा वा पानीको मुनी खोजी गर्ने भन्ने अन्यौल उत्पन्न गराएको छ । त्यस्तै पनडुब्बीको रङ्ग सेतो भएका कारण पनि खोजी कार्यमा समस्या भइरहेको छ ।

पनडुब्बी गायब भएको ठाउँबाट केही आवाज आएको उद्धारकर्ताले बताएका थिए । तर त्यो पनडुब्बीबाटै आएको भन्ने कुरा चाहिँ निश्चित भएको छैन । त्यस्तै आवाजको स्रोत के हो भन्ने निश्चित छैन । त्यसपछि खोजी कार्य त्यही क्षेत्रमा केन्द्रीत गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन् ।

पानी मुनि निकै अन्धकार भएकाले पनि खोजी कार्यमा समस्या भइरहेको छ । त्यस्तै त्यहाँको प्रतिकूल मौसमका कारण उद्धारकर्ताहरूलाई गाह्रो भइरहेको छ ।

समुद्रभित्र रेडियो ट्रान्समिटर र जीपीएस सिग्नलबाट हराएको पनडुब्बी खोज्ने प्रयास भइरहेको थियो ।  ‘स्ट्रोब लाइट’ र ‘राडार रिफ्लेक्टर’ पनि खोजी कार्यमा प्रयोग गरिएको थियो । तर लगातार परिवर्तन भइरहने मौसमका कारण उक्त प्रयास असफल भइरहेको थियो ।

त्यसमाथि पानीमा रेडियो र जीपीएसले काम गर्दैन । यसले झन् समस्या निम्त्यायो । समुद्र भित्र वस्तुहरू पहिचान गर्न र शत्रुको पनडुब्बी थाहा पाउने सोनोबयस (Sonobuoys) पनि यसमा प्रयोग गरिएको थियो । तर समुन्द्रको गहिराइका कारण त्यो पनि सम्भव देखिएन । हराएको पनडुब्बी खोज्न ‘अन्डर वाटर रोबोट’ पनि प्रयोग हुने भएको थियो ।  

कम्पनीका विज्ञहरूले भने सम्भावित दुर्घटनाबारे पहिल्यै नै सचेत गरेका थिए । सन् २०१८ मा कम्पनीले पनडुब्बी विज्ञलाई समेत जागिरबाट बर्खास्त गरेका थिए । तर कम्पनीले सम्भावित दुर्घटनाका कुराहरूलाई वेवास्ता गर्दै आएको थियो । उद्धार कार्यमा हालसम्म उपलब्ध र सके जतिका अनेक उपाय अपनाइए । यसक्रममा महासागरको झन्डै २० हजार वर्ग किलोमिटर क्षेत्रमा उद्धार केन्द्रित गरिएको थियो ।

बिहीबार अमेरिकी तटरक्षक गार्डले अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग कुरा गर्दै पनडुब्बीमा सवार पाँचै जनाको निधन आइतबार नै भएको दाबी गरेका छन् । उद्धार तथा खोजीकार्यका क्रममा पन डुब्बीको भग्नावशेष फेला परेको उल्लेख छ । त्यससँगै आन्ध्र महासागरमा जारी उद्धार कार्य अन्त्य भएको बीबीसीले जनाएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित