"पोर्चुगल डे" अर्थात् राष्ट्रिय दिवसको इतिहास, महत्त्व र प्रभाव

www.europenepalikhabar.com २०८३ जेठ २७ गते बुधबार, 10-06-2026


• राजकुमार थापा, लिस्बन, पोर्चुगल, १० जुन ।

हरेक बर्ष जुन १० तारिख सार्वजनिक विदासहित "पोर्चुगल डे" राष्ट्रिय गौरवका रूपमा भव्य तरिकाले मनाइन्छ । यो दिनलाई पोर्चुगिस नागरिकहरुले इतिहास,भाषा,साहित्य र संस्कृतिको विश्वव्यापी चिनारी र प्रभावलाई गौरवपूर्ण रूपमा सम्झने गर्दछ्न् ।

"पोर्चुगल डे"(Portugal Day) पोर्चुगलको सबैभन्दा महत्त्वपूर्ण राष्ट्रिय दिवस हो । यसलाई पोर्चुगिस भाषामा (Dia de Portugal, de Camões e das Comunidades Portuguesas) भनिन्छ ।


यो दिन महान् पोर्चुगिस कवि Luís de Camões को निधन भएको दिन (१० जुन १५८०) को सम्झनामा मनाइन्छ । उनको जन्म सन् १५२४ मा तत्कालीन राजतन्त्रकालीन पोर्चुगल अधिराज्यमा भएको थियो भने निधन सन् १५८० जुन १० तारिख भएको थियो । कवि कामोएसलाई पोर्चुगिस भाषाको सबैभन्दा महान् साहित्यकार मानिन्छ । उनको प्रसिद्ध महाकाव्य "Os Lusíadas" ले पोर्चुगलको इतिहास,भाषा,साहित्य, संस्कृति, समुद्री अन्वेषण, साहस र राष्ट्रिय पहिचानलाई अमर बनाएको छ । त्यसैले उनको स्मृति दिवसलाई पछि राष्ट्रिय दिवसको रूपमा मान्यता दिइयो ।

पोर्चुगल ऐतिहासिक रूपमा युरोपका सबैभन्दा पुराना राष्ट्रहरूमध्ये एक हो । सन् ११४३ मा स्वतन्त्र राज्यका रूपमा यसको पहिचान स्थापित भएको थियो ।

१५ औँ र १६ औँ शताब्दीमा पोर्चुगल विश्वकै अग्रणी समुद्री शक्ति बन्यो । यस अवधिमा Prince Henry the Navigator ले समुद्री अनुसन्धानलाई प्रोत्साहन गरे ।Bartolomeu Dias ले अफ्रिकाको दक्षिणी टुप्पो (Cape of Good Hope) पार गरे । Vasco da Gama ले सन् १४९८ मा समुद्री मार्ग हुँदै भारत पुगे भने Pedro Álvares Cabral  ब्राजिल पुगे र त्यसलाई पोर्चुगिस प्रभाव क्षेत्रमा ल्याए । यी यात्राहरूले विश्व व्यापार, भूगोल, भाषा, संस्कृति र विभिन्न सभ्यताबीचको सम्पर्क र सम्बन्धलाई नयाँ दिशा दिएको थियो ।

आज पोर्चुगिस भाषा संसारका प्रमुख भाषामध्ये एक हो । पोर्चुगल, ब्राजिल, अङ्गोला,मोजाम्बिक, क्याबो भेर्द लगायतका देशहरूमा मुख्य भाषाको रूपमा पोर्चुगिस बोलिन्छ। विश्वभर २५ करोडभन्दा बढी मानिसले पोर्चुगिस भाषा प्रयोग गर्ने आँकडा रहेको छ ।

पोर्चुगलले समुद्री खोज, अनुसन्धान, विज्ञान, नक्सा निर्माण, वास्तुकला, साहित्य, संगीत (विशेषगरी Fado) मा महत्त्वपूर्ण योगदान दिएको छ । "पोर्चुगल डे" लाई भव्य रूपमा मनाउन यसदिन  पोर्चुगलको राष्ट्रिय झण्डाहरु फहराइन्छ । सैनिक परेड र सम्मान समारोह हुन्छ । गणतन्त्र पोर्चुगलका राष्ट्रपतिद्वारा विशिष्ट व्यक्तिहरूलाई सम्मान प्रदान गरिन्छ । साँस्कृतिक, संगीत र साहित्यिक कार्यक्रमहरु आयोजना गरिन्छ । विदेशमा रहेका पोर्चुगिस समुदायहरूले पनि यो उत्सवलाई भव्य रूपमा मनाउँछन् । हरेक वर्ष मुख्य राष्ट्रिय समारोह फरकफरक शहरमा आयोजना गरिन्छ ।

यस दिवसको एउटा विशेष पक्ष विश्वभर फैलिएका पोर्चुगिस मूलका नागरिकहरूको सम्मान पनि हो । लाखौं पोर्चुगिस नागरिक र तिनका सन्तान युरोप, एसिया, उत्तर अमेरिका, दक्षिण अमेरिका, अफ्रिका लगायतमा बसोबास गर्छन् । यो दिवसले उनीहरूलाई मातृभूमिसँग जोड्ने प्रतीकात्मक कडीको भूमिका खेल्छ ।

"पोर्चुगल डे" ले पोर्चुगिस जनतालाई आफ्नो इतिहास, भाषा, संस्कृति, साहित्य र राष्ट्रिय एकताको सम्झना गराउँछ । समुद्री अन्वेषणको साहस, साहित्यिक सम्पदा र विश्वव्यापी साँस्कृतिक प्रभावका कारण पोर्चुगलले आफ्नो आकारभन्दा धेरै ठूलो भाषिक, साँस्कृतिक र ऐतिहासिक छाप विश्वमा छोडेको छ । जुन १० को "पोर्चुगल डे" महान् कवि कामोएसको स्मृति, पोर्चुगलको भाषा, साहित्य, राष्ट्रिय पहिचान, समुद्री गौरव, साँस्कृतिक सम्पदा र विश्वभरिका पोर्चुगिस समुदायहरूको एकताको प्रतीक पनि हो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित