चुनावका लागि ६ हजारभन्दा बढी उम्मेदवार, यस्तो छ ताजा तथ्यांक

चुनावका लागि ६ हजारभन्दा बढी उम्मेदवार, यस्तो छ ताजा तथ्यांक
www.europenepalikhabar.com २०७९ असोज २४ गते सोमबार, 10-10-2022


प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर ४ मा हुने निर्वाचनमा ६ हजारभन्दा बढी उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । प्रतिनिधिसभाको १ सय ६५ वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण र उत्साहजनक उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

सबै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि राति ९ बजेसम्म ५ हजार ९ सय १७ जनाको उम्मेदवारी परेको विवरण अद्यावधिक भएको छ । उम्मेदवारी दिनेको विवरण अद्यावधिक भइरहेको आयोगले जनाएको छ । सोमबार उम्मेदवारी दिएकाको पूरा सूची आउने आयोगले जनाएको छ ।

‘कुनै पनि निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ताको प्रक्रिया रोकिएको छैन । उम्मेदवारहरूले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रूपमा मनोनयन दर्ता गरेका छन्,’ निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने । निर्वाचन आचारसंहिता उल्लंघनको कुनै पनि उजुरी आयोगमा नपरेको उनले बताए । स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाएर कालोसूचीमा परेकाले पनि तोकिएको जरिवाना तिरेर उम्मेदवारी दिएका छन् । आयोगका अनुसार ९६ जनाले ३ करोड ५५ लाख रुपैयाँ जरिवाना बुझाएका छन् ।

बाढीपहिरोले आवतजावतमा कठिनाइ भएका क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गर्न नसक्ने उम्मेदवारलाई आयोगले सहज व्यवस्था मिलाएको थियो । दलले उम्मेदवार मनोनयन गरेको औपचारिक पत्र, आवश्यक कागजात निर्वाचन आयोग र आयोगअन्तर्गतका निर्वाचन कार्यालयले बुझेर उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाएको थियो ।

प्रतिनिधिसभाको १ सय ६५ सिटका लागि २ हजार ४ सय ९४ र प्रदेशसभाका ३ सय ३० सिटका लागि ३ हजार ४ सय २३ जनाले उम्मेदवारी दिएको विवरण आयोगमा अबेरसम्म अद्यावधिक भएको छ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकामध्ये पुरुष २ हजार २ सय ६१ र महिला २ सय ३३ जना छन् ।

प्रदेशसभामा पुरुष ३ हजार १ सय २७, महिला २ सय ९५ र तेस्रो लिंगी १ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा दलअनुसार राप्रपाले सबैभन्दा बढी उम्मेदवार उठाएको छ ।

प्रतिनिधिसभा राप्रपाले १ सय ४१, एमालेले १ सय ३९ र राष्ट्रिय स्वतन्त्र पार्टीले १ सय ३१ जना उम्मेदवार उठाएको छ । माओवादीले ४५, कांग्रेसले ९१, एकीकृत समाजवादीले २४, लोकतान्त्रिक समाजवादीले ५२, जनता समाजवादीले ८० क्षेत्रमा उम्मेदवार उठाएको छ ।

त्यस्तै प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिने १ हजार २ सय ५२ जना छन् । दलगत रूपमा हेर्ने हो भने ३ सय ३० सिटका लागि एमालेको २ सय ७८, राप्रपाले २ सय ६७, कांग्रेसले १ सय ८४, जसपाले १ सय ४३, माओवादीले १ सय १२, लोसपाले ७६ उम्मेदवार दिएको छ ।

आइतबार बिहान १० बजेबाट अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएका उम्मेदवारको मनोनयनपत्र दर्ता गरिएको आयोगले जनाएको छ । राति अबेरसम्म मनोनयन दर्ता भइरहेको आयोगले विज्ञप्ति जारी गरेको छ । ‘कतिपय जिल्ला र निर्वाचन क्षेत्रमा सञ्चार सम्पर्क सहज नभएकाले यकिन विवरण प्रविष्ट हुन बाँकी नै छ,’ जारी विज्ञप्तिमा उल्लेख छ । करिब ६ हजारले उम्मेदवारी दिएको हुन सक्ने आयोगले जनाएको छ ।

सबैभन्दा बढी उम्मेदवारी काठमाडौं क्षेत्र नम्बर ४ मा परेको छ । आइतबार अबेरसम्म आयोगको प्रणालीमा आएको विवरणअनुसार काठमाडौं क्षेत्र नम्बर ४ मा ३५ जनाले उम्मेदवारी दिएका छन् । यो क्षेत्रबाट कांग्रेसका गगन थापा, एमालेका राजन भट्टराई, राप्रपाबाट ठाकुरमोहन श्रेष्ठले उम्मेदवारी दिएका छन् । स्वतन्त्रबाट मात्रै १७ जना छन् । काठमाडौं–१ मा ३२ जना, मोरङ–३ बाट ३१, धनुषा–३ मा ३१ जनाले उम्मेदवारी दिएका छन् । धनुषा–४ र काठमाडौं–२ मा ३१ जनाले उम्मेदवारी दिएका छन् । काठमाडौं–५ मा ३०, काठमाडौं–७ मा २९, झापा–५ मा २७, सुनसरी–२ मा २७, भक्तपुर–२ मा २६, सुनसरी–४ मा २५ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन कार्यक्रमअनुसार मनोनयनपत्र दर्ता गराउने उम्मेदवारको सूची साँझ ७ बजेसम्म सार्वजनिक गर्नुपर्ने थियो । मनोनयन अबेरसम्म भएकाले अधिकांश निर्वाचन कार्यालयले सार्वजनिक गर्न सकेका छैनन् । उम्मेदवारका विरुद्ध सोमबार १० देखि ३ बजेसम्म उजुरी दिन सकिने समय छुट्याएको छ । ‘मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिन्छ,’ आयोग प्रवक्ता शर्माले भने ।

उजुरी परेपछि सोमबार ३ बजेदेखि मंगलबार ५ बजेसम्म उजुरीको जाँचबुझ हुनेछ । मंगलबार साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्नुपर्ने हुन्छ । बुधबार १० देखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने दिन तोकिएको छ । त्यही दिन (असोज २६) ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यक्रम छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित