युरोपनेपाली खबर-
१८ अक्टोबर, पोर्चुगल । गण्डकी प्रदेशको पोखरा सहित विभिन्न जिल्लामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएनए पोर्चुगलको प्रतिनिधित्व गर्दै तेक्वान्दोमा भाग लिएकी सुमित्रा खत्रीले रजत पदक जितेकी छन् ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत हिजो म्याग्दीमा सम्पन्न ७३ केजी समुहको तेक्वान्दो खेलमा सुमित्राले दोश्रो हुँदै रजत पदक जितेको एनआरएनए पोर्चुगलका महासचिव राजकुमार थापाले जानकारी दिए । सो समुहको स्वर्ण पदक भने आर्मीबाट भाग लिएकी खेलाडी नम्रता तुलाधरले जितेकी थिइन् ।
सुमित्रा विगत ३ बर्षदेखि पोर्चुगल बस्दै आएकी छन् । नवौं राष्ट्रिय खेलकुदमा भाग लिन उनी केही दिन अघि नेपाल गएकी थिइन् । उनी एनआरएनएको केन्द्रीय टीमबाट सहभागी अन्य खेलाडीहरु संगै प्रतियोगितामा सहभागी बनेकी छन् । "सातसमुद्र पारीबाट आएर आफ्नो देशको राष्ट्रिय खेलकुदमा भाग लिइ पदक जित्दा आफुलाइ अत्यन्त खुशी लागेको" सुमित्राले युरोपनेपाली खबरलाई प्रतिक्रिया दिइन ।
उनले प्रतियोगितामा प्राप्त गरेको सफलताको लागि एनआरएनए पोर्चुगलले बधाई र शुभकामना व्यक्त गरेको छ ।