स्रष्टा सर्वानन्दा सरस्वतीको देशको खबर गीतसंग्रह लोर्कापण एवं साहित्य स्रष्टा सम्मान

स्रष्टा सर्वानन्दा सरस्वतीको देशको खबर गीतसंग्रह लोर्कापण एवं साहित्य स्रष्टा सम्मान
युरोपनेपाली खबर २०७९ कार्तिक २९ गते मंगलबार, 15-11-2022


स्रष्टा सर्वानन्दा सरस्वतीको पहिलो कृति ‘देशको खबर’ गीतसंग्रह लोर्कापण गरिएको छ । काठमाडौंमा एक विशेष समारोहबीच गीतसंग्रह ‘देशको खबर’को लोकार्पण गरिएको हो । कृतिलाई साहित्यकार एवं समाजसेवी वसन्त रिजालले प्रकाशित गर्नुभएको हो ।

समारोहमा गीतसंग्रहका बारेमा साहित्यकार परशुराम परासरले समिक्षा गर्दै किताबमा तीन छुट्टाछुट्टै विषयमा गरी तीज गीति लयमा ५४ वटा, अस्तित्वको खोज गर्ने सन्दर्भ सामूहिक १८ वटा र कोरोना कहरका १९ वटा विविध भावका गीतहरू रहेको बताउनुभयो । ‘गीतमा लेखकले दर्शाएको सांस्कृतिप्रतिको भावभक्तिका साथै न्यायिक क्षेत्र, चिकित्सा क्षेत्र, शिक्षण क्षेत्र, सरकारलगायत गतिविधिलाई व्यंग्यात्मक ढंगले विद्रोह गर्दै गीतद्वारा प्रस्तुत गर्नुभएको छ’, साहित्यकार परासरले भन्नुभयो ।

उहाँले संग्रहमा अपांगता भएकाको अधिकारको माग गरिएका, महिला हिंसाका घटना बोकेका, देशमा भएका प्राकृतिक विपत्तिका सवाल समेटिएका, छिमेकीको अत्याचार एवं त्यसमै देश चलाउनेहरू निर्देशित भएका र कोरोना महामारीमा घटेका परिवेशका घटनाक्रमलाई समेटेर लेखकले मानवीयता, देशभक्ति प्रर्दशन गर्दै ‘देशको खबर’ पस्केको जिकिर गर्नुभयो । लेखकले आफ्नो बारेमा पनि पुस्तकमार्फत प्रष्ट पारेको समेत उहाँले खुलासा बताउनुभयो ।

शारीरिक रूपमा आँखाको समस्यासँग एवं मुटुलगायत विविध स्वास्थ्य समस्यासँग जुद्दै साहित्यमा सक्रिय सरस्वती नेपाल स्काउटका स्काउट शिक्षक, सहकारीकर्मी एवं निर्माण मिडियाकी सञ्चारकर्मी पनि हुनुहुन्छ । समारोहमा नेपाल स्काउट महिला विभाग प्रमुख एवं बागमती प्रदेश सदस्य स्काउटर संगीता मिश्र, मेलम्ची नगरपालिका–१ का वडा अध्यक्ष कृष्णमुरारी चौलागाईं, वडा-२ का अध्यक्ष नगेन्द्रपसाद खतिवडालगायत करिब ७० जना साहित्य स्रष्टा तथा साहित्य अनुरागीको उपस्थिति थियो । कवयित्री शारदा पराजुलीले सञ्चालन गरेको सो कार्यक्रममा दशजना कविहरूले रचना बाचनसमेत गरेका थिए ।

प्रा.डा.ज्ञवाली सम्मानित

साहित्यकार प्रा.डा.रामप्रसाद ज्ञवाली अभिनव साहित्य समाजको उच्च सम्मानबाट सम्मानित हुनुभएको छ । काठमाडौंको भैरव स्मृति भवन जोरपाटीमा एक समारोहबीच उहाँलाई विशेष सम्मान गरिएको हो ।साहित्यलाई विकाससँग जोडेर प्रतिभालाई निखार ल्याउन निरन्तर लागिपरेको अभिनव साहित्य समाजले आफ्नो २४९औं नियमित कार्यक्रममा ज्ञवालीलाई सम्मान गरेको हो ।

वरिष्ठ साहित्यिक पत्रकार चेतन घिमिरेले साहित्यकार एवं अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे ‘वेदमणी’द्वारा आफ्ना पिताको नाममा स्थापना गरिएको ३० हजार राशीको ‘हरि अभिनव विद्वत् प्रतिभा पुरस्कार’ले साहित्यकार प्रा.डा.ज्ञवालीलाई दोसल्ला र अभिनन्दन पत्रसहित सम्मान प्रदान गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार घिमिरेले नेपाली साहित्यलाई विविध विषयका १०७ वटा पुस्तक दिइसक्नु भएका ज्ञावलीका साहित्यिक आयामहरू उज्यालोतर्फ र जीवन जिउने मार्ग डो¥याउने किसिमका रहेको जिकिर गर्नुभयो ।

सम्मानित व्यक्तित्व साहित्यकार प्रा.डा.ज्ञवालीले उच्च सम्मान तथा पुरस्कारका लगि कृतज्ञता व्यक्त गर्दै स्नेहपूर्ण टिप्पणी र उत्साहित बनाइदिने स्रष्टाद्रष्टाप्रति आभारी भएको बताउनुभयो । उहाँले पितृजनको सम्मानमा आफ्ना पितालाई सम्झँदै आफ्नो रचनासमेत पाठ गर्नुभएको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित