यी हुन विश्वकप इतिहासमा सर्वोत्कृष्ट खेलाडीलाई दिइने गोल्डेन बलका विजेताहरु

यी हुन विश्वकप इतिहासमा सर्वोत्कृष्ट खेलाडीलाई दिइने गोल्डेन बलका विजेताहरु
www.europenepalikhabar.com २०७९ मंसीर ४ गते आइतबार, 20-11-2022


युरोप । विश्वकप फुटबलमा अफिसियलरुपमा सन् १९८२ देखि सर्वोत्कृष्ट खेलाडीलाई वितरण गरिने गोल्डेन बल प्रदान गर्न थालिएको हो। पहिलो विजेता पाउलो रोस्सी हुन्। रोस्सीकै प्रेरणामा इटालीले उक्त विश्वकप जितेको थियो। त्यतिबेला रोस्सीले प्रतियोगितामा सर्वाधिक ६ गोल गरेका थिए।

फाइनलमा पश्चिम जर्मनीलाई ३-१ गोलले हराउँदा रोस्सीले पनि एक गोल गरेका थिए। सेमिफाइनलमा पोल्यान्डमाथी प्राप्त २-० गोलको जितमा दुवै गोल  रोस्सीले गरेका थिए। सन् १९८६ मा अर्जेन्टिनाका डिएगो म्याराडोनाले उक्त अवार्ड हात पारेका थिए।

त्यस विश्वकपमा म्याराडोना ५ गोलसहित दोस्रो सर्वाधिक गोलकर्ता थिए। उनले सेमिफाइनलमा बेल्जियममाथी प्राप्त २-० गोलको जितमा दुवै गोल  गरेका थिए। सन् १९९० को विश्वकपमा गोल्डेन बल सर्वाधिक ६ गोल गरेका सल्भाटोर सिल्लासीलाई प्रदान गरिएको थियो। त्यतिबेला अर्जेन्टिनासँग टाइब्रेकरमा पराजित भएर इटाली सेमिफाइनलबाट बाहिरिएको थियो।

सन् १९९४ मा रोमारियो र सन् १९९८ को विश्वकपमा रोनाल्डोले गोल्डेन बल पाउँदा पहिलोमा ब्राजिल विजेता बनेको थियो भने दोस्रोमा उपविजेतामा सिमित भएको थियो। सन् २००२ को विश्वकपमा जर्मनीका गोलरक्षक ओलिभर कानलाई गोल्डेन बल प्रदान गरिएको थियो। त्यतिबेला उनी आबद्ध जर्मनी फाइनलमा ब्राजिलसँग पराजित भएको थियो।

सन् २००६ मा फ्रान्सका जिनेदिन जिदान, सन् २०१० मा उरुग्वेका डिएगो फोर्लान, सन् २०१४ मा अर्जेन्टिनाका लियोनल मेस्सी र सन् २०१८ मा क्रोएसियाका लुका मोड्रिचले गोल्डेन बल प्राप्त गरेका थिए। सन् १९९८ देखिका विजेताहरु कुनैपनि विश्वकप विजेता टोलीका होइनन्। सन् १९९८ को विश्वकपमा ब्राजिल  फाइनलमा पराजित भएको थियो। सन् २००२ मा जर्मनी, २००६ मा फ्रान्स, २०१४ मा अर्जेन्टिना र २०१८ मा क्रोएसिया फाइनलमा नै पराजित भएका थिए। सन् २०१० को संस्करणमा उरुग्वे सेमिफाइनलबाट बाहिरिएको थियो। त्यसअघि  सन् १९७८ को विश्वकपमा अर्जेन्टिनाका मारियो केम्पेसलाई अनअफिसियल्ली रुपमा सर्वोत्कृष्ट खेलाडी चुनिएको थियो जसलाई फिफाले समेत मान्यता दिएको छ।

त्यसअघि सन् १९३० देखि १९७४ सम्म आयोजित विश्वकपमा सर्वोत्कृष्ट खेलाडी भनेर कसैलाई छानिएको थिएन। तर फुटबल इतिहासकार इजिकिम इक्वेन्जले छनोट गरेका विश्वकपका सर्वोत्कृष्ट खेलाडीहरुलाई फिफा समेत सहमत भएको देखिन्छ।

उनले सन् १९३० मा उरुग्वेका जोसे नासाज्जी, सन् १९३४ मा इटालीका जिउसिप्पे मियज्जा, सन् १९३८ मा ब्राजिलका लियोनीदास डे सिल्भा, सन् १९५० मा ब्राजिलका जिजिन्हो, सन् १९५४ मा हंगेरीका सान्दोर कोक्सिस, सन् १९५८ मा ब्राजिलका डिडी, सन् १९६२ मा ब्राजिलका गारिन्चा, सन् १९६६ मा इङ्ल्यान्डका बबी चार्ल्टन, सन् १९७० मा ब्राजिलका पेले र सन् १९७४ मा नेदरल्यान्ड्सका योहान क्रुफलाई सर्वोकृष्ट खेलाडीका रुपमा छनोट गरेका छन्। यी कतिपय नाममा विवाद यथावत छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित