काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को शेष घलेले आयोजना गरेको एकता महाधिवेशनबाट महेशकुमार श्रेष्ठ एनआरएनए घले समूहको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । श्रेष्ठ अघिल्लो महाधिवेशनमा कांग्रेसको आधिकारिक उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दा वर्तमान अध्यक्ष डा. बद्री केसीसंग पराजित भइ तेस्रो स्थानमा सिमित भएका थिए ।
अघिल्लो निर्वाचनमा निकटतम प्रतिस्पर्धीको रूपमा दोश्रो भएका माओवादी समर्थित आरके शर्मालाई अन्यायपूर्वक गलहत्याए पछि आफुलाइ घोर अन्याय भएको भन्दै उनी असन्तुष्ट बनेको जनाइएको छ । शर्माले संस्थापन पक्षका अध्यक्ष डा. बद्री केसीसग भेट्न प्रयास गरेको बताइएको छ ।
श्रेष्ठलाई संघका पूर्वअध्यक्ष तथा सर्वोच्च अदालतको परमादेशअनुसार गठन भएको उच्चस्तरीय समिति संयोजक डा. शेष घलेले परराष्ट्रमन्त्री आरजु राणा देउवाको सक्रिय सिफारिसमा अध्यक्षको रूपमा चयन गरेका हुन्। १० औँ महाधिवेशनको परिणाम अस्वीकार गर्दै आएका श्रेष्ठ अहिले घले समूहको नेतृत्व सम्हाल्ने भएका छन्।
स्रोतका अनुसार परराष्ट्रमन्त्री आरजु राणा देउवाको सक्रिय पहल र दबाबमा श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष बनाइएको हो। मन्त्री देउवाले शेष घले समूहद्वारा प्रस्तावित अधिवेशनबाट एकता सम्भव नहुने भन्दै गत साता सर्वोच्च अदालतमा निवेदन दिएकी थिइन्। तर, शनिबार सम्पन्न एकता अधिवेशनमा श्रेष्ठलाई अध्यक्ष बनाउने सहमतिपछि उनले उद्घाटन समारोहमा समेत सहभागी भइन्।
श्रेष्ठ नेतृत्वको नयाँ कार्यसमितिमा उपाध्यक्षहरूमा खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, सुनिलकुमार साह, मनोज कुमार श्रेष्ठ, विश्वदीप तिगेला लिम्बु र बुद्धिसागर सुवेदी चयन भएका छन्। महिला उपाध्यक्षमा जुनु गुरुङ, महासचिवमा बाबुराम लामा( बिआर) निर्वाचित भएका छन्।
त्यस्तै, सचिवमा टंक गैरे, चिन्तामणि सापकोटा, तिलक गैरे र देवकी गुरुङ चयन भएका छन् भने कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना सर्वसम्मत चयन भएका हुन्। सहकोषाध्यक्षमा कृष्णप्रसाद पोख्रेल चयन भएको प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए।
सर्वोच्च अदालतको दोस्रो आदेशअनुसार डा. बद्री केसीको नेतृत्वमा रहेको कार्यसमितिले आगामी अक्टोबरसम्म काम गर्न पाउने छ। यद्यपि, एकता महाधिवेशनपछि अब एनआरएनएभित्र दुई फरक कार्यसमिति औपचारिक रूपमा कायम भएको छ।
यसैबीच, डा. बद्री केसी नेतृत्वको कार्यसमितिले आफ्नो औपचारिक धारणा सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ।
‘एकता महाधिवेशन’ को नाम दिइएको यो अधिवेशनलाई हालको कार्यसमिति, संस्थापक सदस्यहरू, विश्वभरका केही राष्ट्रिय समन्वय परिषद् (एनसीसी) तथा उच्चस्तरीय समितिका आठ जना पदाधिकारीहरूले बहिष्कार गरेका छन्।
यसैबीच, एनआरएनएका निर्वाचित अध्यक्ष डा. बद्री केसी तथा अन्य पदाधिकारीहरू संघको आगामी कार्ययोजनाबारे आन्तरिक छलफलमा जुटिरहेका छन्। सर्वोच्च अदालतको दोस्रो आदेशअनुसार डा. केसीले आगामी अक्टोबरसम्म अध्यक्ष पदमा कार्य गर्ने छन्।
FOUNDER/CHIEF EDITOR :