न्युजविकको त्यो चर्चित कभर स्टोरी : म्याडम प्रेसिडेन्ट क्लिण्टन (मिडिया बहस)

न्युजविकको त्यो चर्चित कभर स्टोरी : म्याडम प्रेसिडेन्ट क्लिण्टन (मिडिया बहस)
युरोपनेपाली खबर २०७७ कार्तिक १६, 1-11-2020


सन् २०१६ को राष्ट्रपतीय चुनाव अमेरिकी इतिहासको सबैभन्दा प्रतिस्पर्धात्मकमध्ये एक मानिएको थियो । राष्ट्रपतिको उम्मेदवारका रूपमा थिए, व्यापारी डोनाल्ड ट्रम्प र पूर्वसिनेटर तथा विदेशमन्त्री हिलारी क्लिन्टन । नोभेम्बर ३ मा भएको निर्वाचनमा डोनाल्ड ट्रम्पले अप्रत्याशित रूपमा हिलारी क्लिन्टनलाई पराजित गरे । मूलधारका अधिकांश मिडिया र मतसर्वेक्षणले हिलारी क्लिन्टनले चुनाव जित्ने बताइरहेका थिए । मतसर्वेक्षणको भर परेर क्लिन्टनलाई राष्ट्रपति घोषणा गर्ने हतारोमा एक चर्चित म्यागजिन न्युजविक भने नराम्ररी फस्न पुग्यो । म्यागजिनले हिलारीले जितेको आवरणसहितको अंक बजार पठाइसकेको थियो । मतपरिणाम ट्रम्पको पक्षमा आएपछि न्युजविकले रातारात बजार पठाइसकेको झन्डै डेढ लाख प्रति म्यागजिन फिर्ता गर्नुपरेको थियो । 

यो अवस्था कसरी आयो त ? मिडिया र मतसर्वेक्षणकर्ता संस्था धरातलीय पूर्वाग्रहका कारण यसो भएको आलोचकहरू बताउने गर्छन् । आलोचकका अनुसार ट्रम्पविरोधी भावनामा डुबेका मिडिया र मतसर्वेक्षकले धरातलीय यथार्थ नै ठम्याउन सकेनन् । 

अमेरिकी मिडियाको राजनीतिक पक्षधरता लुकेको कुरा होइन । त्यहाँका मिडियामा लिबरल र कन्जरभेटिभ पक्षधरता छ । अमेरिकाका दुई प्रमुख दलमध्ये डेमोक्रेटिक तुलनात्मक रूपमा लिबरल र रिपब्लिकन पार्टी कन्जरभेटिभ भएकाले मिडिया यी दुई पार्टीको पक्षमा खुलेरै देखिन्छन् । 

डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतीय उम्मेदवार हिलारीप्रति अधिकांश मिडिया नरम रहेको आरोप लागेको थियो । अमेरिकाका अधिकांश मिडिया पाँच कर्पाेरेट समूह एटी एन्ड टी, कम्कास्ट, डिज्ने, फक्स कर्पाेरेसन र भायकमको स्वामित्वमा छ । यी ठूला कर्पाेरेसनले जुन उम्मेदवारको पक्षमा आफूलाई उभ्याउँछन्, तिनैले चुनाव जित्ने माहोल बन्छ । मूलतः अमेरिकी मिडियाको पक्षधरता अमेरिकी कर्पाेरेट जगत्को पक्षमा देखिने उम्मेदवारको पक्षमा देखिन्छ । सन् २०१६ मा यस्तो उम्मेदवार हिलारी रहेको मानिएको थियो । त्यसैले त कन्जरभेटिभ मिडिया भनेर चिनिने फक्स न्युजले समेत सुरुमा ट्रम्पलाई समर्थन गरिरहेको थिएन । कुनै राजनीतिक अनुभव नभएको भए पनि डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीको उम्मेदवार हुनुअघि गुमनाम व्यक्ति भने थिएनन् । 

मूलतः अमेरिकी मिडियाको पक्षधरता अमेरिकी कर्पाेरेट जगत्को पक्षमा देखिने उम्मेदवारको पक्षमा देखिन्छ । सन् २०१६ मा यस्तो उम्मेदवार हिलारी रहेको मानिएको थियो । त्यसैले त कन्जरभेटिभ मिडिया भनेर चिनिने फक्स न्युजले समेत सुरुमा ट्रम्पलाई समर्थन गरिरहेको थिएन । 

पिताबाट विरासतका रूपमा पाएको घरबार व्यवसायलाई थप उचाइमा पुर्‍याएका ट्रम्प एक सफल व्यवसायीको रूपमा चर्चित थिए । सन् २००३ मा सुरु भएको ‘द अप्रेन्टिस’ नामक चर्चित रियालिटी टिभी सोबाट त उनी झनै धेरै अमेरिकीमाझ परिचित बने । ट्रम्प उक्त कार्यक्रमको निर्माताका अतिरिक्त होस्ट पनि थिए । उता, हिलारी अमेरिकी राजनीतिको एक वंश मानिने क्लिन्टन परिवारकी सदस्य हुन् । उनका पति बिल क्लिन्टन सन् १९९३ देखि २००१ बीचमा राष्ट्रपति थिए । त्यसैले दुवै उम्मेदवार अमेरिकी मतदाताका लागि नयाँ थिएनन्।

डोनाल्ड ट्रम्प उम्मेदवारी घोषणादेखि नै विवादास्पद टिप्पणीका लागि मिडियामा विवादमा आइरहेका थिए । विकासोन्मुख मुलुकबाट अमेरिका आएका आप्रवासीलाई अपराधी तथा बलात्कारीका रूपमा देखाउने उनको टिप्पणीको सर्वत्र विरोध भयो । तर, ट्रम्पले सम्पूर्ण चुनावी अभियानका क्रममा नश्लवादी टिप्पणी गरिरहे । सन् २०१६ को राष्ट्रपतीय चुनावको पश्चिमी राष्ट्रहरूमाझ पपुलिस्ट राजनीतिक ज्वरो उच्च बिन्दुमा थियो । ब्रेक्जिट, युरोपेली आप्रवासन प्रकरणदेखि ट्रम्पको उदयसम्ममा हावी भएको पश्चिमी पपुलिस्ट लहर मुख्यतः आप्रवासी तथा खुला व्यापारविरुद्ध लक्षित देखिन्थ्यो । ट्रम्पले यो लहरलाई आफ्नो चुनावी फाइदाका लागि उपभोग गरे, साथसाथै पपुलिस्ट लहरलाई थप उचाइमा पुर्‍याए । 

ट्रम्पका विवादित टिप्पणीका अतिरिक्त उनले उम्मेदवारी दिएको रिपब्लिकन पार्टीमा केही अनुभवी राजनीतिज्ञ पनि चुनावी दौडमा भएकाले उनलाई मिडियाले बलियो प्रतिस्पर्धीका रूपमा लिएका थिएनन् । तर, रमाइलो कुरा कमजोर प्रतिस्पर्धी मान्दामान्दै मिडियामा सबैभन्दा धेरै कभरेज ट्रम्पले नै पाइरहेका थिए । उनका हरेक विवादित टिप्पणीलाई मिडियाले जोड दिन थालेका थिए । अमेरिकी आमजनतामा सबैभन्दा बलियो प्रभाव हुने न्युज टिभीले ट्रम्पका समाचारलाई अत्यधिक कभर गर्न थालेपछि विवाद पनि उत्पन्न भएको थियो । अमेरिकी राष्ट्रपतिको चुनावी दौडमा सहभागी हुनेहरूले ठूलो रकम राजनीतिक विज्ञापनका रूपमा खर्च गर्ने गर्छन् ।

तर, टिभीहरूले ट्रम्पका हरेक टिप्पणीको कभरेज गर्दा उनको लाखौँ डलरबराबरको प्रचार भइरहेको थियो । अध्ययनका अनुसार सन् २०१६ को निर्वाचनका क्रममा राष्ट्रपति पदका अन्य उम्मेदवार टेड क्रुज, जोन कासिक, हिलारी क्लिन्टल र बर्नी स्यान्डर्ससमेतले समग्रमा जति कभरेज पाए, राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्प एक्लैले त्यसभन्दा बढी कभरेज पाएको देखाएका छन् । त्यसैगरी, मिडियामा रिपब्लिकन प्राइमरीले जति कभरेज पाएको थियो, त्यसको तुलनामा डेमोक्र्याटिक प्राइमरीले पाएको कभरेज उल्लेखनीय रूपले कम थियो । रिपब्लिकन पार्टीका आकांक्षीमा ट्रम्प भएकाले यसो भएको थियो ।

उता, हिलारीको भने विदेश मन्त्रालय सम्हाल्दाको समयको इमेल प्रकरण मिडियामा धेरै उचालिइरहेको थियो । यसले उनको नकारात्मक छवि बनेको थियो । हिलारीको यही नकारात्मक छवि उनको हारको कारण भएको पनि बताइन्छ । आमनिर्वाचनका क्रममा पनि ट्रम्पको नीति तथा मुद्दाका कभरेज हुँदा हिलारीको नीति तथा एजेन्डाको भन्दा पनि उनको विवादास्पद इमेल प्रकरणकै प्रधानता रह्यो । 

चुनावी अभियान अघि बढ्दै जाँदा रिपब्लिकन पार्टीका बलिया ठानिएका प्रत्यासीहरू एकपछि अर्को गर्दै चुनावी दौडबाट बाहिरिए र ट्रम्प रिपब्लिकन पार्टीका उम्मेदवारका रूपमा चुनिए । डेमोक्रेटिक पार्टीभित्र भने सुरुमा हिलारीलाई निर्विवाद उम्मेदवार ठानिएको थियो । तर, अप्रत्याशित रूपमा सानो राज्य भरमोन्टका सिनेटर बर्नी स्यान्डर्सले उनलाई आन्तरिक छनोटमा बलियो चुनौती दिए । प्रजातान्त्रिक समाजवादीका रूपमा चिनाउने बर्नी स्यान्डर्सलाई हराएर अन्ततः चुनाव ट्रम्प भर्सेस क्लिन्टन बन्यो । 

मिडियाहरू निर्वाचनको दिनसम्म पनि ट्रम्पको हार र क्लिन्टनको जितको कुरा गरिरहेका थिए । लिबरल भनिने मिडिया ट्रम्पविरुद्ध खुलेर लागेका थिए । ट्रम्प पनि ती मिडियाप्रति निकै आक्रामक रूपमा प्रस्तुत हुन्थे । एक अवसरमा उनले आफूले क्लिन्टनसँग मात्र नभएर ‘बेइमान’ मिडियाहरूसँग पनि लड्नुपरेको बताएका थिए । 

ट्रम्प क्लिन्टनजस्तो व्यावसायिक राजनीतिज्ञ थिएनन्, तर अर्बपति व्यापारीका रूपमा उनी अभिजात वर्गकै सदस्य थिए । तथापि, उनले चलाखीपूर्ण रूपमा आफूलाई तल्लो वर्गको उम्मेदवारका रूपमा चिनाउन सफल भए । विवादित टिप्पणी र मिडियामा आलोचनाजस्ता कुरालाई उनले राजनीतिक लाभमा परिणत गर्न सफल भए । ट्रम्पले राजनीतिमा आफू नयाँ भएकाले भ्रष्ट नभएको र जिताएमा भ्रष्ट संस्थापनलाई फरक गर्ने बताए । आफ्नो विवादित टिप्पणीलाई उनले आफू अरूले सुन्न चाहेको बोल्ने राजनीतिज्ञ नभएर आमसर्वसाधारणले जस्तै जे मनमा आउँछ, त्यही बोल्ने उम्मेदवार भएको बताए । यसो भनेर ट्रम्पले आफूलाई संस्थापनविरोधी नेता र क्लिन्टनलाई एलिटको नेताका रूपमा प्रचार गरिरहेका थिए । पश्चिमी समाजमा संस्थापनविरोधी लहर चलेको वेला ट्रम्पको यस रणनीति सफल साबित भइरहेको थियो । तर, मतसर्वेक्षणमा भने ट्रम्प कहिल्यै पनि बलिया देखिइरहेका थिएनन् । दुई पार्टीका उम्मेदवारका रूपमा छनोट भएपछि लगभग सबैजसो सर्वेक्षणमा क्लिन्टन ट्रम्पभन्दा अघि देखिएका थिए । अन्तिम समयसम्म पनि मतसर्वेक्षणमा ट्रम्पले चुनाव हार्ने देखिएको थियो । मिडियाहरूले पनि यही कथ्य दोहोर्‍याइरहेका थिए । 

ट्रम्पले अमेरिकामा उल्लेख्य अल्पसंख्यकका रूपमा रहेका अश्वेत तथा ल्याटिनो समुदायको आत्मसम्मानमा चोट पुर्‍याएकाले तिनको मत क्लिन्टनले पाउने ठानिएको थियो । तर, धेरैले ख्याल नगरेको पाटो पश्चिमी राज्यमा पपुलिस्ट लहर चलिरहेको थियो र यो लहरमा मूल समुदायले आफूलाई पीडितका रूपमा हेर्न थालेको थियो । अमेरिकाको मूल श्वेत समुदायको एक हिस्साले ट्रम्पप्रति झुकाव राखेको देखियो । ती ठूलो संख्यामा मतदानमा आउँदा ट्रम्प विजयी भए । 

तर, मिडियाहरू भने निर्वाचनको दिनसम्म पनि ट्रम्पको हार र क्लिन्टनको जितको कुरा गरिरहेका थिए । लिबरल भनिने मिडिया ट्रम्पविरुद्ध खुलेर लागेका थिए । ट्रम्प पनि ती मिडियाप्रति निकै आक्रामक रूपमा प्रस्तुत हुन्थे । एक अवसरमा उनले आफूले क्लिन्टनसँग मात्र नभएर ‘बेइमान’ मिडियाहरूसँग पनि लड्नुपरेको बताएका थिए । 

मतसर्वेक्षणमाथि अत्यधिक भर पर्दा न्युजविक म्यागजिन भने नराम्ररी फस्न पुग्यो । साप्ताहिक रूपमा प्रकाशित हुने न्युजविक पत्रिकाले निर्वाचन परिणाम आउनुपहिले नै क्लिन्टनले जितेको शीर्षकसहित सार्वजनिक गर्‍यो । साप्ताहिक पत्रिका भएकाले यो पहिले नै बजार गइसकेको थियो । न्युजविकका वितरकले चुनावअघि नै म्यागजिनको चुनाव विशेषांकका प्रतिहरू बुकस्टोर पठाएका थिए । तिनलाई चुनावको मतपरिणाम आउनुअघि नबेच्न भनिए पनि केही खुद्रा विक्रेताले पत्रिका बेचेका थिए । यो विशेष प्रति किनेका ग्राहकले पत्रिकाको आवरण सामाजिक सञ्जालमा पोस्ट गरेपछि विवाद मच्चिएको थियो । ट्रम्पले पहिलेदेखि नै मिडिया आफ्नो विरोधमा रहेको र आफूविरुद्ध षड्यन्त्र हुने बताउँदै आएका थिए । मतपरिणामअघि नै यस्तो आवरण आउँदा उनका समर्थकले ट्रम्पलाई हराउने योजना बनेको समेत लख काटे । 

विवाद बढ्दै गएपछि न्युजविकले आफूहरूले कुनै पनि विशेषांक प्रकाशनार्थ तेस्रो पक्षलाई दिने गरेको स्पष्टीकरण दियो । न्युजविकको विशेषांक प्रकाशित गर्ने तेस्रो पक्ष टोपिक्स मिडियाले अन्ततः यसको जवाफ दिनुपर्‍यो । टोपिक्सले आफूहरूले दुवै उम्मेदवारको बारेमा विशेषांक तयार पारेर राखेको तर गल्तीले हिलारीको मात्र बनेर गएको बतायो । तर, खासमा यो विवादपछि पनि टोपिक्स मिडियाले बजारमा गइसकेको अंक फिर्ता गरेन । चुनाव परिणाम क्लिन्टनकै पक्षमा आउनेमा ऊ ढुक्क थियो । तर, अन्ततः नोभेम्बर ८ को चुनावमा मतपरिणाम ट्रम्पको पक्षमा आएपछि बजार पठाइसकेको न्युजविकको एक लाख २५ हजार चुनाव विशेषांक फिर्ता गर्नुपर्‍यो । १७ अंक बिकिसकेकाले फिर्ता नआएको सम्बन्धित वितरकले बताएको थियो । यस घटना न्युजविकलाई मात्र होइन, समग्र मिडिया जगत्लाई एउटा पाठ बन्यो । 

ट्रम्पले चुनाव जितेपछि पनि अमेरिकी मिडिया र ट्रम्पको नोकझोक सकिएन । मूलधारका अमेरिकी मिडियाका रिपोर्ट र विचारहरूमा ट्रम्पको ठूलो विरोध भइरह्यो । सन् २०१७ को पिउ रिसर्चको एक रिपोर्टअनुसार डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछिका ६० दिनमा उनले पाएको मिडिया कभरेजमा ६२ प्रतिशत नकारात्मक र ५ प्रतिशत सकारात्मक थियो । तर, डेमोक्र्याटिक राष्ट्रपति बाराक ओबामाले पहिलो २ महिनामा ४२ प्रतिशत सकारात्मक र २० प्रतिशत नकारात्मक कभरेज पाएका थिए । 

ट्रम्प पनि मूलधारका मिडियामाथि चुप बसेनन् । उनी आफूप्रति नकारात्मक हुने मिडियालाई ‘फेक न्युज’ भन्छन् । ट्रम्पले धेरै प्रयोग गर्ने यो पदावली पछिल्लो समय समाचार संस्थाहरूमाथिको नागरिकको विश्वास कम गर्न हतियारीकरण भइरहेको छ । उनले यसलाई आफूविरुद्धका कुनै पनि नकारात्मक समाचारलाई खारेज गर्न पनि अत्यधिक प्रयोग गरिरहेका छन् । सन् २०१८ मा ट्रम्पले आफ्ना पूर्ववर्ती राष्ट्रपति निक्सन तथा स्टालिन र अन्य सर्वसत्तावादी नेतृत्वले झै नै फेक न्युजलाई अमेरिकी जनताको शत्रु करार गरिदिएर अमेरिकी सञ्चार जगत्लाई तर्साउन खोजे । यसअघि रिचार्ड निक्सनले पत्रकारलाई आफ्नो शत्रुको सूचीमा राखेका थिए ।

आगामी मंगलबार अमेरिकामा राष्ट्रपतीय चुनाव हुँदै छ । ट्रम्प र डेमोक्रेट्स उम्मेदवार बाइडेनबीच बलियो प्रतिस्पर्धा छ । धेरै मतसर्वेक्षणले बाइडेनले चुनाव जित्ने सम्भावना देखाएका छन् । ट्रम्पविरुद्धको लिबरल मिडियाको पूर्वाग्रह घटेको छैन । यसपटक चार वर्षअघिको न्युजविकको आवरण अंकको प्रकरण त घट्नेछैन ? कि चुनावी परिणाम अप्रत्याशित हुन्छ भनेर मिडियाले पाठ सिकिसके ? यसको परिणाम दुई दिनपछि नै देखिनेछ । 

नारायण शिवाकोटी,

श्रवण उप्रेती,

नयाँ पत्रीका

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित