एमालेका १५ पदाधिकारी चुनावी मैदानमा, कसको अवस्था के ? यस्तो छ चुनावी जोडघटाउ

एमालेका १५ पदाधिकारी चुनावी मैदानमा, कसको अवस्था के ? यस्तो छ चुनावी जोडघटाउ
www.europenepalikhabar.com २०७९ कार्तिक ४ गते शुक्रबार, 21-10-2022


२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रसँग वाम गठबन्धन गरेर प्रत्यक्षमा ८० सीट जित्न सफल एमाले अहिले पनि बहुमतको लक्ष्यसहित आक्रामक चुनावी अभियानमा छ । तर, यो लक्ष्य भेट्न एमालेलाई सहज छैन ।

२०७४ को निर्वाचनको परिस्थिति अहिले उल्टिएको छ । एमालेले सहकार्य गरेको माओवादी केन्द्र अहिले कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा छ । वाम गठबन्धनपछि बनेको तत्कालीन नेकपा जोगाउन नसक्दा एमालेले पार्टी विभाजन भोग्नुपर्‍यो । जसले गर्दा एमालेले अहिलेको चुनावमा ठूलो चुनौतीको सामना गर्नुपर्नेछ ।

कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा माओवादीसहित नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चा सामेल छन् । त्यसो त यो चुनावमा एमाले पनि एक्लो छैन ।

एमालेले जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाल र केही ‘विद्रोही’ कांग्रेसका नेताहरुसँग पनि चुनावी तालमेल गरेको छ । एमालेका १९ पदाधिकारीमध्ये १५ जना आगामी प्रतिनिधिसभाको निर्वाचनकोे मैदानमा छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष, तीनजना उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव र सातैजना सचिव उम्मेदवार बनेका छन् ।

उपाध्यक्षत्रय अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र रामबहादुर थापा ‘बादल’ र उपमहासचिव विष्णु रिमालले चुनावी मैदानमा जानै चाहेनन् । चुनावी प्रतिस्पर्धामा होमिएका १५ पदाधिकारीको चुनावी अवस्था कस्तो छ ? हेरौं हिसाबकिताब :-

झापामा ओली अगाडि, राजेन्द्रको होस्टेमा हैंसे

२०७४ सालको आम निर्वाचनमा देशभरकै सबैभन्दा बढी मत प्राप्त गरेर जितेको रेकर्ड बनाएका एमाले अध्यक्ष केपी शर्मा ओलीको मत यसपटक बढ्ला कि घट्ला ? अहिले अनुमान लगाउँनमात्र सकिन्छ । एक्लै एमाले गठबन्धनभन्दा भारी रहेको उनको क्षेत्रमा राप्रपा समेत मिसिँदा ओलीलाई थप सहज छ ।

२०७४ मा वाम गठबन्धन हुँदासमेत ओलीले  झापा ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई छाडेर ५ मा सहयोग लिएका थिए । अहिले पनि ओलीले राजेन्द्रको र राजेन्द्रले ओलीको साथ लिएर अघि बढेका छन् ।

बुधबारमात्रै झापामा संयुक्त चुनावीसभा गरेर एक-अर्कालाई सहयोग गर्न आह्वान गरिसकेका छन् । ओलीले राप्रपा आफैं चलेको पार्टी भएकाले चुनावी तालमेल गरेको प्रष्ट्याए ।

राप्रपा अध्यक्ष लिङ्देनले भने तालमेलअनुसार सूर्यमा भोट नहाले मंसिर ४ पछि पार्टीमा भेट नहुने चेतावनी दिए । उनले भनेका थिए, ‘क्षेत्र नं १ मा सूर्यमा हालेको मत क्षेत्र नं ३ मा हलोमा परिणत हुन्छ । अन्य क्षेत्रमा हलोमा परिणत हुन्छ । त्यसैले सूर्यमा भोट नहाले मंसिर ४ पछि पार्टीमा भेट हुँदैन ।’

२०७४ मा ओली ५७ हजार १३९ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २९७ मत ल्याएका थिए । वाम गठबन्धनसहित राप्रपाको साथमा २८ हजार ८४२ को फराकिलो मतान्तरले जितेका थिए ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतअनुसार एमालेले ४१ हजार ६१९, कांग्रेसले २२ हजार २२, माओवादीले १० हजार ७८८, राप्रपाले ८ हजार ३५३ र नेकपा एसले १ हजार ९८८ मत ल्याएका छन् । राजेन्द्रको साथ पाउँदा पनि ओलीले सहजै जित्ने देखिन्छ ।

काठमाडौंमा ईश्वर अगाडि तर, प्रदीपको चुनौती

२०७४ को निर्वाचनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं ५ मा कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतलाई हराएका थिए । अहिले पोखरेलसँग सत्ता गठबन्धनले कांग्रेसका युवा नेता प्रदीप पौडेललाई अघि सारेको छ ।

तर, दुवै नेताहरुले आफ्नो जीत निश्चित भएको दाबी गर्दै चुनावी प्रचारमा लागिरहेका छन् । यो क्षेत्रमा २०७४ को निर्वाचनमा काठमाडौं महानगरमा विवेकशील साझाबाट लोभलाग्दो मत ल्याएकी रञ्जु दर्शनाले पनि स्वतन्त्र उम्मेदवारी दिएकी छन् । कलाकार मधुसुदन पाठक पनि स्वतन्त्र उम्मेदवार छन् ।

यस क्षेत्रमा स्वतन्त्र पार्टीको घण्ट चिन्ह लिएर उठेका प्रणय शमसेर जबरा केही समयअघिसम्म कांग्रेस महासमिति सदस्य थिए । रवि लामिछानेको आमसभालाई सम्बोधन गरेको भन्दै कांग्रेस क्षेत्रीय समितिले स्पष्टीकरण सोधेपछि राणा कांग्रेस त्यागेर स्वतन्त्र बनेका हुन् ।

उनी यहाँका रैथाने राणा खानदानका सदस्य र नेपाली सेनाको पूर्व अधिकृत समेत रहेकाले विशेषगरी कांग्रेस समर्थित मतदातामाझ परिचित छन् । उनको आक्रामक चुनावी अभियानले कांग्रेसलाई धक्का दिनसक्छ ।

यही क्षेत्रमा नेकपा एसले पाएको प्रदेश सभा सीटमा कांग्रेसले उम्मेदवार उठाएपछि नेकपा एसका बालकृष्ण श्रेष्ठ पनि कलम लिएरै उठेका छन् ।

स्थानीय निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतअनुसार यस क्षेत्रमा एमाले बलियो देखिन्छ । एमालेले १९ हजार ७०३ मत ल्याउँदा, गठबन्धन (कांग्रेस-माओवादी-एस) को १७ हजार ८४८ मात्रै मत पुग्छ । फलस्वरुप स्वतन्त्र उम्मेदवार दर्शना र पाठकले दुवै पक्षको केही मत काटे पनि पोखरेल र पौडेलबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।

इलाममा सुभाषको सम्भावना 

पूर्वसभामुख एवं एमाले उपपाध्यक्ष सुवास नेम्वाङ २०७४ सालको निर्वाचनमा इलाम २ मा कांग्रेसका केशव थापालाई हराउँदै विजयी भएका थिए । नेम्वाङले ३६ हजार ५१४ मत ल्याउँदा कांग्रेसका थापाले २६ हजार ८६० मत पाएका थिए ।

तर, अहिले गठबन्धनसँग लड्न नेम्वाङलाई सहज छैन । स्थानीय निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतअनुसार कांग्रेस पहिलो छ । जसपा र राप्रपाले सहयोग गरे पनि गठबन्धनलाई उछिन्न नेम्वाङलाई सहज छैन ।

नेम्वाङका प्रतिस्पर्धी कमजोर हुनु,माओवादीको मत कम हुनु र किरात धर्मगुरु आत्मानन्द लिङ्देनको आशिर्वाद नेम्वाङलाई हुनुले उनी लगभग सेफ जोनमा छन् ।

यहाँ कांग्रेसको ३२ हजार ९७८, एमालेको ३२ हजार ५२७, माओवादीको २ हजार ७१७, जसपाको ५५४, नेकपा एसको २७७ र राप्रपाको १३० मत छ । त्यसैले नेम्वाङलाई चुुनाव जित्न आफ्नो व्यक्तित्व र जातीय मतकै भर पर्नुपर्नेछ ।

चितवनमा सुरेन्द्रलाई सहज

२०७४ सालमा चितवन १ बाट विजयी उपाध्यक्ष सुरेन्द्र पाण्डे फेरि दोहोरिने कसरतमा छन् । उनले कांग्रेसका राजेन्द्र बुर्लाकोटीलाई हराएका थिए । तर, स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतअनुसार एक्लाएक्लैमा एमाले पहिलो भए पनि गठबन्धनभन्दा पछाडि छ ।

स्थानीय निर्वाचनमा एमालेले ३९ हजार ६०६, कांग्रेसले ३६ हजार ७८३, माओवादीले ५ हजार ५०८, राप्रपाले ४ हजार ५९०, नेकपा एसले ४ हजार ५ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा चुनाव जित्न उपाध्यक्ष पाण्डेले गठबन्धनको असन्तुष्ट मत तान्न सक्नुपर्नेछ ।

गठबन्धनबाट कांग्रेसले उम्मेदवार बनाएका डा.विश्व पौडेल जनताबीच अपरिचित र कार्यकर्ताबीचमै पनि लोकप्रिय नभएकाले पाण्डेलाई त्यसबाट केही फाइदा छ । पौडेलको बागी बनेका राजेन्द्र बुर्लाकोटीले उम्मेदवारी निष्क्रिय बनाए पनि रैथाने कांग्रेसहरु आरजुका ब्यापारिक साझेदारलाई उम्मेदवार बनाएर पठाएकोमा सन्तुष्ट छैनन् ।

रुपन्देहीमा विष्णु पौडेल : विकासको नेता,व्यक्तित्वको प्रभाव

रुपन्देही २ बाट निरन्तर जित्दै आएका विष्णु पौडेल अहिले पनि दोहोरिने दाउमा छन् । गत निर्वाचनमा पौडेलले कांग्रेसका युवराज गिरीलाई हराएका थिए । पौडेलले ४४ हजार ३ मत ल्याउँदा गिरीले २१ हजार ९३७ मत पाएका थिए ।

अहिले पौडेलविरुद्ध गठबन्धनले नेकपा एसका राजु गुरुङलाई उम्मेदवार बनाएको छ । तर, गुरुङले सर्वोच्चमा हालेको मुद्दा अझै किनारा लागिसकेको छैन ।

पौडेल यस क्षेत्रबाट २०६४, २०७० र २०७४ का निर्वाचनमा विजयी भएका थिए । तर, गत स्थानीय निर्वाचनमा दलका वडाध्यक्षले पाएको मतअनुसार पौडेल गठबन्धनभन्दा पछाडि छन् । कांग्रेसले ३४ हजार ९५९, एमालेले ३३ हजार १८७, राप्रपाले ३ हजार ९२०, माओवादीले ३ हजार १८८, नेकपा एसले १ हजार ३८२ र जसपाले १८३ मत ल्याएका छन् ।

पौडेलले राप्रपा र जसपाको साथ पाए पनि यो अंकगणित चुनाव जित्न पर्याप्त छैन । गठबन्धनकोे उम्मेदवार लोकप्रिय नभएको कारणले उनलाई व्यक्तिको मतले प्रभाव पार्नसक्ने देखिन्छ ।

त्यसो त बुटवलको विकासमा विष्णु पौडेलको योगदान नै यहाँ उनको जितको बलियो आधार हो । कुनै बेला एमालेमै घनश्याम भुसाललाई विचारको नेता र विष्णु पौडेललाई विकासको नेता भनिन्थ्यो । विकासे काम र सबैको सहज पहुँचका कारण पौडेल व्यक्तिगत रुपमा लोकप्रिय छन् ।

दाङमा शंकरलाई सजिलो 

एमाले महासचिव शंकर पोखरेल दाङ २ बाट निर्वाचित भएर प्रतिनिधिसभामा प्रवेश गर्ने प्रयासमा छन् । २०७४ मा प्रदेशसभामा निर्वाचन लडेका उनीविरुद्ध गठबन्धनले माओवादीकी रेखा शर्मालाई मैदानमा उतारेको छ ।

२०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट माओवादीका कृष्णबहादुर महरा विजयी भएका थिए । उनले कांग्रेसका राजु खनाललाई पराजित गरेका थिए । गत स्थानीय तहको निर्वाचनको तथ्यांकअनुसार यस क्षेत्रमा एमाले पहिलो दल हो ।

पोखरेलले राप्रपाको साथ पाए निर्वाचन जित्ने स्थानीय तहको मतले देखाउँछ । यस क्षेत्रमा एमालेले ३३ हजार ५९३, कांग्रेसले २३ हजार ३०१, माओवादीले १० हजार ४७८, राप्रपाले ३ हजार २६४ र नेकपा एसले २ हजार ९४२ मत प्राप्त गरेका छन् ।

गठबन्धनको बलियो पकड रहेको घोराही उपमहानगरपालिकामा एक्लै जितेको एमाले शंकर पोखरेलको व्यक्तित्वका कारण अझ बलियो छ । यसबीचमा सो क्षेत्रका माओवादीका प्रभावशाली नेताहरु र कांग्रेसका नेता समेत एमाले प्रवेश गरेका छन् ।

पोखरेलले मुख्यमन्त्री हुँदा दाङ राजधानी लगेको क्रेडिट त पाएकै छन्,एमालेको उदाउँदो नेता भएका कारण उनलाई उद्योग व्यवसायी क्षेत्रका व्यक्तिहरुले पनि भरोसा गरेका छन् ।

गुल्मीमा ज्ञवालीका पुरानै प्रतिस्पर्धी

उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मी १ मा पुरानै प्रतिस्पर्धी कांग्रेसका चन्द्र भण्डारी पाएका छन् । २०७४ सालको निर्वाचनमा ज्ञवालीले ३७ हजार ५५५ मत ल्याएर विजयी भएका थिए । भण्डारीले २९ हजार ४५० मत पाएका थिए । २०७० सालको निर्वाचनमा भण्डारीले ज्ञवालीलाई हराएका थिए ।

अहिले भण्डारीलाई सत्ता गठबन्धनको साथ छ । यस क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा एमालेले ३५ हजार ७०१, कांग्रेसले ३१ हजार २९४, माओवादीले ४ हजार ९७०, राजमोले १ हजार ६०० र नेकपा एसले ४९७ मत ल्याएका छन् ।

प्रदिप ज्ञवालीको राष्ट्रिय व्यक्तित्व र पछिल्लो समय विकासे काममा समेत जिल्लाबासीसँग घुलमिलका कारण बलियो बन्दै गएका छन् । तटस्थ खाले मत प्रदिपले तान्न सक्दा उनी सेफ जोनमा पुग्न सक्छन् ।

लमजुङमा गुरुङद्वयको रोचक भिडन्त

२०७४ सालमा प्रदेशसभामा जितेका एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ अहिले संघमा लड्दैछन् । गत निर्वाचनमा वाम गठबन्धनका तर्फबाट माओवादीका महासचिव देव गुरुङ निर्वाचित लमजुङमा गुरुङ प्रतिस्पर्धामा आइपुगेका छन् ।

गत स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतअनुसार एक्लाएक्लैमा एमाले अगाडि छ । एमालेले ४० हजार १९७, कांग्रेसले ३५ हजार २७६, माओवादीले ६ हजार १२७, राप्रपाले १ हजार १८४ र जसपाले १९० मत ल्याएका छन् । यो मतअनुसार गुरुङद्वयबीच कडा टक्कर हुने देखिन्छ ।

गुल्मीमा गोकर्णलाई गठबन्धन बाधक

२०७४ सालमा एउटै पार्टीमा रहेका एमाले सचिव गोकर्ण विष्ट र नेकपा एसकी सचिव रामकुमारी झाक्री गुल्मी २ मा आमनेसामने भएका छन् । यसले पनि उनीहरुबीचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ । यसअघि विष्टले जित्दै आएको क्षेत्रमा झाँक्री सत्ता गठबन्धनको आडमा एमालेको विरासत तोड्ने दाउमा छिन् ।

तर, झाँक्रीको यस क्षेत्रमा राम्रो जनमत नभएकाले विष्टलाई चुनाव जित्न केही सहज आँकलन छ । २०७४ मा विष्टले कांग्रेसका चन्द्रबहादुर केसीलाई हराएका थिए ।

गत स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतअनुसार एक्लाएक्लैमा एमाले अग्रस्थानमा छ । उसले ३१ हजार २५३ मत ल्याउँदा कांग्रेसले २९ हजार ८२१, माओवादीले १ हजार ८४१, नेकपा एसले ६५८ र राप्रपाले १०१ मत पाएका छन् ।

झाँक्रीको बागी उठेका कांग्र्रेसका युवा नेता डा.दामोदर भुसालले उम्मेदवारी फिर्ता लिएपनि एक हजार भन्दा कम भएको नेकपा एसलाई कांग्रेसका मत खन्याउन सहज छैन । गुल्मीमा गोकर्ण पनि विकासवादी नेता मानिन्छन् ।उनी तुलनात्मक रुपमा बलियो पोजिशनमा छन् ।

ताप्लेजुङमा ‘सेफ जोन’मा योगेश

२०७४ सालमा वाम गठबन्धनबाट विजयी एमाले सचिव योगेश भट्टराई ताप्लेजुङमा सेफ नै देखिन्छन् । उनले कांग्रेसका उम्मेदवार केशवप्रसाद दाहाललाई हराएका थिए ।

गत स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतअनुसार ताप्लेजुङमा एक्लाएक्लैमा एमाले पहिलो छ । एमालेले २४ हजार २९५, कांग्रेसले १८ हजार २८४, माओवादीले ४ हजार ४९७, नेकपा एसले १ हजार ३०८ र जसपाले ९२३ मत प्राप्त गरेका छन् ।

स्याङ्जामा पद्मा अर्याललाई धनराजको टक्कर 

वाम गठबन्धनको तर्फबाट २०७४ सालमा स्याङ्जा २ बाट जितेकी पद्मा अर्याललाई यस पटक सत्ता गठबन्धन तगारो बनेको छ । फेरि संसद प्रवेश गर्ने उनको चाहना सहज छैन ।

२०७४ मा उनले कांग्रेसका नेता एवं तत्कालीन शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पराजित गरेकी थिइन् । तर, गत स्थानीय निर्वाचनको नतिजाअनुसार यस क्षेत्रमा कांग्रेस पहिलो छ । कांग्रेसले ३६ हजार ८०६, एमालेले ३४ हजार ८०९, माओवादीले १ हजार २४३, राप्रपाले ५११ र नेकपा एसले २३३ मत प्राप्त गरेका छन् ।

उनीविरुद्ध कांग्रेसका उपसभापति धनराज गुरूङ प्रतिस्पर्धामा छन् ।

स्थानीय तहको मतको आधारमा पद्मा अर्याल केही पछाडि भए पनि उनले मन्त्री हुँदा गरेका कामलाई एमालेले जितको आधार बनाउँन खोजेको छ । साथसाथै धनराज गुरुङको विगतको रातो पासपोर्ट काण्ड पनि चुनावमा चर्चामा ल्याइएको छ ।

रुपन्देहीमा छविलाललाई घनश्यामको टक्कर

२०७४ को निर्वाचनमा रूपन्देही १ मा एमाले सचिव छविलाल विश्वकर्मा विजयी भएका थिए । उनले कांग्रेसका अब्दुल रज्जाकलाई पराजित गरेका थिए ।

तर, उनलाई अहिले आफ्नै पूर्वसहकर्मी घनश्याम भुसाल चुनौती बनेका छन् । यसअघि रुपन्देही २ बाट निर्वाचित भुसाल एमाले परित्याग गरेर छबिलाललाई तगारो हाल्न पुगेका छन् । भुसाललाई सत्ता गठबन्धनले समर्थन गरेको छ । गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतअनुसार कांग्रेस पहिलो छ ।

कांग्रेसले ३२ हजार ९९९, एमालेले ३० हजार ३९४, राप्रपाले १४ हजार ५५२, जसपाले ६ हजार ६९५, माओवादीले ४ हजार २०२, नेकपा एसले १ हजार २४३ र लोसपाले ३२५ मत ल्याएका छन् ।

राप्रपा र जसपाको मत तालमेलको सहमति अनुसार छबिलालले पाए भने घनश्याम भुसालले एमालेका पाँच सात हजार मत काटे पनि उनी बलियो नै हुनेछन् ।

कैलालीमा लेखराजको लेखाजोखा

२०७४ सालमा माओवादी केन्द्रबाट वाम गठबन्धनको साझा उम्मेदवारको रुपमा जितेका लेखराज भट्टले अहिले कित्ता परिवर्तन गरेका छन् । साविक नेकपाको एकता भंग भएपछि उनी माओवादी फर्केनन् ।

अहिले एमाले सचिवको जिम्मेवारी सम्हालिरहेका उनी कैलाली ४ पुनः उम्मेदवार बनेका छन् । सत्ता गठबन्धनलाई पराजित गरेर विजयी बन्न उनलाई हिजो जस्तो सजिलो छैन ।

२०७४ सालमा उनले काग्रेसका सुनिल भण्डारीलाई हराएका थिए । गएको वैशाखमा भएको स्थानीय तह निर्वाचनको वडाध्यक्षको मतअनुसार सो क्षेत्रमा कांग्रेस पहिलो शक्ति छ ।

कांग्रेसले २२ हजार ९९७, एमाले २० हजार ८१, माओवादीले १० हजार १२३, नेकपा एसले ४ हजार २९ र राप्रपाले ३ हजार २३४ मत ल्याएका छन् ।

लेखराजका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार वीर वहादुर बलायरमाथि टुरिस्ट उम्मेदवारको आरोप छ । डोटीमा प्रेम आलेलाई छाड्नुपरेपछि उनी कैलाली झरेका छन् । यहिबेला एकातिर कांग्रेसका रैथानेहरु असन्तुष्ट छन् भने अर्कोतिर बलायरले अत्तरियाको प्रदेश राजधानी डोटी लैजान खोजेको आरोप छ । लेखराजका लागि यो प्लस प्वाइन्ट हो ।

अर्घाखाँचीमा टोपबहादुरले टप्ने 

२०७४ मा माओवादीबाट वाम गठबन्धनको साझा उम्मेदवार बनेका टोपबहादुर रायामाझी अहिले एमाले सचिव छन् । नेकपाको एकता भंगसँगै रायमाझीले एमाले रोजे । अहिले उनी एमालेबाट सत्ता गठबन्धनविरुद्ध चुनावी मैदानमा छन् ।

यसअघिको निर्वाचनमा रायमाझीले कांग्रेसका डा. रामबहादुर बीसीलाई १८ हजार ४४४ मतान्तरले हराएका थिए । २०७४ मा माओवादीबाट चुनाव जितेका रायमाझी अहिले एमालेबाट उम्मेदवार छन् ।

गत स्थानीय निर्वाचनमा एमालेले ४८ हजार २६०, कांग्रेसले ३७ हजार ९२५ माओवादीले ७ हजार ७९०, राजमोले ४ हजार २९४, नेकपा एसले ३ हजार ७६३ मत ल्याएका छन् ।

रायमाझीविरुद्ध कांग्रेसले पुष्पा भुसाललाई अगाडि सारेको छ । एक्लाएक्लैमा एमाले अगाडि भए पनि गठबन्धनको मतअनुसार कांग्रेसकी भुसाललाई पन्छाउन रायमाझीलाई अप्ठ्यारो देखिन्छ ।

धनुषा रघुवीरलाई चुनौती 

२०७४ मा वाम गठबन्धनको तर्फबाट विजयी रघुवीर महासेठ अहिले पनि संसद प्रवेश गर्ने दाउमा छन् । उनी धुनषा ४ को चुनावी प्रतिस्पर्धामा छन् ।

२०७४ मा महासेठले २२ हजार ५३२ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी कांग्रेसका महेन्द्र यादवले १९ हजार ९९१ मत ल्याएका थिए ।

गत वैशाखमा भएको स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतअनुसार यहाँ कांग्रेस पहिलो शक्ति हो । कांग्रेसले २५ हजार १९५, एमाले २३ हजार ६३०, जसपाले ८ हजार ३७८, नेकपा एसले ८ हजार १६४, माओवादीले ४ हजार ४३४, लोसपाले २ हजार १८४, जनमत पार्टीले १ हजार ९५० र राप्रपाले ५१४ मत ल्याएका छन् । यहाँ सत्ता गठबन्धनभन्दा एमाले-जसपा गठबन्धन कमजोर नै देखिन्छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित