नेपालले श्रीलङ्काविरुद्ध ‘नरुचाएको’ एक अङ्क लिइसकेको छ। अब नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिका र वेस्ट इन्डिजमा जारी टी-२० विश्वकपमा कम्तीमा अङ्कविहीन हुनु पर्ने छैन।
श्रीलङ्कासँग बाँडिएको त्यो अङ्कले जारी विश्वकपको समूह ‘डी’को समीकरण भने गणितीय हिसाबमा रोचक बन्न पुगेको छ।
कठिन समूह भएकाले ‘ग्रूप अफ डेथ’ भनिएको समूह ‘डी’ को बाँकी खेलहरू रोमाञ्चक बन्ने अवस्था छ।
यो समूहबाट दक्षिण अफ्रिका 'सुपर ८' मा पुगिसकेको छ।
केही नाटकीय परिणाम आएमा बाँकी चार राष्ट्र नेदरल्यान्ड्स, बाङ्ग्लादेश, नेपाल र श्रीलङ्कामध्ये एउटा टोली अर्को चरणमा उक्लिन सक्ने छ।
नेपालको सम्भावना कति ?
ताजा तालिकामा दक्षिण अफ्रिका शीर्ष स्थानमा छ। नेदरल्यान्ड्स र बाङ्ग्लादेश समान २ अङ्कका साथ दोस्रो र तेस्रो नम्बरमा छन्।
दुई खेलबाट नेपालको १ अङ्क मात्र छ। श्रीलङ्काको ३ खेलपछि एक अङ्क भएपनि रनरेटका आधारमा पुछारमा छ। बाँकी तीन राष्ट्रले २/२ खेल खेल्न बाँकी हुँदा श्रीलङ्काले अन्तिम एउटा खेलमात्र खेल्न बाँकी छ।
सम्भावनाको चर्चा नेपालबाट गरौँ।
नेपालले सबैभन्दा पहिले दक्षिण अफ्रिका र त्यसपछि बाङ्ग्लादेशसँगको बाँकी दुई खेल जितेर ४ अङ्क प्राप्त गर्नुपर्ने छ। तर त्यो त्यति सहज हुने छैन।
नेपाल र बाङ्ग्लादेश टी२० खेलमा एकचोटि भिडेका छन्। उक्त खेलमा बाङ्ग्लादेश विजयी भएको थियो।
जारी विश्वकपमा निकै राम्रो खेलिरहेको दक्षिण अफ्रिकासँग नेपालले एक पटक पनि खेलेको छैन।
यो विश्वकपमा नेपालले आश्चर्यजनक परिणाम निकालेको खण्डमा पनि दोस्रो चरणमा पुग्न उसले अन्य टोलीको खेलको नतिजा पर्खिनुपर्ने छ।
दुई खेल जितेमा नेपालको खातामा ५ अङ्क हुने छ। यस्तो अवस्थामा बाङ्ग्लादेश र नेदरल्यान्ड्सबीचको खेल नेपालको लागि निर्णायक बन्ने देखिन्छ।
नेपालको चाहना बाङ्ग्लादेशले नेदरल्यान्ड्सलाई पराजित गरिदेओस् भन्ने हुने छ। त्यसो भएमा दुवै टोली ४/४ अङ्कमा सीमित हुने छन्।
आफूसँग ५ अङ्क हुँदा नेपाल शीर्ष दुईमा रहेर अर्को चरणमा जाने छ।
यो समूहको मुख्य प्रतिस्पर्धा नेदरल्यान्ड्स र बाङ्ग्लादेशबीच हुने छ। उक्त खेलको विजेता सम्भावित सुपर ८ मा पुग्ने टोली हुने छ।
उक्त खेल बिहीवार (जुन १३) मा हुँदै छ।
सीधा समीकरण के हो भने नेदरल्यान्ड्सले बाङ्ग्लादेश र श्रीलङ्कालाई पराजित गरेमा सोझै सुपर ८ मा पुग्ने छ। बाङ्ग्लादेशले पनि नेदरल्यान्ड्स र नेपाललाई पराजित गरे माथि उक्लिने छ।
तर यदि यी दुई बीचको खेल पनि वर्षाले अवरुद्ध भएमा अन्य टोलीको सम्भावना बढी हुने छ।
जस्तै नेपालले बाङ्ग्लादेशलाई हराएमा र श्रीलङ्काले नेदरल्यान्ड्सलाई हराएमा श्रीलङ्काको पनि दोस्रो चरण पुग्ने सम्भावना रहन्छ। यस्तोमा नेपालको पनि सम्भावना जिउँदो रहन सक्छ।
मुख्य विषय चाहिँ के हो भने नेपालले पाएको समीकरण भने सहज छैन। नेपालले दुई टेस्ट राष्ट्रसँग जित र अन्य टोलीको खेलको नतिजामा भर पर्नुपर्ने छ।
तर अनुमानविपरीतको नतिजा निस्किरहेको जारी विश्वकपमा जे पनि सम्भव रहेको सहभागी राष्ट्रका प्रशिक्षकहरूले बताउँदै आएका छन्।
BBC News.
FOUNDER/CHIEF EDITOR :