अध्यक्षमा डा. हेमराज शर्माको उम्मेदवारी घोषणा, एनआरएनएको रिब्राण्डिङ्ग मुख्य एजेन्डा, कस्तो छ शर्माको रिब्राण्डिङ्ग रोडम्याप ?

अध्यक्षमा डा. हेमराज शर्माको उम्मेदवारी घोषणा, एनआरएनएको रिब्राण्डिङ्ग मुख्य एजेन्डा, कस्तो छ शर्माको रिब्राण्डिङ्ग रोडम्याप ?
www.europenepalikhabar.com २०८२ माघ २५ गते आइतबार, 8-02-2026


युरोपनेपाली खबर ।

लिस्बन, पोर्चुगल । गैरआवासीय नेपाली संघको अध्यक्ष पदमा डा. हेमराज शर्माले उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् । डा. शर्माले एनआरएनएको रिब्राण्डिङ्ग लागि १३बुँदे रोडम्यापसहित नेपाली डायस्पोराको साझा शक्तिशाली संस्था बनाउने परिकल्पना गर्दै आइतबार भर्चुअल कार्यक्रम मार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वको लागि आगामी मार्च १४ देखि १६ सम्म काठमाडौंमा १२औं महाधिवेशनमार्फत निर्वाचन हुने कार्यतालिका तय गरिएको छ ।

बेलायतस्थित लिभरपुल विश्वविद्यालयमा भौतिक शास्त्रका प्राध्यापक डा. शर्माले विगतमाभन्दा फरक पृष्ठभूमिको नेतृत्वलाई हेरौं भन्दै आसन्न १२औं महाधिवेशनमार्फत अध्यक्ष पदमा निर्वाचित भई फरक र नवीन दृष्टिकोणसहित एनआरएनएको रिब्रान्डिङ गर्ने प्रतिबद्धता व्यक्त गरे । गैरआवासीय नेपाली संघको स्थापनाकालदेखि संस्थामा सक्रिय डा. शर्माले संघको अभियानकै परिणामस्वरूप नेपाल सरकारले गैरआवासीय नेपाली सम्बन्धी ऐन, नागरिकता, लगानी, आप्रवासी श्रमिकसँग सम्बन्धित सामाजिक सुरक्षालगायत महत्त्वपूर्ण मुद्दाहरू सम्बोधन गरेको बताए ।


संघका करिब ५० भन्दा बढी राष्ट्रिय समितिहरुलाई साक्षी राखेर आफ्नो उम्मेदवारी घोषणा गर्दै डा. शर्माले संस्थापनाकालको दांजोमा प्रविधिको तीव्र छलाङ, देशको बदलिएको राजनीतिक परिदृश्य, विश्व अर्थतन्त्रको रूपान्तरण, दोस्रो पुस्ताका एनआरएनहरूको बढ्दो संख्या र उनीहरूको नेपालप्रतिको संभावित दूरी, साथै नयाँ गन्तव्य देशमा जाने नेपालीहरूको निरन्तर वृद्धिले आफूहरुलाई नितान्त फरक परिस्थितिमा ल्याएको बताए । उनले गैरआवासीय नेपाली संघको वर्तमान चुनौतीहरूलाई आत्मसात गर्दै आगामी कार्यकालका लागि एनआरएनए अन्तरराष्ट्रिय समन्वय परिषद्को अध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गरेको बताए । आफ्नो १३ बुँदे घोषणापत्रमार्फत एकीकृत, समावेशी, प्रविधियुक्त, परिणाममुखी, दिगो, गतिशील, उत्तरदायी, पारदर्शी र निष्ठावान एनआरएनए, बहुआयामिक ज्ञान, सीप, एनआरएनका लागि एनआरएन, नेपाल सरकारको भरपर्दो साझेदार र नव प्रवर्तनका लागि एनआरएनए बनाउने उनले प्रतिबद्धता जनाए ।

उम्मेदवारी घोषणा सभाको सञ्चालन चेक रिपब्लिकबाट डा. चिरञ्जिवी खड्का, कोरियाबाट डा बिमल सुवेदी लगायतले गरेका थिए ।


एनसीसी युके अध्यक्ष राजेन्द्र पुडासैनीले स्वागत मन्तव्य राख्दै एनआरएनएको साख राख्नेगरी अघि बढ्न शुभकामना दिए । यसका लागि विधानमा रहेका छिद्रहरु संशोधन गरेर अघि बढ्न उनले सुझाए । संस्थालाई राजनीतिभन्दा सामाजिक र परोपकारी भूमिकामा अगाडि बढाउनुपर्ने र गैरआवासीय नेपालीको समस्या सम्बोधन गर्नेगरी अगाडि जानुपर्ने उनको भनाइ थियो । विग्रेको छवि सुधारेर संस्थाको भूमिका प्रभावकारी बनाउने, अध्यक्षको रुपमा पारदर्शी, अनुशासित र सबैको एउटै अपनत्व हुने संस्था हुन सकोस् भनेर शुभकामना दिँदै एनआरएनएलाई एक ढिक्का बनाएर लैजाने टिम बनाउन उनले सुझाव दिए । हङकङबाट आईसीसी महिला सचिव टिका गुरुङ (राधिका)ले सबैलाई समेटेर अगाडि बढ्न शुभकामना दिइन् ।


पूर्वसांसद डा सूर्य पाठकले विधि विधान बनाउन मेहनत गर्ने तथा विधानको अक्षरश: पालना गर्न कटिबद्ध रहने शर्मालाई एनआरएनएले अध्यक्षको रुपमा पाउँदा संस्थाको गरिमा बढ्ने बताए । उनले संस्थामा आशा, भरोसा र विश्वास जगाउन सकेका शर्मालाई सर्वसम्मत अध्यक्ष पाउँदा अझ बलियो र एकताबद्ध एनआरएनए बनाउन सकिने भन्दै शुभकामना दिए । एनआरएनएलाई रिब्राण्डिङ गर्ने नवीन सोच राखेर आएको शर्माको घोषणापत्रले एनआरएनएलाई गौरवशाली संस्थाको रुपमा विकास गर्ने उनले विश्वास व्यक्त गरे । साझा हितको लागि उपयुक्त व्यक्ति, ३० वर्षदेखि संस्थामा काम गरेको व्यक्ति भएकाले पनि उनी १२औं महाधिवेशनबाट निर्वाचित हुने विश्वास व्यक्त गरे ।


पूर्वमन्त्री दिनानाथ शर्माले एनआरएनएलाई अगाडि बढाउन डा. शर्माको एजेण्डा उपयोगी भएको बताए । डा. शर्मालाई आफूले पढाएको इमान्दार, लगनशील विद्यार्थी भन्दै अध्यक्ष पदमा निर्वाचित हुन शुभकामना दिए । एनआरएनएलाई सम्हालेर लैजाने, सबै विचारलाई समेटेर छाता संस्थाको रुपमा अगाडि बढाउन, संयोजन र समायोजन गरेर लैजान शर्मा सक्षम रहेको उनको भनाइ थियो ।

एनआरएनएका संस्थापक महासचिव भीम उदासले डा शर्माको घोषणापत्र एनआरएनए आन्दोलनका लागि ‘कम्प्रिहेन्सिभ रोडम्याप’ भएको बताए । यति राम्रोसँग अहिलेसम्म कुनै उम्मेदवारले घोषणापत्र नल्याएको उनको भनाइ थियो । घोषणापत्रमा उल्लेखित सबै एजेण्डा शर्माको कार्यकालमा पूरा हुन सकोस् भन्ने शुभकामना दिंदै उनले अन्तरराष्ट्रिय स्तरमा एनआरएनएको छवि बनाउन शर्मालाई निर्विरोध अध्यक्ष बनाउन आह्वान पनि गरे ।

गण्डकी प्रदेश सांसद डिल्लीराम सुवेदीले पनि शर्मा नेपालको विकासका लागि सधैं चिन्तनशील रहने एक अब्बल र योग्य व्यक्तित्व रहेको भन्दै शुभकामना दिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठले संघको आगामी निर्वाचन परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार नै सम्पन्न हुने स्पष्ट पारे ।

गैरआवासीय नेपाली संघका अध्यक्ष पदका प्रत्यासी डा. हेमराज शर्माको उम्मेदवारी घोषणा सभालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले अधिकतम प्रतिनिधिहरूलाई काठमाडौँमा उपस्थित गराई निर्वाचन सम्पन्न गर्ने प्रयास गरिने बताएका हुन् । उनले परराष्ट्र मन्त्रालयले एनआरएनएको १२औँ महाधिवेशन तथा निर्वाचन प्रक्रियाबारे स्पष्ट निर्देशन दिएको उल्लेख गर्दै सोही निर्देशनअनुसार कार्यविधि तयार गरी निर्वाचन गरिने बताए ।

“परराष्ट्र मन्त्रालयले अधिकतम उपस्थितिका साथ निर्वाचन गर्न निर्देशन दिएको छ,” अध्यक्ष श्रेष्ठले भने, “हामी सोही अनुसार कार्यविधि बनाएर निर्वाचन सम्पन्न गर्छौँ ।”

डा. हेमराज शर्माको उम्मेदवारीप्रति शुभकामना व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले डा. शर्माको उम्मेदवारी सकारात्मक र ऊर्जाशील रहेको बताए । उनले डा. शर्मासँगको लामो सहकार्य स्मरण गर्दै लोकतान्त्रिक अभियानमा उहाँको योगदान उल्लेख गरे ।

उम्मेदवारी घोषणासभामा जोडिएका विश्वभरका एनआरएनए प्रतिनिधि तथा सदस्यहरुले पनि शर्मालाई शुभकामना दिएका थिए ।

८ घण्टा बढी लामो चलेको सो कार्यक्रममा संघका ५० भन्दा बढी देशका ६ सय भन्दा बढी प्रतिनिधिको उपस्थिति थियो ।

एनआरएनएका ६३ वटा एनसीसीले १२ औं महाधिवेशनका लागि डेलिगेट्स छनोट प्रक्रिया सुरु गरि सकेका छन् ।

कार्यक्रममा पत्रकारहरुसंग अन्तरक्रिया पनि राखिएको थियो। पत्रकारहरुका जिज्ञासाको जवाफ दिंदै डा. शर्माले संस्थालाई समय सान्दर्भिक बनाउन र संघमा रुपान्तरण आवश्यक छ भनेर महासचिव हुँदादेखि नै सक्रिय रहेको र त्यसलाई मूर्त रुप दिन अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताए ।

संस्थालाई बलियो बनाउने र ब्राण्डिङ गर्ने, संस्थाको संरचना, निर्वाचन प्रणाली र राजनीतिक हस्तक्षेप नै अहिले समस्या रहेको भन्दै आइसिसीमा प्रत्यक्ष तथा विद्युतीय माध्यमबाट मतदान गर्न पाउने, गैरआवासीय नेपाली ऐन संशोधन, सदस्यता वितरण र नवीकरण एआईबाट गर्नेलगायतका एजेण्डा उनले अघि सारेका छन् ।

रिब्राण्डिङका लागि संस्थागत पुनर्संरचना

संघमा गैरआवासीय नेपालीहरूको न्यून सहभागिताको कारण हालको संस्थागत संरचना, निर्वाचन प्रणाली र राजनीतिक हस्तक्षेप हुन्। त्यसैले सबैलाई समेट्ने प्रतिनिधिमूलक संस्था बनाउन निम्न संरचनात्मक परिवर्तन प्रस्ताव गरिन्छः

• संघको घट्दो सार्वजनिक छविलाई सुधार्दै एनआरएनएको विश्वसनीयता पुनर्स्थापना गर्न, हालै भएको बृहत् एकताको सहमतिलाई तार्किक निष्कर्षमा पुर्याउनु ईमानदार र रचनात्मक पहल गरिनेछ।

• संघलाई आर्थिक, राजनीतिक तथा अन्य बाह्य नकारात्मक प्रभावबाट जोगाउन अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)को नेतृत्व चयन सम्पूर्ण पञ्जीकृत सदस्यहरूले अनलाइनमार्फत प्रत्यक्ष मतदानबाट गरिनेछ। सबै राष्ट्रिय समन्वय परिषद (एनसीसी)हरूको योगदानको कदर गर्दै ‘इलेक्टोरल कलेज’ पद्धति अपनाइनेछ।

• संघका आन्तरिक मामलामा परराष्ट्र मन्त्रालयको राजनीतिक प्रभाव कम गर्न गैरआवासीय नेपाली सम्बन्धी ऐनमा संशोधनको पहल गरिनेछ, साथै अन्य वैकल्पिक उपायहरूको खोजी पनि गरिनेछ।

• एनआरएनए फाउण्डेसन विदेशमा दर्ता गरी परोपकारी कार्यक्रमहरू यसै फाउण्डेसनमार्फत सञ्चालन गरिनेछ।

• संस्थाको विभागीय संरचना थप प्रभावकारी बनाइनेछ। युवा, महिला, वैदेशिक रोजगार, लगानी, मानव कल्याण, एनआरएन हक हित, तथा नेपाल प्रवर्द्धन विभागहरूको नेतृत्व उपाध्यक्षहरूले गर्ने व्यवस्था गरिनेछ। पदाधिकारी तथा सदस्यहरूलाई उनीहरूको दक्षताअनुसार विभागीय सदस्य बनाइनेछ।

• सम्बन्धित क्षेत्रमा दक्षता हासिल गरेका व्यक्तिहरू विभागीय उपाध्यक्षको नेतृत्वमा चयन हुने सुनिश्चित गर्न विभागीय उपाध्यक्षको छुट्टाछुट्टै निर्वाचन गरिनेछ। साथै, वैदेशिक रोजगार विभागको नेतृत्व वैदेशिक रोजगारीमा रहेका मध्यपूर्व लगायतका देशका व्यक्तिहरूले गर्ने सुनिश्चित गरिनेछ।

• हालको विधानअनुसार संसारभरि रहेका पेशागत गैरआवासीय नेपालीहरू (जस्तै: डाक्टर, नर्स, इन्जिनियर, वैज्ञानिक, प्राध्यापक, अनुसन्धानकर्ता आदि) लाई समेटेरपेशागत तथा प्राज्ञिक परिषद् (Professional and Academic Council, PAC) गठन गरिनेछ। यस परिषद्को मुख्य उद्देश्य उनीहरूले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र बौद्धिकता नेपाल र विश्वभरका गैरआवासीय नेपालीहरूको हितमा उपयोग गर्नु हुनेछ। यस परिषद्को अधिकारएनसीसी सरह हुनेछ तथा स्वायत्त ढंगले कार्य गर्नेछ, र यसको अध्यक्ष (संयोजक) आइसीसी उपाध्यक्ष तथा प्राज्ञिक विभाग प्रमुखहुने व्यवस्था गरिनेछ।

• एनआरएनएको अन्तर्राष्ट्रिय उपस्थितिलाई मजबुत बनाउन नेपालस्थित विदेशी कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय संस्थाहरूसँग संवाद र सहकार्य गर्ने जिम्मेवारीसहित ‘अन्तर्राष्ट्रिय सम्बन्ध विभाग’ गठन गरिनेछ।

• हाल कायम रहेको आफैं सदस्यता प्रमाणिकरण गर्ने, आफैं निर्वाचन समिति गठन गर्ने र आफैं उम्मेदवार बन्ने परिपाटीले संघमा गुटबन्दी र दलगत राजनीतिको प्रभाव बढाएको छ। यसलाई अन्त्य गर्न सदस्यता प्रमाणिकरण पूर्ण रूपमा Artificial Intelligence Technology को प्रयोगबाट गरिनेछ भने निर्वाचन र सदस्यता व्यवस्थापन (Membership Management System, MIS सहित)का लागि एक स्थायी र स्वायत्त निकाय गठन गरिनेछ।

• निर्वाचन समिति, अनुशासन समिति, विधान समिति, न्यायीक समिति जस्ता स्थाई प्रकारका समितिहरु स्वतन्त्र रहुन भन्ने उद्देश्यले यी समितिहरु साधारणसभाबाट गठन गर्ने व्यवस्था गरिनेछ।

२) गैरआवासीय नेपालीका हक, हित र अधिकार

एनआरएनका लागि एनआरएन’ भन्ने मुलमर्मका साथ गैरआवासीय नेपाली समुदायको हकहितसँग जोडिएका निम्न योजनाहरू प्रस्ताव गरिन्छः

• वंशजको नागरिकता कायम राख्न र हालको संविधानअनुसार गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिहरूले राजनीतिक अधिकारबाहेक अन्य सबै अधिकार आम नेपाली सरह प्राप्त गर्न र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न सरकारसँग निरन्तर पैरवी गरिनेछ।

• सर्वोच्च अदालतको फैसला अनुसार नेपालको आम निर्वाचनमा विदेशमा बसोबास गर्ने साविकका नेपाली नागरिकहरूलाई विदेशबाटै मतदान गर्न सक्ने व्यवस्था गर्न सरकारसँग सहकार्य गरिनेछ।

• थाइल्याण्ड, बर्मा, फिजी, मलेसिया लगायतका देशमा रहेका नेपालीमुलका व्यक्तिहरू (People of Nepali Origin)लाई नेपालसँग जोड्ने प्रावधान प्रस्तावित गैरआवासीय नेपाली सम्बन्धी ऐन समावेश गर्न पैरवी गरिनेछ।

• विदेशमा बस्ने साविकका नेपाली नागरिकका केही अधिकार सीमित गर्ने नेपालको संविधानको धारा २९१ संशोधन गर्न पहल गरिनेछ।

• ब्रिटिश गोर्खा सैनिकका हकहितसम्बन्धी मुद्दाहरू नेपाल सरकार र बेलायत सरकारसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्न संघले गोर्खा सैनिकका अभियानमा संलग्न संघ–संस्थासँग सहकार्य बढाईनेछ।

• गैरआवासीय नेपालीहरूलाई नेपालका अड्डा–अदालत तथा प्रशासनिक निकायहरूसँग सम्बन्धित कानुनी, प्रक्रियागत तथा व्यवहारिक समस्यामा प्रभावकारी परामर्श, सहजीकरण र सहयोग प्रदान गर्न‘एनआरएनए कानुनी तथा प्रशासनिक परामर्श केन्द्र’स्थापना गरिनेछ।

३) सुरक्षित, मर्यादित र सिपमूलक वैदेशिक रोजगारी

वैदेशिक रोजगारमा जाने नेपालीहरूको सामाजिक सुरक्षा, राहत र सीपको विकासका लागि निम्न कार्यक्रमहरू सञ्चालन गरिनेछन्:

• आकस्मिक मृत्यु, दुर्घटना वा अन्य विपद्मा परेका श्रमिकका परिवारलाई कानुनी सहयोग उपलब्ध गराउनतथा श्रमिकको समस्याको संवोधनका लागि काठमाडौँ सचिवालयमा छुट्टै कर्मचारीको व्यवस्था गरिनेछ।

• गन्तव्य मुलुकको कानुनी ज्ञान र सचेतनाको अभावका कारण धेरैजसो कामदारले आफ्ना हक–अधिकार, न्याय र क्षतिपूर्ति पाउन सकेका छैनन्, साथै विभिन्न दुर्घटनामा परेर ज्यानसम्म गुमाउन परेको छ। यी समस्यालाई सम्बोधन गर्ने उद्देश्यले नेपाल सरकार र सम्बन्धित निकायहरूसँग सहकार्यमा, वैदेशिक रोजगारीमा जानु अघि कामदारहरूलाई गन्तव्य मुलुकबारे जानकारी दिने ‘ओरिएन्टेशन कार्यक्रम’ सञ्चालन गरिनेछ।

• Smart NRNA Apps मा LLM-powered chatbot एकीकृत गरी वैदेशिक रोजगारमा गएका कामदारहरूको जिज्ञासा र समस्याको रियल-टाइममा सुझाव उपलब्ध गराइने व्यवस्था गरिनेछ, जसले गर्दा नेपालस्थित कार्यालय समय र कर्मचारीमा मात्र निर्भर रहन नपरोस्।

• वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा जेल परेका नेपाली कामदारहरूको समस्या समाधान गर्न पहल गरिने छ। साथै,मध्यपूर्वमा मृत्युवरण गरेका कामदारहरूको शव छिटो र सहज रूपमा स्वदेश ल्याउने तथा उनीहरूले पाउनुपर्ने क्षतिपूर्ति शीघ्र उपलब्ध गराउने सुनिश्चितताका लागि विशेष ‘श्रमिक राहत कार्यदल’तुरुन्त गठन गरी प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ।

• मध्यपूर्व, पूर्व–एशिया र पूर्वी युरोपमा अदक्ष तथा अर्ध–दक्ष कामदारको चाप बढ्दै गएको छ। केही कामदार कुलतमा फस्दा नेपाली कामदारको छवि मात्र होइन, उनीहरूको शारीरिक र मानसिक स्वास्थ्य दुवैमा नकारात्मक असर परेको छ। यसलाई रोक्न ‘सचेतना कार्यक्रम’ सञ्चालन गरिनेछ।

• असुरक्षित तथा अवैध मार्गबाट वैदेशिक रोजगारीमा जाने प्रवृत्ति न्यूनीकरण गर्न नेपाल सरकारसँग सहकार्य गरिनेछ।

• हाल सञ्चालनमा रहेको ‘वैदेशिक रोजगार राहत कोष’ वृद्धि गरिनेछ। यसका लागि पञ्जीकृत सदस्य शुल्कबाट १ डलर छुट्याउने व्यवस्था गरिनेछ।

• सामाजिक सुरक्षाकोषमा बढीभन्दा बढी गैरआवासीय नेपालीहरूलाई समाहित गर्न ‘रोडसो कार्यक्रम’सञ्चालन गरिनेछ।

• प्रस्तावित रु १० अर्बको संयुक्त लगानी कोषमा Initial Public Offering (IPO) मार्फत थोरै आम्दानी हुने र वैदेशिक रोजगारमा रहेका नेपालीहरूले पनि लगानी गर्न सक्ने वातावरण तयार गरिनेछ।

• मध्यपूर्व, मलेसिया, कोरिया लगायतका मुलुकमा कार्यरत नेपाली कामदारहरूको सीप र दक्षताको अभिलेखिकरण गर्न एनआरएनए रअन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (IOM) को सहकार्यमा नेपाल फर्किने गैरआवासीय नेपालीहरूकोSkill Mappingको पाइलट प्रोजेक्ट विस्तार गरिनेछ।साथै, उनीहरू स्वदेश फर्केपछि रोजगारीको सुनिश्चितताका लागि सम्बन्धित संस्थाहरुसँग सहकार्य गरी ‘रिटर्नी इमिग्रान्ट कार्यक्रम’ सङंचालन गरिनेछ।

• अन्तर्राष्ट्रिय श्रम संगठन (ILO), संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) जस्ता अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दै श्रमिकहरूको समस्याको समाधानमा पहल गरिनेछ। साथै, नेपाली कामदारका लागि बढी आम्दानी र सुरक्षित गन्तव्य देशहरूको खोजी तथा ‘आप्रवासी श्रमिकहरूको क्षमता अभिवृद्धि’गर्न सहयोग प्रदान गरिनेछ।

• मानव ओसारपसार र अवैध धन्दामा संलग्न व्यक्तिहरूलाई संघको कुनै पनि निकायमा पदाधिकारी बन्नदुरुत्साहित गरिनेछ।

४) नेपालमा आर्थिक लगानी

गैरआवासीय नेपालीहरूले आर्जन गरेको पुँजी र वैदेशिक लगानी आकर्षित गर्न निम्नानुसार पहल गरिनेछः

• दोहोरो कर प्रणाली अन्त्यका लागि नेपाल सरकार र सम्बन्धित मुलुकबीच समझदारी गराउन एनआरएनएले सेतुको भूमिका खेल्नेछ।

• नेपालमा लगानी भित्र्याउने उद्देश्यले नेपाल सरकारको समेत लगानी रहेको रु. १० अर्बको ‘नेपाल डेभलपमेन्ट फण्ड’लाई आगामी दिनमा अझ बृहत् बनाउन सहयोग गरिनेछ।

• नेपालमा लगानीमैत्री वातावरण सिर्जना गर्न, गैरआवासीय नेपालीहरूले पूँजी बजारमा सजिलै लगानी गर्न सक्ने वातावरण बनाउन र समष्टिगत आर्थिक स्थिरता हासिल गर्न नेपाल सरकारको मौद्रिक नीति व्यवहारिक बनाउन पैरवी गरिनेछ।

• नेपालमा रोजगारी, उद्यमशीलता र पूर्वाधार विकासमा गैरआवासीय नेपालीको लगानी, ज्ञान, सीप र प्रविधि प्रोत्साहन गर्न कानूनी र नीतिगत सुधार गरी लगानी सहजीकरण, धितोपत्र बजारमा पहुँच र वैदेशिक रोजगारीबाट आउने विप्रेषणमा अनुदान सुनिश्चित गर्न नेपाल सरकारसँग पैरवी गरिनेछ।

• गैरआवासीय नेपाली विज्ञ र उद्यमीहरूलाई परिचालन गरेर नेपालमा AI क्षेत्रमा लक्षित लगानी गर्न प्रोत्साहन गरिनेछ। AI सम्बन्धी ज्ञान, नवप्रवर्तन र पूर्वाधारलाई सुदृढ बनाउन नेपाल सरकार र निजी क्षेत्रसँग साझेदारी निर्माण गर्ने वातावरण तयार गर्न पहल गरिनेछ, जसले गर्दा नेपाल विश्वव्यापी AI विकाससँग कदम मिलाएर अघि बढ्न सकोस्।

• स्टार्टअप गर्न चाहने स्वदेशी युवाहरूलाई सम्भावित गैरआवासीय नेपाली लगानीकर्तासँग समन्वय गराइनेछ।

५) महिला अधिकार, अवसर र सशक्तिकरण

गैरआवासीय नेपाली महिलाको अवसर विस्तार, अधिकार सुनिश्चितता र सामाजिक सुरक्षाका लागि निम्न कार्यक्रमहरू अघि सारिनेछन्–

• गैरआवासीय नेपाली महिलाको नेतृत्व र सहभागिता सुनिश्चित गर्न, एनआरएनएको सबै संरचनामा न्यूनतम ३३% महिला प्रतिनिधित्व कायम गरिनेछ।

• विदेशी नागरिकसँग विवाह गरेका नेपाली आमाबाट जन्मिएका सन्तानले नागरिकता सहज रूपमा प्राप्त गर्न सकून् भन्ने सुनिश्चितताका लागि नेपाल सरकारसँग पैरवी गरिनेछ।

• वैदेशिक रोजगार वा अन्य कारणले समस्यामा परेका महिलालाई तत्काल सहयोग, कानुनी सहायता र संरक्षण उपलब्ध गराउन‘वैदेशिक रोजगार राहत कोष’परिचालन गरिनेछ।

• वैदेशिक रोजगारमा गएका महिलाले भोग्न सक्ने मानसिक स्वास्थ्य समस्या, महिला हिंसा र घरेलु हिंसामा सहयोग गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ। यसअन्तर्गत ‘मनोवैज्ञानिक परामर्श, सपोर्ट ग्रुप रसाइको–एजुकेशनकार्यक्रम’उपलब्ध गराइनेछ।

६) युवा र दोस्रो पुस्ताको सहभागिता

युवा तथा दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूको सक्रिय सहभागिता वृद्धि गर्ने र उनीहरूको नेपालसँगको सम्बन्धलाई दिगो रूपमा मजबुत बनाउन निम्न कार्यक्रमहरू प्रस्ताव गरिएको छः

• दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूलाई संघ र नेपालसँगको सामीपत्यता कायम राख्न हरेक राष्ट्रिय समन्वय परिषद (NCC) मा छुट्टै निकायको व्यवस्था गरिनेछ।

• दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूलाई नेपालका विश्वविद्यालय, शैक्षिक तथा व्यवसायिक संस्थाहरूमा ‘इन्टर्नशिप (Internship)’र शैक्षिक भ्रमण गर्ने अवसर उपलब्ध गराइनेछ। साथै, ‘Youth Volunteer for Nepal (YV4N)’परियोजना अन्तर्गत उनीहरूलाई नेपालको विभिन्न क्षेत्रमा स्वेच्छिक सेवामा संलग्न हुने अवसर प्रदान गरिनेछ।

• नेपाली भाषाको डिजिटलाइज पाठ्यक्रम तयारी गरी दोश्रो पुस्तालाई भाषा कक्षा सञ्चालन गरिनेछ र उनीहरूलाई नेपालसँग जोड्न विभिन्न सांस्कृतिक तथा शैक्षिक कार्यक्रम आयोजना गरिनेछ।

• हाल विभिन्न एनसीसी र अन्य संघद्वारा विदेशमा सञ्चालन गरिएका फुटबल, भलिबल लगायतका खेलकूद प्रतियोगितालाई एकीकृत गर्दै, एनआरएनए स्पोर्ट्स एकेडेमीमार्फत‘एनआरएनए लिग’आयोजना गर्ने पहल गरिनेछ।

• दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरूलाई नेपालको राष्ट्रिय खेलकूद प्रतियोगितामा भाग लिने व्यवस्था मिलाइनेछ।

• विदेशमा अध्ययन गर्ने विद्यार्थीहरूको सहयोगका लागि एनआरएनए सचिवालयमा ‘परामर्श केन्द्र’स्थापना गरिनेछ।

७) ज्ञान, सिप तथा प्रविधि हस्तान्तरण

गैरआवासीय नेपालीहरूले विदेशमा आर्जन गरेको ज्ञान, सिप र प्रविधि नेपालमा प्रभावकारी रूपमा सदुपयोग गर्न निम्न योजना प्रस्ताव गरिन्छ:

• माथि उल्लेख गरेझैँ, संसारभरका पेशागत गैरआवासीय नेपालीलाई समेटी ‘पेशागत तथा प्राज्ञिक परिषद्’ गठन गरिनेछ।

• हाल सञ्चालनमा रहेका NRNA Academy, Nepal Policy Forum, NRN Science Foundation, Nepal Library Foundation, Vocational Education र प्राविधिक समितिहरूलाईSkill, Knowledge, and Technology Transform (SKTT)विभागमा समन्वय गरी प्रभावकारी बनाइनेछ।

• NRN Global Knowledge Conventionलाई निरन्तरता दिदै यसले सिफारिस गरेका सुझावहरूको कार्यान्वयन गराउन सरकारसँग पहल गरिनेछ। सम्मेलनमार्फत नेपालमाKnowledge-based Economyको विकासका लागि गैरआवासीय नेपालीहरूलाई उत्प्रेरित गरिनेछ।

• Global Knowledge Conventionमा प्रस्तुत शोधपत्रहरू, सिफारिस गरिएका नीतिहरू तथा कार्यक्रमहरूलाई ‘AI-based Electronic Archive’मा राखिनेछ, जसले सदस्यहरू, सरकार, र अनुसन्धानकर्ताहरूलाई नीति निर्माण र नवप्रवर्तनका लागि आवश्यक जानकारी तुरुन्त प्राप्त गर्न सक्षम बनाउनेछ।

• नेपाल सरकार, नेपाली विश्वविद्यालयहरू, अनुसन्धान केन्द्रहरू, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, र नेपालभित्र तथा बाहिर रहेका पेशागत संस्थाहरूसँग सहकार्य गरिनेछ।

• नेपाल सरकारको नीति तथा योजना निर्माण तहमा गैरआवासीय नेपालीहरूलाई प्रतिनिधित्व गराउन पैरवी गरिनेछ।

• नेपाल सरकारले सुरु गरेको Brain Gain Centre र National Academy of Science ले सञ्चालनमा ल्याएकाWho Is Who जस्ता कार्यक्रममा सहकार्य गरिनेछ। साथै, यसमार्फत बढीभन्दा बढी दक्ष तथा विज्ञ गैरआवासीय नेपालीहरुको AI-enabled Electronic Databaseसंकलन गरीउनीहरूको ज्ञान, सीप र अनुभवलाई नेपाल विकासमा प्रभावकारी रूपमा उपयोग गर्ने आधार तयार पारिनेछ।

• ज्ञान, सीप तथा प्रविधिको क्षेत्रमा नेपालमा स्वयंसेवामार्फत योगदान गर्न इच्छुक अवकाशप्राप्त तथा सबाटिकल लिन चाहने विज्ञहरूको सहभागिता सुनिश्चित गर्न सम्बन्धित सरकारी तथा निजी निकायहरूसँग आवश्यक समन्वय गरिनेछ। साथै, उनीहरूको कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न काठमाडौंस्थित सचिवालयमार्फत आवश्यक कार्यकक्ष, बैठक तथा तालिमस्थल, कार्यालय उपकरण, सूचना–प्रविधि सुविधा तथा प्रशासनिक–व्यवस्थापन सहयोग उपलब्ध गराइनेछ।

८) प्रविधियुक्त एनआरएनए

गैरआवासीय नेपाली संघलाई अत्याधुनिक डिजिटल प्रविधियुक्त बनाउन निम्न योजना प्रस्ताव गरिएको छ:

• ‘हात हातमा एनआरएनए’ अभियान अन्तर्गत सबै संघीय गतिविधि Smart NRNA Appमा समावेश गरिनेछ।

• Smart NRNA App मार्फत संघ, पञ्जीकृत सदस्यहरू र गैरआवासीय नेपालीहरूबीच सिधा सम्पर्क स्थापना गरिनेछ।

• अनलाइन भोटिङमा Blockchainप्रविधि प्रयोग गरिनेछ र Face Verificationनिरन्तर अपनाइनेछ।

• संघसँग सम्बन्धित सबै दस्तावेजहरूको ‘AI-based Electronic Archive’ तयार गरिनेछ।

• Membership Benefitकार्यक्रमSmart NRNA Apps मार्फत सञ्चालन गरिनेछ।

• संघको वेब्साइटलाई अत्याधुनिक बनाइनेछ।

• Smart NRNA Apps मार्फत Crowd Fundingको व्यवस्था गरिनेछ।

• संसारभर रहेका गैरआवासीय नेपालीहरूले सञ्चालन गरेका व्यवसायहरूको ‘AI-enabled Electronic Database’तयार गरि Smart NRNA Apps मा उपलब्ध गराइनेछ।

• संघका गतिविधि र कार्यक्रमलाई बढीभन्दा बढी आम गैरआवासीय नेपालीसम्म पुर्याघउन आधुनिक प्रविधि प्रयोग गरी सामाजिक सञ्जालको अधिकतम उपयोग गरेर real-time अपडेट उपलब्ध गराइनेछ।

९) आर्थिक दीगोपन

सचिवालय सञ्चालन र परियोजनाका लागि सदस्यता शुल्क र पदाधिकारीको व्यक्तिगत सहयोगमा भर पर्नु पर्ने स्थितिको अन्त्य गरी, आर्थिक दीगोपन सुनिश्चित गर्न प्रविधि र ज्ञानमा आधारित वैकल्पिक स्रोतहरूको खोजी गर्न निम्न योजना प्रस्ताव गरिन्छ:

• गैरआवासीय नेपाली संघको सञ्जाल प्रयोग गरी सञ्चालनमा आएका वा सञ्चालन गर्न चाहने व्यवसायबाट लाभांशको न्यूनतम प्रतिशत(Corporate Social Responsibilityअन्तर्गत)एनआरएनका लागि छुट्याउने व्यवस्था गरिनेछ।

• माथि उल्लेख गरेझै,संसारभर छरिएका गैरआवासीय नेपालीले सञ्चालन गरेका व्यवसायकोAI-enabled Electronic Databaseतयार गरी, ती व्यवसायलाईSmart NRNA Appsमार्फत नेभिगेट गराएर गैरआवासीय नेपालीसँग जोडिने व्यवस्था गरिनेछ र यसबापत व्यवसायिक संस्थाबाट न्यूनतम शुल्क लिइनेछ।

• संघले हाल सञ्चालन गरेकोMembership Benefitकार्यक्रमलाई प्रभावकारी बनाइ, यसबाट प्राप्त हुने सुविधाको केही अंश संघले प्राप्त गर्ने व्यवस्था गरिनेछ।यसले चुनावबाट प्रेरित भएर मात्र सदस्य बन्ने प्रचलन कम गर्नेछ।

• विगतमासंयुक्त राष्ट्र संघ अन्तर्गतका संस्थासँगको अनुभव उपयोग गर्दै, कल्याणकारी तथा अध्ययन/अनुसन्धान परियोजनाका लागिएनआरएनए फाउण्डेसनमार्फत अन्तर्राष्ट्रिय दातृ निकायसँग सहकार्य गरिनेछ।

• संघले विभिन्न परियोजनामा लगानी गर्दा प्राप्त हुने लाभांश संघले प्राप्त गर्न सक्ने खालको कानून बनाउन नेपाल सरकारसँग पैरवी गरिनेछ।

• Smart NRN Apps मार्फतCrowd Fundingको व्यवस्था गरेर अतिरिक्त स्रोत जुटाइनेछ।

• काठमाडौंस्थित सचिवालय भवनबाट हुने आयश्रोतलाई अझ प्रबावकारी बनाईनेछ। साथै, भवनलाई डायस्पोरा नेपाली र स्वदेशमा बस्ने नेपालीहरूबीच ज्ञान, संवाद र सहकार्यको सेतुका रूपमा विकास गरिनेछ। यस उद्देश्यका लागि ‘एनआरएनए पुस्तकालय’, बैठक तथा अन्तरक्रिया कक्ष, र क्याफेको व्यवस्था गरी ‘NRNA Community Building’ को रुपमा विकसित गरिनेछ।

१०) परोपकारर मानवकल्याणका लागि एनआरएनए

परोपकार र मानवकल्याणका कार्यक्रमहरुलाई संस्थागत र दीगो बनाउन गैरआवासीय नेपाली संघले निम्न कार्यक्रमहरू अघि सारिएकोछ:

• परियोजना छनोटसम्बन्धी नीति बनाईएनआरएनए फाउण्डेसनमार्फत कार्यान्वयन गरिनेछ। परियोजनाको पुनरावलोकन र मूल्याङ्कनका लागि विज्ञहरूको समिति गठन गरिनेछ।

• नेपालमा सञ्चालन हुने ‘एक एनसीसी एक परियोजना’जस्ता कार्यक्रममा एनसीसीहरूबीच सहकार्यको वातावरण तयार गरिनेछ। आवश्यक परे यस्ता परियोजनामा आइसीसीले आर्थिक सहयोग प्रदान गर्न सक्ने व्यवस्था गरिनेछ।

• परियोजनाहरू नेपालका स्थानीय र संघीय सरकारसँग समन्वय र सहकार्यमा सञ्चालन गरिनेछन्।

• नेपालका सातै प्रदेशमा‘मोबाइल ब्लड बस’सञ्चालनमा ल्याइनेछ र ‘सडक बालबालिलाई सहयोग’लगायतका चालु परियोजनाहरूलाई निरन्तरता दिइनेछ।

• हालसम्म नेपालमा बाढी, पहिरो, भूकम्प जस्ता प्राकृतिक विपद् व्यवस्थापन कार्यहरू आवश्यकताको आधार (ad hoc basis) मा सञ्चालन हुँदै आएका छन्। यसलाई रणनीतिक र दीगो बनाउन ‘Relief, Response and Recovery (3Rs)’ अवधारणा अनुसार नीति तयार गरी कार्यान्वयन गरिनेछ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्था, स्थानीयसरकारहरुसँग सहकार्य गरिनेछ र सचिवालयमा ‘विपद् व्यवस्थापन फोकल युनिट’को व्यवस्था गरिनेछ।

११) अन्तर्राष्ट्रियस्तरको बहुआयामिक एनआरएनए

गैरआवासीय नेपाली संघलाई अन्तर्राष्ट्रियस्तरको बहुआयामीक संस्थामा विकास गर्न निम्न कार्यक्रम प्रस्ताव गरिन्छ:

• माथि उल्लेख गरेझै, एनआरएनएको अन्तर्राष्ट्रिय उपस्थितिलाई मजबुत बनाउन कूटनीतिक नियोग र अन्तर्राष्ट्रिय संस्थासँगको संवाद तथा सहकार्यका लागि ‘अन्तर्राष्ट्रिय सम्बन्ध विभाग’ गठन गरिनेछ।

• एनआरएनएलाई संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषदको सदस्यताका लागि पहल गरिनेछ, जसबाट एनआरएनएलाई विश्व मञ्चमा स्थापित गराउन सहयोग पुग्नेछ।

• अन्तर्राष्ट्रिय श्रम संगठन (ILO), अन्तर्राष्ट्रिय आप्रवासन संगठन (IOM) सँगको सहकार्य निरन्तरता दिइनेछ।Global Diaspora Confederation (GDC) सँगको आबद्धता हुँदै अन्तर्राष्ट्रिय आप्रवासी समुदायमा अनुभवको साटासाट गर्दै आप्रवासीका साझा मुद्दाहरूमा सहकार्य गरिनेछ।

• नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायबीच समन्वयको पुलको रूपमा एनआरएनएले काम गर्नेछ।भुमण्डलीकरण (Globalisation) रजलवायु परिवर्तन (Global Warming) जस्ता नेपाललाई प्रत्यक्ष नकारात्मक असर पार्ने विषयमा गैरआवासीय नेपाली र नेपालसँग सरोकार राख्ने विदेशी विज्ञहरू मार्फत सम्बन्धित अन्तर्राष्ट्रिय मञ्चमा आवाज पुर्यासइनेछ।

१२) नेपाली सामान, कला, संस्कृति र पर्यटन प्रवर्द्धन

नेपालमा उत्पादन भएका सामान, नेपाली कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्न निम्न योजनाहरू प्रस्ताव गरिन्छः

• ‘सांस्कृतिक दूत’को रूपमा नेपाली पहिचान, कला र पर्यटनलाई विश्वस्तरमा चिनाउने काममा सबै एनसीसीलाई परिचालन गरिनेछ।

• विदेशमा नेपाली सामान प्रवर्द्धन गर्न संघको संयन्त्र प्रयोग गरिनेछ।

• नेपालीहरूको बसोबास भएका देशमा नेपाली ‘सांस्कृतिक केन्द्र (नेपाल हाउस)’स्थापना गर्न पहल गरिनेछ।

• वार्षिक रूपमा ‘नेपाल फेस्टिवल’ आयोजना गर्ने कार्यमा सबै एनसीसीलाई परिचालित गरिनेछ।

• यसका लागि नेपाल पर्यटन बोर्ड र सम्बन्धित निकायहरूसँग समन्वय गरिनेछ।

१३) परिणाममुखी, उत्तरदायी र पारदर्शी एनआरएनए

संघलाई परिणाममुखी, उत्तरदायी र पारदर्शी बनाउन निम्न योजना रहेकाछनः

• संघको अल्पकालीन र दीर्घकालीन कार्ययोजना तयार गरिनेछ।

• दुईवर्षे कार्ययोजनाको क्यालेन्डर तयार गरिनेछ। आइसीसी र एनसीसीका गतिविधिहरू यिनै कार्ययोजनामा केन्द्रित हुनेछन्।

• संघको काठमाडौँस्थित सचिवालयलाई व्यवस्थित र प्रविधियुक्त बनाइ, कर्मचारीहरूको दक्षता अभिवृद्धि गरिनेछ।

• गैरआवासीय नेपालीहरूले आफू बसेको देशका स्थानीय समुदाय तथा सरकारसँग सहकार्य गर्न सकून् भन्ने हेतुले एनसीसीको क्षमता अभिवृद्धि गरिनेछ।

• आइसीसी र यससँग आवद्ध निकायहरू (एनसीसी, समिति, टास्कफोर्स, क्षेत्रीय संयोजकआदि) बीच प्रभावकारी संवाद र समन्वय सुनिश्चित गरिनेछ।

• संघलाई दीर्घकालीन असर पार्ने र अन्य महत्वपूर्ण निर्णयहरू गर्दासंघका पञ्जीकृत सदस्यहरू,साथैएनसीसी रआइसीसीका कार्यकारी सदस्यहरूसँग परामर्श गर्दै उत्तरदायी बनाइनेछ।

• आर्थिक पारदर्शिता सुनिश्चित गर्नसंघको अनुमानित वार्षिक आय–व्यय तय गरी, खर्चको विवरण प्रत्येक ३ महिनामा वेबसाइटमार्फत सार्वजनिक गर्ने कार्यक्रम निरन्तर सञ्चालन गरिनेछ।

मेरो गैरआवासीय नेपाली अभियानमा संलग्नताः

• उपाध्यक्ष तथा परोपकार विभाग प्रमुख अन्तर्राष्ट्रि समन्वय परिषद (२०२३–२०२५)

• उपाध्यक्ष तथा सीप, ज्ञान र प्रविधि हस्तान्तरण विभाग प्रमुख, अन्तर्राष्ट्रि समन्वय परिषद (२०२१–२०२३) – सर्वोच्च अदालतबाट खारेज

• महासचिव, एनआरएनए अन्तर्राष्ट्रि समन्वय परिषद (२०१९–२०२१)

• संयोजक, पहिलो र दोस्रो विश्व ज्ञान सम्मेलन, काठमाडौँ, नेपाल (अक्टोबर २०१८ र अक्टोबर २०२०)

• संयोजक, संविधान संशोधन सल्लाहकार समिति, एनआरएनए अन्तर्राष्ट्रि समन्वय परिषद (२०११–२०१९)

• सल्लाहकार, एनआरएनए अन्तर्राष्ट्रि समन्वय परिषद (२०१३)

• प्रवक्ता तथा सञ्चार र प्रकाशन समिति संयोजक अन्तर्राष्ट्रि समन्वय परिषद (२०११–२०१३)

• प्रधान सम्पादक, ग्लोबल नेपाली, एनआरएनएको आधिकारिक पत्रिका (२०११–२०१३)

• सम्पादक, एनआरएनएका ऐतिहासिक दस्तावेजहरूको सङ्ग्रह (२०१३)

• निर्देशक/स्क्रिप्ट लेखक, एनआरएनए वृत्तचित्र (२०१३)

• नागरिकता, मतदान अधिकार जस्ता डायस्पोरा नेपालीको अधिकारको लागि राष्ट्रिय सञ्चार माध्यममा पैरवी (लगभग १०० लेख, टिभी र समाचार पत्र अन्तर्वार्ता सहित)

• निर्वाचन समितिका सदस्य, अन्तर्राष्ट्रि समन्वय परिषद (२०११, २०१३, २०१५)

• सदस्य, एनआरएनए अन्तर्राष्ट्रि समन्वय परिषद (२००७–२०११)

• विधान समिति सदस्यएनआरएनए अन्तर्राष्ट्रि समन्वय परिषद (२००७–२०११)

• महासचिव, राष्ट्रिय समन्वय परिषद्, एनआरएनए जापान (२००६–२००७)

• सम्पादकीय सल्लाहकार, मातृभूमी, एनआरएनए जापानको वार्षिक प्रकाशन (२००७)

• काठमाडौंमा एनआरएनए विश्व सम्मेलनमा सहभागी (२००७, २००९, २०११, २०१३, २०१५, २०१७, २०१९, २०२१, २०२३) र क्षेत्रीय सम्मेलन/बैठकहरूमा सहभागी (२००६–२०२५ प्रत्येक वर्ष)


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित