कविता : म अवसरवादी ! - सुमना श्रेष्ठ

कविता :      म अवसरवादी ! - सुमना श्रेष्ठ
www.europenepalikhabar.com २०८२ कार्तिक २६ गते बुधबार, 12-11-2025


हो, सुमना श्रेष्ठ, म अवसरवादी हुँ, 

जनताको पिडामा मलम लगाउन खोज्नु,

अन्धकारमा आशाको बत्ती बाल्न खोज्नु,

न्यायको बाटोमा सत्यको साथमा हिँड्नु, 

अवसर हो भने, त्यो अवसर म रोज्छु!


हो, म अवसरवादी हुँ,

किनकि म सुशासन खोज्छु,

किनकि म विधिको शासनको सम्मान गर्छु,

किनकि मलाई जनताको आँसु सुकाउनु छ,

र मलाई थाहा छ, 

यो परिवर्तनको घडी, कसैले रोकिदियो भने, 

फेरि भ्रष्टहरुको दिन आउनेछ, सर्वत्र अध्यारो छाउनेछ।  


तिमीहरू मलाई हाँसोमा उडाउन सक्छौ,

“अवसरवादी!” भनेर चिच्याउन सक्छौ,

तर म मौन रहन्न,

किनभने, मनौता पनि स्वीकृति हो।  

मौनता पनि अपराध हो।  


म अवसरवादी हुँ, 

शब्दमा होइन, संकल्पको अर्थमा।

म चाहन्छु अवसर, देशलाई फेरि उठाउने,

युवालाई आस्था दिलाउने,

राजनीतिलाई जनसेवा बनाउने।


यदि सेवा गर्नु अपराध हो भने,

म त्यो अपराध स्वीकार्छु।

यदि परिवर्तनमा विश्वास राख्नु पागलपन हो भने, 

म पागलपन स्वीकार्छु।  


किनकि मैले देखेको छु, 

बढ्दो भीडमा बारुदी आँखा,

लाचार आमा, रित्तो काँख 

र मानेको छु - देश मरेको छैन,

देश त केवल निदाएको छ।


त्यसैले हो, म अवसरवादी हुँ, 

सपनाको पुनर्जन्मको अवसर खोज्दै।

जब एकदिन, यो देश बिउँझन्छ,

त्यो बिहानको घामसँगै

मेरो नाम “अवसरवादी” करार हुदा पनि, 

सबै भन्दा खुसि मै हुनेछु ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित