दलहरू एक्लाएक्लै लडेका भए यसपालि चुनावमा कसले कति सिट जित्थे ?

दलहरू एक्लाएक्लै लडेका भए यसपालि चुनावमा कसले कति सिट जित्थे ?
www.europenepalikhabar.com २०७९ पुष १५ गते शुक्रबार, 30-12-202


यसपालिको संसदीय र प्रदेश सभाको निर्वाचनमा धेरै दलहरूले गठबन्धन बनाएर निर्वाचन लडे।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले सबभन्दा ठूलो पाँच दलीय गठबन्धन बनाएका थिए। पछि त्यसमा लोकतान्त्रिक समाजवादी पार्टी पनि थपियो। एमालेले पनि जनता समाजवादी पार्टी र राप्रपासँग केही निर्वाचन क्षेत्रमा गठबन्धन गरेको थियो।

त्यसैले यसपालिको निर्वाचनमा दलहरूले पाएको सबै सिट आफ्नै बलबुतामा आर्जन गरेका हैनन्। यी दल एक्लाएक्लै लडेका भए कसले सिट ल्याउथे होला? यो प्रश्नको ठ्याक्कै उत्तर अब पाउन मुश्किल छ।

कुन दलले को उम्मेदवार उठाउथे, ती उम्मेदवारको व्यक्तित्वले कति मतदातालाई आकर्षित वा विकर्षित बनाउथ्यो, दलको मत सो उम्मेदवारलाई कति जान्थ्यो? ती सबै कुराले निर्वाचनको परिणाम प्रभावित बनाउथ्यो।

तर सबै दल एक्लाएक्लै लडेका भए कुनै खास निर्वाचन क्षेत्रमा कुन दलले जित्ने थियो भन्ने सबभन्दा महत्वपूर्ण सूचक त्यहाँ कसले समानुपातिकतर्फ सबभन्दा धेरै मत ल्यायो भन्ने नै हो।

केही सिट तल-माथि हुन्थ्यो होला तर अन्तिम परिणाम समानुपातिकतर्फ दलहरूले पाएको मतकै वरिपरि बस्थ्यो।

त्यसोभए समानुपातिक तर्फको मतका आधारमा भन्दा यसपालि कुन दलले कति सिट ल्याउँथे त?

हामीले १६५ निर्वाचन क्षेत्रकै समानुपातिक तर्फको मत तुलना गर्दा एमालेले सबभन्दा धेरै ७३ सिटमा जित हासिल गर्थ्यो। जबकि यसपालि सो दलले प्रत्यक्षतर्फ ४४ सिटमात्रै जित्यो। अर्थात् गठबन्धनका कारण उसलाई यसपालि २९ सिट घाटा लाग्यो। तर यी सबै सिट एमालेले गठबन्धनका कारणमात्र गुमाएको हैन। कुनै दलसँग गठबन्धन नगरेको राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि एमालेका उम्मेदवार केही स्थानमा पराजित भएका छन्।

२०७४ सालको तुलनामा भने एमालेले समानुपातिकमा पहिलो भएको निर्वाचन क्षेत्रको संख्या केही घटेको छ। पाँच वर्षअघि एमाले ७७ निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ पहिलो थियो। यसपालि ४ स्थान घटेर ७३ मामात्र पहिलो छ।

समानुपातिकमा कुन दल कति क्षेत्रमा अघि

दल            २०७९       २०७४

नेकपा एमाले  ७३   ७७

नेपाली कांग्रेस  ५१   ५३

राष्ट्रिय स्वतन्त्र पार्टी  १४  

नेकपा माओवादी केन्द्र ९   ११

जनमत पार्टी  ६  

जनता समाजवादी पार्टी, नेपाल ५   १२

नागरिक उन्मुक्ति  ३  

लोसपा/राजपा २  १   १

राष्ट्रिय प्रजातन्त्र पार्टी  १  

नेपाल मजदुर किसान पार्टी १  १

जम्मा १६५  १६५

त्यस्तै, नेपाली कांग्रेस यसपालिको निर्वाचनमा ५१ क्षेत्रमा मात्रै समानुपातिकतर्फ पहिलो स्थानमा छ। निर्वाचनमा भने कांग्रेसले ५७ स्थान जितेको छ। गठबन्धनका कारण प्रत्यक्षतर्फ उसलाई ६ सिटको लाभ भएको छ।

२०७४ को तुलनामा कांग्रेसले समानुपातिकतर्फ २ निर्वाचन क्षेत्रमा अग्रता गुमाएको छ। पाँच वर्षअघि नेपाली कांग्रेस समानुपातिकतर्फ ५३ सिटमा पहिलो स्थानमा थियो।

कांग्रेससँग निर्वाचनमा गठबन्धन गरेका प्रमुख दुई दल माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धनको लाभ कांग्रेसले मात्र उठाएको र आफूलाई  गठबन्धनले धेरै लाभ नभएको तर्क गर्ने गरेका छन्।

हेरौं, समानुपातिक तर्फको तथ्यांकले उनीहरूको तर्कलाई कति बल पुग्छ?

माओवादी केन्द्र भने समानुपातिकतर्फ ९ निर्वाचन क्षेत्रमा मात्रै पहिलो छ। जबकि उसले प्रत्यक्षतर्फ जम्मा १८ सिट जितेको छ। यसरी गठबन्धनकै सहयोगमा माओवादीले ९ सिट थपेको देखिन्छ। पाँच वर्ष अघिको चुनावमा माओवादी समानुपातिकतर्फ ११ सिटमा पहिलो थियो। यसपालि दुई सिटमा आफ्नो अग्रता गुमाएर माओवादी ९ सिटमा सीमित भएको छ।

१९ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको एकीकृत समाजवादी समानुपातिकतर्फ कहीँ पनि पहिलो छैन। त्यसैले उसले ९ वटै निर्वाचन क्षेत्र गठबन्धनको सहयोगमा जितेको देखिन्छ।  एक्लै चुनाव लडेको भए समाजवादीलाई शून्य सिट हात लाग्ने देखिन्छ।

त्यस्तै, पहिलोपटक संसदीय चुनावको सामना गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले यसपालि प्रत्यक्षतर्फ जम्मा ७ सिटमा जित हात पारेको छ। तर समानुपातिकतर्फ भने यो दलले १४ निर्वाचन क्षेत्रमा पहिलो बनेको छ। अर्थात् सबै दल एक्लाएक्लै लडेका भए रास्वपाले प्रत्यक्षतर्फ नै १४ सिट जित्ने सम्भावना थियो। समानुपातिकतर्फ रास्वपा यसपालि पहिलो भएको १४ निर्वाचन क्षेत्रमध्ये २०७४ सालमा ११ क्षेत्रमा एमाले पहिलो र ३ क्षेत्रमा कांग्रेस पहिलो भएका थिए।

राष्ट्रिय प्रजातान्त्रिक पार्टीको निर्वाचन परिणाम भने चाखलाग्दो छ। यसले समानुपातिकतर्फ जम्मा एक स्थानमा मात्र जितेको छ। पूर्व प्रहरी महानिरीक्षक ध्रुबबहादुर प्रधानले प्रत्यक्षतर्फ जितेको पश्चिम नवलपरासीमा मात्र राप्रपा समानुपातिकतर्फ पनि पहिलो दल बनेको छ। तर यो दलले प्रत्यक्षतर्फ ७ सिट जितेको छ। राप्रपाले जितेको ७ सिटमध्ये ३ सिटमा एमालेसँग तालमेल थियो भने चार सिटमा बिना तालमेल उसका उम्मेदवारले जितेका छन्।

नवलपरासीमा प्रधानसहित जुम्लाबाट ज्ञानेन्द्रबहादुर शाही, मकवानपुर-१ बाट दीपकबहादुर सिंह र चितवन-३ बाट विक्रम पाण्डेले अरू दलसँग गठबन्धन नगरिकन चुनाव जितेका हुन्।

समानुपातिकतर्फ जनता समाजवादी पार्टी पाँच निर्वाचन क्षेत्रमा पहिलो छ। प्रत्यक्षतर्फ भने उसले ७ स्थानमा जितेको छ। २ निर्वाचन क्षेत्रमा मात्रै समानुपातिकतर्फ पहिलो लोकतान्त्रिक समाजवादी पार्टीले प्रत्यक्षतर्फ ४ सिट ल्याएको छ। गठबन्धनकै सहयोगले उसले दुई सिट थपेको छ।

चुनावी परिणामलाई असर पुर्‍याउने विभिन्न कारण पनि हुन्छन्। उम्मेदवारको व्यक्तित्व, राजनीतिक दलको माहोल लगायतले चुनावी नतिजामा असर पुर्‍याउँछ। पार्टीको उम्मेदवारले जित्दा सम्बन्धित पार्टीले भने कम मत पाएको र पार्टीले बढी मत पाउँदा उम्मेदवार पराजित भएको दृष्टान्तहरू पनि छन्।

उदाहरणका लागि रामेछापमा कांग्रेसका कान्छाराम लामाले ४७ हजार ९९ मत पाउँदा समानुपातिकतर्फ कांग्रेसले २४ हजार १ सय मत पाएको छ। यहाँ एमाले समानुपातिकतर्फ २८ हजार १ सय ३० मतसहित पहिलो दल बन्यो। यदि एक्लै लडेको अवस्थामा एमालेले जित्ने सम्भावना देखिन्छ।

यस्तै, सिराहा- १ मा एमालेका रामशंकर यादव  २९  हजार  ४ सय ६२ मतसहित निर्वाचित हुँदा समानुपातिकतर्फ १६  हजार ४ सय ८८ मतसहित कांग्रेस पहिलो बन्यो।

यहाँ एमालेले समानुपातिकमा १६ हजार ३ सय ३७ मत ल्याएको छ। एक्लै लडेको परिस्थितिमा कांग्रेसको पक्षमा नतिजा आउन सक्थ्यो।

मोरङ- ४ बाट माओवादीका अमनलाल मोदी ३० हजार ६ सय १२ मतसहित निर्वाचित हुँदा समानुपातिकतर्फ भने माओवादीले ९ हजार ७ सय ६० मत मात्रै प्राप्त गर्‍यो। त्यहाँ समानुपातिकतर्फ कांग्रेस १९ हजार ५ सय ५५ मतसहित पहिलो छ। एक्लै लडेको अवस्थामा कांग्रेसले बाजी मार्ने देखिन्छ। 

तर समग्रमा भन्दा कुन पार्टी कुन निर्वाचन क्षेत्रमा बलियो छ भन्ने मुख्य आधार भनेको त्यो क्षेत्रमा समानुपातिकतर्फ मतदाताले कुन दललाई रोजे भन्ने नै हो। कुनै निर्वाचन क्षेत्रमा कुन दल सबभन्दा बलियो छ भन्ने प्रमुख मापन नै त्यो निर्वाचन क्षेत्रमा दलका समर्थक र शुभेच्छुकले समानुपातिकतर्फ दिएको मत हो।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित