अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को स्थापना वि.सं.२०२२ सालमा भएको हो । यसरी वर्षको हिसावले हेर्ने हो भने अनेरास्ववियुले आफ्नो ५६ वर्षको इतिहास व्यथित गरिसकेको छ । त्यतिबेला शान्ति निकुञ्ज स्कूल कक्षा–९ मा अध्ययनरत सुजन खरेलको संयोजकत्वमा भूमिगत रुपमा अनेरास्ववियुको गठन भएको थियो । गौरवपूर्ण त्यो इतिहासदेखि अहिलेसम्म अनेरास्ववियुका २२ वटा सम्मेलन, अधिवेशन– र महाधिवेशन सम्पन्न भएका छन् । नविना लामा २२ औँ महाधिवेशनबाट अनेरास्ववियुको अध्यक्ष बन्नुभएको थियो ।
त्यसपछि अनेरास्ववियुको महाधिवेशन हुन सकेको छैन । लामा सांसद् निर्वाचित भएपछि महासचिव ऐन महर अखिलको अध्यक्ष बन्नुभयो । उहाँ पनि नेकपा (एमाले)को १० औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भैसक्नु भएको छ भने अहिले अखिलको नेतृत्वमा सुनिता बराल हुनुहुन्छ । उहाँ अनेरास्ववियुको २५ औँ अध्यक्ष हो । २२ वटा सम्मेलन, अधिवेशन–महाधिवेशन भए पनि अहिलेसम्म अनेरास्ववियुको नेतृत्वमा २५ अध्यक्ष बनेका छन् ।
संस्थापक अध्यक्ष खरेल अहिले जिवित हुनुहुन्न । चौथो सम्मेलनबाट अध्यक्ष निर्वाचित मुकुन्दबहादुर श्रेष्ठ र १२ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित रामनाथ ढकाल पनि जिवित हुनुहुन्न । २०५४ मा नेकपा (एमाले) विभाजन भएर माले बन्दा रवीन्द्र अधिकारी माले निकट अनेरास्ववियूको अध्यक्ष हुनुहुन्थ्यो । उहाँ १५ औँ राष्ट्रिय सम्मेलनबाट माले निकट अनेरास्ववियुको अध्यक्ष हुनुभएको थियो । पर्यटन मन्त्री रहेकै बेला २०७५ साल फागुन १५ गते ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनपछि अधिकारीसहित पर्यटन क्षेत्रका ६ जना चढेको हेलिकोप्टर दुर्घटनामा प¥यो र उहाँको त्यहि निधन भयो ।
पर्यटन मन्त्री रहेकै बेला २०७५ साल फागुन १५ गते ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनपछि अधिकारीसहित पर्यटन क्षेत्रका ६ जना चढेको हेलिकोप्टर दुर्घटनामा प¥यो र उहाँको त्यहि निधन भयो
०२५ सालमा काठमाडौँमा सम्पन्न दोस्रो सम्मेलनबाट अध्यक्ष बन्नुभएका विश्वकान्त मैनाली नेपाल बार एशोसियसनको अध्यक्ष समेत बन्नुभएको थियो । अहिले उहाँ राजनीतिमा धेरै सक्रिय हुनुहुन्न । ०२६ सालमा ललितपुरमा सम्पन्न तेस्रो सम्मेलनबाट अध्यक्ष बन्नुभएका गोविन्दमान श्रेष्ठ अहिले राजनीतिबाट पलायन भएर अमेरिकातिर रहेको भन्ने जानकारी प्राप्त भएको छ । सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष निर्वाचित रामप्रसाद ज्ञवाली पनि अहिले राजनीतिमा सक्रिय हुनुहुन्न । सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीका संयोजक रहनु भएका गौरी प्रधान अहिले बालअधिकारका क्षेत्रमा सक्रिय हुनुहुन्छ ।
०४२ सालमा काठमाडौँमा सम्पन्न आठौँ महाधिवेशनबाट अध्यक्ष बन्नुभएका झापाका चन्द्र भण्डारी पनि अहिले राजनीतिमा सक्रिय हुनुहुन्न । उहाँ सञ्चार उद्यमीका रुपमा परिचित हुनुहुन्छ । पाँचौ राष्ट्रिय सम्मेलन तयारी समितिको संयोजक रहनु भएका टंक कार्की ०३६ मा पुनर्गठित पाँचौ राष्ट्रिय सम्मेलन तयारी समितिको पनि संयोजक बन्नुभएको थियो ।
काठमाडौँमा सम्पन्न छैटौँ राष्ट्रिय सम्मेलनबाट अध्यक्ष बन्नुभएका कार्की चीनका लागि नेपाली राजदूत बन्नुभएको थियो । अहिले उहाँ एमालेको केन्द्रीय सदस्य हुुनुहुन्छ । ०४८ सालमा पोखरामा सम्पन्न ११ औँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित शंकर पोखरेल अहिले एमालेको महासचिव हुनुहुन्छ । त्यस्तै विराटनगरमा ०५२ मा सम्पन्न १३ औँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित योगेश भट्टराई अहिले एमालेको सचिव हुनुहुन्छ ।
०४८ सालमा पोखरामा सम्पन्न ११ औँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित शंकर पोखरेल अहिले एमालेको महासचिव हुनुहुन्छ । त्यस्तै विराटनगरमा ०५२ मा सम्पन्न १३ औँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित योगेश भट्टराई अहिले एमालेको सचिव हुनुहुन्छ
०४४ मा काठमाडौँमा सम्पन्न नवौँ महाधिवेशनबाट निर्वाचित तुलबहादुर गुरुङ ०४६ सालमा सम्पन्न दशौँ महाधिवेशनबाट पुनः अध्यक्ष निर्वाचित हुनुभएको थियो । उहाँ अहिले एमालेबाट विभाजन भएको नेकपा (समाजवादी) मा हुनुहुन्छ । त्यस्तै कीर्तिपुरमा ०५९ मा सम्पन्न १६ औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित राजेन्द्र राई ०६१ मा विरगञ्जमा सम्पन्न १७ औँ राष्ट्रिय सम्मेलनबाट पुनः अध्यक्ष निर्वाचित हुनुभएको थियो ।
उहाँ पनि अहिले समाजवादीमै हुनुहुन्छ भने प्रदेश एकको मुख्यमन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ । उहाँ भोजपुरबाट निर्वाचन लड्ने तयारी हुनुहुन्छ । ०६५ मा पोखरामा सम्पन्न १८ औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्ष निर्वाचित रामकुमारी झाँक्री पनि अहिले समाजवादीमै हुनुहुन्छ । उहाँ गुल्मी क्षेत्र नम्बर–२ मा गठबन्धनका तर्फबाट निर्वाचन लड्ने तयारीमा हुनुहुन्छ ।
जीवित र सक्रिय राजनीतिमा रहेका अनेरास्ववियुका पूर्व अध्यक्षहरु आगामी मंसिर–४ मा हुने संघीय र प्रदेश तहको निर्वाचनका लागि कहाँ–कहाँबाट सिफारिस हुनुभएको छ र उहाँहरुको निर्वाचनमा उम्मेदवार बन्ने सम्भावना कत्तिको छः मैत्रीन्युजको खोजखाज ।
शंकर पोखरेल
एमाले महासचिव शंकर पोखरेल लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री हुनुहुन्छ । चितवनमा सम्पन्न एमालेको १० औँ महाधिवेशनबाट महासचिव निर्वाचित पोखरेल यो पटक दाङ क्षेत्र नम्बर २ बाट एकल उमेद्वार सिफारिस हुनुभएको छ । दाङ क्षेत्र नम्बर २ को क्षेत्रीय कमिटी बैठकले प्रतिनिधिसभा सदस्यमा महासचिव पोखरेलको एकल नाम सिफारिस गर्दै सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय गरेको हो । उहाँ ०४८ सालमा पोखरामा सम्पन्न ११ औँ महाधिवेशनबाट अनेरास्ववियुको अध्यक्ष निर्वाचित हुनुभएको थियो ।
योगेश भट्टराई
सचिव योगेश भट्टराई काठमाडौँमा सम्पन्न नवौँ महाधिवेशनबाट एमाले सचिव बन्नुभएको थियो भने चितवनमा सम्पन्न दशौँ महाधिवेशनबाट पनि सचिव नै बन्नुभएका योगेश भट्टराई विराटनगरमा ०५२ मा सम्पन्न अनेरास्ववियुको १३ औँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित हुनुभएको थियो । उहाँ अघिल्लो संसदीय निर्वाचनबाट ताप्लेजुङबाट निर्वाचित हुनुभएको थियो अहिले पनि उहाँ ताप्लेजुङबाटै प्रतिनिधिसभाका लागि सिफारिस हुनुभएको छ । उहाँसँगै ताप्लेजुङबाट पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङबो, केन्द्रीय सदस्य पासाङ शेर्पालगायतले पनि आकांक्षा देखाएका छन् ।
अरुण नेपाल
०७४ सालको निर्वाचनमा सिन्धुपाल्चोक जिल्लाबाट प्रदेश सांसद बन्नुभएका नेपाल बागमती प्रदेशको पूर्वमन्त्री पनि हुनुहुन्छ । ०५३ मा अनेरास्ववियुको आन्तरिक विवादका कारण पुनर्गठन भएको अनेरास्ववियुको अध्यक्ष बन्नुभएका नेपाल यो पटक सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षमा सिफारिस पर्नुभएको छ । एमाले पोलिटव्युरो सदस्य नेपालसँगै सोही क्षेत्रबाट केन्द्रीय सदस्य सरेश नेपाल र नेताहरु भरतप्रसाद पराजुली र बादल तामाङ पनि सिफारिस हुनुभएको छ ।
हिक्मत कार्की
एमालेका पोलिटव्युरो सदस्य कार्की प्रदेश एकका पूर्वमन्त्री हुनुहुन्छ । उहाँ अघिल्लो निर्वाचनमा झापा क्षेत्र नम्बर–५ बाट प्रदेश सांसद बन्नुभएको थियो । एमालेको नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्य बन्नुभएका कार्की ०५४ मा एमाले र माले विभाजनपछि एमाले निकट अनेरास्ववियुको नवौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित हुनुभएको थियो । उहाँ यो पटकको मंसिर–४ मा हुने संघ र प्रदेशको निर्वाचनमा झापा क्षेत्र नम्बर–५ बाटै प्रदेश (क) बाट सांसदका लागि सिफारिसमा पर्नुभएको छ ।
रुपनारायण क्षेत्र
रुपनारायण क्षेष्ठ माले–एमाले विभाजनपछि एमाले अखिलको तर्फबाट अध्यक्ष बन्नुभएको हो । उहाँ भट्टराईपछि अध्यक्ष बन्नुभएको हो । एमालेका केन्द्रीय सदस्य श्रेष्ठ यो पटक काठमाडौँ क्षेत्र नम्बर–१ बाट संघीय सांसदका लागि सिफारिसमा पर्नुभएको छ । त्यहि क्षेत्रबाट पूर्व उपमेयर विदुर मैनाली र अधिवक्ता टिकाराम भट्टराईको पनि नाम सिफारिसमा परेको छ ।
खिमलाल भट्टराई
एमालेको पोलिटव्युरो सदस्य भट्टराई ०६१ साल असोज १७ देखि २१ सम्म विराटनगरमा सम्पन्न अनेरास्ववियुको १७ औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्ष बन्नुभएको थियो । अहिले उहाँ नेकपा एमालेले राष्ट्रियसभा संसदीय दलको नेता हुनुहुन्छ । आगामी मंसिर ४ गते हुने चुनावका लागि रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि भटराईको एकल नाम सर्वसम्मत रूपमा सिफारिस भएको छ ।
ठाकुर गैरे
एमालेको आठौँ र नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित ठाकुर गैरे चितवनमा सम्पन्न एमालेको नवौँ १० औँ महाधिवेशनपछि पोलिटव्युरो सदस्यको जिम्मेवारीमा हुनुहुन्छ । उहाँ चितवनमै ०६३ सालमा सम्पन्न अनेरास्ववियुको १८ औँ महाधिवेशनबाट अध्यक्ष बन्नुभएका गैरे पहिलो पटक आगामी मंसिर ४ गते हुने चुनावका लागि पाल्पाबाट सिफारिसमा पर्नुभएको छ । यस अघि पटक–पटक सोमप्रसाद पाण्डे पाल्पाबाट उम्मेदवार बन्दै आउनु भएको थियो । यो पटक उहाँ नेकपा (समाजवादी)मा लागेपछि गैरेका लागि अवसर प्राप्त भएको हो । त्यहाँबाट उहाँको एकल नाम सिफारिस भएको छ ।
माधव ढुंगेल
रामकुमारी झाँक्रीपछि जनकपुरमा ०७० मा सम्पन्न २० औँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित माधव ढुंगेल अहिले एमाले केन्द्रीय सदस्यको जिम्मेवारीमा हुनुहुन्छ । राष्ट्रिय युवा परिषद्को संस्थापक कार्यकारी उपाध्यक्ष ढुंगेलको नाम रामेछाप जिल्लाबाट सिफारिस भएको छ । रामेछापबाट प्रतिनिधि सभा निर्वाचनका लागि ढुंगेलसँगै पोलिटव्युरो सदस्य कमलप्रसाद चौलागाईं र केन्द्रीय सदस्य कैलाशप्रसाद ढुंगेललगायतको पनि सिफारिस भएको छ ।
किशोरविक्रम मल्ल
एमाले केन्द्रीय सदस्यको जिम्मेवारीमा रहनु भएका मल्ल काठमाडौँ मा सम्पन्न अनेरास्ववियुको २१ औँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित हुनुभएको थियो । उहाँ मंसिर–४ मा हुने निर्वाचन अन्तर्गत प्रतिनिधि सभाका लागि स्याङ्जा क्षेत्र न. २ साथै प्रदेश सभाका लागि स्याङ्जा क्षेत्र न.२ (ख)बाट सिफारिस हुनुभएको छ ।
नविना लामा
२०७२ फागुनमा काठमाडौँमा सम्पन्न २२ औँ महाधिवेनबाट अध्यक्ष निर्वाचित नविना लामा एमालेको केन्द्रीय सदस्य तथा सांसद पनि हुनुहुन्छ । उहाँ ०७४ को निर्वाचनमा एमालेका तर्फबाट समानुपातिक सांसद हुनुहुन्छ ।
ऐन महर
नविना लामापछि अनेरास्ववियुको अध्यक्ष बन्नुभएका ऐन महर अहिले एमालेको केन्द्रीय सदस्यको जिम्मेवारीमा हुनुहुन्छ । उहाँ पनि बझाङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस हुनुभएको छ । उहाँसँगै महेश भट्टराई र जुना जाग्री पनि सिफारिसमा पर्नुभएको छ ।
FOUNDER/CHIEF EDITOR :