यस्ता छन् एमालेका मन्त्री !

यस्ता छन् एमालेका मन्त्री !
www.europenepalikhabar.com २०७९ माघ ३ गते मंगलबार, 17-01-2023


नेकपा एमालेलगायतको समर्थनमा पुस १० गते प्रधानमन्त्री नियुक्त पुष्पकमल दाहालले आज (मंगलबार) दोस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका छन् । शीतलनिवासमा मंगलबार आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए ।

मंगलबार सत्ता साझेदार दलहरुबीच भएको भागबन्डाअनुसार प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् दोस्रोपटक विस्तार गरेका हुन् । दाहालले मंगलबार थप १५ मन्त्री नियुक्त गरे । अर्थात् अब दाहाल नेतृत्वको सरकार २३ सदस्यीय बनेको छ ।

दाहाल नेतृत्वको सरकारको मुख्य समर्थक पार्टी नेकपा एमालेबाट भने आठजना मन्त्री बनेका छन् । एमालेबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल यसअघि नै नियुक्त भइसकेका छन् । एमालेका तर्फबाट मन्त्री बन्नेहरुको सूची यस्तो छ । हेरौं एमालेका तर्फबाट मन्त्री बन्नेहरुको सूची :

नेकपा एमालेबाट मन्त्रीमा नियुक्त

१. विष्णु पौडेल : उपप्रधानमन्त्री तथा अर्थमन्त्री

२. ज्वालाकुमारी साह : कृषि तथा पशुपक्षी विकासमन्त्री

३. दामोदर भण्डारी : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री

४. राजेन्द्रकुमार राई : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री

५. विमला राई पौड्याल : परराष्ट्रमन्त्री

६. पदम गिरी : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री

७. भगवती चौधरी : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री

८. हरिप्रसाद उप्रेती : रक्षामन्त्री

नेकपा एमालेबाट मन्त्रीमा नियुक्त

१. विष्णु पौडेल : उपप्रधानमन्त्री तथा अर्थमन्त्री

पटक-पटक लाभको पदमा बसेका नेकपा एमालेका प्रभावशाली नेता पार्टीका तर्फबाट नेतृत्व गर्दै पुष्पकमल दाहाल सरकारमा सहभागी छन् । विभिन्न विवादमा सञ्चारमाध्यममा छाइरहने पौडेल पार्टीका प्रभावशाली नेतासँगै अध्यक्ष केपी ओलीका विश्वासिला पात्रका रुपमा परिचित छन् । यसपालि उनी उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको जिम्मेवारीमा दाहाल नेतृत्वको सरकारमा पार्टीका तर्फबाट नेतृत्व गरिरहेका छन् ।

२०१६ सालमा जन्मिएका एमाले नेता पौडेलसँग यसअघि पनि अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालिसकेको अनुभव छ । उनी प्रतिनिधिसभा सदस्य २०५१, संविधानसभा सदस्य निर्वाचन २०६४ र २०७० मा रुपन्देही ४ बाट निर्वाचित भएका थिए । यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा रुपन्देही २ बाट उनी निर्वाचित भएका थिए । उनी २०७९ मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा पनि विजयी भएका हुन् ।

२०३५ देखि २०४६ सालसम्म भूमिगत रहेका पौडेललाई २०३७ मा तीन वर्ष जेल र तीन हजार जरिवाना तोकिएको थियो । तर ४५ दिनमै जेल विद्रोह गरी भाग्न सफल पौडेल २०३५ असोजमा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोओर्डिनेसन कमिटी (माले) को सदस्य बने । उनी २०३५ मंसिरदेखि पूर्णकालीन सदस्य बने भने २०४१ मा नेकपा (माले) को जिल्ला कमिटी सचिव बन्न सफल रहे । २०४७ नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य, २०५९ देखि एमाले स्थायी कमिटी सदस्य, २०६५ देखि एमाले केन्द्रीय कमिटी सचिवऽ २०७१ को नवौँ महाधिवेशनपछि एमाले केन्द्रीय कमिटी उपमहासचिव तथा नेकपामा महासचिव र सचिवालय सदस्य २०७५ मा भएका थिए । पौडेल अहिले नेकपा एमालेका उपाध्यक्ष पनि हुन् ।

२. ज्वालाकुमारी साह : कृषि तथा पशुपक्षी विकासमन्त्री

पूर्वमाओवादी नेतृ ज्वालाकुमारी साह तत्कालीन नेकपा छुट्टिएपछि नेकपा एमालेमा लागेकी हुन् । उनी २०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा बारा ३ (क) बाट प्रदेश २ को प्रदेशसभामा निर्वाचित भएकी थिइन् । २०६४ को संविधानसभा निर्वाचनमा समानुपातिक सदस्य निर्वाचित भएकी थिइन् ।

एमाले अध्यक्ष केपी ओलीनजिक मानिने साह पुष्पकमल दाहाल नेतृत्वको मन्त्रीमण्डलमा कृषि तथा पशुपक्षी विकासमन्त्री बनेकी छन् । यसअघि २०६६ मा भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री बनेकी थिइन् । यस्तै २०६८ मा पर्यटन राज्यमन्त्री र पछिल्लोपटक ओली नेतृत्वको सरकारमा साह १३ दिनका लागि कृषिमन्त्री बनेकी थिइन् ।

२०३८ सालमा जन्मिएकी साहले स्नातकसम्मको अध्ययन गरेकी छन् । २०५४ देखि भूमिगत भएर नेकपा माओवादीबाट उनले विद्यार्थी राजनीति सुरु गरेकी हुन् ।

३. दामोदर भण्डारी : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री

बैतडीबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका तर्फबाट निर्वाचित दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका छन् । यसअघि उनी २०७२ मा केपी ओली नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्री नियुक्त भएका थिए । यसअघि भण्डारी २०७० र २०७४ मा पनि सांसद बनेका थिए ।

२०३० सालमा जन्मिएका भण्डारी सुदूरपश्चिम प्रदेश कमिटीका एमाले अध्यक्ष पनि हुन् । २०४८ सालमा अनेरास्ववियू बैतडी जिल्ला कमिटीको अध्यक्ष बनेका भण्डारी २०५० मा एमालेको बैतडी जिल्ला कमिटी सदस्य बनेका थिए । स्नातकसम्मको अध्ययन पूरा गरेका उनी बैतडी जिल्ला अध्यक्ष हुँदै २०७५ मा नेकपाको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बनेका थिए ।

२०६४ देखि २०७० सम्म पाटन बहुमुखी क्याम्पसको दुई कार्यकाल अध्यक्ष बनेका उनी मदन भण्डारी फाउन्डेसनमा केन्द्रीय सदस्यसमेत छन् ।

४. राजेन्द्रकुमार राई : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री

धनकुटाबाट प्रतिनिधिसभामा निर्वाचित नेकपा एमालेका राजेन्द्रकुमार राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेका छन् । २०२२ सालमा पाख्रिबास ७, राम्चेगाउँमा जन्मिएका राई पहिलोपटक मन्त्री बनेका हुन् । स्नातकसम्मको अध्ययन पूरा गरेका राई ०७४ सालको निर्वाचनमा पनि धनकुटाबाट निर्वाचित भएका थिए ।

०४९ सालमा जिल्ला विकास समितिको सदस्यमा पहिलोपटक जनप्रतिनिधि निर्वाचित भएका थिए । ०४२ सालमा माथिल्लो गोकुण्डेश्वरबाट एसएलसी दिएलगत्तै उनी पूर्णकालीन राजनीतिमा लागेका हुन् । २०४७ मा अनेरास्ववियुको धनकुटा जिल्ला अध्यक्ष भएका राईले एमालेको युवा संगठन तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संगठनमा पनि काम गरे । ०६६ असारमा भएको जिल्ला अधिवेशनबाट एमालेको धनकुटा जिल्ला अध्यक्षमा निर्वाचित भएका उनले दुई कार्यकाल कार्यकाल नेतृत्व गरे । ०७८ मंसिरमा सम्पन्न एमालेको दशौं महाधिवेशनबाट राई केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । अहिले उनी एमालेको धनकुटा इन्चार्जको जिम्मेवारीमा पनि छन् ।

५. विमला राई पौड्याल : परराष्ट्रमन्त्री

संघीय संसद्‌को राष्ट्रियसभा सदस्य विमला राई पौड्यालले नेदरल्याण्डको इन्स्टिच्युट अफ सोसियल स्टडिजबाट विकास अध्ययनमा विद्यावारिधि गरेकी छन् । उनी नेकपा एमालेका तर्फबाट परराष्ट्रमन्त्री बनेकी हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट कृषि अर्थशास्त्रमा स्नातकको अध्ययन पूरा गरेकी छन् । राष्ट्रिय योजना आयोगको पूर्वसदस्यसमेत रहेकी विमला अर्थशास्त्रीका रुपमा समेत परिचित छिन् ।

उनले रिकफ नेपालमा सन् २०११ देखि २०१७ र ओपन सोसाइटी फाउन्डेसनको सन् २०१६ देखि २०१८ सम्म यूएन ओमन इन नेपालमा रही काम गरेकी छन् । सन् २०१६ देखि २०१८ सम्म यूएन ओमनका लागि प्रांगारिक कृषिसम्बन्धी उच्चस्तरीय कार्यदल र नागरिक समाजको सल्लाहकार समूह सदस्यको भूमिकासमेत निर्वाह गरेको अनुभव विमलासँग छ ।

६. पदम गिरी : स्वास्थ्य तथा जनसंख्यामन्त्री

२०६२ सालमा पृथ्वी नारायण क्याम्पस पोखराको स्ववियू सभापति हुँदै पार्टी राजनीतिमा होमिएका नेकपा एमालेका नेता पदम गिरी स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका छन् । २०५४ मा नेकपा एमाले दुर्लुङ गाउँ कमिटी सचिवबाट पार्टीको सक्रिय राजनीतिमा आबद्ध उनी २०५५ सालमा अनेरास्ववियू पृथ्वी नारायण क्याम्पसको प्रारम्म्भिक कमिटीको सचिव हुँदै स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भएका थिए । २०५७ मा अनेरास्ववियू पृथ्वीनारायण क्याम्पसको प्रारम्भिक कमिटीको अध्यक्ष बनेका गिरी स्ववियुको उपसमितिमा निर्वाचित भएका थिए । उनी २०७४ र २०७९ को निर्वाचनमा पर्वतबाट प्रत्यक्ष निर्वाचित भएका । २०३३ सालमा जन्मिएका पदमले स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् ।

संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा पर्वत १ बाट निर्वाचित पदमको यो पहिलो संसदीय अनुभव हो ।

७. भगवती चौधरी : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री

नेकपा एमालेकी केन्द्रीय कमिटी सदस्य एवं सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनेकी छन् । २०२८ सालमा जन्मिएकी सुनसरीकी भगवतीले समाजशास्त्र र व्यवस्थापनमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेकी छन् । अहिले विद्यावारिधि गरिरहेकी भगवती २०४८ सालमा नेकपा एमालेको पार्टी सदस्य प्राप्त गर्दै राजनीतिमा आबद्ध भएकी हुन् । २०६४ मा नेकपा एमाले सुनसरी जिल्ला कमिटी सदस्य, ०७० मा अञ्चल समन्वय कमिटी सदस्य, नेकपा एमालेको नवौं र २०७८ को चितवनमा सम्पन्न १०औं महाधिवेशनबाट केन्द्रीय सदस्य तथा श्रम तथा स्वरोगार केन्द्रीय विभागको उपप्रमुख बनेकी भगवती अहिले पार्टीको सुनसरी सह-इन्चार्जसमेत छिन् । उनी अखिल महिला संघको केन्द्रीय सचिवालय सदस्य तथा गरिबी निवारण विभागको सचिवसमेत हुन् ।

२०७० को दोस्रो संविधानसभामा सुनसरी क्षेत्र ३ बाट विजयकुमार गच्छदारसँग पराजित भगवती २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि सुनसरी ३ बाट पराजित भएकी थिइन् । यसअघि उनी २०६८ भदौ १२ मा (करिब ६ महिना) वन तथा भू-संरक्षण राज्यमन्त्री बनेकी थिइन् ।

८. हरिप्रसाद उप्रेती : रक्षामन्त्री

सर्लाही ३ बाट नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित हरिप्रसाद उप्रेती रक्षामन्त्रीमा नियुक्त भएका छन् । २०२४ सालमा जन्मिएका उप्रेतीले स्नातकसम्मको अध्ययन पूरा गरेका छन् । उनी २०३७ सालमा हरिवनस्थित चतुर्भुजेश्वर माविबाट अनेरास्ववियुबाट निर्वाचित हुँदै राजनीतिमा आबद्ध भएका हुन् भने २०४४ सालमा पार्टीको सदस्यता प्राप्त गरी सक्रिय राजनीतिमा प्रवेश गरेका हुन् । रक्षामन्त्री बनेका उप्रेती २०७० सालमा दोस्रो संविधानसभा सदस्य निर्वाचनमा सर्लाहीबाट निर्वाचित भएका थिए । उनी २०७० सालको दोस्रो संविधानसभामा निर्वाचित भएपछि वातावरण समितका सदस्य बनेका थिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित