एनआरएनएमा डा. बद्री केसी कार्यकारी अध्यक्ष, संघलाई एक्यवद्ध बनाउँदै अगाडि बढाउने प्रतिवद्दता

एनआरएनएमा डा. बद्री केसी कार्यकारी अध्यक्ष, संघलाई एक्यवद्ध बनाउँदै अगाडि बढाउने प्रतिवद्दता
www.europenepalikhabar.com २०७९ चैत २४ गते शुक्रबार, 7-04-2023


पोर्चुगल । गैरआवासीय नेपाली संघमा डा. बद्री केसीले कार्यकारी अध्यक्षको जिम्मेवारी समाल्नु भएको छ । एनआरएनए सचीवालयमा आयोजित एक कार्यक्रमका बीच डा. केसीले कार्यकारी अध्यक्षको जिम्मेवारी समाल्नु भएको हो ।

एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोेसहित पूर्व अध्यक्षहरु भवन भट्ट, पूर्व पदाधिकारी तथा वर्तमान पदाधिकारी र एनआरएन अभियन्तालाई साक्षी राख्दै रविना थापाले केसीलाई कार्यकारी अध्यक्षको जिम्मेवारी सुम्पिनु भएको हो ।

एनआरएनएको १० औं महाधिवेशनमा विवाद भएपछि बहुपद सिर्जना गरि ६/६ महिना कार्यकारी हुने गरि तीन जनालाई अध्यक्षको जिम्मेवारी दिइएको थियो । महाधिवेशनले पहिलो ६ महिना कुल आचार्य, दोस्रोमा रविना थापा र अन्तिम तथा तेस्रो आलोपालोमा केसीलाई जिम्मेवारी दिएको थियो । सोहीअनुसार केसीले कार्यकारी अध्यक्षको जिम्मेवारी समाल्नु भएको हो ।

आगामी ६ महिना अधिवेशनको समय भएकाले एनसिसीदेखि आइसिसीसम्मको अधिवेशन सम्पन्न गर्नुपर्ने जिम्मेवारी केसीको काँधमा आएको छ । केसीले आफ्नो पहिलो प्रतिबद्धता एकताको महाधिवेशन नै भएको बताउनु भयो ।

‘गैर आवासीय नेपाली संघको १० औँ महाधिवेशनमा देखिएको विशेष परिस्थितिका कारण संघको अभियानबाट बाहिर रहेका नेपाली गैर आवासीय नेपालीहरुलाई एकताको सुत्रमा बाँध्नु पहिलो प्राथामिकतां हुनेछ’, उहाँले ब्यक्त गर्नु भएको प्रतिबद्धतापत्रमा भनीएको छ, संस्थामा सबैको अपनत्व हुने गरि एकता कायम गर्न विशेष पहल कदमी लिइनेछ ।’

डा. केसीले यसबाहेक ६ महिनामा के के काम गर्ने भन्ने विषयमा विभिन्न प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ ।

कार्यक्रममा एनआरएनए संस्थापक अध्यक्ष उपेन्द्र महतो, महासचिव भीम उदास, एनआरएनए पूर्व अध्यक्ष भवन भट्ट, एनआरएनए अध्यक्ष कुल आचार्य, रविना थापा, पूर्व उपाध्यक्ष टिवी कार्की, अर्जुन कुमार श्रेष्ठ, एनआरएनए यूकेका पूर्व अध्यक्ष योगेन क्षेत्री, एनआरएनए उपाध्यक्ष दुर्गा आचार्य र डिवी क्षेत्रीलगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

जुममार्फत महासचिवद्धय गौरीराज जोशी र डा. केशव पौडेलले सहजीकरण गर्नु भएको थियो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको जिम्मेवारी डा. बद्री केसीले समालेका छन् । गैरआवासीय नेपाली संघको आयोजनामा शुक्रवार काठमाण्डौंमा आयोजित एक पत्रकार सम्मेलनकाबीच कार्यकारी अध्यक्ष रविना थापाले औपचारिक रुपमा कार्यकारी पद हस्तान्तरण गरेकी हुन् ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली संघको १० औँ महाधिवेशनमा देखिएको विशेष परिस्थितिका कारण संघको अभियानबाट बाहिर रहेका नेपाली गैरआवासीय नेपालीहरुलाई एकताको सुत्रमा बाँध्नु पहिलो प्राथामिकता हुने बताएका छन् । १९ बुँदे प्रतिबद्धता पत्र जारी गर्दै डा. केसीले संस्थामा सबैको अपनत्व हुने गरि एकता कायम गर्न विशेष पहल कदमी लिइने बताए ।

उनले वैदेशिक रोजगारी सम्बन्धी समस्या समाधानका लागि नेपाल सरकारको साझेदारीमा समेत केही नीति तथा ऐन कानून निर्माणमा उल्लेख्य काम गर्न सफल भएको बताए । गत एक वर्षमा नेपाली नागरिकताको निरन्तरता, सामाजिक सुरक्षा कोष, विदेशमै बसेर नेपालमा डलर खाता खोल्ने अवसर, मोबाइल ब्लड बस, स्वास्थ्य सम्बन्धी जनजागरण अभियान, पर्यटन प्रवर्धन कार्यक्रम, पोखरामा स्मार्ट ट्वाइलेट, राष्ट्रिय खेलकुद तथा कराँते प्रतियोगितामा गैरआवासीय नेपालीहरुको सफलता लगायतका विषयमा उल्लेख्य रुपमा प्रगतिहरु भएको पत्रकार सम्मेलनमा डा. केसीले जानकारी दिए।

उनले गैरआवासीय नेपाली संघको १० औँ महाधिवेशनमा गरेको प्रतिबद्धता अनुरुप अघि सारेका संघको पुर्नरसंरचना, स्मार्ट एनआरएनए, संस्थागत विकास, आर्थिक पारदर्शिता, लगायतका कार्यको जग स्थापना भइसकेको बताए ।

उनले संघको संशोधित विधानले संघका पुर्नसंरचनाका लागि स्मार्ट एनआरएनए अन्तर्गत विश्वव्यापी रुपमा एमआईएस प्रणालीमार्फत सदस्यता वितरण शुरुआत गरिएको जानकारी दिए ।

उनले विगत एक वर्षमा संस्थाका विभिन्न गतिविधिमा सहभागी भएर बृहत एकता कायम राख्दै अघि बढ्नको लागि सहयोग गर्ने अध्यक्षद्धय कुल आचार्य र रविना थापाप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै आगामी दिनमा सहयोगको लागि अपेक्षा गर्दै आगामी अक्टोबरमा हुने संघको ११ औँ महाधिवेशन सफल पार्न आग्रह गरे ।

पत्रकार सम्मेलनलाई अध्यक्षद्धय कुल आचार्य र रविना थापाले आआफ्ना भनाईहरु राखेका थिए । कार्यक्रममा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, संस्थापक महासचिव भिम उदास, उपाध्यक्षद्धय डिबी क्षेत्री, दुर्गा आचार्य, टिबि कार्की, अर्जुन श्रेष्ठ, योगेन क्षेत्री लगायतले शुभकामना मन्तव्य दिएका थिए । पत्रकार सम्मेलनमा डा केसी आगामी ६ महिनाको कार्ययोजना क्यालेण्डर सहित प्रस्तुत गरेका थिए ।

——

डा. बद्री केसीको प्रतिबद्धतापत्र

——

आदरणीय गैरआवासीय नेपाली साथीहरू,

आमाबुबा, दाजुभाई, दिदीबहिनी तथा  शुभचिन्तकहरु,

‘नेपालीका लागि नेपाली’ भन्ने मूल नाराका साथ सन् २००३ मा स्थापित गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २० वर्षको अवधिमा धेरै रचनात्मक र गौरवान्वित काम गरेको छ । विश्वका ८६ देशमा संघका राष्ट्रिय समन्वय परिषद्हरू गठन गरी नेपालीको सर्वाधिक ठूलो सांगठनिक सञ्जाल निर्माण गर्न सक्नु आफैँमा एउटा महत्वपूर्ण उपलब्धि हो ।

यो संस्थालाई अझ उचाइमा लैजाने चुनौतीलाई मूल नेतृत्वमा रहेर सामना गर्न सकिन्छ भन्ने विश्वासका साथ संघको १० औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएको थिएँ । संस्थाभित्र देखिएको विषम् परिस्थितिका कारणले गर्दा हामी बहुपदीय पद्धतिमा जान बाध्य भयौँ ।

बहुपदीय प्रणालीमा प्रवेश गरेपछि संघमा तीन जनाको सामूहिक नेतृत्व स्थापित भयो । विगत एक वर्षमा संघको अभियानमा उठाइएका महत्वपूर्ण मुद्दाहरु भने सम्बोधन भएका छन् । संविधानसभाले गैरआवासीय नेपालीको नागरिकताको सुनिश्चित गरेपछि गैरआवासीय नेपालीहरुको नागरिकता सम्बन्धी विधेयक संसदबाट पारित भइ कार्यान्वयनमा आउने निश्चित भएको छ। विदेशमा गैरआवासीय नेपालीहरुले प्राप्त गरेको स–साना पुँजी र सीपलाई नेपालको समृद्धिमा लगाउने उदेश्यले आवश्यक ऐन कानूनबनिसकेका छन् । यद्यपी केही कानूनहरु बन्ने क्रममा रहेका छन् ।

गैरआवासीय नेपालीहरुको सक्रियतामा नेपालमा सामूहिक र व्यक्तिगत लगानी बढ्दो छ । विदेशबाट ज्ञान, अनुभव र सीप भित्र्याउने संस्थागत प्रयास भएका छन् । संघमार्फत विभिन्न सामाजिक र परोपकारी कार्यमा योगदान र पहल भएका छन् । १० अर्ब लगानीको कोषको माध्यमबाट विदेशमा वा भनौँ मध्यपूर्वका खाडी मुलुक एवं मलेसिया लगायतका मुलुकमा रहेका गैरआवासीय नेपालीको सानो पूँजीलाई पनि उत्पादन मूलक क्षेत्रमा लगानीको वातावरण बनेको छ ।

वैदेशिक रोजगारी सम्बन्धी समस्या समाधानका लागि नेपाल सरकारको साझेदारीमा समेत केही नीति तथा ऐन कानून निर्माणमा उल्लेख्य काम गर्न सफल भएका छौँ । गत एक वर्षमा नेपाली नागरिकताको निरन्तरता, सामाजिक सुरक्षा कोष, विदेशमै बसेर नेपालमा डलर खाता खोल्ने अवसर, मोबाइल ब्लड बस, स्वास्थ्य सम्बन्धी जनजागरण अभियान, पर्यटन प्रवर्धन कार्यक्रम, पोखरामा स्मार्ट ट्वाइलेट, राष्ट्रिय खेलकुद तथा कराँते प्रतियोगितामा गैरआवासीय नेपालीहरुको सफलता लगायतका विषयमा उल्लेख्य रुपमा प्रगतिहरु भएका छन् । गैरआवासीय नेपाली संघको १० औँ महाधिवेशनमा हामीले गरेको प्रतिबद्धता अनुरुप अघि सारेका संघको पुर्नरसंरचना, स्मार्ट एनआरएनए, संस्थागत विकास, आर्थिक पारदर्शिता, लगायतका कार्यको जग स्थापना भइसकेको छ ।

संघको संशोधित विधानले संघका पुर्नसंरचनाका लागि स्मार्ट एनआरएनए अन्तर्गत विश्वव्यापी रुपमा एमआईएस प्रणालीमार्फत सदस्यता वितरण शुरुआत गरिएको छ । विगत एक वर्षमा संस्थाका विभिन्न गतिविधिमा सहभागी भएर बृहत एकता कायम राख्दै अघि बढ्नको लागि सहयोग गर्ने अध्यक्षद्धय कुल आचार्य र रविना थापाप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै आगामी दिनमा सहयोगको लागि अपेक्षा गर्दै आगामी अक्टोबरमा हुने संघको ११ औँ महाधिवेशन सम्मको लागि निम्नानुसार मेरो प्राथामिकता रहने प्रतिबद्धता व्यक्त गर्दछु ।

१‍‍. गैरआवासीय नेपाली संघको १० औँ महाधिवेशनमा देखिएको विशेष परिस्थितिका कारण संघको अभियानबाट बाहिर रहेका नेपाली गैरआवासीय नेपालीहरुलाई एकताको सुत्रमा बाँध्नु पहिलो प्राथामिकतां हुनेछ । संस्थामा सबैको अपनत्व हुने गरि एकता कायम गर्न विशेष पहल कदमी लिइनेछ ।

२‍. अन्तर्राष्ट्रिय श्रम बजारमा रहेका श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष तथा पेन्शन कोषमा सहभागी गराउने सरकारको पछिल्लो निर्णयलाई स्वागत गर्दै श्रमिकहरुलाई उक्त योजनामा आबद्ध गर्न गराउने उद्देश्यले मध्यपूर्वका मुलुकसहित मलेसिया, दक्षिण कोरिया तथा वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकहरु गएका गन्तव्य मुलुकहरुमा विशेष ‘रोड शो’ को आयोजना गरिनेछ ।

३‍. अन्र्तर्राष्ट्रिय श्रम बजार तथा अन्य प्लेटफर्ममा हासिल गरेको ज्ञान, सीप र पुँजीलाई स्वदेशको विकास र समृद्धिका निम्ति उपयोग गर्न नेपाल सरकार तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुसँग सहकार्य गरिनेछ । अन्तर्राष्ट्रिय आप्रवासन संगठन -आइओएम_ सँग मिलेर हाल विभिन्न १६ देशमा नेपाली श्रमिकको सीप स्केल म्यामिङ सुरु कार्य सुरु भइसकेको छ । उक्त कार्यलाई थप बिस्तार गरिनेछ । विदेशबाट स्वदेश फर्केर आउनेहरुका लागि पुर्नएकीकरण तथा सीपसहितको स्वरोजगारको व्यवस्थाका लागि नेपाल सरकारसँग सहकार्य गरिनेछ । साथै श्रमिकका लागि छुट्टै श्रम तथा सीप बैंक स्थापनाका लागि पहल गरिनेछ ।

४‍. गैरआवासीय नेपालीहरुले लामो समयदेखि अपेक्षा गरिरहेको गैरआवासीय नागरिकताको सुनिश्चिता गर्न पहल गरिनेछ साथै प्राप्त उपलब्धिलाई रक्षा गर्दै वंशजमा आधारित नागरिकता निरन्तरता लगायतको व्यवस्था गर्न थप पहल गरिनेछ ।

५‍. गैरआवासीय नेपालीको नेपालमा रहेको सम्पत्तिको सुरक्षाका लागि कानूनी व्यवस्था मिलाउनको लागि गैरआवासीय नेपाली सम्बन्धी ऐनलाई आगामी संसद् अधिवेशन मार्फत टुंग्गोमा पु-याउन नेपाल सरकारसँग पहल गरिनेछ । सो ऐनमार्फत नेपाली मुल भएका तर पुस्तौँदेखि विदेशमा बसोबास गर्दै आएका नेपाली समुदाय (म्यानमार, थाइल्यान्ड, मलेसिया, मौरिसस, बु्रनाइ लगायतका मुलुकमा रहेका) नेपाली भाषीलाई पनि एनआरएन कार्डको माध्यमबाट कानूनी आधारसहित नेपालसँग जोड्न प्रयत्न गरिनेछ ।

६‍. नेपालमा लगानी भित्र्याउने उद्देश्यले स्थापना गरिएको एनआरएन नेपाल डेभलपमेन्ट फण्डलाई अघि बढाइनेछ । हाल १० अर्ब सुरुवाती पूँजी रहेको यस फण्डलाई आगामी दिनमा थप बृहत बनाइनेछ । र, वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई सो फण्डमा (आइपीओ मार्फत) जोडिनेछ । त्यसमा गैरआवासीय नेपालीलाई जोड्न ६ वटै रिजनमा नेपाली समुदायको बाहुल्य रहेको स्थान रोड शो गरिनेछ ।

७‍. गैरआवासीय नेपाली र स्वदेशमा रहेका युवाको नवीन सोच, ज्ञान र उत्साहलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्न एनआरएन नेपाल डेभलपमेन्ट क्षेत्रीय फण्ड र सम्बद्ध वित्तीय निकायहरूबाट लगानीको व्यवस्था गरिनेछ । ‘संयुक्त स्टार्टअप’ कार्यक्रम सञ्चालनका लागि कार्यविधि बनाउने र क्रमशः कार्यान्वयन गरिनेछ ।

८‍. गैरआवासीय नेपाली संघमा महिला र युवाको थप सहभागिताका लागि विभिन्न कार्यक्रम ल्याइनेछ ।

९‍. आसन्न तेस्रो ज्ञान सीप तथा विज्ञ सम्मेलनलाई थप प्रभावकारी र सहभागीतामुलक बनाई निरन्तरता दिइनेछ । विधानले व्यवस्था गरको NRNA Academy NRNA Professional and Academic Unit को स्थापन गरी संसारभरि छरिएर रहेका पेशागत गैरआवासीय नेपालीहरु (डाक्टर, नर्स, ईन्जिनियर, वैज्ञानिक, प्राज्ञ, सोधकर्ता आदि) लाई संघमा आवद्ध गरिनेछ ।

१०‍. नेपालका विश्वविद्यालय, शैक्षिक तथा व्यवसायिक संस्थाहरुमा इन्र्टनसीप (Internship) गर्न सक्ने व्यवस्था मिलाइनेछ । दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरुलाई नेपालको राष्ट्रिय खेलकूद प्रतियोगितामा भाग लिन प्रेरित गरिनेछ । साथै स्पोर्ट एकेडेमीलाई पुनर्रसंरचना गरिनेछ । १२‍. गैरआवासीय नेपाली संघको सक्रियतामा बन्न लागेका ब्लड बस, स्मार्ट तथा छात्रा शौचालय, अक्सिजन प्लान्ट, एक एनसीसी, एक प्रोजोक्ट, डलर खाता,पढ्दै पढाउदै, एक सडक बाबालिका – एक प्रवासीका सहारा छात्र, महिला स्वास्थ्य, प्राविधिक शिक्षा लगायतका परियोजनालाई थप प्रभावकारी बनाउँदै ११ औं महाधिवेशन अगावै सम्पन्न गर्ने प्रयास गरिनेछ ।

११. अध्यावधिक निर्वाचनको सुनिश्चितताको लागि संशोधित विधानले परिकल्पना गरेका सदस्यता अनुगमन समिति, निर्वाचन अनुगमन समिति र न्यायिक समितिहरुको गठन गरि यथेचित समयमा पारदर्शी र स्वच्छ, निष्पक्ष निर्वाचन सम्पन्न गरिनेछ ।

१२. स्मार्ट एनआरएन परियोजनाका विविध आयामलाई सबलीकरण गर्दै “मेम्बरसीप बेनीफिट” कार्यक्रमलाई कार्यान्वयन गरिनेछ ।

१३. गैरआवासीय नेपाली संघ अन्तर्गतका ६ वटै क्षेत्रमा दुई वर्षमा कम्तीमा एक पटक क्षेत्रीय बैठक गर्न प्रोत्साहन गरिनेछ साथै संघका प्रस्तावित क्षेत्रीय सम्मेलनलाई परिणामुखी र पारदर्शी बनाइनेछ ।

१४. राष्ट्रिय समन्वय परिषद् (एनसीसी) र अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) बीचको सहकार्य, समन्वय र साझेदारीलाई थप दर्विलो बनाइनेछ । प्रभावकारी सूचना प्रणालीको स्थापना गर्दै एनसीसीहरुलाई थप प्रोत्साहन गर्दै सबलीकरणका कार्यक्रमहरु ल्याईनेछ ।

१५. गैरआवासीय नेपाली संघको काठमान्डौस्थित सचिवालायलाई थप व्यवस्थित गरिनेछ । साथै आर्थिक दिगोपना र पारदर्शिता कायम गरिनेछ ।

१६. गैरआवासीय नेपाली संघको २० औं स्थापना दिवस भव्य रुपमा मनाइनेछ । उक्त अवसरमा गैरआवासीय नेपाली अभियानमा योगदान पुर्याउनु भएका व्यक्तित्वहरुको सम्मानार्थ Reflect & Respect विषयक कार्यक्रम गरिनेछ । अभियानले दुई दशकमा प्राप्त गरेका सफलताहरु समेटेर विशेष प्रकाशन गरिनेछ ।

१७. अन्त्यमा, तपाईहरुको साथ समर्थन विश्वास र भरोसासहित आगामी दिनमा सहयोगको अपेक्षा गर्दछु ।

भवदीय,

डा. बद्री केसी

अध्यक्ष

गैरआवासीय नेपाली संघ

७ अप्रिल २०२३

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित