कोस्टाको चमत्कारले पोर्चुगलको उद्दार

कोस्टाको चमत्कारले पोर्चुगलको उद्दार
www.europenepalikhabar.com २०८१ असार १७ गते सोमबार, 1-07-2024


एजेन्सी – गोलरक्षक डिओगो कोस्टाले टाइब्रेकरमा ३ पेनाल्टी बचाउँदा पोर्चुगल स्लोभेनियालाई हराउँदै युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समय र अतिरिक्त ३० मिनेटमा पनि गोल नहुँदा खेल टाइब्रेकरमा पुगेको थियो । फ्रान्कफर्टमा सम्पन्न खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अतिरिक्त समयमा पेनाल्टी चुकाउँदा खेल टाइब्रेकरसम्म पुगेको थियो । टाइब्रेकरमा गोलरक्षक कोस्टाले तीनै पेनाल्टी विफल पार्दा पोर्चुगल ३-० ले विजयी भयो ।

निर्धारित ९० मिनेटपछि थप गरिएको अतिरिक्त समयको पहिलो हाफको अन्तिम समयमा कप्तान रोनाल्डोले पेनाल्टीमा गोल गर्न चुकेका थिए । रोनाल्डोको प्रहारलाई विपक्षी कप्तान यान ओब्लाकले विफल पारेका थिए ।

त्यसपछि स्लोभेनियाका बेन्जामिन सेस्कोले स्लोभेनियालाई अग्रता दिलाउने सुवर्ण अवसर खेर फाले । पेपेले आफ्नै हाफमा छुटाएको बल सेस्कोले अघि बढाएर प्रहार गरेपनि कोस्टाले वन भर्सेस वनको स्थितिमा उत्कृष्ट बचाउ गरे ।

टाइब्रेकरमा स्लोभेनियाका जोसिप इलिचिचको पहिलो प्रहार डिओगो कोस्टाले विफल पारे । लगत्तै क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गरे । कोस्टाले त्यसपछि दुवै पेनाल्टी बचाउँदा ब्रुनो फर्नान्डेस र बर्नार्डो सिल्भाले गोल गर्दै जित पक्का गरे ।

पोर्चुगलले अब क्वाटरफाइनलमा फ्रान्सको सामना गर्नेछ । फ्रान्सले आजै सम्पन्न खेलमा बेल्जियमलाई १-० ले हराएको थियो । राउन्ड अफ १६ मा मंगलबार रोमानियाले नेदरल्यान्ड्स तथा अष्ट्रियाले टर्कीसँग खेल्नेछ । यी खेलको विजेताले क्वाटरफाइनलमा एक अर्कासँग खेल्नेछन् ।

क्वाटरफाइनलमा इंग्ल्यान्ड र स्विटजरल्यान्ड तथा जर्मनी र स्पेन खेल्ने पक्का भइसकेको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित