सामाजिक सुरक्षा योजनामा सहभागी गराउन विशेष अभिमुखीकरण कार्यक्रम सम्पन्न

सामाजिक सुरक्षा योजनामा सहभागी गराउन विशेष अभिमुखीकरण कार्यक्रम सम्पन्न
www.europenepalikhabar.com २०८० बैशाख ५ गते मंगलबार, 18-04-2023


गैरआवासीय नेपाली संघ र सामाजिक सुरक्षा कोषको संयुक्त सहकार्यमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउने उद्देश्यले विशेष अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा एनआरएनका कार्यकारी अध्यक्ष डा बद्री केसीले निरन्तर प्रयास र सहकार्यको प्रतिफलको रुपमा सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकले पेन्सनसहितको सुविधा पाउने गरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सुरु गरेकोमा आभार व्यक्त गर्नुभयो । योजनाको सफलताका लागि सामाजिक सुरक्षा कोषको केही रकम रोजगारदातालाई पनि तिर्न लगाउनुपर्नेमा उहाँले जोड दिनुभयो । योजना सुरुवात हुनु सकारात्मक भएपनि त्यसमा परिमार्जन आवश्यक भएको उहाँको भनाई थियो । सरकारको योजनालाई सफल बनाउन एनआरएनले पहलकदमी लिने र आफ्नो जिम्मेवारी ठानेर सबै श्रमिकलाई पनि योजनामा सहभागी गराउने बताउनुभयो । 

यस्तै, एनआरएनएका अध्यक्ष कुल आचार्यले सबै वैदेशिक रोजगारीमा रहेकाहरुलाई योजनामा  जोड्न देशै पिच्छे अभियान चलाउन आवश्यक रहेको र त्यसका लागि एनआरएनएले सरकारसँग प्रत्यक्ष रुपमा सहकार्य गर्ने बताउनुभयो  । सामाजिक सुरक्षा कोषको योजना  सरकारको मात्रै नभई एनआएनएले सन् २०११ देखि उठाउँदै आएको एजेण्डा पनि भएकोले संसारभर रहेका नेपाली श्रमिकको सपना पूरा भएको जिकिर गर्दै  उक्त योजनालाई सफल बनाउनु जिम्मेवारी र कर्तव्य समेत भएको उल्लेख गर्नुभयो । 

संघका उपाध्यक्ष डा हेमराज शर्माले मध्यपूर्वमा मात्रै नभई यूरोपका विभिन्न देशमा श्रम स्वीकृतिबिनै गएका नेपाली श्रमिकहरुको संख्या बढ्दो क्रममा रहेको स्मरण गराउँदै श्रम स्वीकृतिबिनै गएका श्रमिकको हकमा योजनाले के गर्छ ? भन्ने स्पष्ट व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । एनआरएनको संयन्त्रले मात्रै उक्त योजना लागू गर्न कठिन हुने भएकोले नेपाल सरकारको सम्पूर्ण संयन्त्रले काम गर्नुपर्ने उहाँको धारणा थियो । श्रमिक सबैलाई योजनाबारे बुझाउन ढिलाई गर्नु नहुने उहाँले जोड दिनुभयो । 

संघका उपाध्यक्ष, आर के शर्माले मध्यपूर्वका सबै श्रमिक प्रविधिमैत्री वातावरणमा नभएको भन्दै गन्तव्य  मुलुकमै पुगेर  अभिमुखीकरण तथा सचेतना कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो । श्रमिकहरु माझमा  सामाजिक सञ्जालदेखि अन्य विभिन्न माध्यमबाट पुग्नुपर्नेमा उहाँले जोड दिनुभयो । नीतिमा  कतिपय विषय स्पष्ट नभएको भन्दै शर्माले प्रष्ट व्याख्या गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै, शमार्ले कोषमा आबद्ध हुन श्रमिकहरुलाई विशेष आग्रह गर्नुभयो । रेमिट्यान्स, पोर्टफोलियो व्यवस्थापन लगायतका विषयमा पनि विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । 

सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पनि सामाजिक सुरक्षा योजनामा सहभागिता जनाउन सक्ने प्रावधान ल्याएसँगै बहुसंख्यक श्रमिकलाई उक्त योजनामा समेट्न अभिमुखीकरण कार्यक्रम अति आवश्यक रहेको उहाँले बताउनुभयो ।  

संघका अर्का उपाध्यक्ष डिबी क्षेत्रीले लाखौँ नेपाली श्रमिकका लागि सामाजिक सुरक्षा कोषले सुरु गरेको योजनालाई गैरआवसीय नेपालीले प्रचारप्रसार गर्ने प्रतिबद्धता जनाउनुभयो । 

असहाय अशक्त हुँदा र मृत्युपर्यन्त पनि यस योजनाले प्रतिफल दिने भन्दै क्षेत्रीले यस योजनामार्फत श्रमिकहरुलाई समेट्नु सरकारको सकारात्मक कदम भएको  र त्यसमा एनआरएनको सहकार्य रहको उहाँको भनाई थियो । 

कार्यक्रममा सम्बोधन गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले सामाजिक सुरक्षा योजनालाई बृहत् सहभागितामुलक योजना बनाउनुपर्नेमा जोड दिनुभयो । उक्त योजना भर्खरै सुरुवात भएकोले वास्तविक श्रमिकमैत्री बनाएर अघि बढ्नुपर्ने उहाँको भनाई थियो ।  सरकारको काम नीतिगत रुपमा हुने भएकाले एनआरएनले प्रत्यक्ष रुपमा श्रमिकसँग जोडिन सरकारसँग सहकार्य गर्न सक्ने भएकाले मिलेर अघि बढ्न उहाँले आग्रह गर्नुभयो । सामाजिक सुरक्षा योजनालाई सफल बनाउन एनआरएनको भूमिका महत्वपूर्ण हुने उहाँको भनाई थियो । श्रमस्वीकृति लिएका वा नलिएका सबैलाई नेपालीलाई कानूनी दायरामा ल्याउन सरकारले विशेष पहल सुरु गर्ने मन्त्री भण्डारीले बताउनुभयो । त्यसका लागि एनआरएनसँगको सहकार्य महत्वपूर्ण हुने उहाँको भनाई थियो । श्रमिकको सुरक्षा र उनीहरुको श्रमको सम्मानका लागि पनि सरकारले सरोकारवाला र गन्तव्य मुलुकका सरकारसँग संवाद गरेर अघि बढ्ने उहाँले बताउनुभयो । योजनाको फाइदाबारे सबैलाई बुझाउनु जरुरी रहेको मन्त्री भण्डारीले बताउनुभयो । पूँजी, प्रविधि र ज्ञान भित्र्याउन मन्त्रालय सकारात्मक रहेको उहाँको भण्डारीको भनाई थियो । 

कार्यक्रममा कोषका अध्यक्ष कपिलमणी ज्ञवालीले सुरक्षा कोषको फाइदाबारे प्रष्ट पार्नुभयो ।  अभिमुखीकरणका लागि निरन्तर कार्यक्रम, अनलाइन कक्षा, २४ घण्टे कल सेन्टर, सहित एनआरएनएको सञ्जालसहित बैंकिङ च्यानललाई प्रयोग गर्ने बताउनुुभयो । कार्यक्रममा मन्त्रालयका सचिव एकनारायण अर्यालले योजनामा आबद्ध हुन आग्रह गर्दै गन्तव्य मुलुकहरुसँग श्रम सम्झौता लगायतका नीतिगत र सरकारी प्रक्रियागत कामहरु सुरु भएको बताउनुभयो । कार्यविधि कार्यान्वयनका क्रममा देखा पर्ने समस्या र उल्झनलाई क्रमशः समाधान गर्दै जाने उहाँको भनाई थियो ।  आगामी दिनमा गन्तव्य मुलुकमा एनआरएनएकै सञ्जाल प्रयोग गरेर बृहत् रुपमा  योजना अघि बढाउने र त्यसमा सरकारले हातेमालो गर्ने उहाँको भनाई थियो । 

कार्यक्रममा कोषले तयार पारेको विशेष प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा विभिन्न देशबाट नेपाली श्रमिक तथा अन्य गैरआवासीय अभियन्ताहरु जोडिएका थिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित