एनआरएनए केन्द्रीय सह-कोषाध्यक्षमा अमृता(कन्चन) थापाको उम्मेदवारी

एनआरएनए केन्द्रीय सह-कोषाध्यक्षमा अमृता(कन्चन) थापाको उम्मेदवारी
www.europenepalikhabar.com २०८० असोज ९ गते मंगलबार, 26-09-2023


युरोप । गैरआवासीय नेपाली संघको आगामी महाधिवेशनमा वर्तमान सहकोषाध्यक्ष अमृता थापा (कंचन)ले पुनः सोही पदमा रहेर काम गर्न चाहेको बताउनु भएको छ । एनआरएनए चीनको संस्थापक एंव पूर्व अध्यक्ष रहेकी थापाले हङकङ र चीनमा रहेको नेपाली समुदायलाई निरन्तर साथ र सहयोग दिदै आउनु भएको छ । त्यस क्षेत्रका नेपालीहरुले सम्मान स्वरुप भाउजु भनेर सम्बोधन गर्ने थापा एनआरएनएका तत्कालीन अध्यक्ष स्व. सुन्दर थापाको जीवन संगिनी हुनुहुन्छ ।

संगठनको नेतृत्व गर्दै गर्दा दिग्वंत हुनुभएका स्व. थापाको अवशेष पछि त्यहाँको नेपाली समुदायको अनुरोधमा उहाँ कार्यवाहक अध्यक्ष बन्नु भएको थियो । त्यस पछि एनसीसीमा भएको आन्तरिक विवादले निर्वाचन प्रक्रिया अवरुद्ध भएको बेला पनि विवाद समाधानमा सहजीकरण गरेर अविभावकीय भूमिका निभाउनु भएकी थापाले नेपालमा महाभुकम्प गएको बेला धेरै ठुलो सहयोग गर्ने एनसीसीको रुपमा एनसिसी चीनलाई स्थापित गराउनु भएको थियो ।

संस्थालाई आफ्नो फाईदाको लागि प्रयोग गर्न खोज्नेहरु भन्दा पर बसेर निरन्तर कर्म गर्न सक्रिय हुने तर जस लिन नखोज्ने स्वभावकी थापालाई  प्रवासको नेपाली समुदायले सच्चा एनआरएन अभियन्ता भनेर चिनेका छन् । एनआरएनए सँग आफ्नो भावना जोडिएको, यही संस्थाले दुःखको बेला आफुलाई बाँच्न सिकाएको र समाजका लागि केही गर भनेर प्रेरणा दिएकोले आफु यस् अभियान भन्दा पर रहन नसक्ने थापा बताउनु हुन्छ ।

संख्यात्मक रुपमा कम प्रतिनिधित्व भएका महिलाहरुको बारेमा एनआरएनएका सम्मेलन र बैठकहरुमा आवाज उठाउदै आएकी थापाले एनआरएनएको महिला फोरमले संचालन गरेका परोपकारी अभियानमा सक्रिय सहभागिता जनाउदै आउनु भएको छ । सिमान्तकृत महिलाहरु सँग संगठन जोडिएमा सामाजिक चेत भएका शिक्षित र सम्पन्न महिलाहरु एनआरएनए सँग जोडिन उत्साहित हुने भएकोले एनआरएनएले ग्रामीण र पिछडिएका महिलाहरुका लागि कार्यक्रम संचालन गर्नु पर्ने थापाको भनाइ छ ।

सधैं जसो प्रश्नको घेरामा पर्ने संघको आर्थिक कारोवार पारदर्शी  बनाएर पंजिक्रित सदस्यका हरेक चासोलाई सम्बोधन गर्न प्रयत्न गर्ने उहाँको  कार्ययोजना रहेको छ । महिलाको आवाजलाई साथ दिने, संघलाई आर्थिक रुपमा सक्षम बनाउन सहयोगी भूमिका खेल्न आफु सक्षम भएकोले सहकोषाध्यक्ष पदको आफ्नो उम्मेदवारीलाई अनुमोदन गरिदिन पनि थापाले विश्व भरिका एनआरएनएका प्रतिनिधिहरुलाई अनुरोध गर्नु भएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित