पोर्चुगलमा आएको राहदानी टोलीले ३ दिनमा ९ सय ८७ जना नेपालीलाई सेवा

पोर्चुगलमा आएको राहदानी टोलीले ३ दिनमा ९ सय ८७ जना नेपालीलाई सेवा
www.europenepalikhabar.com २०८१ साउन २० गते आइतबार, 4-08-2024


युरोपनेपाली खबर, लिस्बन । पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा दिन राहदानी विभाग काठमाडौं र फ्रान्सस्थित नेपाली दूतावासबाट आएको संयुक्त टोलीले शुक्रबारदेखि सुरु गरेको बायोमेट्रीक संकलनको  कार्यमा ३ दिनमा  ९ सय ८७ सेवाग्राहीलाई सेवा दिएको छ । 

शुक्रबार पहिलो दिन राहदानीको म्याद सकिसकेका, म्याद एक वर्षभन्दा कम भएका, क्षति भएका वा हराएका र पोर्चुगलमा जन्मेका नेपालीका छोराछोरी गरी १ सय ८२ जना, शनिबार ३ सय ९६ जना र आज आइतबार ४ सय ९ जनाको ‘बायोमेट्रिक’ विवरण सङ्कलन गरिसकिएको छ ।

विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि आवेदन सङ्कलन गर्न राहदानी विभागका निर्देशक मोतिबहादुर श्रीस नेतृत्वको तीन सदस्यीय टोली बिहीबार राजधानी लिस्बन आइपुगेको थियो । टोलीमा विभागका दुई र फ्रान्सस्थित नेपाली दूतावासका एक गरी तीन जना कर्मचारी सहभागी छन् भने सोमबारदेखि थप एकजना कर्मचारी फ्रान्सबाट आउने जानकारी दिइएको छ ।

टोलीले लिस्बनस्थित गैरआवासीय नेपाली सङ्घ पोर्चुगलको हलमा ‘घुम्ती सेवा शिविर’ सञ्चालन गरेर शुक्रबारदेखि सेवा दिन शुरू गरेको एनआरएनए पोर्चुगलका अध्यक्ष उमेशकुमार खड्काले बताए  ।

सेवा शुरू भएसँगै शिविरमा सेवाग्राही नेपालीको ठूलो घुइँचो लागिरहेको स्वयंसेवकको रूपमा सक्रिय एनआरएनए उपाध्यक्ष शिवसागर बुढाथोकी जानकारी दिए ।

नयाँ राहदानी बनाउन झण्डै ६ हजारले अनलाइन आवेदन भरेकाले सोही सङ्ख्याको हाराहारीमा दरखास्त सङ्कलन हुने अनुमान गरिएको छ । र समयमै काम सक्ने गरी सेवा दिने प्रयास गरिएको टोली प्रमुख मोती ब. श्रीसले बताउँदै तोकिएको दिन र समयमा अनिवार्य उपस्थित हुन उनले सेवाग्राहीलाई आग्रह गरेका छन् । 

'अहिले राहदानी बनाउन अग्रिम आवेदन दिएकालाई प्राथमिकता दिएर काम गरिरहेका छौं । आवश्यकता र कामको चाप हेरेर कन्सुलरसम्बन्धी अन्य आकस्मिक र जरुरी सेवा दिने प्रयास गर्नेछौं,' टोली प्रमुख मोती श्रीसले भने ।

दश दिनसम्म सञ्चालन हुने शिविर लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतावास र गैरआवासीय नेपाली संघ पोर्चुगलको समन्वय एवं सहजीकरण र यहाँ क्रियाशील नेपाली सङ्घसंस्था तथा सामाजिक अगुवाहरुले सक्रिय सहयोग गरिरहेको एनआरएनए आइसीसी सदस्य राजकुमार थापाले बताए । थापाले  "सेवाग्राहीलाई आफुले बुक गरेको मिति र समयमा आएर सहज र सौहार्दपूर्ण ढंगले सेवा लिन" आग्रह गरेका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित