एनआरएनए फ्रान्सको वर्तमान नेतृत्वको विधान विपरीत क्रियाकलापप्रति अग्रजहरुको गम्भीर आपत्ति

एनआरएनए फ्रान्सको वर्तमान नेतृत्वको विधान विपरीत क्रियाकलापप्रति अग्रजहरुको गम्भीर आपत्ति
www.europenepalikhabar.com २०८० जेठ १० गते बुधबार, 24-05-2023

             मिति : 23/05/2023

                  प्रेस विज्ञप्ति

 गैरआवासीय नेपाली संघ दक्षिण एसियाली सहयोग सङ्गठन मुलुक बाहेक अन्य देशमा बसोबास गर्ने नेपालीहरुको हकहित,अधिकार,सहयोगका साथै मुल देशसंग सम्बन्ध स्थापना गर्न समन्वयात्मक भूमिका र अधिकार सहित खोलिएको नेपाल सरकारको परराष्ट्र मन्त्रालय अन्तर्गत दर्ता भएको आधिकारिक मान्यता प्राप्त स्वतन्त्र, गैर सरकारी,  गैर नाफामुलक, गैरराजनीतिक र गैर धार्मिक जस्ता विषेशता भएको संस्था हो।नेपाली पुगेका विश्वका विभिन्न मुलुकहरुमा यसका राष्ट्रिय समन्वय परिषदहरु छन।तिनै राष्ट्रिय समन्वय परिषदहरु मध्ये फ्रान्सको लागि  गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्स एक हो।२००५ बाट तदर्थ समिति बनाइ सुरु गरिएको यस संस्था २००६ बाट स्थानीय संस्था दर्ता सम्बन्धी कानुन अनुसार दर्ता गराई औपचारिक रुपमा स्थापना भएको हो।तत् पश्चात संस्थागत उद्देश्यहरू र विधान अनुसार विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ।


दुई बर्ष भन्दा बढी बिदेसमा(सार्क मुलुक बाहेक) बसोबास गर्ने नेपाली नागरिकलाई  गैरआवासीय नेपाली  भनिन्छ। नेपाल सरकारसंग श्रम करार गरेका मुलुकमा बैदेशिक रोजगारीका लागि नेपाल सरकारसंग श्रम स्वीकृति लिएर  गयका नेपाली र अन्य मुलुक जहाँ स्थायी या अस्थायी बसोबास अनुमति पत्र प्राप्त गर्न सक्कली नेपाली पहिचान कै कागजात पेश गरि सम्बन्धित देशले बसोबास अनुमति पत्र दिएका तमाम नेपालीलाई गैरआवासीय नेपाली भनिन्छ। साथै सम्बन्धित देसहरुमा बसोबास अनुमतिका लागि नेपाली पहिचान कै रुपमा कागजी प्रक्रियामा रहेका नेपालीहरु पनि गैरआवासीय नेपाली नै हुन्। यसरी जस्ले आय कर बिदेसमा नै तिर्छ।त्यो व्यक्ति जोसंग नेपाली नागरिकता छ या एक समय उसले वंशजको अथवा जन्मको आधारमा नेपाली नागरिकता लिएको थियो, हाल विदेशी नागरिकता लिइसकेको छ अथवा जसका तिन पुस्तामा कोही जो नेपाली थिए भनेर देखाउन सक्ने आधार भएको प्रमाणिक व्यक्तिलाई नै गैरआवासीय नेपाली भनेर बुझिन्छ। यसमा दुई बर्ष भन्दा बडी विदेशमा बसेता पनि विद्यार्थीहरु र कुटनितिक नियोगका कर्मचारीलाई गैरआवासीय नेपाली भनिदैन।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सले मिति १/११/२०२२ मा विधान संशोधनका लागि प्रस्तावित विधान जारी गरेको थियो, उक्त विधान नेपाल सरकारको गैरआवासीय नेपाली सम्बन्धि व्यवस्था अनुसार अवैधानिक, अवैज्ञानिक र तथ्यहिन हुदाँ हुदैँ मिति ६/११/२०२२ मा मौजुदा विधानत साधारण सभाले पास गरेको कुराको खण्डन गरेर हामीले यस्तो विधान तुरुन्त खारेजीको माग गरी अध्यक्ष गिता खनाल ज्यू लाई पत्रचार गरेका थियौं।। हाम्रा निम्नलिखित बुँदाहरूमा असमर्थनहरू र आपत्तिहरु रहेका थिए।

१) विधान संशोधनका लागि यसै मौजुदा बिधानको दफा २७ मा ब्यवस्था गरिए बमोजिम साधारण सभामा आवश्यक पंजिकृत सदस्यहरूको ५१% उपस्थिति नरहेकोले प्रस्तावित विधान स्वत: खारेजीको माग गर्दछौं।

२) प्रस्तुत प्रस्तावित विधानको दफा ५ को उपदफा ५.६ एकदमै अवैधानिक र असंवैधानिक छ। जहाँ गैरआवासीय नेपाली संघको पंजिकृत सदस्यता प्राप्त गर्न  स्थानिय कानुन अन्तर्गत दर्ता भएका नेपाली संघ संस्थाले नेपाली भएको सिफारिस गरेमा पंजिकृत सदस्यता दिने भन्ने उपदफा सृजना गरिएको छ। कुनै पनि अन्य संघसंस्था जो  दर्तावाला वा दर्ता नभएका जोकोही र राजनीतिक वा गैरराजनीतिक जोकोही सामाजिक संस्थाहरुलाई कसैको राष्ट्रियता प्रमाणित गर्ने अधिकार छैन। यस्तो अधिकार गैरआवासीय नेपालीहरुको हकमा राज्यको प्रतिनिधि नेपाली राजदूताबास र  परराष्ट्र मन्त्रालय अन्तर्गत दर्ता गरिएको यस गैरआवासीय नेपाली संघलाई मात्र छ। कसैको राष्ट्रियताको पहिचान गर्ने र सिफारिस गर्ने अधिकार सामाजिक संस्थाको रूपमा खोलिएका  कुनै पनि जातिय, क्षेत्रिय संघसंस्थालाई दिनु जायज छैन।  अतः यो उप दफा तुरुन्त खारेजीको माग गर्दछौं।

३) प्रस्तुत प्रस्तावित विधानको दफा ५ को उपदफा ५.७ माथि हाम्रो घोर आपत्ति रहेको छ। नेपाल सरकारको परराष्ट्र मन्त्रालय अन्तर्गत मान्यता दिएको एक आधिकारिक संस्थाले नेपाल सरकारले संवैधानिक रुपमा बनाएको गैरआवासीय नेपाली ऐन २०७७ को व्यवस्था भन्दा बाहिर गएर फ्रान्सको लागि मात्र नेपाली राष्ट्रियताको बिषयमा छुट्टै सन्दर्भ बनाउन पनि मिल्दैन र अधिकार पनि छैन। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सले केन्द्रको सम्बन्धन र आबद्धतालाई  स्विकार्ने हो नेपालको संविधान अन्तर्गत रहेर केन्द्रीय विधानले प्रदत्त गरेको गैरआवासीय नेपाली सम्बन्धि परिभाषालाई अबलम्बन गर्नु पर्ने हुन्छ अन्यथा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सले स्थानीय रूपमा सिमित रहनु पर्छ।  यसै विधानको मुल दफा ५ संग उपदफा ५.७ पुर्ण रुपमा बाझिन गयको छ, प्रस्तुत सन्दर्भ नेपाली उत्पत्तिको विदेशी नागरिकलाई जनाउँछ जसलाई कानुनत: गैरआवासीय नेपालीको हैसियत र अधिकार छैन।। यसैगरी उल्लेखित प्रस्तावित उपदफा  गैरआवासीय नेपाली ऐन २०७७ को दफा २ को उपदफा (क) र यसै ऐनको दफा २ को  उपदफा (छ) बमोजिम नरहेकोले  ऐनको दफा ४४ पनि आकर्षित हुने यस्तो राष्ट्रियता कम्जोर बनाउने उपदफा तुरुन्त खारेजीको माग गर्दछौं।

हामीले उल्लेखित पत्रचार गरे पस्चात केन्द्रले पनि यस विषयमा राष्ट्रिय समन्वय परिषद फ्रान्सलाई निर्देशनात्मक परिपत्र जारी गरेको अवस्थामा पनि राष्ट्रिय परिषद् फ्रान्सले भर्खरै जारी गरेको पंजिकृत सदस्यताको लागि आवेदन सुचनामा उल्लेखित विवादित विषयलाई नै निरन्तरता दिएको छ।

जारी सुचनामा सदस्यता प्रमाणिकरण दलमा जो जो हुनुहुन्छ त्यो सही छ तर प्रमाणिकरण अनुगमन दलका सदस्यहरु कुन मापदण्ड अनुसार त्याहाँ हुनुहुन्छ त्यसको जफाव हामीलाई उपलब्ध गराउनु होला साथै अरु थप दुई जना राख्न मिल्ने प्राबधान रहेको जानकारी आएको छ, अब यसमा पनि तपाईहरूकै आफ्ना व्यक्तिहरू राख्ने हो कि पुर्वाध्यक्ष हरु लाई पनि पहुँच दिने हो? नेपालमा अहिलेको जल्दोबल्दो भ्रष्टचार कान्ड "नक्कली भुटानी शरणार्थी" चर्चा मा छ। कयौँ आरोपीहरु जेलमा छन र जसले गर्दा पुनर्वासको व्यवस्था गरिदिएका मुलुकहरुले नै चासोको रुपमा हेरिरहेका छन्।

युरोपका अन्य मुलुकमा पनि नेपालीहरुले आवाज उठाइरहेका छन्। सक्कली भुटानी शरणार्थी समुदायमा पनि यसले व्यापक चासो र वहसहरु निर्माण भैरहेको छ। यस्तो अवस्थामा एन आर एन फ्रान्सले नक्कली भुटानी शरणार्थी मित्रहरूलाई फसाउने वातावरण किन बनाउदै छ हाम्रो अहम प्रस्न हो।गैर कानुनी रुपमा कसैको पक्षपोषणको लागि विधानमा संसोधन गर्नु नितिगत भ्रष्टचार पनि हो।पुर्व अध्यक्षहरुलाई निषेध गरेर विधानको धज्जी उडाउने काम भएको छ।एन आर एन ए फ्रान्स निमार्ण र वृति बिकासमा योगदान दिनु हुने र माया गर्नु हुने सबैले संवेदनशील भएर सोच्नु पर्ने बेला आएको छ। संस्थाको साख घटेको छ। समाज बिभाजित भएको छ। अधैर्य र अराजक हुदै गएको देखिन्छ। प्रतिसोध, आरोप, लान्छना र निषेधको वातावरण फस्टाएको छ। संस्थामा सक्षम नेतृत्वको अभाव छ। समाजमा सक्षम व्यक्तिहरु नै नभएर हैन तर सक्षम व्यक्तिहरुलाई अवसर नदिनुको कारण आजको अवस्था आएको हो। परिपक्व समाज बनेर आग्रह पुर्वाग्रह नराखि लोकतान्त्रिक विधिबाट तुलनात्मक रूपमा योग्य व्यक्तिहरू चुन्ने हामीसंग सुविधा हुंदाहुंदै पनि हामीले एन आर एन ए फ्रान्सलाई यस्तो दयनिय र नाजुक अवस्थामा कसरी पुर्याइयो? भनेर सोच्नु पर्ने आवश्यकता छ। फ्रान्समा रहेका सबै नेपाली संघसंस्थाहरू लाई बधाई छ किनकि सबै संघसंस्थाहरुले विविध कार्यक्रमहरु ल्याएर फ्रान्सेली नेपाली समुदायमा राम्रो प्रभाव र वातावरण सृजना गर्नु भएको छ , त्यसैले सबै संघसंस्थाहरुलाई शुभकामना छ तर गैरआवासीय नेपाली संघ यो पछिल्लो कार्यकालमा किन यति पछि पर्यो, किन पहिलेको जस्तो उत्साह र साख छैन। हामी सबैले आ-आफ्नो ठाउँबाट सोच्नु पर्ने बेला आएको छ। आरोप प्रत्यारोप लगाउन सजिलो छ तर काम गरेर देखाउन पक्कै पनि गार्हो छ।जुन आरोप प्रत्यारोप लगाएर अहिलेको नेतृत्व आएको थियो उसले काम गरेर देखाउन सक्नु पर्थ्यो। हामीलाई पनि आसा थियो हाम्रो कार्यकाल भन्दा केही नयाँ एजेण्डाहरुमा काम होला, सुविचारित तवरले संस्थागत केही प्रगति होला तर त्यसो हुन सकेन।यो पुरै अवधिमा न हामीले विरोध गर्यौं ,न त आलोचना नै। हामीले सोच्यौं , हामीबाट पनि कमीकमजोरी भएका होलान र नयाँ आउनेले हाम्रो भन्दा अझ राम्रो गरेर देखाउलान, संस्थाको उद्देश्य हासिल गर्न विभिन्न कार्यक्रम ल्याउन सफल होलान तर त्यसो हुन सकेन यसमा हामी दुखि छौं। कमसेकम चुनावमा उठ्दै गर्दा उमेद्वारहरुले अघि सारेका आफ्ना प्रतिबद्धताहरु पनि पुरा गर्न नसक्नू लज्जास्पद हो र यो अहिलेको नेतृत्वको ठुलो असफलता पनि हो। सम्बन्धित सबैलाई हाम्रो आवहान छ, संस्थालाई सवल बनाउन आगामी कार्यकालको लागि उपयुक्त र योग्य नेतृत्व प्रदान गरौँ। संस्था अपहरित जस्तो भयको छ, अपहेलित जस्तो भयको छ। संस्था प्रति आम नेपालीको अपनत्व छदै छैन किनकी त्यस्तो वातावरण नै निर्माण हुन सकेन,यो नसक्नुमा अहिलको कार्यसमितिले दायित्व लिनुपर्छ । केही सिमित व्यक्तिका स्वार्थसिद्ध भएको छ, हालिमुहाली भएको छ तर नेपाली समुदायमा एन आर एन ए फ्रान्सले त्यो पुरानो साइनो, आफ्नोपन धुमिल बनाएको छ। एकदमै सुधारको खाँचो छ जुन अहिलेको नेतृत्व र स्वार्थ समुहबाट असम्भव प्रायः छ।

तैपनि हामी अपेक्षा गर्छौं, सकारात्मकता पनि राख्छौँ कि आउने समयमा  सुझबुझका साथ संस्थाको स्वास्थ्य उपचार हुनेछ।यो पुनः तन्दरुस्त भै सबै नेपालीहरुको मन मनमा बस्न सफल हुनेछ।

हामी हाम्रो कुरामा कायम छौँ। वैधानिक र कानुनी रुपमा जायज कुरामा हाम्रो साथ पनि छ। अवैधानिक, गैरकानुनी र अनैतिक उपदफाहरुको सिर्जनसिलतामा हाम्रो समर्थन रहदैन र संबन्धित निकायमा हाम्रा असमर्थनहरुको  कानुनी उपचार पनि खोज्ने छौँ। धन्यवाद

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित