युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता यूरोकप-२०२४ बारे जान्नैपर्ने कुरा

युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता यूरोकप-२०२४ बारे जान्नैपर्ने कुरा
www.europenepalikhabar.com २०८१ जेठ २६ गते शनिबार, 8-06-2024


पोर्चुगल । प्रतीक्षाको घडी अब सकिनै लागेको छ। युरोपेली देशका उत्कृष्ट राष्ट्रिय टोलीहरू सहभागी हुने 'यूरो २०२४' आगामी साता सुरु हुनेछ।

कुन टोली कुन समूहमा छन् र उपाधि हात पार्न कस्तो प्रतिस्पर्धा हुन्छ भन्ने निर्धारण भइसकेको छ।

प्रतियोगिता कहिले हुन्छ ?

यूरो २०२४ जर्मनीमा हुन लागेको छ। यो प्रतियोगिता जुन १४ शुक्रवारका दिन 'एलिआन्ट्स अरिना'मा औपचारिक रूपमा सुरु हुने छ।

उद्घाटन खेलमा जर्मनी र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुने छ।

जुन २६ सम्म प्रत्येक दिन समूह चरणका दुईदेखि चार खेल हुने छन्। त्यसपछि अर्को चरण जुन २९ मा सुरु हुने छ। प्रतियोगिता बर्लिनस्थित ओलिम्पिआस्टेडिओनमा जुलाई १४ आइतवार सम्पन्न हुनेछ।

देश एकीकरण भइसकेपछि जर्मनीले पहिलो पटक यूरो आयोजना गर्न लागेको हो। सन् १९८८ मा पश्चिम जर्मनीमा उक्त प्रतियोगिता भएको थियो।

टिकट बिक्री कसरी ?

सुरुमा अक्टोबर ३ देखि २६ सम्म टिकट बिक्री गरिएको थियो। त्यसका लागि चिट्ठा प्रणाली 'लटरी' अपनाइएको थियो।

यूईएफए यूरो २०२४ मा टिकट बिक्री गर्ने मुख्य चरण बन्द भइसकेको छ।

माग उच्च भएकाले टिकटको अनधिकृत बिक्री हुन सक्ने र विक्रेताले जाली टिकट पनि भिडाउन सक्ने चेतावनी यूईएफएले दिएको छ।

उपाधि जित्ने सम्भावना कसको ?

इङ्गल्यान्डलाई धेरैले उपाधि जित्न सक्ने टोली मानेका छन्। ब्रिटिश सट्टेबाजहरूले इङ्ग्ल्यान्डको पक्षमा ३/१ को सम्भावना देखेका छन्।

विजेता बन्ने दोस्रो सम्भावना फ्रान्सको छ। उसको पक्षमा ४/१ को सम्भावना देखिएको छ। आयोजक जर्मनी विजेता बन्न सक्ने सम्भावनामा ५/१ को छ।

जर्मनी तीन पटकको विजेता पनि हो।

यद्यपि जोर्जा, आल्बेनिया, स्लोभिनिया र स्लोभ्याकियाले उपाधि जित्ने सम्भावना अत्यन्त न्यून मानिएको छ। तिनको पक्षमा २००/१ देखि ९००/१ को सम्भावना देखिएको छ।

कति वटा समूह छन् ? तिनमा कुनकुन देश छन् ?

समूह ए: जर्मनी, स्कटल्यान्ड, हङ्गेरी, स्विट्जरल्यान्ड

समूह बी: स्पेन, क्रोएशिया, इटली, आल्बेनिया

समूह सीः स्लोभिनिया, डेन्मार्क, सर्बिया, इङ्ग्ल्यान्ड

समूह डी: पोल्यान्ड, द नेदरल्यान्ड्स, अस्ट्रिया, फ्रान्स

समूह ईः बेल्जियम, स्लोभ्याकिया, रुमेनिया, युक्रेन

समूह एफः टर्की, जोर्जा, पोर्चुगल, चेक रिपब्लिक

बलिया टोली कुनकुन हुन् ?

यो प्रतियोगितामा सहभागी हुन आइपुग्ने क्रममा छवटा टोली अपराजित रहे। फ्रान्स, इङ्गल्यान्ड, पोर्चुगल, बेल्जियम, रुमेनिया र हङ्गेरीले छनोट चरणका कुनै खेल पनि हारेनन्।

तीमध्ये पोर्चुगलले भने सबै खेल जितेको थियो। छनोट चरण पार गर्दा पोर्चुगलले कुल ३६ गोल गरेको थियो भने दुई गोल मात्र खाएको थियो।

स्पेन र स्कटल्यान्ड प्रत्येकले एउटा खेल हारे। टर्की र अस्ट्रिया पनि प्रभावशाली खेल देखाउँदै छनोट भएका हुन्।

छनोट खेलका सबै खेल जितेको भए पनि पोर्चुगलका कुनै खेलाडी पनि सर्वाधिक गोलकर्ता बन्न सकेनन्। आठ खेलमा १४ गोल गर्ने बेल्जियमका रोमेलु लुकाकु सर्वाधिक गोलकर्ता हुन्।

खेल कहाँकहाँ हुन्छ ?

प्रतियोगितामा आलियान्ट्स अरिना र ओलिम्पिआस्टेडिओमा खेलहरू हुने छन्। कोलोन र डोर्ट्मन्टसहित कुल १० वटा सहरमा खेल गराउन लागिएको छ।

सिग्नाल इडुना पार्कमा समूह बी, डी र एफका खेलहरू हुने छन्। त्यहाँ दोस्रो चरण र सेमिफाइनलका केही खेलहरू पनि हुने छन्।

बर्लिनः ओलिम्पिआस्टेडिओन (दर्शक क्षमता ७०,०००)

कोलोनः कोलोन रङ्गशाला (४७,०००)

डोर्ट्मन्डः बेफाऊबे स्टेडिओन डोर्ट्मुन्ड (६६,०००)

डुसल्डोर्फः डुसेल्डोर्फ अरिना (४७,०००)

फ्राङ्क्फर्टः फ्राङ्क्फुर्ट अरिना (४८,०००)

गेल्सेन्किर्शनः अरिना औफ्शाल्क (५०,०००)

ह्याम्बर्गः भोल्क्स्पार्क्स्‌टेडिओन हाम्बुर्ग (५०,०००)

लाइप्सिगः लाइप्सिग रङ्गशाला (४२,०००)

म्युनिखः म्युनिख फुटबल अरिना (६७,०००)

स्टुट्गार्टः स्टुट्गार्ट अरिना (५४,०००)

नाम चलेका कुनकुन खेलाडी र टोली सहभागी छैनन् ?

म्यान्चेस्टर सिटीबाट अग्रपङ्क्तिमा खेल्ने एर्लिङ हालन्ड र आर्सनलबाट मध्यपङ्क्तिमा खेल्ने मार्टिन ओडेगार्डलाई यो प्रतियोगितामा देख्न पाइने छैन। किनेभने उनीहरूको देश नर्वेले प्रतियोगिताको छनोट चरण पार गर्न सकेन।

स्पेन र स्कटल्यान्डसँग नर्वे छनोट चरणमा एउटै समूहमा परेको थियो। तर पर्याप्त अङ्क नआएपछि स्वतः प्रतियोगितामा पुग्ने उसको बाटो बन्द भयो। पछि भएका प्ले-अफ खेलबाट पनि नर्वे माथि जान सकेन।

जर्मनीमा हुने यूरो २०२४ मा पुग्न नसकेको अर्को उल्लेखनीय टोली स्वीडनको हो। सन् १९९६ पछि स्वीडन पहिलो पटक यसपालि यो प्रतियोगिताका लागि छनोट हुन सकेन।

- बिबिसी नेपाली ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित