पोर्चुगलमा अनेसासको आयोजनामा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन हुने

पोर्चुगलमा अनेसासको आयोजनामा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन हुने
www.europenepalikhabar.com २०८० पुष २१ गते शनिबार, 6-01-2024


युरोपनेपाली खबर, लिस्बन । नेपाली भाषा साहित्यको सबैभन्दा ठुलो सञ्जाल रहेको संस्था “अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज” (अनेसास) ले पोर्चुगलमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको आयोजना गर्ने भएको छ । हरेक वर्ष विभिन्न देशमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन आयोजना गर्दै आएको अनेसासले यो पटक पोर्चुगलमा गर्ने निर्णय गरेको हो ।

आगामी मार्च ८ देखि १० तारिख अर्थात फागुन २५ देखि २७ गतेसम्म तीन दिन आयोजना हुने सम्मेलनलाई अनेसासको पोर्चुगल च्याप्टरले संयोजन गर्दैछ ।

युरोपमा रहेका अनेसासका प्रतिनिधि, साहित्यकार, भाषा सेवी, कलाकर्मी, संस्कृतिविद लगायत साहित्यिक कर्ममा सक्रिय रहनु भएका व्यक्तिहरूको सम्मेलनमा सहभागिता रहने जनाइएको छ ।

यसका साथै सम्मेलनमा नेपालसहित अन्य मुलुकमा रहेका अनेसास प्रतिनिधि, साहित्यकार, अनेसास केन्द्रीय कार्यसमिति, अनेसास बोर्ड अफ ट्रष्टीसहित अन्य साहित्यकारहरूको सहभागिता रहने छ ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजना गर्न लागिएको सम्मेलनको तयारीका लागि अनेसास पोर्चुगल च्याप्टरकी अध्यक्ष सबी श्रेष्ठको संयोजकत्वमा समिति निर्माण गरिएको छ । जसले सम्मेलनको तयारी तीव्र रुपमा अगाडि बढाइरहेको छ ।

सम्मेलन आयोजनामा अनेसास पोर्चुगल च्याप्टरलाई डेनमार्क, बेल्जियम, बेलायत, स्पेन, पोल्याण्ड, जर्मनी, इटाली, नर्वे लगायत युरोपमा रहेका अनेसाका अन्य च्याप्टरहरुले पनि सहयोग गर्ने जनाइएको छ ।

सम्मेलनमा नेपाली साहित्यमा महिला सहभागिता बारे छलफल, अनेसास नवरत्न पुरस्कार वितरण, अनेसासका बारेमा छलफल, बहुभाषिक साँस्कृतिक कार्यक्रम तथा बहुभाषिक काव्य गोष्ठीको आयोजना गरिने अनेसास पोर्चुगलले जनाएको छ ।

सामन्यतया अन्तर्राष्ट्रिय सम्मेलनहरुमा नेपाली भाषालाई मात्र प्राथमिकता दिइँदै आएकोमा पोर्चुगल सम्मेलनमा भने सम्भव भएसम्म नेपालका अन्य मातृ भाषाका साहित्य र सर्जकहरुलाई पनि समेट्ने योजना रहेको छ। यसका साथै सम्मेलनमा नेपाली भाषा साहित्यसँग सम्बन्धित विविध विषयमा छलफलको कार्यक्रम पनि रहेको जनाइएको छ ।

युरोपमा रहेर लामो समयदेखि नेपाली भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा काम गरिरहनु भएका तर अनेसासमा आवद्ध नरहेका व्यक्तिहरुको खोजी गरी उहाँहरूलाई पनि सम्मान गर्ने योजना रहेको बताइएको छ । त्यसका लागि त्यस्ता व्यक्तिहरुको पहिजान गरी नाम सिफारिस गर्न अनेसासका सम्बन्धित च्याप्टरहरुलाई पत्राचार गर्ने तयारी भइरहेको जनाइएको छ ।

पोर्चुगलको राजधानी लिस्वनमा हुने सम्मेलनको पहिलो दिन मार्च ८ तारिख स्रष्टा भेटघाट तथा परिचयात्मक कार्यक्रम राखिएको छ । त्यसैगरी दोस्रो दिन मार्च ९ तारिख विशेष साहित्य सम्मेलन तथा बहुभाषिक काव्य गोष्ठी राखिएको छ । जसअन्तरगत विविभन्न विषयमाथिको छलफल, कार्यपत्र प्रस्तुति सहित सम्मेलनका सम्पूर्ण गतिविधि रहने छ । त्यसैगरी अन्तिम दिन मार्च १० तारिख काव्यिक भ्रमणको कार्यक्रम तय गरिएको छ । जसमा सम्मेलनमा सहभागी साहित्यकारहरुलाई पोर्चुगलका ऐतिहासिक तथा विशेष स्थानहरुको भ्रमण गराइने छ ।

सम्मेलनको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी पोर्चुगल च्याप्टरलाई दिइएको हुँदा त्यसलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न सम्बन्धित सबैको साथ सहयोग आवश्यक पर्ने च्याप्टर अध्यक्ष सबी श्रेष्ठले बताउनु भयो । त्यसका लागि विभिन्न संघसंस्था र सम्बन्धित सबैलाई सहयोगका लागि आयोजकहरुले अपील गरेका छन्  । साथै विश्वभर रहेका अनेसासका च्याप्टर प्रतिनिधि, कवि, लेखक तथा अन्य व्यक्तिहरूलाई सम्मेलनमा सहभागी हुन आग्रह गरिएको छ । साथै यस सम्मेलनले नेपाली भाषा, साहित्य र संस्कृतिलाई अझै नयाँ ढङ्गले खोज, अनुसन्धान र अन्तरराष्ट्रियकरण गर्न मद्दत गर्ने उहाँ विश्वास लिइएको छ ।

सन १९९१ मा स्थापना भएको अनेसासको मुख्यालय अमेरिकाको वासिङ्टन डिसीमा रहेको छ । विश्वभरि ८० भन्दा धेरै यसका शाखहरु रहेको र त्यसमार्फत हालसम्म २ हजार ६ सय जनाभन्दा धेरै नेपाली भाषी साहित्यकारहरु अनेसासमा आवद्ध रहेका छन ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित