अमेरिकाको संसद्का लागि उम्मेदवारी दिने नेपाली मूलका ह्यारी भण्डारीको घोषणा

अमेरिकाको संसद्का लागि उम्मेदवारी दिने नेपाली मूलका ह्यारी भण्डारीको घोषणा
www.europenepalikhabar.com २०८० माघ १६ गते मंगलबार, 30-01-2024


युरोप । नेपाली मूलका ह्यारी भण्डारीले अमेरिकाको तल्लो सदन (कंग्रेस)का लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । दुई पटक मेरिल्यान्ड डिस्ट्रिक्ट–८ जितेर मेरिल्यान्ड राज्यको विधायक बनेका डेमोक्र्याटिक पार्टीका नेता भण्डारीले अब वासिङ्टन डीसीमा रहेको क्यापिटल हिल अर्थात् केन्द्रीय संसद्‌मा जाने घोषणा सोमबार गरेका हुन् ।

उनले मेरिल्यान्ड कंग्रेसनल डिस्ट्रिक्ट–२ बाट केन्द्रमा निर्वाचन लड्ने घोषणा गरेका हुन् । २१ वर्षदेखि अनवरत प्रतिनिधित्व गर्दै आएका विधायक डच रुपेर्सबर्गरले अवकाशको घोषणा गरेपछि उक्त खुला सिटमा उम्मेदवारी घोषणा गरेको भण्डारीले जानकारी दिए । उक्त क्षेत्रबाट डेमोक्र्याटिक पार्टीको उम्मेदवार आगामी मे १४ मा हुने प्राइमरी निर्वाचनको नतिजाले तय गर्नेछ । उक्त निर्वाचनमा जिते भण्डारीले नै पार्टीको नेतृत्व गर्दै आगामी नोभेम्बर ५ मा हुने आमनिर्वाचन राष्ट्रपति जो बाइडेनको दलबाट लड्नेछन् ।

भण्डारी सन् २०१८ मा मेरिल्यान्ड राज्यमा नेपाली मूलको पहिलो निर्वाचित विधायक बनेका थिए । डेमोक्र्याट पार्टीबाट उम्मेदवार बनेर चुनाव जितेमा भण्डारी त्यहाँको संघीय संसद्मा पुग्ने पहिलो नेपाली मूलका अमेरिकी बन्नेछन् । भण्डारीले आफू विधायक भएपछि मेरिल्यान्डमा नेपाल र नेपालीलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन भएको बताए । ‘डेमोक्रेटिक पार्टीले जित्ने सिट ओपन हुनु भनेको त्यही क्षेत्रको सबैभन्दा बढी मत ल्याएर जितेको र वरीयताक्रममा पनि पहिलो नम्बरमा रहेको डेलिगेटका लागि एकजुगमा एक दिन आउने अवसर हो । कम्तीमा मेरो सक्रिय राजनीतिक जीवनमा यस्तो अवसर फेरि आउने छैन भन्नेमा म विश्वस्त छु,’ भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘म यो सुनौलो अवसर अमेरिकाभरिका नेपालीको अवसरका रूपमा स्वीकार्छु र विनम्रतापूर्वक मेरिल्यान्ड कंग्रेसनल डिस्ट्रिक्ट–२ का लागि डेमोक्रेटिक पार्टीको उम्मेदवारी घोषणा गर्न चाहन्छु ।’ उनले आफू अहिले मेरिल्यान्डको विधायक भएको र आगामी जितपछि अमेरिकाका ५० राज्यकै एक संसद् (कंग्रेसम्यान) हुने पनि बताए । ‘त्यसबाट अमेरिकाभरिका समग्र नेपालीले आफ्नो मूलको पहिलो कंग्रेसम्यान पाउनेछन्,’ उनले भने । भण्डारीले उम्मेदवारी दिनु एउटा पक्ष भए पनि त्यसका लागि प्रभावकारी चुनावी क्याम्पेन चलाउनु निर्णायक रहेको प्रस्ट पारे ।

भण्डारीको नेपाल घर पर्वत जिल्लाको तत्कालीन थापाठाना गाविस (हाल फलेवास नगरपालिका) हो । उनले शंकरपोखरीस्थित त्रिभुवन माविबाट एसएलसी उत्तीर्ण गरेका थिए । मेरिल्यान्डमा राज्यको विधायक हुँदा उनले नेपालीहरूको चाड दसैंमा एक दिन बिदा दिने गरी मेरिल्यान्ड राज्यका दुवै संसद्बाट विधेयक पारित गराएर कानुन निर्माणमा अहम् भूमिका खेलेका थिए । उक्त कानुनअनुसार हरेक वर्ष ५ अक्टोबरमा दसैं बिदा दिइन्छ । उनले आफ्नो निर्वाचन क्षेत्रमा सरकार तहबाट तिहारमा दीपावली मनाउनका लागि विद्यालयबाट बिदा दिने नीति पनि पास गराएका छन् ।

मेरिल्यान्ड डिस्ट्रिक्ट–८ को विधायकका रूपमा आफूले पहिलो कार्यकालमा गरेको कामको मूल्यांकन गरेर जनताहरूले दोस्रो पटक अझ ठूलो मतका साथ जिताएको पनि भण्डारीले उल्लेख गरेका छन् । ‘यसबाट अमेरिकाको मूलधारका मतदातामाझ पनि नेपाल र नेपाली अरू बढी देखिएको छ, सुनिएको छ,’ उनले भने ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित