-देवचन्द्र सुब्बा
सुर्ता नगर्नुस् महोदय
मैले समाज सोच्न छाडिसकेँ।
भष्मासुरको राज्यमा
म जनक बन्न सक्तिनँ
वृद्धाश्रममा थन्क्याइएका छन्
बुद्धिहरू
रत्यौलीमा छन् सम्मानहरू
छन् त केवल औरङजेबको
जर्जिया
अब
महोदय!
म समाजको चाणक्य बन्न सक्तिनँ।
त्यसैले
सुर्ता नगर्नुस् महोदय
मैले समाज सोच्न छाडिसकेँ।
खेलाँचीहरूले मित लगाएका छन्
लगनको कसार बटारेका छन्
नाँचेका छ्न्
बिग्रिएको एउटा पुरानो टेप रिकर्डमा
बजिरहेको बेअर्थको एउटा गीतमा
समाज;
धुन्धुकारीको सन्तान
त्रिशङ्कुको पनाति
देवकोटाले लेख्नै बिर्सेको महाकाव्य
सभापतिबिहीन सभाको निर्णय
जस्तो
यो समाज, मेरो समाज?
अहो ! महोदय
चिन्ता नगर्नुस्
मैले समाज सोच्न छाडिसकेँ।
जे छुँदा पनि सुन होस्
भनेर वरदान माग्ने दन्ते कथा
व्याकरणको अपवाद
सृष्टिको पहिलो फुल
केतकी ---
यो तिम्रै समाज हो
यो समाज तिम्रै हो।
तिमीलाई सधैँ "होकतोबा"-हरू आइरहोस्
तर तिमी पनि कुनै दिन "सिल्लरी" बन्नू।
म
अक्षरहरूमा गुफा बसेको छु
ध्वनिमा प्रतिध्वनित छु।
अक्षरको युग आउने छ
अहिले सत्य युग पर्खिरहेछु।
महोदय
सुर्ता नगर्नुस्
मैले समाज सोच्न छाडिसकेँ।
FOUNDER/CHIEF EDITOR :