पूर्वराजाले अभिनन्दनको नाममा बढाएको राजनीतिक सक्रियताको अर्थ के हो ?

पूर्वराजाले अभिनन्दनको नाममा बढाएको राजनीतिक सक्रियताको अर्थ के हो ?
www.europenepalikhabar.com २०८० बैशाख ६ गते बुधबार, 19-04-2023


हिन्दुवादी एवं राजावादीहरूले कोशी प्रदेशको इनरुवामा पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन गरेको ठीक एक महिनापछि लुम्बिनी र कर्णाली प्रदेशमा त्यस्तै अभिनन्दनको तयारीमा जुटेका छन् ।  

१७ वैशाखमा जुम्ला र २० वैशाखमा नेपालगञ्जमा पूर्वराजा शाहको नागरिक अभिनन्दन हुन लागेको हो । त्यसको प्रबन्ध मिलाउन स्वकीय सचिव सागर तिमिल्सिना जुम्ला पुगेका छन् । ५ वैशाखमा नेपालगञ्जमा शिव सेना नेपाल, विश्व हिन्दु महासंघलगायतका हिन्दुवादी संघ–संस्था र राजसंस्था पुनःस्थापनाको मुद्दा बोकेको राप्रपासहितको भेलाले नागरिक अभिनन्दनको औपचारिक तयारी थालेको छ । राप्रपा महामन्त्री एवं बाँके २ का सांसद धवलशमशेर राणाको संयोजकत्वमा अभिनन्दन मूल आयोजक समिति गठन गरिएको सहायक महामन्त्री ऋषिराज देवकोटाले जानकारी दिए । 

पूर्वराजा शाहका स्वकीय सचिव तिमिल्सिना नेपालगञ्ज र जुम्लामा हुने नागरिक अभिनन्दनको तयारी बुझ्न पुगेका छन् । ‘नागरिकस्तरबाट अभिनन्दन गर्न लागिएको छ । त्यसै सन्दर्भमा म जुम्लामा छु,’ उनले भने । 

अभिनन्दन आयोजकले १८ वैशाखमा नेपालगञ्जको बागेश्वरी मन्दिरमा महाआरतीमा पनि पूर्वराजा शाहलाई निम्त्याएका छन् । पूर्वराजा महाआरतीमा सहभागी हुने सम्भावना अधिक रहे पनि निर्णय हुन बाँकी रहेको तिमिल्सिना बताउँछन् । ‘महाआरती म काठमाडौं पुगेर सरकारलाई भेटेपछि टुंगो लाग्छ,’ उनले भने । 

सत्ता र प्रतिपक्षी दलहरू १० वैशाखमा बारा–२, चितवन–२ र तनहुँ–१ को उपनिर्वाचनको नतिजा आफ्नो पक्षमा ल्याउन कसरत गरिरहँदा पूर्वराजा शाह एकपछि अर्को नागरिक अभिनन्दनको तयारीमा छन् । यो सक्रियताले उनी राजसंस्था पुनःस्थापनाको मुद्दा लिएर देशदौडाहामा निस्कने संकेत देखाएको छ । 

राजतन्त्र अन्त्यको झण्डै १५ वर्षसम्म सार्वजनिक सभासम्मेलनमा नदेखिएका पूर्वराजा शाहले गत १ फागुनदेखि सक्रियता बढाएका हुन् । सो कार्यक्रममा पूर्वयुवराज पारस शाहसहित पूर्वराजपरिवारका सदस्यहरू पनि सहभागी थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै नेतृत्वको माओवादी हिंसात्मक विद्रोह सुरु भएको दिन फागुन १ लाई राष्ट्रिय दिवसका रूपमा मनाइरहँदा पूर्वराजा शाह पहिलोपल्ट नागरिक बचाउ महाअभियानका नाममा सार्वजनिक सभामा देखिएका थिए । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अगुवाइमा भएको सो अभियानको उद्घाटन पूर्वराजा शाहले गरेका थिए ।

'नागरिक अभिनन्दन'मा ज्ञानेन्द्रले भने- सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ  ।

लघुवित्त र बैंकको ऋणबाट पीडित समुदायलाई जुटाएको सो अभियानलाई प्रसाईंले पश्चिममा धनगढीसम्म पुर्‍याएका थिए । तर, पूर्वराजा शाह भने झापामा मात्र सहभागी भए । एमाले केन्द्रीय सदस्य छँदै प्रसाईंले पूर्वराजा शाहलाई सार्वजनिक सभामा उतारेका थिए । सोही कारण पार्टीले कारबाहीको तयारी थालेपछि उनले आफैँ एमालेबाट अलग्गिएको घोषणा गरेका छन् ।  

मेची किनारबाट महाअभियान थालेका पूर्वराजा शाह त्यसयता राजनीति प्रेरित गतिविधिमा निरन्तर सक्रिय देखिएका छन् । सो कार्यक्रममा राजावादी नेता केशरबहादुर विष्टले राजसंस्था पुनःस्थापनाको उत्तेजक भाषण मात्र गरेनन्, राप्रपाको समेत आलोचना गरे । राप्रपा आफैँ संलग्न सरकारको माओवादी ‘जनयुद्ध’ दिवसमा बिदा दिएको भन्दै उनले विरोध जनाए । सो कार्यक्रमबाट राप्रपाका नेताहरूले पूर्वराजा शाह आफूहरूसँग असन्तुष्ट रहेको संकेत पाए । सोही कारण ८ चैतमा राप्रपाका शीर्ष नेता पूर्वराजा शाहलाई भेट्न झापाको दमकमै पुगे । शाह र राप्रपा नेताबीच झण्डै दुई घण्टा भेटवार्ता गरेका थिए । सो वार्तामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा सहभागी थिए । 

पूर्वराजा शाह राप्रपाको संगठन परिचालन गरेर देशैभर अभिनन्दनलगायतका सार्वजनिक गतिविधिमा सक्रिय हुन खोजेको त्यसले संकेत गरेको थियो । शाहसँग सामूहिक भेटपछि राप्रपा महामन्त्री राणाले भनेका थिए, ‘राजा र राजसंस्था चाहने दलबीच भेटघाट र छलफल हुनु सामान्य हो । यो नियमित भेटघाट हो, कुनै खास निर्णय भएको होइन ।’ उनै राणा नेपालगञ्जको अभिनन्दनको संयोजन गरिरहेका छन् । 

भेटमा सहभागी एक नेताका अनुसार, राष्ट्रिय राजनीतिमा विकसित घटनाक्रम र बदलिँदो भूराजनीतिबारे पूर्वराजा शाहले चासो राखेका थिए । हिन्दुवादी र राजावादी शक्तिहरू एकताबद्ध हुनुपर्ने उनको सन्देश थियो । 

लगत्तै १३ चैतमा इटहरीस्थित महाशिवगंगा इटहरीको आरतीमा सहभागी भएका थिए । सो धार्मिक कार्यक्रममा उल्लेख्य जनसहभागिता थियो । हिन्दुराष्ट्र र राजतन्त्रका पक्षमा नाराबाजीसमेत भएपछि समर्थकहरू उत्साहित हुन पुगे । पूर्वराजा शाह राप्रपाका पुराना नेता रामकुमार सुब्बाको घरमा राखिएको रात्रिभोजमा पनि प्रतिष्ठित उद्योगी व्यवसायी सहभागी भएपछि पूर्वमा नागरिक अभिनन्दनको योजना बनेको थियो । सो छलफलमा राप्रपाका सुब्बासहित, कोशी प्रदेशका मन्त्री भक्ति सिटौला, राप्रपाका प्रवक्ता सगुन लावती, पूर्वमन्त्री बद्री मण्डल, विद्वत् परिषद्का जीतबहादुर अर्याल उपस्थित रहेका थिए । 

२० चैतमा सुनसरीको इनरुवामा भएको नागरिक अभिनन्दनको नेतृत्व उनै केशरबहादुर विष्टले गरेका थिए । ‘स्थिरता र स्थायित्व सही राज्य पद्धति, शान्ति एवं अनुशासनबिना हुन सक्दैन । कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर, लोभ्याएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ,’ सो नागरिक अभिनन्दनमा शाहले भनेका थिए, ‘परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल, आलटाल र टालटुलको प्रणालीले कुनै खँदिलो परिणाम दिँदैन ।’ 

भर्खरै १ वैशाखमा नयाँ वर्षमा दिएको शुभकामना सन्देशमा पनि पूर्वराजा ज्ञानेन्द्रले राजनीतिक सक्रियताको संकेत गरेका थिए । प्रस्ट रूपमा नभने पनि ११ वैशाख २०६३ मा सात दल र आफूबीच भएको भनिएको सम्झौताको स्मरण गराएका छन् । उनले राजनीतिक दलका नेताहरूले सम्झौता र सहमति भद्रताका साथ गर्ने तर अभद्रताका साथ सम्झौता तोडेको भन्दै उनले सन्देशमा भनेका छन्, ‘यसरी सम्झौता र सहमति तोड्ने कुरा राजनीति र राज्य प्रणालीका लागि वाञ्छनीय हुँदैन ।’ 

देशको वर्तमान आर्थिक संकटबारे पनि बोलेका थिए । वित्तीय संस्थाको कारोबार विपन्न वर्गसम्म पुग्न नसकेको र सीमित वर्गमा मात्र पुगेको उल्लेख गर्दै पूर्वराजा शाहले भनेका छन्, ‘अहिले युवाहरूमा वर्तमान राजनीतिक नेतृत्वप्रति आक्रोश छ । कसैको मुख थुन्न नसकिने र त्यसलाई पुनरुत्थान भन्न मिल्दैन ।’

पूर्वराजा शाहको सचिवालयले भने नागरिकस्तरबाट भइरहेका अभिनन्दनलाई पूर्वराजाको राजनीतिमा सक्रियताका रूपमा लिन नहुने दाबी गरेको छ । पूर्वराजाको भाषण र सन्देशहरू पनि नियमित रहेको उल्लेख गर्दै शाहका स्वकीय सचिव तिमिल्सिना भन्छन्, ‘राजतन्त्र हटे पनि मौसुफबाट नियमित सन्देश बक्स हुँदै आएको छ । अभिनन्दनका रूपमा अहिले जनतासँग भेटघाट मात्र भएको हो । राजनीतिक रूपमै केही गर्ने स्थितिमा त तपाईंहरूलाई बोलाएरै भनौँला नि ।’

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित