सङ्खुवासभामा एमालेको पक्षमा चुनावी जनलहरले गठबन्धन बन्यो कमजोर,यस्तो छ सबै पालिकाको अवस्था

सङ्खुवासभामा एमालेको पक्षमा चुनावी जनलहरले गठबन्धन बन्यो कमजोर,यस्तो छ सबै पालिकाको अवस्था
www.europenepalikhabar.com २०७९ बैशाख २४ गते शनिबार, 07-05-2022


राजकुमार थापा,खाँदबारी, युरोपनेपाली खबर 

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिए संगै संखुवासभाका १० पालिकाहरुमा नेकपा एमाले र पाँच दलीय गठबन्धनका उम्मेदवारबीच तीब्र प्रतिस्पर्धा आंकलन गरिए पनि तथ्यले एमाले अग्रभागमा देखिएको छ । चुनावी लहर र मतदाताको आकर्षण हेर्दा जिल्लामा गठबन्धनका विरुद्ध एमाले एक्लै बलियो देखिएको छ । २०७४ को निर्वाचनमा दोस्रो बनेको नेपाली कांग्रेस, तेस्रो बनेको नेकपा माओवादी केन्द्र र चौथो बनेको जसपा एकै ठाउँ हुँदा पनि एमाले नै ससक्त देखिएको हो । स्थानीय तह २०७४ को प्राप्त मतको आधारमा संखुवासभामा नेकपा एमाले एक्लै पाँच दलीय गठबन्धन भन्दा अघि देखिएको छ । २०७४ को निर्वाचनमा एमाले र काँग्रेसले पाँच/पाँच स्थानीय तह जितेका थिए । 

कहाँ को कति बलियो ?

१. खाँदबारी नगरपालिका

स्थानीय तह निर्वाचनमा एमाले विरुद्ध सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्ने निर्णय भएसँगै जिल्लामा सम्भावित परिणामबारे आंकलन हुन थालेको छ । एमाले पक्षमा देखिएको चुनावी माहोल र २०७४ को स्थानीय तह निर्वाचन परिणाम अनुसार जिल्लाका १० वटै पालिकामा गठबन्धनको अवस्थामा कुनै उत्साह देखिएको छैन, बरु असन्तुष्टिहरु छरपस्ट देखिएका छन् । खाँदबारी नगरपालिकाको प्रमुखमा उम्मेदवार रहेका नेकपा एमालेका जिल्ला अध्यक्ष जितबहादुर घिमिरे र गठबन्धन तर्फका नेपाली काँग्रेसका नेता महेश थपलिया बीच प्रतिस्पर्धा हुने भएको छ । घरदैलो कार्यक्रममा एमालेको पक्षमा जनलहर आएकोले खाँदबारीको प्रमुखमा घिमिरेले बाजी मार्ने सम्भावना देखिएको छ ।

२०७४ को निर्वाचनमा एमालेले ५ हजार ५ सय ६५ मत ल्याएर विजयी बनेको थियो । यस्तै नेपाली काँग्रेसले ५ हजार १ सय ३१ र नेकपा माओवादी केन्द्र ४ सय २७ मत पाएको थियो ।  नेकपा एमालेको तर्फबाट विजयी हाँसिल गरेका उम्मेदवारले कांग्रेसलाई ४३४ मत बढी पराजित गरेका थिए  । अहिले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी  लगायतको गठबन्धन गरेको भएपनि मत अन्तरमा तात्विक फरक पर्ने देखिदैन । गत निर्वाचनको प्राप्त मतका आधारमा गठबन्धन दल मध्येका कांग्रेस र माओवादी केन्द्रको मत हिसाब गर्दा पनि एमाले भन्दा गठबन्धन कमजोर देखा परेको छ । एमालेमा तत्कालीन माओवादी केन्द्र वादल समुहको करिब तीन सय मत पनि जोडिएर आएको र एमालेको तर्फबाट खाँदबारी बजार क्षेत्रकै नेवार समुदायकी महिला उम्मेदवार महेश्वरा बज्राचार्य श्रेष्ठको उम्मेदवारीले एमालेको मत पहिले भन्दा निक्कै बढ्ने देखिएको छ। नयाँ थपिएका मतदाता र युवाहरुमा एमालेको लहर आएकोले खाँदबारी नगरमा मेयर र उपमेयर दुवैमा एमाले विजय उन्मुख रहेको चर्चा चलेको छ । गठबन्धनका तर्फबाट खाँदबारी नगरपालिकाको उपप्रमुख पदमा माओवादी केन्द्रबाट दिव्यराज बरालको उम्मेदवारी रहेको छ ।

२. चैनपुर नगरपालिका

२०७४ को स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार चैनपुर नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले ५ हजार ३ सय १७ मत प्राप्त गरि विजयी भएका थिए । प्रतिद्धन्दी नेपाली काँग्रेसले ५ हजार १ सय ९२ अर्थात १ सय २५ मतान्तरमा हार व्यहोर्नु परेको थियो । अहिले एमालेको पहिले भन्दा अवस्था धेरै सुधार भएको र एमाले उम्मेदवार पनि लोकप्रिय रहेकोले एमाले गठबन्धन भन्दा ससक्त देखिएको छ । चैनपुर नगरपालिका प्रमुखमा एमालेको तर्फबाट कृष्णकुमार तामाङ र उपप्रमुखमा एलिना श्रेष्ठ र गठबन्धनबाट प्रमुखमा नेपाली काँग्रेसका ज्ञानबहादुर कार्की र उपप्रमुखमा माओवादीका लामखान तामाङ उम्मेदवार रहेका छन् । 

३. मादी नगरपालिका 

मादी नगरपालिकामा पनि गठबन्धन भन्दा एमाले अगाडी देखिएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा मादी नगरपालिकामा एमालेले २ हजार ७ सय ४० मत प्राप्त गरेको थियो । काँग्रेसले २ हजार १ सय २२ अर्थात ६ सय १८ मत बढीले एमाले विजयी भएको थियो । सोही निर्वाचनमा माओवादीले  १ सय ३९ मत ल्याएको थियो । 

उक्त मत परिणाम अनुसार कांग्रेस र माओवादीको मत जोड्दा पनि ४ सय ७९ मतले गठबन्धन भन्दा एमाले अघि देखिएको छ । मादी नगरपालिकाको प्रमुखमा एमालेको तर्फबाट जीवनकुमार लिंथेप तथा उपप्रमुखमा सुनिता भट्टराई दाहाल र  गठबन्धन तर्फका प्रमुखमा माओवादी केन्द्रका दावाछत्र शेर्पा र उपप्रमुखमा नेपाली काँग्रेसका पासाङ शेर्पा उम्मेदवार रहेका छन् । 

४. धर्मदेवी नगरपालिका 

धर्मदेवी नगरपालिकामा पनि एमालेका अगाडि पाँच दलीय गठबन्धनलाई फलामको चिउरा चपाउनु जस्तै देखिएको छ । धर्मदेवीमा अहिले एमाले प्रवेशको लहर चलेको देखिएको छ । २०७४ को स्थानीय तह निर्वाचन मत परिणाम अनुसार एमालेलाई ३ हजार ७० मत प्राप्त भएको थियो र काँग्रेस ३ हजार  सय ४० मत र सोही निर्वाचनमा माओवादीले ४ सय २४ मत पाए ।  

धर्मदेवी नगरपालिका प्रमुखमा एमालेबाट उदयचन्द्र पौडेल तथा उपप्रमुखमा लक्ष्मी पुरी गिरी र गठबन्धनतर्फबाट प्रमुखमा नेपाली काँग्रेसका थलकुमार लिंखा र उपप्रमुखमा काँग्रेसकै तारा महत उम्मेदवार रहेका छन् । 

५. पाँचखपन नगरपालिका 

पाँचखपन नगरपालिकामा जन लहरले एमालेका अगाडि पाँच दलीय गठबन्धन फिक्का देखिदै गएको छ । २०७४ को निर्वाचनमा एमालेले ३ हजार ३ सय ३० मत र काँग्रेसले  ३ हजार ४ सय ९ मत प्राप्त गरेको थियो । यस्तै माओवादीले ५ सय १० मत पाएको थियो । 

पाँचखपनमा २०७४ को स्थानीय तहको  मत परिणाम र नयाँ थपिएका मतदातालाई हेर्ने हो भने अहिले पाँचखपनमा एमालेसंग गठबन्धन पराजित हुने देखिएको छ । पाँचखपन नगरपालिका प्रमुख पदमा एमालेका हिन्दकुमार राई तथा उपप्रमुखमा अनिता घिमिरे न्यौपाने र गठबन्धनतर्फका प्रमुखमा विपीन राई र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीबाट सुमुना श्रेष्ठ उम्मेदवार रहेका छन् । 

६. सभापोखरी गाउँपालिका 

सभापोखरी गाउँपालिकामासमेत पाँच दलीय गठबन्धन भन्दा एमाले अगाडी देखिएको छ । २०७४ को स्थानीय तह निर्वाचन मत परिणाम अनुसार एमाले २ हजार ६० मत पाएर ५७ मत बढीले कांग्रेसलाई पछि पार्दै जित हासिल गरेको थियो । काँग्रेसले २ हजार ३ मत प्राप्त गरेको थियो । सोही निर्वाचनमा माओवादीले मत ल्याएको थियो । 

२०७४ मा एमाले, कांग्रेस र माओवादीको प्राप्त मत हेर्ने हो भने सभापोखरीमा ३७ मतले एमाले अगाडी देखिएको छ । नयाँ मतदाताको आकर्षण एमालेमा देखिएकोले एमालेले मतान्तर व्यापक बढाउने देखिएको छ । सभापोखरी गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्षमा रत्न सुब्बा तथा उपाध्यक्षमा सविता कालाखेती र गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका अध्यक्षमा भिम बहादुर लिम्बु र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीकी लक्ष्मी चापागाई उम्मेदवार रहेका छन् । 

७. भोटखोला गाउँपालिका 

२०७४ को स्थानीय तह निर्वाचन मत परिणाम र गठबन्धन भित्रको तीब्र असन्तुष्टि हेर्दा भोटखोला गाउँपालिकामा एमाले भन्दा गठबन्धन पछाडि पर्ने निश्चित जस्तै देखिएको छ । गत निर्वाचनमा एमालेले १ हजार २ सय २६ मत प्राप्त गरेको थियो । काँग्रेसले  १ हजार  सय ७७ मत ल्याएको थियो । भोटखोला गाउँपालिका अध्यक्षमा एमालेको तर्फबाट अध्यक्षमा वाङ छेदर भोटे तथा उपाध्यक्षमा साहना भोटे दुवै अत्यन्तै लोकप्रिय रहेकाले गठबन्धनका उम्मेदवार सजिलै पराजित हुने देखिएको छ । गठबन्धन तर्फबाट अध्यक्षमा नेकपा एकिकृत समाजवादीका चुङदाक भोटे र उपाध्यक्षमा नेपाली काँग्रेसका डुक्पा भोटे उम्मेदवार रहेका छन् । 

८. मकालु गाउँपालिका 

२०७४ को स्थानीय तह निर्वाचन मत परिणाम अनुसार मकालु गाउँपालिकामाअहिले पनि गठबन्धन भन्दा एमाले निक्कै अगाडि देखिएको छ । गत निर्वाचनमा एमालेले १ हजार ७ सय १२ मत प्राप्त गरी विजयी हासिल गरेको थियो । ७ सय ५७  मतको फराकिलो अन्तरमा कांग्रेसले हार व्यहोरेको थियो । सो निर्वाचनमा काँग्रेसले ९ सय ५५ मत प्राप्त गरेको थियो । यस्तै माओवादीले ५ सय ३४ मत ल्याएको थियो । 

२०७४ को मत परिणाम अनुसार मकालु अहिले पनि एमालेका अगाडि गठबन्धन कमजोर देखिएको छ । मकालु गाउँपालिका अध्यक्षमा एमालेका तर्फबाट अध्यक्षमा भरतकुमार कटुवाल तथा उपाध्यक्षमा चमेली राई र गठबन्धन तर्फबाट अध्यक्षमा नेपाली काँग्रेसका ओङदी शेर्पा र उपाध्यक्षमा माओवादीकी मनकला राईको उम्मेदवारी रहेकोे छ । 

९ शिलिचोङ गाउँपालिका

शिलिचोङ गाउँपालिकामा अहिले पनि नेकपा एमाले, नेपाली कांग्रेस र माओवादीबिच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । गत निर्वाचनमा समेत एमाले, माओवादी र कांग्रेसबिच नै निकटतम प्रतिस्पर्धा भएको थियो । २०७४ को स्थानीय तहको निर्वाचनको मत परिणाम अनुसार नेकपा एमालेले १ हजार ३ सय १० मत, नेपाली कांग्रेसले १ हजार ८ सय ८१ मत र माओवादी केन्द्रका उम्मेदवारले भने १ हजार ३ सय ४७ मत प्राप्त गरेको थिए । अहिले एमालेमा जनलहर देखिएको र युवाहरु एमालेमा प्रवेश गरिरहेको तथा उम्मेदवार पनि लोकप्रिय रहेकोले शिलिचोङ गाउँपालिका एमालेले विजयको झन्डा गाड्ने चर्चा रहेको छ । शिलिचोङ अध्यक्षमा एमालेका खडानन्द राई र उपाध्यक्षमा मेनुका राई उम्मेदवार रहेका छन् ।

१०. चिचिला गाउँपालिका

चिचिला गाउँपालिकामा अहिले पनि नेकपा एमाले र नेपाली कांग्रेस बिच प्रतिस्पर्धा हुने देखिएको छ । गत निर्वाचनमा समेत एमाले र कांग्रेसबिच नै निकटतम प्रतिस्पर्धा भएको थियो । २०७४ को स्थानीय तहको निर्वाचनको मत परिणाम अनुसार नेपाली कांग्रेस र एमाले बीच नै यसपटक पनि तीब्र प्रतिस्पर्धा हुने आंकलन रहेको छ । यस गाउँपालिकामा एमालेका तर्फबाट अध्यक्षमा रामबहादुर गुरुङ र उपाध्यक्षमा विष्णुकुमारी गुरुङ उम्मेदवार रहेका छन् ।

जिल्लाभरका पालिकामा ७६ वडाहरुमा रहेका छन् । एमालेले सबै वडामा आफ्ना उम्मेदवार खडा गरेको छ  भने गठबन्धनमा ६० वटा वडा मात्र भागवण्डा भएको छ । जसमा काँग्रेसलाई ४६ वडा, माओवादी ६ वडा र एकिकृत समाजवादीलाई ५ र ३ वटा वडा जनता समाजवादी पार्टीको भागमा परेको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित