रोनाल्डोको विश्व कीर्तिमान सहित पोर्चुगलको रोमान्चक जीत

रोनाल्डोको विश्व कीर्तिमान सहित पोर्चुगलको रोमान्चक जीत
युरोपनेपाली खबर २०७८ भदौ १६ बुधबार, 01-09-2021


एजेन्सी – फिफा विश्वकप २०२० अन्तर्गत युरोपेली छनोटको समूह ए मा कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तिम समयमा दुई गोल गरेपछि पोर्चुगलले रिपब्लिक अफ आयरल्यान्डलाई २-१ ले पराजित गरेको छ ।

रोनाल्डोले पहिलो हाफमा पेनाल्टी चुकाएपनि खेलको अन्त्यतिर कीर्तिमानी गोलसहित लगातार दुई गोल गर्दै रोमान्चक जित दिलाए । हारतर्फ उन्मुख पोर्चुगलका लागि बराबरी गोल गरेसँगै रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेका थिए । इन्ज्युरी समयमा विजयी गोल गर्दै रोनाल्डोले टोलीलाई जित दिलाउन सफल रहे ।

खेलको १५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा अग्रता दिलाउने अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन् । रोनाल्डोको प्रहार गोलरक्षक ग्याभिन बाजुनुले विफल पारेका थिए । पेनाल्टी क्षेत्रभित्र जेफ हेन्डरिकले ब्रुनो फर्नान्डेसलाई लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै पेनाल्टी दिएका थिए । पेनाल्टी लिनुअघि रोनाल्डोले आयरल्यान्डका डारा ओ’सेमाथि हात उठाएपनि रेफ्रीले कारवाही गरेका थिएनन् ।

२८ औं मिनेटमा पोर्चुगल खेलमा अग्रता लिनबाट पुन: चुक्यो । जोआओ क्यान्सेलोको क्रसमा डिओगो जोटाको हेडर पोस्टमा लाग्दै बाहिरियो । पहिलो हाफको अन्तिम मिनेटमा पाहुना टोली आयरल्यान्डले अग्रता लिन सफल रह्यो । जोन इगनले कर्नरमा हेडरमार्फत गोल गर्दै टोलीलाई अघि बढाएका थिए ।

दोस्रो हाफको सुरुवातबाट नै पोर्चुगलले आक्रमणलाई थप जोड दिएको थियो । तर टोलीको एकपछि अर्को आक्रमणलाई आयरल्यान्डको डिफेन्सले अघि बढ्न दिएन । ७४ औं मिनेटमा बर्नार्डो सिल्भाले सुवर्ण अवसर खेर फाल्दा पोर्चुगल खेलमा फर्कन सकेन । उनले पेनाल्टी क्षेत्र भित्र दुई डिफेन्डरलाई छक्याएर गरेको अन्तिम प्रहारले पोस्टभन्दा माथिबाट गएको थियो ।

८१ औं मिनेटमा आन्द्रे सिल्भाको एक्रोब्याटिक प्रहार बाहिरियो । ८७ औं मिनेटमा पोर्चुगलले पेनाल्टी क्षेत्रको ठिक बाहिर फ्रिकिकको अवसर पाएको थियो । रोनाल्डोको फ्रिकिकलाई गोलरक्षक बाजुन्जुले उत्कृष्ट बचाउ गरेका थिए । लगत्तै पाएको कर्नरमा पोर्चुगलले खेल बराबरी गर्यो । गोन्कालो ग्वेडेसको क्रसमा रोनाल्डोले हेडरमार्फत गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए ।

इन्ज्युरी समयको छैटौं मिनेटमा रोनाल्डोले पोर्चुगलका लागि विजयी गोल गरे । जोआओ मारियोको क्रसलाई सदुपयोग गर्दै रोनाल्डोले गरेको हेडर गोलरक्षक बाजुनुले बचाउन सकेनन् । रोनाल्डोले गोलको खुसी मनाउने क्रममा जर्सी खोलेपछि पहेंलो कार्ड पनि पाएका थिए । एक समय हारतर्फ उन्मुख टोलीलाई रोनाल्डोले अन्त्यतिर उत्कृष्ट फिनिसिङको नमुना प्रस्तुत गर्दै जित दिलाएका थिए ।

रोनाल्डो बराबरी गोलसँगै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बने । उनको त्यो पोर्चुगलका लागि १ सय १० औं गोल थियो । यसअघि इरानका अली दाइको नाममा रहेको १ सय ९ गोलको कीर्तिमानलाई तोड्दै यो उपलब्धि रोनाल्डोले आफ्नो नाम गरेका हुन् । रोनाल्डोले दोस्रो गोल गर्दै आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या १ सय ११ पुर्याए ।

खेलअघि रोनाल्डोलाई युरोपेली च्याम्पियनसिप २०२० को सर्वाधिक गोलकर्ताको ट्रफी पनि प्रदान गरिएको थियो । रोनाल्डोले युरोका दौरान पोर्चुगलका लागि ५ गोल गरेका थिए । प्याट्रिक सिकसँग समान गोल गरेपनि असिस्ट र कम समय खेलेको आधारमा उनले ट्रफी जितेका थिए ।

यसै समूहको अर्को खेलमा लक्जेम्बर्गले अजरबैजानलाई २-१ ले पराजित गर्यो । आठौं मिनेटमा मिकाको गोलमा अघि बढेको घरेलु टोली लक्जेम्बर्गले पहिलो हाफमा नै अग्रता दोब्बर पार्यो । जर्सन रोड्रीग्वेजले २८ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । दोस्रो हाफमा अजरबैजानका एमिन माख्मुदोभले गरेको गोल सान्त्वनामा सिमित भयो ।

यस नतिजासँगै पोर्चुगलले समूहको शीर्षस्थानमा पकड कायम रहेको छ । दोस्रो स्थानको सर्बियाको ३ खेलमा ७ अंक छ भने पोर्चुगलको ४ खेलमा १० अंक छ । लक्जेम्बर्गले ३ खेलमा ६ अंक तथा आयरल्यान्ड र अजरबैजान ३ खेल खेल्दा अंकविहिन छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित