इतिहास रच्दै मोरक्को बन्यो सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टिम, पोर्चुगल बाहिरियो

इतिहास रच्दै मोरक्को बन्यो सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टिम, पोर्चुगल बाहिरियो
www.europenepalikhabar.com २०७९ मंसीर २४ गते शनिबार, 10-12-2022


पोर्चुगल । पोर्चुगललाई स्तब्ध पार्दै कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गर्दै मोरक्कोले नयाँ इतिहास रचेको छ ।

अल थुमामा स्टेडियममा शनिबार भएको क्वाटरफाइनलमा मोरक्कोले पोर्चुगललाई १-० ले हरायो । यस जितसँगै मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकन टिम समेत बनेको । इन्जुरी टाइममा वालिद चेडिराले दोहोरो पहेँलो कार्ड पाएपछि मोरक्कोले दश खेलाडीमा रहेर खेल अन्त्य गरेको थियो ।

अन्तिम १६ मा पूर्व विजेता स्पेनलाई पेनाल्टीसुटआउटमा पराजित गरेको मोरक्कोले जारी विश्वकपमा ठूला टिमहरुलाई माथ दिँदै आएको छ । त्यसक्रममा क्वाटरफाइनलमा मोरक्कोले क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई पराजित गर्‍यो ।

मोरक्कोले अब साविक विजेता फ्रान्स र अर्का पूर्व विजेता इंग्ल्याण्डबीच हुने अन्तिम क्वाटरफाइनलको विजेतासँग सेमिफाइनलमा खेल्नेछ । मोरक्कोलाई ऐतिहासिक सफलता दिलाउन क्रममा युसुफ एन नेस्रीले निर्णायक गोल गरे । उनले ४२औं मिनेटमा अतिहा अल्लाहको पासमा गोल गरेका थिए ।

त्यसपछि पोर्चुगलले बराबरी गोल फर्काउन सबैखाले प्रयास गर्‍यो । तर सफल हुन सकेन । कप्तान क्रिस्टियानो रोनाल्डोलाई लगातार दोस्रो खेलमा बेन्चमा राख्दै पोर्चुगल मोरक्को विरुद्ध मैदान उत्रेको थियो । तर गोल खाएपछि प्रशिक्षक फर्नान्डो सान्तोसले रोनाल्डोलाई दोस्रो हाफमा मैदान पठाए ।

यस्तै उनले भिटिन्हा, राफेल लियाओ र रिकार्डो होर्थालाई पनि दोस्रो हाफमा मैदान उतारे तर गोल भएन ।

अघिल्लो खेलमा रोनाल्डोको स्थानमा पहिलो रोजाईँमै खेल्दै कतार विश्वकपमा पहिलो ह्याट्रिक गरेका गोन्सालो रामोसले मोरक्को विरुद्ध पहिलो रोजाईँमा खेलेका थिए । तर उनले गोल गर्न सकेनन् ।

इन्जुरी टाइममा मोरक्कोका अबोउखलाल जाकारियाले वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन् ।

५१औं मिनेटमा रुबेन नेभेसको स्थानमा मैदान प्रवेश गर्दै ३७ वर्षीय रोनाल्डोले भने व्यक्तिगत उपलब्धी हासिल गरे । उनले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १९६ खेल खेल्ने पुरुष खेलाडीको कीर्तिमान बराबरी गरे ।

कुवेतका बाडेर अल मुटावाको नाममा रहेको सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान रोनाल्डोले बराबरी गरेका हुन् । रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ११८ गोल गरेका छन् ।

उनले जारी विश्वकपमा पहिलो खेलमा घाना विरुद्ध पेनाल्टीमा गोल गरेका थिए । त्यसपछि गोल गर्न सकेनन् ।

जारी विश्वकपमा नाम चलेका खेलाडीहरु बाहिरिने क्रम जारी हुँदा अहिलेका पुस्ताका उत्कृष्ट मध्येका एक रोनाल्डोको विश्वकप यात्रा पनि क्वाटरफाइनलमा सकिएको छ ।

सम्भवत अन्तिम विश्वकप खेलेका रोनाल्डोले अहिलेसम्म विश्वकप जित्न सकेका छैनन् ।

मोरक्को पहिलो पटक विश्वकपको सेमिफाइनल पुग्ने क्रममा अपराजित छ भने यस पटक डार्क हर्स बनेर उदाएको छ । समूह चरणमा साविक उपविजेता क्रोएसियासँग बराबरी खेल्दै विश्वकप सुरु गरेको मोरक्कोले बेल्जियम र क्यानडालाई पराजित गरेको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित