युरोपनेपाली खबर ।
By-राजकुमार थापा,खाँदबारी ।
संखुवासभा । आगामी मंसीर ४ गते हुने गइरहेको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनको मिति सम्मुख आएसंगै संखुवासभामा नेकपा एमाले र गठबन्धनका उम्मेदवारबीच निक्कै कडा, उच्च र तीब्र प्रतिस्पर्धा हुने देखिएको छ । चुनावी लहर र मतदाताको आकर्षण भने अघिल्लो चुनावमा जस्तो उत्साहजनक नपाइए पनि चुनावी सरगर्मी भने ह्वात्तै बढेको हाम्रो सर्वे रिपोर्टले देखाएको छ ।
स्पष्ट हुनेगरी कसैको पक्षमा पनि चुनावी लहर नदेखिएकोले नतिजा के होला भन्ने अनुमान गर्न कठिन भएको छ । यसपटक गठबन्धनका विरुद्ध एमाले एक्लै मैदानमा उत्रिएको छ । २०७४ को निर्वाचनमा भने अहिले कै मुख्य प्रतिस्पर्धी राजेन्द्र गौतमले दीपक खड्कालाई एक हजार एक सय मत भन्दा बढीको अन्तरले हराएका थिए । त्यो निर्वाचनमा एमाले विजयी र काँग्रेस दोस्रो बनेको थियो । गत स्थानीय निर्वाचनमा वडा अध्यक्षको मत हेर्दा समग्र संखुवासभामा एमाले केही हजार मतले अघि रहेको देखिन्छ ।
प्रदेश नम्बर १ को रणनीतिक महत्त्वको पहाडी/हिमाली जिल्ला संखुवासभाको एक सीट रहेको प्रतिनिधसभा सदस्य पदमा युरोपनेपाली खवर र हाम्रो टीमले गरेको चुनावी मत सर्वेक्षणले विभिन्न रोचक र अनौठा तथ्यहरुलाई उजागर गरेको छ । मुख्य गरी प्रतिनिधि सभा सदस्यको निर्वाचनमा एमालेका राजेन्द्र गौतम र गठबन्धनको तर्फबाट काँग्रेसका दीपक खड्का बीच नै कडा टक्कर हुने देखिन्छ ।
संखुवासभामा जम्मा मतदाता संख्या १,१७,५५४ जना रहेका छन्, जसमा महिला मतदाता संख्या ५६,६९० र पुरुष मतदाता संख्या ६०,८६४ रहेको छ । निर्वाचनको लागि यस जिल्लामा मतदान स्थलको संख्या १०८ र मतदान केन्द्रको संख्या १६२ रहेको छ ।
प्रतिनिधि सभाका लागि विभिन्न दलका १० र स्वतन्त्र २ गरी जम्मा १२ जना उम्मेदवारहरु रहेका छन् ।