सोम सापकोटाद्वारा एनआरएनए उपमहासचिवमा उम्मेदवारी दिने घोषणा

सोम सापकोटाद्वारा एनआरएनए उपमहासचिवमा उम्मेदवारी दिने घोषणा
www.europenepalikhabar.com २०८० भाद्र ३० गते शनिबार, 16-09-2023


पोर्चुगल  — गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको उपमहासचिवमा माल्टामा कार्यरत सोम सापकोटाले उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी हाल एनआरएनका प्रवक्ता हुन् ।

एनआरएनएको ११ औं अन्तराष्ट्रिय महाधिवेशन तथा विश्वसम्मेलन असोज ३० देखि कात्तिक ३ गते काठमाडौंमा हुँदै छ । उनले एकपटकको नेपाली, सधैँको नेपालीका लागि नीतिगत व्यवस्थाका लागि पहल गर्न उपमहासचिवमा उम्मेदवारी दिने घोषणा गरिएको बताए ।

‘गैरआवासीय नेपालीले नेपालमा आर्थिक अधिकार प्रयोग गर्दा आइपरेका समस्या समाधान गर्न र विदेशबाट नेपालमा लगानी जुटाउने सवालमा कानुनी जटिलता छ । त्यो हटाउन मेरो प्रयत्न र पहलकदमी लिनेछु,’ उनले भने, ‘गैरआवासीय नेपालीले नेपालका जुनसुकै आर्थिक क्षेत्रमा सहज ढङ्गले लगानीको वातावरण बनाउन सरोकारवाला निकायसँग समन्वय गरी तार्किक निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता गर्छु ।’

उनले रोजगारीको सिलसिलामा मध्यपूर्व वा अन्य देशमा पुगेका नेपालीको हितलाई मध्यनजर गर्दै वैदेशिक रोजगार कल्याणकारी कोषलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताए । ‘विदेशमा सिकेको ज्ञान, सीप र प्रविधिलाई सीप डिजिटलमार्फत व्यवस्थित गर्नेछु,’ उनले भने, ‘वैदेशिक रोजगारीमा जानुपूर्व नै सीपयुक्त बनाउने अभियानलाई कार्यान्वयन गर्ने र अन्तर्राष्ट्रिय श्रम बजारमा दक्ष नेपाली पठाउन दक्ष नेपाली कामदार उत्पादनका लागि पहल गर्ने प्रतिबद्धता जनाउँछु । त्यसका लागि आवश्यक तालिम केन्द्र स्थापनाका लागि नेपाल सरकारसँग मिलेरै काम गर्न आवश्यक छ ।’

२००७ पोर्चुगलबाट एनआरएन अभियानमा लागेका सापकोटा एनआरएन डेनमार्कका संस्थापक अध्यक्ष हुन् । उनी आईसीसी सदस्य, युरोप उपसंयोजक, आईसीसी सह-कोषाध्यक्ष भइसकेका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित