युरोपनेपाली खबर, पोर्चुगल ।
युरोपेली फुटबल महासंघ (युईएफए)को प्रो लाइसेन्स प्रशिक्षकको सहभागितामा नेपालमा युथ फुटबल क्याम्प आयोजना हुने भएको छ ।
पेरिविंकल सर्भिस प्रालिले आयोजना गरेकोे यो क्याम्प शनिबारदेखि पुस २४ गतेदेखि माघ ८ गतेसम्म ललितपुरस्थित सेन्ट जेभियर्स स्कुलको मैदानमा सन्चालन हुनेछ ।
सम्भावित युवा फुटबलरको पहिचान, उनीहरुलाई मार्गदर्शन र फुटबलमा लाग्न चाहनेलाई सैद्धान्तिक र रणनीतिक ज्ञान प्रदान गर्न युथ फुटबल क्याम्प आयोजना गर्न लागिएको पेरिवंकलले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दियो ।
१६ वर्षभन्दा मूनि उमेरसमूहका अधिकतम १०० जना बालबालिकालाई व्यवसायिक प्रशिक्षकमार्फत फुटबलको आधारभूत ज्ञान दिने लक्ष्य आयोजक छ । त्यसका लागि प्रति खेलाडी ३५ हजार रुपैयाँ शुल्क लाग्नेछ ।
प्रशिक्षण शुल्क, मैदान, तालिम अवधिभर खाना, शिविरका लागि आवश्यक सबै फुटबल किटसहित प्रशिक्षण अवधिभर आवश्यक सबै खर्चहरुका लागि सो शुल्क लिइएको आयोजकले प्रष्ट पारेको छ ।
युईएफए प्रो लाइसेन्स प्रशिक्षक पोर्चुगलका फावियानो फ्लोराले सहभागीलाई प्रशिक्षण गराउनेछन् । उनी साउदी अरेबियाको शीर्ष डिभिजन खेल्ने अल साहेल क्लबका प्रशिक्षक हुन् । आयोजकले दिएको जानकारीअनुसार उनीसँग अफ्रिकी आइल्याण्ड मगादस्कर र टिमोर लेस्टेको राष्ट्रिय टिम प्रशिक्षण गरेको अनुभव छ ।
FOUNDER/CHIEF EDITOR :